स्वर्गीय ज्ञानमणि नेपाललाई दाहाल यज्ञनिधि सम्मान अर्पण
काठमाडौँ । साहित्यकार तथा सञ्चारकर्मी दाहाल यज्ञनिधि पुरस्कार– २०८१ इतिहासकार एवम् साहित्यकार स्वर्गीय ज्ञानमणि नेपाललाई अर्पण गरिएको छ । शुक्रबार दाहाल यज्ञनिधिको छैटौँ स्मृति दिवसको अवसरमा राजधानीमा आयोजित विशेष कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले कृतिशेष स्वर्गीय नेपालको परिवारलाई हस्तान्तरण गरे ।
उक्त सम्मान ताम्रपत्र र एक लाख ५० हजार नगद स्वर्गीय नेपालका जेठा छोरा सन्तोष नेपालले ग्रहण गरे । इतिहासकार नेपालको २०८१ जेठ १ गते मंगलबार निधन भएको थियो । पुरस्कार दाहाल यज्ञनिधि सुधा सदनका अध्यक्ष सुधा दाहाल र कुलपति राईले संयुक्त रुपमा प्रदान गरेका हुन् । आफ्नो पितालाई देहवासनोप्रान्त प्राप्त पुरस्कार ग्रहण गरे लगत्तै सन्तोष नेपालले ‘वैयाकरण नेपाल प्रतिष्ठान’का अध्यक्ष एकमणि नेपाललाई रकम हस्तान्तरण गरे । यो पुरस्कारलाई ‘सिड मनी’ बनाएर ज्ञानमणि नेपालको नाममा इतिहास र साहित्यमा योगदान गर्ने स्रष्टालाई पुरस्कार प्रदान गर्नेगरी राख्ने घोषणासमेत कार्यक्रममै गरे ।
त्यसैगरी दाहाल यज्ञनिधि बाल प्रतिभा पुरस्कारबाट दरबार हाइस्कुलको कक्षा ८ मा उत्तिर्ण हुँदा नेपाली विषयमा सर्वोत्कृष्ट जिपिए ल्याउने छात्र दिनेश कार्की र छात्रा आस्ना पाण्डेलाई प्रदान गरिएको छ । २० हजार राशिको उक्त पुरस्कार छात्र र छात्रालाई संयुक्त रुपमा प्रदान गरिएको हो ।
बाल प्रतिभा पुरस्कार दाहाल यज्ञनिधिले लामो समय प्राध्यापन गरेको दरबार हाइस्कुलको कक्षा ८ बाट उत्तीर्ण हुँदा नेपाली विषयमा उत्कृष्ट जिपिए ल्याउने छात्रछात्रालाई हरेक वर्ष प्रदान गरिँदै आएको छ ।
कार्यक्रममा दाहाल यज्ञनिधि र सम्मानित प्रतिभा नेपालको व्यक्तित्व र कृतित्वबारे समीक्षात्मक मन्तव्य संस्थानका उपाध्यक्ष डा. रमेश शुभेच्छुले व्यक्त गरे ।
उक्त कार्यक्रममा डा. शुभेच्छुले सम्पादन गरेको कृति ‘दाहाल यज्ञनिधिको जीवनदृष्टि’ सार्वजनिक भएको छ । उक्त कृतिमाथि प्रा.डा जिवेन्द्रदेव गिरीले समीक्षात्मक मन्तव्य राखेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै इतिहासकार एवम् प्राज्ञ दिनेशराज पन्तले नेपाली साहित्यका विशिष्ट प्रतिभा दाहाल यज्ञनिधिको नाममा स्थापना भएको सम्मान उहाँजस्तै अर्का विशिष्ट प्रतिभालाई प्रदान गरिएको भन्दै खुशी व्यक्त गरे ।
लोचन भट्टराईले स्वागत मन्तव्य राखेको कार्यक्रममा दाहाल यज्ञनिधिका कविता कवि दिल पौडेल, विनोदविक्रम केसी र प्रभा भट्टराईले वाचन गरेका थिए । कार्यक्रममा दाहाल यज्ञनिधिकी आमा कृष्णकुमारी दाहाल, प्रा. डा. केदार न्यौपानेसहित नेपाली साहित्यका विशिष्ट व्यक्तित्वको उपस्थिति थियो ।
‘दाहाल यज्ञनिधि सुधा सदन’ नाममा राखिएको अक्षयकोषबाट प्राप्त हुने ब्याजबाट हरेक वर्ष एक जना विशिष्ट व्यक्तित्वलाई सम्मान र बालप्रतिभालाई प्रोत्साहन पुरस्कार प्रदान हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा देखियो ३६८ जनामा बाथरोग
-
हाम्रो ध्यान पार्टी फुटाउने र जोड्नेमा होइन, सरकार प्रभावकारी बनाउनेमा छ : प्रधानमन्त्री
-
राष्ट्रपतिद्वारा यसअघि रोकेको भूमिसम्बन्धी अध्यादेश जारी
-
प्रहरी निरीक्षक सुवेदीविरुद्धको भ्रष्टाचार मुद्दाका साक्षीले बयान फेरे, अख्तियारद्वारा मुद्दा दर्ता
-
रास्वपाले भन्यो : वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको घटनामा संलग्नता भेटिए कारबाही हुन्छ
-
यस्ता छन् सरकारले ल्याएका अध्यादेशका विशेषताहरु