आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
नियात्रा

स्वयम्भुजस्तै मोँमार्त

शनिबार, २६ साउन २०८१, १६ : २७

स्वयम्भूबाट काठमाडौँ नियालेझैँ मोँमार्तबाट पेरिस सहर नियालियो । हल्का हुस्सुले पेरिस सहरलाई चुम्बन गरिरहेथ्यो, त्यहाँ उपस्थित युवा र युवतीहरूझैँ । हामीले आँखा गाडीगाडी चारैतिर नियाल्यौँ । सेन नदीलाई पटुकी बनाएर बाँधिरहेछ पेरिस ।

वर्षंदै गरेको हिउँसँगै बिहानै ब्युँझियो ब्रसेल्स । ‘हिउँका भुवा शुभ सङ्केत हुन्,’ चन्दजीले भन्नुभयो । बिदाइमा जुट्नुभयो अम्बिकाजी, भण्डारीजी र चन्ददम्पती । एउटा परिचय र एउटा साइनो साटासाट गरेर छोडियो उहाँहरूलाई ।

वाटरलुबाट प्रस्थान गरेको १५ मिनटमै ट्राफिक जाममा फसियो । समयमै रेलवे स्टेसनमा नपुगिने हो कि भन्ने डर जब्बर बन्यो । ब्रसेल्सका कुनाकुनासँग मितेरी लगाइसकेका हाम्रो गाडीका चालक चतुर थिए । सहर छाडेर जङ्गलभित्रको बाटो रोजे । पुर्‍याए निश्चित समयमै रेल स्टेसन । 

बेल्जियमबाट फ्रान्सको राजधानी पेरिस जाँदै थियो रेल । रेलका डब्बाभित्रको न्यानोमा भर्खर कोरलिएका बच्चाले परेवाको ओथारा पाएझैँ लागिरहेथ्यो ।

बिहान ९ बजेर १० मिनेट जाँदा ब्रसेल्सको मिडी स्टेसनबाट रेल चढ्यौ पेरिसको नर्ड स्टेसनको लागि । थालिज रेलवेको त्यस रेलबाट ब्रसेल्सदेखि पेरिससम्म एक घन्टा २५ मिनेटको यात्रा तय गर्न ७४.५० युरो भाडा भुक्तानी गरेर अघिल्लो दिनै टिकट किनिसकेका थियौँ ।

रेल दौड्यो । दायाँबायाँ हरिया चौर, कृषिफार्म, जङ्गल र बस्तीहरू पार गर्दै सललल बगिरह्यो रेल । कतैकतै ऐँजेरु पलाएका रूखहरू देखिन्थे । रूखहरूले ऐँजेरु च्यापेका थिए । ऐँजेरु ऐँजेरु मात्र थिएन । रङ्गीन फूलहरू र मडिलो जत्रा स–साना फल पनि लागेका थिए । जिन्दगीमा ऐँजेरु पलायो भने अपाङ्ग बन्न बेर लाग्दैन । ऐँजेरुमा पनि फूल फुलेको देखेर दुःखमा पनि मुस्कुराउनुपर्ने यथार्थ उजेलियो ।

चौरमा हरियाली छ । खेतमा कतैकतै हिउँ छरिएका तरेलीहरू छन् । कुलेसाहरूमा रेखी बसेको छ, चामलको पिठोजस्तो । भुइँमा हरियो गलैँचा बिछ्याएजस्तो लाग्छ आँखाको नापोले भ्याएसम्म । तर हिउँले खाएर भर्खर बग्रेका रूखहरूमा पात छैन । धुुस्रोफुस्रो जमातबिच बाँचिरहेछ जङ्गल । पिपिराहरू मुख–मुखमा च्यापेका जङ्गलहरू उत्साहित छन्, हिउँलाई हराएकामा उमाएका छन् ।

गाउँहरू देखिन्छन् । हाम्रा गाउँहरूजस्ता ढुङ्गाका बगर बनेका छैनन् गाउँहरू । राम्रा सडकहरूको अङ्कमालमा छन् । सफा र पर्याप्त जग्गाको माझमा उभिएका छन् गाउँहरू । गाउँहरूमा ढसमस्सपन देखिएको छैन । तँछाडमछाडको कालो राग तेर्सेको छैन । हरिया आँकुरा र स्वादिला सिलसिलामा समुद्री शैली बोकेर बाँचेका छन् गाउँहरू ।

१० बजे बेल्जियम छाडेर फ्रान्स प्रवेश गरियो । सिमसिम पानी सुरु भयो, फ्रान्सको किनारदेखि नै ।

रेलभित्र हामी चारजनाको गफले हल्लाको रूप लिन्थ्यो घरीघरी । कर्णजी पछाडि बस्ने एकजना जापानीजस्तो लाग्ने सहयात्री बेलाबेला हाम्रो हल्लाले आँखा तान्थे । म कर्णजीलाई सजग गराउँथेँ । यो सारौटेहरू भेला भएको साँझको बाँसको झाङ होइन बुझ्नुभो ? एकपटक त अलि बेसरी नै भनेँ मैले उहाँलाई । मेरो बगलमा एउटी युवती पढिरहिन् पुस्तक, यात्राको अवधिभर । हाम्रो हल्लाको मतलब थिएन तिनको ध्यानमग्नतालाई ।

युरोपेलीहरू सकेसम्म अरुको कुरातिर ध्यान दिँदैनन् । बस, रेल वा विमानको यात्रामा पढिरहन सक्ने उनीहरूको बानी अनुकरणीय छ । अग्लाअग्ला कलात्मक शैलीका पुराना घरको छेउमा पुगेपछि पेरिसमा रेल रोकियो १० बजेर ३० मिनेट जाँदा । पानी बर्सिरह्यो । चिसोले मुटु टोक्दै थियो । औँलाहरू कठ्याङ्ग्रिरहे । रेलवे स्टेसनको प्लेटफार्मका ठाउँठाउँमा ठुल्ठुला हिटरहरू बालिएका थिए । मान्छेहरू उभिएरै सेकेर अघि बढ्थे । हातहरू ततायौँ । मनमा राहतको सञ्चार भयो ।

दुई कारसहित हामीलाई कुरिरहनुभएका नेपाली राजदूतावास फ्रान्सका तृतीय सचिव श्री सागरप्रसाद फुँयाल झ्वाट्ट भेटिनुभयो रेल स्टेसनको बाहिरपट्टि ।

कारहरू राजदूतावासतर्फ लागे । सयौँ वर्षअगाडि बनेका पेरिस सहरका घरहरू भर्खर बनेका जस्ता सुन्दर देखिन्थे । सडकका दुवै किनारमा कारहरू पार्क गरिएका थिए । बिचमा गुडिरहेथे, ठुला–साना सवारी–साधन ।

‘यो पाथ नामको सिनेमा हल हो । एकैपटक २५  देखि ३० वटासम्म सिनेमाको प्रदर्शन हुन्छ यहाँ,’ दूतावासका कर्मचारी गामिनीले बताउनुभयो । पाथ सिनेमा हल पार गर्नेबित्तिकै आठ लेन र बिचमा रूखहरू रहेको ठुलो सडकमा प्रवेश गर्‍यौँ । पेरिसका प्रायः सबै घरमा स–साना बार्दली छन् । गुम्बजको आकारका झ्यालढोका छन् । टम्म मिलेका घरहरूका बिचमा हिँड्दा आफू हराउँला जस्तो लाग्ने । मान्छेहरू ओभरकोटयुक्त पहिरनमा । ‘अहिले पो यस्तो । गर्मी समयमा त अर्धनग्नताको चरम सीमामा हिँड्छन् पेरिस–निवासीहरू,’ सागरजी पेरिसको यथार्थता प्रस्ट्याउँदै हुनुहुन्थ्यो ।

नेपाली दूतावासमा राजदूत प्रज्ज्वलशमशेर जबरा र काउन्सेलर निरञ्जनमानसिंह बस्नेतसँग भेटघाट भयो । केहीबेर कुराकानी भएपछि कार्यालयगत काम गर्‍यौँ । काम छिटो सक्नु थियो । फुर्सद मिले घुम्नु थियो । बढीभन्दा बढी काम गर्‍यौँ । राजदूतकी धर्मपत्नी सिन्धु राणासँग भेटघाट भयो । उहाँहरू दुवैजनाको व्यवहारमा सरल, मिलनसार र सहयोगी स्वभाव झल्कने । सिन्धु राणा नाट्यसम्राट् बालकृष्ण समकी नातिनी पर्नुहुन्छ । उहाँका ‘अत्तरको फूल झरेर जान्छ माया त मर्दैन’, ‘भो मायाको कुरै नगर’ जस्ता धेरै गीतहरू चर्चित भई आठ एल्बममा अङ्कित भइसकेका छन् । खाना खाने क्रममा उहाँसँग गीत–सङ्गीत र साहित्यबारे धेरै कुराकानी भए । राजदूत पनि राम्रो गीतकार हुनुहुँदो रहेछ, राष्ट्रिय भावनाका गीतकार । मैले केही हाइकुहरू सुनाएँ । खाना थपीथपी खुवाइरहनुभयो राजदूत दम्पत्तीले । ‘तपार्इं त साह्रै मिठो लेख्नुहुँदो रहेछ, हामी पनि नेपाल फर्केपछि संस्थागत रूपमै अरु थप काम गर्नुपर्छ है साहित्य र सङ्गीतका क्षेत्रमा,’ हामी बाहिर निस्कने बेला गीतकार सिन्धु राणाले भन्नुभयो ।

सजेलिजे भन्ने स्थानमा विजयद्वारको निर्माण गरे फ्रान्सेलीहरूले । त्यो ‘आर्क द ट्रिम्फ’ नामले पनि चिनिन्छ । १७औँ शताब्दीमा नेपोलियनले निर्माण गराएको यस स्मारक पहिलो र दोस्रो विश्वयुद्धपछि अरु आकर्षक बनाइयो । फ्रान्सका ज्ञात तथा अज्ञात सहिदहरूको स्मारक पनि हो यो । विजयद्वारको अगाडि–पछाडि युद्धका बाध्यता र युद्धबाट विजय झल्कने मूर्तिकला अङ्कित छन् । एउटा मूर्तिमा युवक हतियार उठाएर युद्धमा जान खोज्दै छ । बच्चा बोकेकी उसकी पत्नी र उसका बाबु–आमा युद्धमा जान रोक्दै छन् । तर युवक बढिरहन्छ युद्धमा र विजय हासिल गर्छ । ‘युद्ध रहर होइन बाध्यता हो, युद्धमा प्रवेश गर्नेले हटेर होइन डटेर सामना गर्नुपर्छ’ भन्ने भाव झल्कन्छ फ्रान्सको विजयद्वारमा ।

हामी अङ्ग–प्रत्यङ्ग खोतल्न खोज्दै थियौँ । बादलले पेरिसलाई ढाकिरहेथ्यो । सिमसिम बर्सन्थ्यो घरीघरी । मलाई असार–साउनमा धुन्चे वरिपरि वा पाँचमानेको डाँडाबाट तारकेश्वर जाँदा कुहिरोभित्र हिँडिरहेझैँ लाग्दै थियो ।

हामी पेरिसको उच्च बिन्दु मोँमार्त पुग्दा कुहिरोभित्रै मान्छेहरू कुइरीमण्डल रूपमा भेला भएका थिए । वसन्ती बगैँचाका फूलझैँ भरर्र भेला भएका थिए युवा र युवती । जाडो सहिनसक्नु खालको थियो । असङ्ख्य युवतीहरू अर्धनग्न रूपमा पनि उपस्थित भएका थिए । धेरैजसो युवा र युवती परेवाका जोडी भएर पुगेका थिए, चुच्चोचुच्चो जुधाउँथे । एकले अर्कोलाई मुसार्थे र कैद गर्दै थिए क्यामेरामा ती अविस्मरणीय क्षणहरूलाई । मोँमार्त ठ्याक्कै स्वयम्भूजस्तै बसेको थियो । ‘यो त स्वयम्भू हो नि,’ जनार्दनजीले दाँज्नुभयो । ‘हो हगि साँच्चै स्वयम्भुजस्तो,’ सागर फँुयालजीको सहमति । 

स्वयम्भूबाट काठमाडौँ नियालेझैँ मोँमार्तबाट पेरिस सहर नियालियो । हल्का हुस्सुले पेरिस सहरलाई चुम्बन गरिरहेथ्यो, त्यहाँ उपस्थित युवा र युवतीहरूझैँ । हामीले आँखा गाडीगाडी चारैतिर नियाल्यौँ । सेन नदीलाई पटुकी बनाएर बाँधिरहेछ पेरिस । सात–आठ तला तर सबैतिर एकनास टम्म मिलेका घरहरूले पेरिस बेग्लै पहिचानयुक्त बनिरहन्छ । त्यसबाहेक ६५ तलासम्मका घरहरू बिचबिचमा नारदका टुप्पी बनिरहेथे । संसारको सातौँ आश्चर्यमध्ये एक इफिल टावर आकाश छेडिरहेथ्यो र मान्छेलाई उन्नतिको शिखरमा चढ्न आमन्त्रण गरिरहेथ्यो । सेन नदीमाथि अलेक्जेन्ड्रियाजस्तो विश्वकै सुन्दर पुलमध्ये एक मात्र होइन, असङ्ख्य पुलहरू झुन्डिरहेथे सुन्दर मालाजस्ता बनेर । सहरभित्र मान्छेका सागरलाई लिपिबद्ध रूपमा वारपार गराउन सयौँ अकासे पुलहरू थिए । सडकहरू अष्टनाग जोल्टिएजस्तो मिलाएर जोल्टिरहेथे । ट्राम, रेल, बस, कार सबै सालीनताका साथ कुदिरहेका देखिन्थे मोँमार्तबाट ।

मोँमार्तको उच्च बिन्दुमा एउटा विशाल र अग्लो गिर्जाघर छ । गिर्जाघरभित्र असङ्ख्य इस्लामीहरू प्रार्थना गर्दै थिए । मास्तिरको भित्ता (सिलिङ) र भित्री भित्ताहरूमा प्रभुको जीवनगाथा अङ्कित थिए । माथिको भित्तामा राता रत्नहरू मिलाएर लालित्यपूर्ण चक्रको निर्माण गरिएको छ । त्यस जिजस क्राइस्टको हृदय मानिँदै आएको छ । त्यसैले त्यस गिर्जाघरलाई ‘पवित्र हृदय’ वा साक्रे केयर भन्ने नाम दिइएको छ । भित्तामा मात्र होइन, शिराहरूमा पनि कलात्मक चित्रकारिताको अब्बल नमुना प्रस्तुत भएको छ । भक्तहरू प्रार्थना गर्दै थिए, पुलकित बनेर मोँमार्तमा इस्लामीहरूझैँ स्वयम्भूमा बौद्धमार्गीहरू ‘ॐ माने पेमे हुम्’ जप्दै होलान् यतिखेर, मलाई यस्तै लाग्यो । आखिर सबैको कामना एउटै– सत्य र शान्ति ।

मोँमार्त गिर्जाघरबाट अलिकति दायाँतिर बढ्दा ‘प्लास दु तेर्य’मा क्यानभासको ताँती भेटियो । क्यानभास ठिक्क पारेर चित्रका लागि आमन्त्रण गरिरहेथे चित्रकारहरू । विश्वप्रसिद्ध चित्र ‘मोनालिसा’का कलाकार लियोनार्दो दा भिन्ची त्यस ठाउँमै कला साधना गर्थे । त्यसैले सबै कलाकार र अरु साधारणका लागि पनि पुजनीय ठाउँ बनेको थियो त्यो । मान्छेहरूलाई अघिल्तिर राखेर उनीहरूको चित्र ठ्याक्कै बनाइदिने कलाकारहरूको भिड थियो । आ–आफ्ना चित्र बोकेर आफ्नो गन्तव्यतर्फ लाग्नेहरूको कमी थिएन । जर्मनीकी एउटी युवतीले भर्खरै तयार भएको आफ्नो तस्बिर देखाउँदै मलाई भनी, ‘यो चित्रमा के म ठ्याक्कै उत्रेकी छैन त ?’

मलाई धर्मर भइरहेथ्यो साँच्चै युवती बोलिरहिथिन् वा उनको चित्र बोलिरहेथ्यो । ‘तिमी अब यस चित्रमा सरिसकेकी छ्यौ,’ मेरो भनाइले तिनमा उत्तेजना फैलियो । तिनी बोलिन्— साँच्चै हो ? त्यसो हो भने म चित्रकारलाई पाँच युरो थपी पुरस्कार दिन्छु ।

‘पोत्रे मेस्ये ?’ झन्डै अङ्ग्रेजी सिनेमाकी सुन्दरी केट हड्सनझैँ लाग्ने तरुनी कुची र कट्टी दुवै हल्लाउँदै मेरो सामु उभिइन् । म पर्दैन भन्दै अघि बढेँ । पल्लोपट्टि जोगीका जस्ता जगल्टा र दाह्रीजुँगा पालेको ‘विटल ड्रमर रिङ्गो स्टार्द’जस्तै लाग्ने एउटा अधबैँसेको अघिल्तिर अङ्ग्रेजी चलचित्रकी नायिका एन्जेलिना जोली र सुपर मोडल केट मोसजस्ता अनुहार भएका दुई युवती मुस्कान छरिरहेथे । अधबैँसे उनीहरूका नाक, कान, आँखा, कपाल, निधार सबैतिर आँखा टाँस्दै चित्रमा उनीहरूलाई सारिरहेथ्यो ।

चित्र बनाउने र बनाइमाग्नेहरूको भेला नै थियो त्यहाँ । कोही झ्याङप्वाल भएको अमेरिका जिन्स कपडामा रङ्गै रङ्गले पोतिएका कपडा पहिरिएर प्राकृतिक अमूर्त चित्र पहिरेको आभास दिइरहेथे । कोही कफी पिउँदै आफ्नो चित्र कोराउन मग्न थिए ।

सागरजीले मोमार्तनजिक टाती नामको बजारमा उपयुक्त दाममा सामान पाइने कुरा बताउनुभयो । कुनै पनि नयाँ स्थानमा पुग्ने र सामान किन्ने अवसर गुमाएमा फेरि मौका पाउन गाह्रो पर्छ । त्यसैले यो मौका नगुमाउन एक घन्टा बितायौँ टाटीमा । केही अत्तर किन्यौँ । फ्रान्स भनेपछि अत्तरको देश, वाइनको देश, इफिलको देश, परीहरूको देश र फूलहरूको देश । अत्तर किन्ने रहर नै पुगेको थिएन । हतार भएकाले छिटै बाहिरियौँ ।

टाटीबाट निवासतर्फ फर्कंदा साँझ परिसकेको थियो । पिगाल सहरको बिचबाट फर्कंदै थियौँ हामी । सडक पेटीमा र घरका ढोकामा चम्किला शृङ्गार गरेका युवतीहरू ग्राहकको खोजीमा देखिन्थे । ‘यो यौन बजार हो,’ हाम्रा चालक गामिनीले बताउनुभयो । पिगाल पेरिसको यौन बजारको रूपमा चिनिन्छ । मुला रुज, लिडोजस्ता विश्वप्रसिद्ध नाइट क्लबहरू पनि पिगालमै रहेका छन् । चुरोटको सर्को फुइफुइ फ्याँकिरहेका युवतीका समूहहरू देखिन्थे सडकपेटीमा । राता बत्तीहरूले सहर रातो र तातो बनिसकेको थियो । चिसो परिवेशमा तातेर भौँतारिनेहरू ओहोरदोहोर गरिरहेथे । हामीहरू भने अघि बढ्यौँ । मुला रुजलाई दायाँ पारेर सजिलिजेस्थित विजयद्वारको अघिल्तिर रहेको विश्वप्रसिद्ध सेफोरा नामको अत्तर–बजारमा । 

सेफोराको ढोकाबाट भित्र प्रवेश गर्नुअगावै वरिपरि सडक र पेटीमै मगमग अत्तर वास आइरहेथ्यो । आफूले किन्न चाहेको अत्तर शरीरमा छर्केर परीक्षण गर्ने चलन भएकाले सेफोरा पूरै अत्तरमय थियो । विश्वभरका सोखिन र धनीमानी मान्छेहरू आ–आफूलाई मन पर्ने र नयाँ शैलीका अत्तर किनिरहेका थिए । एउटा मूर्तिजस्तो आकारको सिसीमा राखिएको अत्तरमा आँखा पुगे मेरा । युरो १५४५ (नेपाली रुपैयाँ झन्डै एक लाख ५० हजारभन्दा बढी) मूल्य पर्ने अत्तर रहेछ त्यो । साह्रै महँगा अत्तर सजिएका थिए, तर किन्नेहरूको कमी थिएन । कतैकतै नङ सजाउने, अनुहार र शरीरलाई आकर्षक बनाउने (ब्युटी पार्लर)को काम खुला रूपले भइरहेथ्यो, अत्तर बजारको माझमा । उज्यालो प्रकाशले विश्वभरबाट ओइरिएका परीहरूको अनुहार चम्किरहेथ्यो । प्रकाश, पर्फ्युम र परीको समागमले सेफोरामा स्वर्गको सानो झलक फैलिरहेथ्यो ।

राति ९ बजे रात्रिभोज खाने निम्ता थियो राजदूत महोदयकहाँ । नेपाली सेनाका प्रधान सेनापति समेत बनिसक्नुभएकाले पनि होला राजदूत प्रज्ज्वलशमशेर जबरा र उहाँकी धर्मपत्नीमा समयप्रतिको सचेतता असाध्यै देखिन्थ्यो । रात्रिभोजमा राजदूतले सैनिक जीवनका सुखदुःखपूर्ण गाथा सुनाउनुभयो, नेपालीको एउटै जात नेपाली मात्र हो भन्नुभयो र भन्नुभयो— जहाँ रहे र जहाँ बसे पनि नेपाल कसरीमाथि लैजाने भन्ने काममा दत्तचित्त बनौँ । उहाँकी धर्मपत्नी सिन्धु राणाका गीतहरू सुन्यौँ— प्रेम भावका, राष्ट्रिय भावका र आध्यात्मिक भावनाका । त्यहाँ भोज थियो, साथमा भाषणको झल्को पनि । मिलनसारिता थियो र थियो आदेश र गर्जनका सैनिक सानमानका सुइराहरू ।

काउन्सेलर निरञ्जनमानसिंह बस्नेतको निवासमा रात बिताउनु थियो । इफिल टावरको फेदमै थियो उहाँको निवास । इफिल टावर रातमा झन् सुनौलो, झन् झलझलाकार सुत्ने कोठाबाट इफिल टावरको सौन्दर्य पिएँ । सौन्दर्यको उचाइ चढेँ । इफिलको सौन्दर्य जति पिए पनि प्यास मेटिएन । झलझलाकार बत्तीमा सजिएको इफेललाई चुम्बन गर्दै करिब पाँच सय फिट दूरीबाट र तयारी गर्दै छु विश्रामको । रातको १२ बजे इफिलको उचाइ अरू बढेझैँ लाग्यो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. दामोदर पुडासैनी ‘किशोर’
डा. दामोदर पुडासैनी ‘किशोर’
लेखकबाट थप