बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

आँपको बगैँचा मासेर सौर्य प्लान्ट स्थापनाको तयारी गरेपछि किसान विरोधमा

शनिबार, २६ साउन २०८१, १७ : ४८
शनिबार, २६ साउन २०८१

काठमाडौँ । धनुषाको बटेश्वर गाउँपालिका–१ चित्रपुरमा ८० बिघा क्षेत्रफलमा लगाएको आँपको बगैँचा फडानी गरेर सौर्य प्लान्ट स्थापनाको तयारी गरेसँगै स्थानीयहरू विरोधमा उत्रिएका छन् । काठमाडौँ महानगरपालिका–३२ जडीबुटीस्थित जन्दादेवी सोलार प्रा.लि.ले आँप पकेट क्षेत्रमा सौर्य प्लान्ट स्थापनाको काम अगाडी बढाउने तयारी गरेको हो । 

५० मेगावाट सौर्य विद्युत् उत्पादन गर्ने प्लान्ट स्थापनाका लागि १२ जना किसानसँग १६ बिघा जग्गा ३० वर्षका लागि भाडामा लिने सम्झौता गरिसकेको अवस्थामा स्थानीयहरूले विरोध जनाएका हुन् । उक्त कम्पनीले असार २९ मा किसानसँग गरेको सम्झौतामा वार्षिक प्रतिकट्ठा ८ हजार रुपैयाँ र प्रत्येक दुई वर्षमा १० प्रतिशत भाडा वृद्धि गर्ने उल्लेख छ । 

संघीय सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले त्यहाँ कुनै सिँचाइ आयोजना नरहेको भन्दै ती जग्गा सिँचाइयोग्य नरहेको प्रमाणित गरिदिएको बटेश्वर गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष अशोककुमार महतोले जानकारी दिए । जन्दादेवी सोलार प्रा.लि.ले लिन खोजेको सबै जग्गामा आँप खेती रहेको वडाध्यक्ष महतो बताउँछन् । उनका अनुसार बर्सेनि यस क्षेत्रबाट लाखौँ रुपैयाँको आँप बिक्री हुन्छ । 

आँप खेती फडानी गरेर सोलार प्लान्ट स्थापना गर्ने विषयमा किसान विभाजित छन् । कुनै वर्ष आँपखेतीमा क्षति भोग्दा सरकारले राहत नदिएको भन्दै कतिपय किसान सोलार प्लान्ट स्थापनाका लागि जग्गा दिनु बाध्यता रहेको बताउँछन् । त्यसैले केही किसान जन्दादेवी प्रालिको जग्गा दिन सहमत भएको बताउँछन् । 

स्थानीय किसान रामउदगार महतोले आँप पकेट क्षेत्रमा आँप खेती फाँडेर सोलार प्लान्ट स्थापना गर्नु खेदजनक रहेको भन्दै यसलाई रोक्नुपर्ने बताए । रामउदागरले यो जन्दादेवी प्रा.लि.ले पछि गएर के गर्छ थाहा नभएको तर अहिले आफूहरूको आश्रय आँप रहेकाले आँपको बगैँचा फडानी गर्न नदिने अडान लिए । सोलार प्लान्टका लागि अन्यत्र खाली जग्गा खोज्न सकिने बताउँदै आँप खेती फाँडेर सोलार प्लान्ट राख्न खोजे आन्दोलन हुने चेतावनी दिए ।

उनले भने, ‘आँप पकेट क्षेत्रमा आँप खेती फाँडेर सोलार प्लान्ट स्थापना गर्नु खेदजनक रहेको छ, यसलाई रोक्नुपर्छ । पहिले यहाँ धान खेती हुन्थ्यो तर आँप उत्पादन यहाँ हुन थालेपछि किसानहरूको आयको स्तरमा वृद्धि भएको छ ।’

अर्का किसान विनोदकुमार सिंहले सो स्थानमा सोलार प्लान्ट खोल्ने वा नखोल्ने भन्ने विषयमा गहन छलफल हुनु आवश्यक रहेको बताए । प्लान्ट स्थापना हुँदा गाउँ तथा वरपरको वातावरणमा असर नगर्ने निश्चित भएपछि मात्रै त्यसको काम अगाडी बढाउन सकिने उनको भनाई थियो ।

यी दुई स्थानीयभन्दा पृथक विचार स्थानीय किसान रामखेलावन महतोको छ । उनले भने, ‘आँप खेतीबाट कुनै—कुनै वर्ष आम्दानी हुन्छ तर अधिकांश वर्षमा घाटै व्यहोर्नु परिरहेको छ, आँप कुनै वर्ष नफल्ने, आँपमा किरा लाग्ने, बजार नपाउने जस्ता समस्या हामीसँग छ, त्यसैले म यो प्लान्टको पक्षमै छु ।’

जल्दादेवी सोलार प्रा.लि.ले भने अन्यत्र जग्गा नपाएकाले सो स्थानमा प्लान्ट स्थापना गर्न लागेको स्पष्ट पारेको छ । बटेश्वरको आँप पकेट क्षेत्रका किसानले दिन मानेपछि त्यहाँ प्लान्ट स्थापनाको तयारी गरेको उनीहरूको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप