आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय

बाँदर आतङ्कले आजित बागलुङका किसान

शनिबार, २६ साउन २०८१, २० : ४०
शनिबार, २६ साउन २०८१

ढोरपाटन । एक दशक अगाडि बागलुङका ग्रामीण क्षेत्रमा बाक्लो बस्ती थियो । स्थानीयले बारीभरि मकै, कोदो र गहुँ उत्पादन गर्थे तर पछिल्लो समय यहाँ बस्ती सुनसान छन् । यहाँ बसाइँसराइ गर्ने क्रम बढ्दो छ । गाउँमा भएका कोही युवा विदेश त कोही सहर छिरिसकेका छन् । अहिले यहाँ अधिकांश बूढापाका मात्रै छन् । 

“उब्जाउने जमिन त छ तर बाँदरले गरिखान दिँदैनन् । जेनतेन खेतीपाती गरे पनि भित्र्याउन पाइँदैन, बाँदरले बारीमै नष्ट गरिसक्छन्”, जैमिनी नगरपालिका–४ की मायादेवी पौडेल भन्छिन्,“खानैका लागि बजारको अन्नमा भर पर्नु परेपछि यहाँ बसेर के गर्नु ! भनेर धेरैले यहाँबाट बसाइँ सर्दैछन् ।”

उनले गाउँमा रहेका केही किसान पनि जीविकोपार्जनका लागि गरिएका बालीनाली बाँदरले नष्ट गरिदिने समस्याले आजित भएका बताइन् । बाँदर आतङ्ककै कारण धेरैले बसाइँ सरिसकेका र बाँकी रहेकाहरू पनि बसाइँसराइ गर्न बाध्य भएको उनको भनाइ छ । 

एक दशकअघिसम्म गाउँमा देखा नपरेको बाँदर अहिले हुलका हुल बारीमा आउँछन्, तरकारीदेखि खाद्य बाली केही नराखी नष्ट गरिदिन्छन् । जसले गर्दा गाउँका किसान आजित भएका हुन् । जिल्लामा बसाइँसराइ गरी बजार झर्ने र विदेश जानेमध्ये गलकोट र जैमिनी नगरपालिका तथा काठेखोला गाउँपालिकामा बढी छन् । युवा विदेशीने र गाउँमा बूढापाका मात्रै भएकाले घर छेऊकै खेतबारी झाडीमा परिणत भएका छन् । जसका कारण बाँदरलगायत वन्यजन्तु सजिलै घरमा छिर्ने गरेका स्थानीयले बताएका छन् । 

बाँदरले करेसाबारीमा लगाएका बाली मात्रै होइन घरको बार्दलीमा झुण्ड्याएर राखिएका सामानसमेत नष्ट गरिदिने कृषक पौडेलले बताए । “यसपटक पनि बारीमा लगाइएको मकैले घोगा हाल्न थालेसँगै बाँदरले बोट नै सखाप पारिसक्यो । बँचेका बाली जोगाउन एकजना कुरुवा भएर दिनभर खटिनुपर्ने बाध्यता छ”, उनले सुनाए,“पहिला–पहिला कहिलेकाहीँ मात्र बाँदर देखिन्थ्यो, अहिले त बाह्रै महिना गाउँमै बस्न थालेको छ, एउटा भए पो धपाउन पनि सजिलो हुन्छ, पाँच–सात सयको हुल हुन्छ, एक्लै त धपाउन पनि सकिन्नँ ।”

काठेखोला गाउँपालिका–५ का बलिभद्र कँडेल बाँदरले उठिबास लाउने अवस्था आएको गुनासो गर्छन् । “बाँदरले बारीमा लगाएको केही पनि बाँकी राख्दैनन्, एउटा बारीको मकै १० मिनेटमै सोत्तर बनाइदिन्छ, हामीलाई त बाँदरले उठिबास लगाउने भयो, बाँदर धपाउने अनेक उपाय अपनाइयो तर केही लागेन, कहिले त घरभित्रै आएर सबै सामान नष्ट गरिदिन्छ”, उनले भने ।

पहिले केही आवाज आउने वस्तु बजाउँदा भाग्ने बाँदर अचेल उल्टै मान्छेलाई नै आक्रमण गर्न आउने कारणले थप समस्या भएको कँडेल बताउँछन् । “पहिले भाग्ने गरेको बाँदर सचेत निकै चलाख र बाठो हुँदै गएको छ । आवाज मात्रै होइन मान्छे नै खटिए पनि टेर्दैनन्, उल्टै आक्रमण गर्न आउँछन् । अब सरकारले नै समस्या समाधानका लागि पहल नगर्ने हो भने बाँकी रहेकाहरू पनि गाउँ छाडेर जान बाध्य हुने अवस्था आउँदैछ ।”
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप