पुरुषोत्तम सुवेदीका तीन कविता
१) मेटामर्फोसिस
यो गाथा
एक समयहीन समयको
वीभत्स कल्पना हो
आदर्शको
लासमाथि सुतेको
यथार्थको क्रूर नाटक हो
र हो एउटा स्वप्न भङ्गको
अवाञ्छित परिघटना
र त्यहीँ गिजोलिएर
त्यहीँ टुक्रिएर
फ्यान्टेसीको गर्भाशयमा कोरलिएर
अतीतको बाटो हिँड्दै
वर्तमानको ढाडमा बसेको छ
अहिले कथा भएर
प्राक्कल्पना भएर
ढसमस्स,
(१)
माइकल एन्जेलोलाई
बनाउनु थियो
ईशुख्रिष्टको बालरूपको मूर्ति
खोज्दै जाँदा भेटे उनले
सोचेजस्तै शान्त
र निर्दोष अनुहारको
एउटा मजदुरपुत्र ।
र त्यस करुण दिव्य र भव्य अनुहारलाई
उतारे सर्लक्क कलाको शक्तिले
ईशुको बाल अनुहारको
भव्य मूर्तिमा
(२)
हाम्रो आधुनिक कालको इतिहास
र राजनीतिका
विख्यात नेताहरूको साहस, भविष्यदृष्टि
र बलिदानको गाथा
यसरी गाइयो कि
ती गाथामा
भोको सिंहसँग एक्लै लडेर
अरु बाख्राको रक्षामा ज्यान दिने
सिँगारी बाख्राको लोककथाको
परम समर्पण र चरम त्यागको
उत्तेजक क्रान्ति चेतभन्दा
कम छैन कथाको आवेग
कहिले लडे उनीहरू
जनक्रान्ति
कहिले वर्ग शत्रुु समाप्त गर्न
नौलो जनवादी क्रान्ति
र लडे कहिले फेरि जनयुद्ध
प्रत्येकपटक
समता, मुक्ति र अग्रगमनको नारा
लगाइएको थियो
(तर विरोधीहरू
प्रत्येक समयलाई
झुट र बेइमानीको कालो पुलिन्दा
कपटपूर्ण, हिंस्रक र
सत्ता स्वार्थको हिस्सा भन्ने गर्थे
र नष्ट गरिए तत्तत् समय
अनेक गोस्वारा, गौँडा, स्कुल
गाउँ र नगरपालिका भवन
मारिए अनेक व्यक्तिहरू र
बन्द भए तिनका स्वप्नशील आँखा
प्रकटमा जनआन्दोलन र
नेपथ्यमा देशी–विदेशी घुसपैठको बलमा
दिल्ली सम्झौता भयो
कथित शान्ति सम्झौता भयो
अनेक खुला र गोप्य मन्त्रणा भए
अनेक कपटपूर्ण र असमान सम्झौता गरिए
र हातमा प¥यो सत्ताको बागडोर)
कालान्तरमा
तिनै क्रान्तिकारीहरू
सत्तासीन भए पटकपटक
सत्ताच्युत भए पटकपटक
पुरानो दाबी र घोषणा एउटा भयो
काम अर्को भयो
र संस्थागत भयो
भ्रष्टाचार, घुसखोरी, बेइमानी र विदेशी दलाली
(३)
धेरैपछि समय क्रममा मूर्ति बनाउन
खोज्न थाले माइकल एन्जेलोले जुडासको प्रतिरूप
खुङ्खार, वीभत्स, धोकेबाज, क्रूर, पतीत
मृत्यु र आतङ्कको झल्को दिने
खलनायकी अनुहार,
खोजीको क्रममा भेटे उनले
बलात्कार, डकैती, हत्या
र दुर्दान्त क्रूरताको आरोपमा
फाँसीको पर्खाइमा रहेको
जुडासको प्रतिरूपजस्तो लाग्ने
एउटा खुङ्खार अपराधी
जसको अनुहार र कृत्यहरूको वर्णन सुन्दा
त्रास र मृत्युभावको सञ्चार हुन्थ्यो
अनि मूर्तिको खाका खिचे कागजमा
माइकल एन्जेलोले
र छिनु उचाले
जडासको मूतिका लागि पत्थर काट्न
तर छिनोमा हतौडाले हिर्काउनुअघि नै
मुसुक्क हाँस्यो कैदी र भन्यो सुस्तरी
ए दाइ
म त्यही व्यक्ति हुँ
जसको बाल अनुहारबाट बनाउनुभएको छ तपाईंले
ईशुख्रिस्टको बालककालको मूर्ति
र राखिएको छ त्यो मूर्ति अहिले पनि
भ्याटिकनको मूल अर्चनाकक्षमा
अवाक् भए उनी
विस्मय, शोक, अविश्वास
ग्लानि, अनिश्चय, दोधार
र पीडामा चुर्लुम्म डुबे
अनास्थाको यो नाटक देखेर
नियतिको यो छल देखेर
भुईंमा खस्यो
उनको हातबाट छिनो र हथौडा
(४)
एउटा व्यक्तिको अनुहार
व्यवहार, विवेक र सक्रियतामा
एक समय दृष्टिगोचर हुने
स्वाभाविकता र स्पष्टता
लगत्तै अर्को समयमा
ठिक विपरीत द्वैध चरित्रको
भ्रष्ट, नक्कली र अविश्वसनीय
देखिएपछि भेटिएपछि
सर्पको काँचुली फेरिएझैँ
फेरिन सक्ने मान्छे चरित्रमाथि
कुनै पूर्वधारणा बनाउनु
जोखिमपूर्ण छ
२) भुईंकुइरो र स्मृति
धुवाँ मिसिएको भुईंकुइरोसँगै
मिसिएर आए फटाफट
अनिश्चय र असफलताका
अनेक आकृतिहरू
सिनेमाका दृश्यमा झैँ
साँझमा आइपुगे बास माग्न बाह्रमाने साहु
अनन्त चाउरीले ढाकेको अनुहार लिएर
अभाव, असफलता र असुरक्षाका अनन्त शृङ्खला
समयका चञ्चलताहरूमा अटाउन खोज्दै
र गाउन थाले करुण स्वरमा–
‘सात साल अगाडि त बाह्रमाने साहु
सात सालपछाडि मागीमागी खाऊ’
ओर्लंदै थियो अँध्यारो
देउरालीबाट बिस्तारै
र फैलिँदै थियो निरन्तर
सामाजिक सम्बन्ध र असुरक्षाको घेरा
कुखुरा बास्नु अघि नै
बलिसकेको थियो अँगेनो
फैलिँदै थियो धुवाँ
र मिसिँदै थियो भुईंकुइरोसँग
गायक भिक्षुक आए बिहानै
पीडा र वेदनाले रन्काउँदै
एकतारेको तार र आफ्नो स्वरको लोक मिठास
अनि शोक, असुरक्षा र वेदनामा चुर्लुम्म डुबेर
भिक्षा दिन आए तिनलाई
भर्खरै कार्गिल युद्धमा पति मारिएका
पहाड जत्रो जिन्दगी बिताउन बाँकी
श्वेतवस्त्रमा युवतीहरू
आँसुको तातो हाहाकार
खहरे भएर मिसियो
चिसो खोरुङ्गा खोलामा
अनि आइपुगे जमदार सुनार
साइत बिग्रेको चिन्ता
र छोरो वाफे घर नफर्केको त्रास बोकेर
‘दाहिने आँखो पनि फुर्फुर गर्छ
कुखुराको पोथी पनि कुर्कुर गर्छ
अँगेनाको आगो पनि भुर्भुर गर्छ
कहाँ गइस् नि मेरो वाफे’ भन्दै
बाह्रमासे साहु, एकतारे गायक
जमदार सुनार, मृत सैनिकका पत्नी
र धुवाँ र कुइरोको
खिच्न खोजेँ तस्बिर
तर सघन बसेका
पीडा, वेदना र असुरक्षाको समग्रता
क्यामरामा कैद गर्न सकिएन
शताब्दियौँदेखिका अधुरा सपना
असफलता, प्रतिरोध र पलायन
यति धेरै रहेछन् कि
ती बिलाएनन्
बरु छरिए परपरसम्म भुईंकुइरो भएर
र थपिए स्मृतिको बृहत् भकारीमा
३) सिन्धुवा
भूकम्पको धक्काबाट
जब घरहरू भत्के
स्निग्ध मुस्कान भत्क्यो
उद्धारकर्ताहरूले खोतले
फगत भग्नावशेष
मृत शरीर, ढुङ्गो र माटो
रगत र आँसुका
खाटा बसेका घाउहरू !
निकै दिन घाउ दुखे
शिविरभित्र
पछि नेताहरू आए
र भग्नावशेषमाथि
सेता घरहरू ठडिन थाले
सिन्धुवाका दुस्वप्नहरूमाथि
टाटा बस र ट्रकका चक्काहरूले
हमला गरे
पैदलयात्री र भरियाको लस्कर
बास बस्ने लजहरू
संघर्षमा हारेपछि
पसलमा अपवित्र मुस्कान टाँगियो
टाटा बस गुडाउने साइँला गुरुजी
र कन्डक्टर महेन्द्र खत्री
जब साँझ–बिहान आइपुग्छन्
एकैपटकको हराम भिड बढ्छ
अनि पुनः सिन्धुवा
दुस्वप्न सिरान हालेर
फ्वाँफ्वाँ निदाउँछ
बिहान एकछिन लेकको अनुहार
हुस्सुले छोपिदिन्छ
हुस्सुले छोड्नासाथ
सेता जीवनहीन घरहरू
र भर्खरै निर्मित
सम्भ्रान्त चर्चबाहिर
सिन्धुवाको भूत ब्युँझन्छ
र अनायास टाटा गाडीले
हर्न बजाएपछि
सिन्धुवाको नयाँ पहिरन
पसलमा मुस्कान टाँगिन्छ
०००