शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

पहिलोपल्ट वर्ल्ड च्याम्पियनसिप लङ डिस्टेन्स ट्रायथलनमा नेपालको प्रतिनिधित्व हुँदै

आइतबार, २७ साउन २०८१, ०७ : २३
आइतबार, २७ साउन २०८१

लन्डन । नेपाल पहिलोपल्ट वर्ल्ड च्याम्पियनसिप लङ डिस्टेन्स ट्रायथलनमा सहभागी हुने भएको छ । अष्ट्र्रेलियाको क्वीन्सल्याण्डस्थित टाउन्स भेलमा यही अगस्ट २५ मा  हुने वर्ल्ड च्याम्पियनसीपको  लङ डिस्टेन्स ट्रायथलनमा बेलायतवासी सन्तोष राई र अमेरिकाको बोस्टन बस्ने सन्तोष कर्माचार्यले नेपालको प्रतिनिधित्व गर्ने भएका छन् । यस खेलमा  प्रतिस्पर्धाको  लागि यो नै नेपालको पहिलो सहभागिता हो ।

हरेक वर्ष हुने उक्त वर्ल्ड च्याम्पियनसीपको एलिट क्याटेगोरी ट्रायथलन  (साइक्लिङ, रनिङ  र स्वीमिङ ) का लागि उनीहरूलाई नेपाल ट्राथलन एसोसिएसनले छनौट गरेको हो । १२ दिने प्रतियोगितामा ३ किमी स्वीमिङ, ११४ किमी साइक्लिङ र ३० किमी रनिङको प्रतिस्पर्धा हुनेछ । जसमा  उमेर समूह, पारा ट्रायथलीट, जुनियर, २३ वर्षमुनि र एलिटहरुसहित पांच विभिन्न स्तरका खेलाडीबिच १९ वटा विश्व च्याम्पियनसिप दौड हुनेछन्। यस प्रतियोगितामा ४० देशका ३ हजार बढीले प्रतिस्पर्धा गर्नेछन् ।

पहिलोपटक नेपालले सहभागितामा जनाएको यस खेलमा  प्रतिनिधित्व गर्न पाउँदा आफूलाई अत्यन्त गर्व लागेको सन्तोष राईले लण्डनमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जनाए । उक्त खेलमा सहभागी जनाउनको लागि एनबीसी युके र एनआरएनए युकेले सहयोग गरेको राईले बताए । आफ्नो जागिरपछिको समयलाई सदुपयोग गर्दै बाँकी समय खेलकुदमा बिताउँदै  आएका राई सन् २००९ देखि दौडन सुरु गरेका हुन् । उनी विश्वका ६ वटा फुल म्याराथन प्रतियोगिता पूरा गर्ने पहिलो नेपाली पनि हुन् । राईले दुई वर्षभित्र लन्डन, बर्लिन, न्यूयोर्क, सिकागो, बोस्टन, टोकियो जस्ता विश्वका ६ वटा फुल म्याराथन पूरा गरिसकेका छन् ।

नेपाल र बेलायतका नेपाली खेलाडीलाई आर्थिक सहयोग प्रदान गर्दै  बेलायतमा  खेल विकासमा क्रियाशील नेपाल रन युकेका संस्थापक समेत रहेका राई धरान टेन के रनका परिकल्पनाकार पनि हुन् । राई इंग्ल्याण्ड एथलेटिक्स र नर्थ वेष्ट रिजनल काउन्सिलको आयोजनामा २७ सेप्टेम्बरमा हुन लागेको नर्थ वेष्ट रिजनल भोलुन्टियर अवार्डसमा वेष्ट कोच अफ द इयरका लागि मनोनीत भएका छन् ।

राईको मिहिनेत, खेलप्रतिको मोह र नेपालको लागि केहि गर्छु भन्ने भावनाको कदर र सम्मान गर्दै एनआरएनए युकेको तर्फबाट थप प्रेरणा मिलोस् भनेर सहयोग गरिएको एनआरएनए युकेका अध्यक्ष हितकाजी गुरुङले बताए । खेलाडीको मनोबल बढाउन आफूले अन्य विभिन्न खेलमा सहयोग गर्दै आएको गुरुंगले बताए । प्रतियोगिताको सफलताको कामना गर्दै  उनले राईलाई खादा लगाइदिएका थिए ।

यसैगरी नेपाल रन युके अध्यक्ष पाण्डव महतोलगायतले उनलाई शुभकामना व्यक्त गरे । नेपाल रन युकेको पृष्ठभूमिको बारेमा उल्लेख गर्दै खेलकुद क्षेत्रमा राईले पुर्‍याएको योगदानको प्रशंसा गरे  ।

प्रतियोगिताको  तयारीका लागी आफूले निकै मिहिनेत गर्दै आएकोले प्रतियोगितामा राम्रो परिणाम आउनेमा आफू विश्वस्त रहेको राईले बताए । प्रतिस्पर्धाका  लागि मात्र नभएर खेलकुदले शारीरिक र मानसिक सन्तुलनलाई पनि मद्दत पुग्ने भएकाले  आफ्नै छोरीको प्रेरणाले आफू यस क्षेत्रमा लागेको उनले प्रस्ट्याए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप