प्रहरी लाठी र बन्दुक बोक्न मात्र होइन, बौद्धिक क्षेत्रमा पनि सक्षम : महानिरीक्षक कुँवर

काठमाडौँ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी कानुन कार्यान्वयनमा मात्रै नभई बौद्धिक क्षेत्रमा पनि त्यतिकै सक्षम रहेको बताएका छन् । नेपाल पुलिस क्लब भृकुटीमण्डपमा शनिबार प्रहरी उपरीक्षक नवीन किशोर प्रधानद्वारा लिखित ‘सादृश्य विम्ब’ कथासङ्ग्रह र ‘लेखान्त’ नाटक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले सो कुरा बताएका हुन् ।
प्रहरी महानिरीक्षक कुँवरले साहित्य लेखन आफैमा एउटा कठिन परिश्रम भएको एवम् ज्ञान र क्षमताको साथै धैर्यताको पनि निकै आवश्यकता रहेको चर्चा गर्दै आम जनमानसमा रहेको प्रहरी प्रतिको लाठी र बन्दुक मात्र बोक्ने भन्ने परम्परागत बुझाइलाई चिर्न यस कृति प्रशंसनीय रहेको बताए । अहिलेको विद्यमान परिवेशमा प्रहरीको कार्यक्षेत्र शान्ति सुरक्षा अमनचयन कायम गर्ने, अपराध न्यूनीकरण र अनुसन्धान गर्ने तथा विविध प्रहरी कार्यद्वारा सुरक्षाको प्रत्याभूति प्रदान गर्नुका साथै प्रहरीमा बहुआयमिक प्रतिभा समेत हुन्छ भन्ने तथ्य आजको नाटक तथा कथासङ्ग्रहको लोकार्पणले प्रस्फुटित गरेको उनले उल्लेख गरे ।
प्रहरी महानिरीक्षक कुँवरले वंश परम्परा सम्बन्धी मोह, सामाजिक रूपान्तरण, नयाँ र पुरानो पुस्ताबिचको मानसिक मतभेद जस्ता सामाजिक विषयवस्तु समेटिएको लेखान्त नाटक तथा हालको सामाजिक एवम् राजनीतिक वस्तुस्थितिमा आधारित ‘सादृश्य विम्ब’ समाजका विविध पक्षहरूलाई उजागर गर्दै नयाँ दृष्टिकोण प्रदान गर्ने र पाठकहरूको मन मस्तिष्कमा दीर्घकालीन प्रभाव पार्ने साहित्यिक सिर्जनका रूपमा रहने अपेक्षा लिएको बताए ।
उक्त अवसरमा समारोहका प्रमुख अतिथि प्रहरी महानिरीक्षक कुँवरका साथै विशिष्ट अतिथिहरूले संयुक्त रूपमा उक्त कथासङ्ग्रह र नाटक लोकार्पण गरे। साथै प्रहरी महानिरीक्षक कुँवरले कृति प्रकाशनमा संलग्नहरूलाई कदरपत्र समेत प्रदान गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षाले कहाँ–कहाँ छ राजमार्ग अवरुद्ध ?
-
काठमाडौँबाट रामेछाप जाँदै गरेको यात्रुवाहक बस रोशीमा दुर्घटना
-
डोमिनिकन गणतन्त्रमा क्लबको छत भत्किँदा १८४ जनाको मृत्यु
-
गाजाको ठुलो हिस्सा कब्जा गरिरहेछ इजरायल, २३ को गयो ज्यान
-
सलमानको ‘सिकन्दर’ले पाउनै छाड्यो दर्शक
-
ट्रम्प ट्यारिफमाथि चीनको जवाफ– हामी चुप लागेर बस्ने छैनौँ