मङ्गलबार, १८ मङ्सिर २०८१
ताजा लोकप्रिय
ब्लग

नेपाली सवारी साधनमा हराउँदै छ नेपाली भाषा

आइतबार, २७ साउन २०८१, ०९ : २२
आइतबार, २७ साउन २०८१

नेपालको सडकमा गुड्ने सवारी–साधनमा नेपाली भाषा हटाएर अंग्रेजी भाषाका नम्बर प्लेट किन राखियो ? हामी विकसित भयौँ भनेर होला कि ? नेपाली भाषाका नम्बर प्लेट राख्दा असभ्य हुने भइयो भनेर पो हो कि ? नेपाली भाषा कम्प्युटर र सीसी क्यामेराले पढ्दैन भनेर होला कि ? 

हाल नेपालका सडकमा गुड्ने नेपाली सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट राख्न सुरु गरिएको छ । यो इम्बोस्ड नम्बर प्लेटमा सूचना सम्प्रेषण गर्ने चिप्स, त्यसैको माथि अंगेजी लेटर ‘एनईपी’ (छोटकरीमा नेपाल बुझाउने) लेखिएको छ र त्यसको माथि नेपालको झन्डा रहेको छ । 

त्यो चिप्समा सम्बन्धित सवारी साधनका सूचना (जस्तै : सवारी धनीका विवरण, राजस्व तिरे वा नतिरेको रेकर्ड र त्यो सवारी साधनको दुर्घटना तथा चोरीसम्बन्धी रेकर्ड) रहेका हुन्छन् । त्यसको दायाँतिर अंग्रेजी अल्फाबेट लेखिएको छ । ती अल्फाबेटले सवारी साधनको लट नम्बर जनाउँछ भनिएको छ । त्यसको तल अंग्रेजीमा चार अङ्कमा सवारी–साधनको नम्बर लेखिएको छ । हाल यो इम्बोस्ड नम्बर नयाँ दर्ता हुने र नामसारी गरिने सवारी–साधनमा मात्र क्रमशः कार्यान्वयन गरिएको छ । यस्तो इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषाका अक्षर वा अङ्क प्रयोग गरिएको छैन, धन्न नेपालको राष्ट्रिय झन्डासम्म राखिएको छ ।

  • पुराना नम्बर

हाल चालु भइरहेका सवारी साधनका नम्बर प्लेटमा अङ्क र अक्षर दुवै नेपाली भाषामा लेखिएका छन् । कुनै अञ्चलका र कुनै प्रदेश जनाउने नम्बर प्लेट चालु नै छन् । जस्तै : अञ्चल अनुसार बा. ... प ... र प्रदेश अनुसार वाग्मती प्रदेश–०२ ... प ... (चार अङ्कमा नै छन्) । 

यी नम्बर प्लेटमा केवल चिप्स र झन्डा छैन, अरू सबै कुरा छन् । नेपाली भाषाका नम्बर प्लेटधारी सवारीसाधन सडकमा गुड्दा नेपाल र नेपालीको पहिचान झल्किएको हुन्छ र झल्किइरहेको छ । नेपाली नागरिकले सडकमा गुड्ने सवारी साधनमा आफ्नो भाषा सललल नदीझैँ बहेको छ, मनै आलोकित र प्रफुल्ल हुन्छ । 

  • नेपाली भाषाको प्रयोग गर्न सकिँदैन ?

अरू देशमा यस्तो इम्बोस्ड नम्बर प्रयोग गरे पनि भाषा भने आफ्नै राखेका छन् भनिन्छ र कतै देखिएको पनि छ । जस्तो : चीन, रुस, जापान, अरबियन मुलुकमा इम्बोस्ड नम्बर प्लेटमा आफ्नै भाषाका अङ्क र अक्षर प्रयोग गरेका हुन्छन् अरे । ती देशले आफ्नै भाषामा अङ्क र अक्षर राख्न सक्दा नेपालमा नेपाली अङ्क अक्षर राख्न न सकिने हो र ? नसकिने भए ती देशले कसरी राखे त ? ती देशले आफ्नो भाषा राखेर काम त भइराखेको छ । नेपालमा नहुने भन्ने हुन्छ होला र ? अथवा सबै चिज अंग्रेजीमा नै राख्नुपर्छ भने पनि ती अंग्रेजी अङ्क अक्षरका तलमाथि या यताउता नेपाली अङ्क अक्षर राख्दा हुने थिएन र ? राख्न सकिन्थ्यो तर किन यसप्रति चासो राखिएन ? 

नेपालको सडकमा गुड्ने सवारी–साधनमा नेपाली भाषा हटाएर अंग्रेजी भाषाका नम्बर प्लेट किन राखियो ? हामी विकसित भयौँ भनेर होला कि ? हाम्रो विकासको उपलब्धि यही हो भने र होला कि ? नेपाली भाषाका नम्बर प्लेट राख्दा असभ्य हुने भइयो भनेर पो हो कि ? नेपाली भाषा कम्प्युटर र सीसी क्यामेराले पढ्दैन भनेर होला कि ? नेपाली भाषा फालेर अंग्रेजी भाषाको प्रवद्र्धन गर्न प्रभावैमा परेर होला कि ? के नेपाली भाषामा इम्बोस्ड नम्बर प्लेट राख्नै सकिँदैन र पो हो कि ? वास्तवमा के कुरा होला ? सामान्य नेपालीलाई यसको कारण थाहा छ होला ? 

सवारीका बारेमा सूचना दिने चिप्समा भएको सेन्सरले होला । जहाँ माथि भनिएका विवरणभित्र नदेखिने गरी स्वचालित रूपमा संग्रह भइरहेका हुन्छन् । ती विवरण चिप्समार्फत नेपाल प्रहरी वा सम्बन्धित निकायका कम्प्युटरमा जानकारी गराइरहेकै हुन्छ । त्यसैगरी सीसी क्यामेराले फोटो खिच्ने हो, खिचिरहन्छ । सीसी क्यामराले नेपाली भाषाका अङ्क अक्षरको फोटो नखिच्ने होइन । 

यो लेख र लेखनको मनसाय नेपालमा इम्बोस्ड नम्बर प्लेट नराख्ने भन्ने होइन, राख्नुपर्दछ । वास्तवमा यो इम्बोस्ड नम्बर प्लेट लागु गर्न धेरै अबेला भइसक्यो । माथिका कुराले सरकारको कामको आलोचना गरेको होइन, यो लेखको मनसाय नेपाली सवारी–साधनका इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषाको सट्टा नेपाली भाषामै पनि राख्न सकिन्छ भन्ने हो । यसले गर्दा नेपालको राष्ट्रियता बलियो हुने र नेपाली इज्जत उच्चा हुने थियो भन्ने मात्र हो । 

सामान्य नेपालीले आफ्नो धारणा र विचार राख्ने भनेको प्रेस र हालका सामाजिक सञ्जाल हुन्, तर सरकारले सामान्य नागरिकको भनाइ लर्तरो तरिकाले सुन्दैन । बिनाआन्दोलन सरकारले नागरिकका कुरा सुनेको इतिहासै छैन भने पनि हुन्छ । एकछिनलाई भनौँ कि सरकारले नागरिकका कुरा सुनेजस्तो गर्छ, तर लागु नै गर्दैन । सरकार भनेको अमूर्त हो । मूर्त रूपमा काम गर्ने त मान्छे नै हुन् । तिनको मनमा के लाग्छ, त्यही गर्छन् । आखिर सरकारमा रहने मान्छे र कर्मचारी पनि नेपाली नै हुन् । यस्तो नेपाली भाषा र नेपालीपनको मानमर्दन हुने काम किन गरियो होला भन्ने चासो मात्र हो ? 

  • कानुनमा के छ ?

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ हालसम्म १० पटक (दुईपटक आफैँ र आठपटक केही नेपाल संशोधन गर्ने ऐनले) संशोधन भएको देखिन्छ । यो ऐनको सवारी नम्बर प्लेट भनेको ठाउँमा केवल सवारी नम्बर भनेको छ । इम्बोस्ड नम्बरको कुरा कतै गरेको छैन । सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ संशोधन हुँदै २०८० असार २५ सम्म नौपटकसम्म संशोधन भएछ । 

यो नियमको अनुसूचीमा सवारीको प्रदेश अनुसार लागु गर्ने नम्बर र नम्बर प्लेटको कुरा गरेको छ, तर इम्बोस्ड नम्बरको कुरा छैन । 

बजेट भाषणमा भने २०७४ देखि इम्बोस्ड नम्बर प्लेटको कुरा गरेको पाइन्छ, तर २०८० सम्मको नियमावलीमा पुरानै नम्बर प्लेटको कुरा गरेको छ । यहीँनेर केही ग्याप देखिन्छ । यस सम्बन्धमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को अनुसूची २ को संख्या १४ ले दिएको अधिकार प्रयोग गरी इम्बोस्ड नम्बर प्लेट लागु गर्न सकिने सूचना २०७८ कात्तिकमा नेपाल राजपत्रमा सूचना प्रकाशित भएको छ । सूचनाको कपी राजपत्र तल दिइएको छ । यसरी २०७८ सालमा इम्बोस्ड नम्बर प्लेटको सूचना निकाल्दा २०८० को नियमावलीमा त्यसबारे केही बोलेको पाइँदैन । यस विषयको ग्याप भनेको यही हो । 

  • इम्बोस्ड नम्बर प्लेटमा विवाद

नेपाली सवारी–साधनका इम्बोस्ड नम्बर प्लेटमा नेपाली अङ्क अक्षर राख्ने कि अंग्रेजी अङ्क अक्षर राख्ने भन्ने विषयको विवाद संसद्, सरकार हुँदै आदेश दिने निकायसम्म पुगेछ । लामै समय विवाद चलेपछि इम्बोस्ड नम्बर प्लेट लागु गर्ने सम्बन्धमा यातायात व्यवस्था विभागले भनेछ—  नेपाली भाषामा इम्बोस्ड नम्बर बनाउने कम्प्युटर प्रणाली नेपाल सरकारसँग छैन । तसर्थ अङ्ग्रेजी भाषामै बनाउनुपर्ने बाध्यता रहेको उल्लेख गर्दै अङ्ग्रेजी भाषाकै इम्बोस्ड नम्बर प्लेट लागु गर्न थालेछ । यस विरुद्धमा सर्वोच्च अदालतमा रिट परेछ र अदालतले अंग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट कार्यान्वयन नगर्न २०७७ फागुनमा अन्तरिम आदेश जारी गरेछ । अन्तरिम आदेशपछि विभागले पुरानै शैलीमा हस्तलिखित नम्बर प्लेटको वितरण गर्न थाल्यो । इम्बोस्ड नम्बर प्लेट लागु गर्नमा फेरि अन्योल भयो ।

यातायात व्यवस्था विभागको अर्को भनाइ छ, ‘हामीले सार्क मुलुकमा निर्बाध रूपमा आवतजावत गर्न सम्झौता गरेका छौँ । त्यस कारणले पनि अंग्रेजीमै नम्बर प्लेट चाहिन्छ भनेका हौँ । भोलि नेपाली गाडी बंगलादेश गयो भने कसले नेपालीमा लेखेको चिन्छ ?’ 

विभागको भनाइमा के अपव्याख्या देखिन्छ भने सार्क मुलुकभित्र निर्बाध आवतजावत त मानिसले गर्ने हो, सवारीका साधनसहित गर्ने भनेको होला र ? फेरि बंगलादेश गाडी लिएर जान भारत हुँदै जानुपर्छ । भन्सार बिन्दुबाट गाडी पास गर्दा त्यो गाडीलाई त्यहीको सरकारले अस्थायी नम्बर दिएर प्रवेश आज्ञा दिइन्छ । यो कुरा सबै बिर्सेर बंगलादेशमा नेपाली गाडी गयो भने कसले चिन्छ भन्ने ? कति लाजमर्दो तर्क । नेपालको विशिष्ट भाषा, संस्कार र संस्कृतिमा यस्ता वाहियात तर्कले नोक्सान मात्र गर्दछ । 

अन्ततोगत्वा सरकारले इम्बोस्ड नम्बर प्लेट लागु त गर्नैपर्छ । तसर्थ सरकारले २०७८ सालमा नेपाल राजपत्रमा सूचना प्रकाशित गर्‍यो र इम्बोस्ड नम्बर लागु गर्न काम सुरु गर्‍यो । फेरि अदालतमा रिट पर्‍यो, धेरै बहस पैरवी र आवतजावतपछि सरकारले लागु गर्न खोजेको इम्बोस्ड नम्बर प्लेट लागु गर्न अदालतले सदर गर्‍यो, यसरी लागु भयो नेपालमा अंग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट । 

यो इम्बोस्ड नम्बरले हाल चलनमा रहेका २३ किसिमको नम्बर प्लेटलाई जम्मा पाँच किसिममा ल्याएको छ—१) राष्ट्रपतिको सवारीमा हल्का निलो रङ हुँदै तल गाढा निलो रङको इम्बोस्ड नम्बर प्लेट । २) सार्वजनिक वा भाडाका सवारीमा पहेँलो प्लेटमा काला अक्षर । ३) निजी सवारीमा सेतो प्लेटमा कालो अक्षर । ४) सरकारी सवारीमा सेतो प्लेटमा रातो अक्षर । ५) कूटनीतिक सवारीमा सेतो प्लेटमा निलो अक्षर रहनेछन् ।

वास्तवमा जसरी नेपाली वर्णविन्यासलाई परिवर्तनबाट शिथिल र बेढङ्गको पार्न एउटा समूहले जहाँ–जहाँ र जति–जति खेल खेल्यो, त्यही समूहले यो इम्बोस्ड नम्बर अंग्रेजी भाषामै लेखाउन पनि त्यस्तै–त्यस्तै ठाउँमा गएर खेल खेलेर सफल भएको छ । वर्णविन्यास परिवर्तन र शिथिल गर्न गरिएको खेल त सर्वोच्च अदालतको आदेशले हाललाई खारेज गरिदियो । धन्न हाललाई नेपाली भाषा बिग्रनबाट बच्यो । यो इम्बोस्ड नम्बरको खेल पनि पुनरवलोकन गरी खारेज गराउनु अत्यावश्यक नै छ । नत्र भोलिका दिनमा नेपाली सडकमा नेपाल र नेपाली भाषा हराउँदै जानेछ ।  

२०७९ पुसमा पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बन्यो । त्यसमा नारायणकाजी श्रेष्ठ भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री बने २०७९ माघमा । यो इम्बोस्ड नम्बर प्लेटमा नेपाली अङ्क अक्षर राख्न सकिन्छ कि यस विषयमा म केही पहल गर्छु भन्ने थियो, तर केही दिनमै उहाँ मन्त्रालयमा सरुवा हुनुभयो । यो मन्त्रालयमा महासेठलाई ल्याइयो त्यसपछि यस विषयले केही चर्चा नै पाएन । अब पौडेलको पालो आएको छ, उहाँको यस विषयमा सोचाइ के होला ? हेर्न बाँकी नै छ । 

हालै बंगलादेशको आन्दोलनले सबै मुलुकका सरकारलाई जनताको आवाज सुन्न र जनचाहना अनुसार काम गर्न एउटा गतिलो पाठ सिकाएको छ । यो विषयमा नेपाल सरकारले पनि ध्यान दिन जरुरी छ । कतै यही र यस्तै विषयले नेपाल सरकारलाई असजिलो नहोस् । बेलैमा चेतना भया । 

अन्त्यमा, कतिपय नेपाली नेपाली भाषा पढ्न त नसक्नेछन् भने अङ्ग्रेजी जान्ने कुरै भएन । सवारी साधनले कुनै दुर्घटना गरेमा वा चोरी, तस्करी गरेमा सोको जानकारी दिनुपरेमा सामान्य नागरिकलाई नेपालीमा नम्बर भए पढ्न सक्छन् र अंग्रेजी नजान्नेले पनि नम्बर पढ्न सक्छन् । त्यसैले मेसिनले पढ्ने चिप्समा अङ्ग्रेजीमा विवरण राख्ने र बाहिर देखिनेमा सोही बेहोराका कुरा नेपालीमा लेख्ने पक्कै सकिन्छ होला । यो नै राष्ट्र र राष्ट्रियताको हितमा हुन्छ । नेपालको राष्ट्रिय पहिचान सकिन्छ, उचो बनाऊँ सकिँदैन गिराउने काम नगरौँ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सूर्यकुमार पण्डित
सूर्यकुमार पण्डित
लेखकबाट थप