कर्णालीमा सबैभन्दा बढी उत्पादन हुने अनाज मकै
भेरीगङ्गा । कर्णालीमा गत आर्थिक वर्ष २०८०/८१ मा साढे पाँच लाख मेट्रिक टन खाद्यान्न उत्पादन भएको छ । कर्णाली प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्कानुसार पाँच लाख ५२ हजार नौ सय ३० मेट्रिक टन खाद्यान्न उत्पादन भएको हो ।
जसअन्तर्गत कर्णालीमा सबैभन्दा धेरै मकै उत्पादन हुने गरेको छ । गत आवमा दुई लाख १९ हजार आठ सय दुई मेट्रिक टन मकै उत्पादन भएको छ । त्यसपछि गहुँ उत्पादन एक लाख ५२ हजार छ सय २१ मेट्रिक टन भएको छ भने धान एक लाख ४५ हजार ६३ मेट्रिक टन उत्पादन भएको छ ।
उत्पादनका हिसाबले कर्णालीमा धान उत्पादन तेस्रो नम्बर परेको छ । जौँ ११ हजार पाँच सय ५६ कोदो १६ हजार तीन सय १० फापर तीन हजार ८८ मेट्रिक टन उत्पादन भएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । यस्तै, उवा एक हजार आठ सय १९ मेट्रिक टन उत्पादन हुँदा चिनो एक हजार छ सय ८१ मेट्रिक टन, कागुनो नौ सय ३६ र लट्टे ४५ मेट्रिक टन उत्पादन भएको जनाइएको छ ।
२३ हजार मेट्रिक खाद्यान्न अपुग
प्रदेशमा वार्षिक २३ हजार मेट्रिक टनभन्दा धेरै खाद्यान्न अपुग हुने गरेको पाइएको छ । तथ्याङ्कानुसार प्रदेशमा वार्षिक रूपमा २३ हजार चार सय ३४ मेट्रिक टन खाद्यान्न अपुग हुने गरेको हो । राष्ट्रिय जनगणना २०७८ अनुसार कर्णाली प्रदेशको जनसंख्या १६ लाख ८८ हजार चार सय १२ रहेको छ ।
यो सङ्ख्यालाई आधार मान्दा कर्णालीमा वार्षिक एकजनालाई दुई सय एक किलो खाद्यान्न आवश्यक पर्दछ । कर्णालीमा अहिले वार्षिक तीन लाख २० हजार आठ सय ९० मेट्रिक टन खाद्यान्न उत्पादन हुने गरेको छ ।
कर्णालीलाई पूर्ण रूपमा खाद्यान्नमा आत्मनिर्भर हुन तीन लाख ४४ हजार तीन सय २४ मेट्रिक टन खाद्यान्न आवश्यक पर्ने कृषि विकास निर्देशनालयका कृषि प्रसार अधिकृत तिलकप्रसाद पाण्डेले जानकारी दिए । जिल्लागत रूपमा सल्यान, दैलेख र सुर्खेत मात्र खाद्यान्नमा आत्मनिर्भर छन् । अन्य सात जिल्लालाई आफ्नै उत्पादनले वर्षभर धान्न सक्ने अवस्था नरहेको पाण्डेले बताए ।
एकानब्बे हजार ३३ मेट्रिक टन खाद्यान्न उत्पादन हुने सुर्खेत खाद्यान्नमा आत्मनिर्भर छ । सुर्खेतमा चार हजार आठ सय ६७ मेट्रिक टन मौज्दात रहने गरेको निर्देशनालयले जनाएको छ ।
त्यसैगरी, खाद्यान्नमा आत्मनिर्भर जिल्ला सल्यान हो । सल्यानमा वार्षिक ४७ हजार सात सय ८८ मेट्रिक टन खाद्यान्न आवश्यक पर्ने भए पनि ५२ हजार तीन सय ७४ मेट्रिक टन उत्पादन हुने गरेको छ । पाण्डेका अनुसार दैलेखमा पनि वार्षिक ५६ हजार आठ सय १२ मेट्रिक टन उत्पादन हुन्छ । जबकि दैलेखलाई ५० हजार तीन सय ६१ मेट्रिक टन खाद्यान्न आवश्यक पर्ने गरेको छ । अन्य सात जिल्ला भने खाद्यान्नमा आत्मनिर्भर हुन सकेका छैनन् ।
अहिले पनि डोल्पामा वार्षिक पाँच हजार ९९ मेट्रिक टन खाद्यान्न अपुग छ । हुम्लामा आठ हजार पाँच सय ६५, मुगुमा छ हजार चार सय ३९, जुम्लामा तीन हजार पाँच मेट्रिक टन खाद्यान्न वार्षिक रूपमा अपुग हुने गरेको छ ।
सबैभन्दा धेरै कालीकोटमा १० हजार तीन सय १७ मेट्रिक टन वार्षिक रूपमा खाद्यान्न अपुग हुँदा रुकुमपश्चिममा एक हजार छ सय १५ र जाजरकोटमा चार हजार दुई सय ९९ सय मेट्रिक टन खाद्यान्न वार्षिक रूपमा अपुग हुने गरेको कृषि विकास निर्देशनालयको तथ्याङ्क छ ।
यस वर्ष हुरीबतासका कारण मकैबालीमा र केही जिल्लाको धानबालीमा क्षति भएको तथा भूकम्पका कारण भण्डारण भएको खाद्यान्न क्षति भएका कारण खाद्यान्न बचतमा कमी देखिएको निर्देशनालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता छानेका जेट्जले लिए नाम फिर्ता
-
६०० ग्राहकको विद्युत् लाइन काटिँदै
-
जर्मनीको वायर्नम्युनिख क्वार्टर फाइनलमा
-
खदीजा चम्किएपछि म्यान्चेस्टर सिटी दुई खेलअघिनै क्वार्टरफाइनल प्रवेश
-
रुसले युक्रेनमा हाइपरसोनिक प्रणालीको क्षेप्यास्त्र प्रहार गरेको दाबी
-
विकास परियोजनाको नाममा कालीगण्डकी नदीको अस्तित्व मेटिने चिन्ता