आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
निबन्ध

म कोजस्तो बनूँ ?

शनिबार, २६ साउन २०८१, १४ : २६
शनिबार, २६ साउन २०८१

हरेक व्यक्तिमा फरक–फरक प्रवृत्ति हुन्छन् । आफूमा भएको प्रवृत्ति बदल्ने मेरो चाहना पलाएको छ । आफूमा भएका प्रवृत्तिलाई सबैले राम्रो ठान्दा हुन्, ममा भने फरक सोच विकसित भएको छ । मैले मलाई नै सही ठान्नु त मेरो गोरुको बाह्रै टक्का मान्नु भन्ने लागेको छ । त्यसैले अरूमा जागृत भएको मपाईंत्वको भावको कारण पहिल्याउने इच्छा ममा सशक्त बनिदिएको छ । आफ्नो स्वभावसँग मिल्ने साथीहरू नपाउँदा उनीहरूकै स्वभावको बनी मिल्न सकिन्छ कि भन्ने पनि धारणा पलाएको छ । यसैको खोजीमा आफूले काम गरेका विभिन्न क्षेत्रका व्यक्तिको असल प्रवृत्तिको खोजीको प्रणमा लागेकी छु ।

सबै मानिसले एउटै आवाज बोल्थे, ‘असल प्रवृत्तिको बन्नुपर्ने ।’ मैले सबैमा त्यही असल प्रवृत्ति खोज्ने प्रयास गरेँ । 

मसँगै काम गर्ने कान्तिदिदीसँग मेरो भेट भएको पनि दुई वर्ष भइसकेको थियो । उहाँ नामजस्तै चम्किलो हुनुहुन्थ्यो । सानदार महलकी मालिक्नी भएर पनि उहाँमा त्यसको प्रतिच्छाया परेको देखिँदैनथ्यो । सरल स्वभाव, मिलनसार व्यक्तित्व देखेर उहाँकै प्रवृत्तिकी हुने प्रयास गरेँ । यसो गर्दा धन भएर पनि त्यसको सदुपयोग गर्न नसक्ने पाखे भन्ने उपमा दिएर कतिपयले उहाँका पछिल्तिर गर्ने गरेको असान्दर्भिक व्यवहार र खिसौटीपनको अनुभव हुन थाल्यो । अनि फेरि आफ्नै प्रवृत्तिमा फर्किएँ । 

कामकै सिलसिलामा रश्मिदिदीसँग मेरो भेट भएको थियो । उनको आनीबानी देख्दा जो–कोही तर्सिन्थेँ । शान्त स्वभावकी कान्तिदिदीको जस्तो औकातमा अडिन नसक्ने भनाइ यिनीमाथि आएको थिएन । उनको बोली–व्यवहार खरो खालको थियो । मलाई लाग्थ्यो, यिनी कान्तिदिदीभन्दा विपरीत गुणयुक्त थिइन् । धेरैले यिनको तारिफ गर्थे । कतिपयले उनको छुच्चो प्रवृत्तिको आलोचना गर्थे । अगाडि तारिफ गर्नेले पछाडि निन्दा गर्थे । सुरुमा धेरैले प्रशंसा गरेको सुन्दा आफ्नो प्रवृत्ति पनि त्यस्तै बनाउने चाह ममा नजागेको होइन तर वास्तविकता थाहा पाउँदै गएपछि म अर्कै प्रवृत्तिको मानिसको खोजीमा लागेँ ।

यसरी कहिले अरुको सरल स्वभावतिर त कहिले खरो स्वभावतिर ध्यान जाने हुन थाल्यो तर म अझै आफूले खोजेको भन्दा पनि अरुले भन्ने गरेको तारिफयोग्य स्वभावको खोजीमा भौँतारिएँ । 

असल प्रवृत्तिको मान्छेको खोजीका क्रममा मेरो नजर गएर डोरबहादुर सरमा रोकियो । उहाँलाई सजिलोका लागि सबैले डोर्बा सर भन्दथे । उहाँको अगिल्तिर त धेरैले प्रशंसा गर्दथे तर पछिल्तिर भने ऊजस्तो घमण्डी कोही छैन भन्थे । एक दिन कुरैकुरामा मैले उनलाई सोधेकी थिएँ ः तपाईंलाई सबैले घमण्डी भन्छन् नि ?

नारीहरूको भन्दा पुरुषको स्वभाव राम्रा भेटिन्छन् कि भनी खोज्ने मन भयो । भुपेन्द्रदाइसँग मेरो चिनजान भएको थियो भर्खर भर्खरै । उहाँको प्रवृत्तिको लेखाजोखा गर्न थालेँ । उहाँ असाध्यै गम्भीर प्रवृत्तिको मान्छे, भित्री कुरा खोल्दै नखोल्ने, जोसँग पनि हाँसेर बोल्ने तर असाध्यै कम मात्र, कसैलाई तुरुन्त जवाफ लगाउन नसक्ने । उहाँको यो प्रवृत्तिका बारेमा अरुले गरेको टिप्पणी पनि सुनिन्थ्यो । कसैले रिजर्भ उपनाम दिएका थिए भने कसैले घुसघुसे त कसैले मुसमुन्द्रे ।

असल प्रवृत्तिको मान्छेको खोजीका क्रममा मेरो नजर गएर डोरबहादुर सरमा रोकियो । उहाँलाई सजिलोका लागि सबैले डोर्बा सर भन्दथे । उहाँको अगिल्तिर त धेरैले प्रशंसा गर्दथे तर पछिल्तिर भने ऊजस्तो घमण्डी कोही छैन भन्थे । एक दिन कुरैकुरामा मैले उनलाई सोधेकी थिएँ ः तपाईंलाई सबैले घमण्डी भन्छन् नि ? 

उहाँले जवाफ दिनुभयो, ‘जसले यसो भन्यो, त्यही हो घमण्डी । जोसँग प्रतिभा छ अर्थात् हरेक किसिमका सफलता हातमा छ, त्यसैसँग त हुन्छ घमण्ड । यसले मलाई के फरक पा¥यो र ?’

उहाँको यस्तो दोहोरो कुरा म बुझ्दिनथेँ । पहिले आफूलाई घमण्डी भन्नेलाई जवाफ दिएर फेरि घमण्डकै यत्रो प्रशंसा गरेको देख्दा म द्विविधामा परेँ उहाँको आशयप्रति । मैले आदर्श ठानेका हरेक व्यक्तिको क्षणभरमै आदर्श भत्किएको पाउन थालेँ । 

अर्का एकजना पुरुषका बारेमा नारी साथीहरूले प्रशंसा गरेको सुनेर मलाई भेट्ने जिज्ञासा जाग्यो । उनीहरूकै सल्लाहअनुसार भेट्ने तयारी भयो । चिया पसलमा बसेर गफ गर्ने योजनाअनुरूप भेटियौँ पनि । साजन रहेछ उनको नाम । यो नाम त हिन्दी गीतमा गुनगुनाउँथ्यौँ हामी । सजिलै याद भइहाल्यो । उनको चक्लेटी अनुहार, सुलुक्क परेको नाक, मध्यम खालको कद, चिटिक्क परेर हिँड्ने बानी अनि मुस्कानसहितको बोलीले साँच्चै नारीहरूलाई आकर्षित गरेको रहेछ भन्ने लाग्यो । जसबाट म पनि खिचिएँ । गफ गर्दै जाँदा उनको त्यो कुरा गर्ने तरिकामा मपाईंत्व बढी नै झल्कन थाल्यो । 

एकछिनमा हामी चिया खाइरहेको ठाउँमा मैले चिनेको तर उनले नचिनेका अर्का पुरुष आइपुगे । उनीसँग चिनजानका क्रममा गरेका कुराहरू सबै मलाई भनेका कुराकै फोटोकपी वा हुबहु थिए । वाक्यमा कुनै शब्द पनि र भाव पनि परिवर्तन थिएन । मानौँ त्यो उनले घरमा रटेर सुगाले झैँ सुनाइरहेका थिए । यो प्रवृत्तिका बारेमा पछि नराम्रो हल्ला फैलाए, तिनै नारीहरूले जसले प्रशंसा गर्थे । ऊजस्तो गफाडी र फटाहा सायद दुनियाँमा कोही छैन होला भन्ने । अविवाहित नारीलाई आफू सुपेरियर देखाउन उसले बनाएका गफ रहेछन् ती । पढाइदेखि व्यापार–व्यवसाय, संलग्नता सबै झूट भनेको रहेछ, यथार्थ खुलेपछि ममा ऊप्रति घृणा सवार भयो र ऊजस्तो प्रशंसनीय बन्ने मेरो योजना विमुख भयो । 

आफ्ना सामुन्ने भेटिएका हरेकसँग भएका प्रवृत्तिको छानबिन गर्दागर्दा मैले आफ्नै प्रवृत्ति भुल्ने हो कि भन्ने बेचैनीमा पुगेँ । आदर्श प्रवृत्तिका मान्छेका रूपमा घरी एउटालाई घरी अर्कोलाई पाउँथेँ । निभादिदीको प्रवृत्ति झडङ्ग खालको थियो भने जुनूदिदीको प्रवृत्ति घुसघुसे र मौन किसिमको अर्थात् सुलसुले किसिमको थियो । यी दुवैमा आफूलाई अरूले मान्नुपर्छ भन्ने प्रवृत्ति भने समान थियो । लेजीदिदी नाम अनुसारकी त थिइनन् तर निभादिदीकी मिल्ने साथी भएर पनि ठिक उल्टो प्रवृत्तिकी थिइन् । यिनको स्वभाव पनि जुनूदिदीसँग झन्डै मिल्थ्यो । निभादिदीकी घनिष्ठ मित्र कसरी भइन् भन्ने मेरो मनमा प्रश्न उब्जन्थ्यो । अनि क्षणभरमै सम्झन्थेँ— आगो र पानी त हो नि मिल्ने । 

फिकादिदीको नाम सुन्दैमा म चकित परेकी थिएँ तर भेटेपछि उनमा भएको सौन्दर्य नामजस्तो फिका देखिनँ । उनमा भएको सहनशीलता, मिलनसारिता र चातुर्यपनले मलाई प्रत्यक्ष प्रभाव पारेको थियो । उनको सङ्गतले आफ्नो प्रवृत्ति बदल्ने सोच पनि नआएको होइन । सोझो रुखलाई छानी–छानी रेट्छन् भन्ने गीतै छ नि ! त्यस्तै झैँ अरूले उनलाई गर्ने व्यवहारले म तर्सिएँ । उनको सहनशीलतामाथि उपहास गरेझैँ लाग्थ्यो अरूले । 

अर्को लारादिदी, विदेशी नामले चिनिएकी तर विशुद्ध स्वदेशी । उनको वास्तविक नाम अर्कै किन नहोस् सबैले यही नामले बोलाउँदा उनी रत्तिएकी थिइन् । उनी पेटमा केही राख्न नसक्ने र आँखाले भाषा पढ्न सक्ने भनी आफ्नो स्वभावको तारिफ गर्न पछि पर्दिनथिन् । उनका पनि मित्रुभन्दा शत्रु नै बढी देख्थेँ म । उनको स्वभावसँग झन्डै मेल खाए पनि अस्मिता बढी नै उग्र थिइन् यिनीभन्दा । आफूलाई रिस उठेपछि नजिक जे छ, त्यही टिपेर हान्ने यिनको प्रवृत्तिसँग डराएर यिनले जे भने पनि हो मा हो मिलाउने मात्र देखिन्थे सबै । यिनको रिसले अरूलाई सतर्क बनाउँथ्यो भने यिनलाई सिंह । यिनको अगिल्तिर सबैले समर्थन गरे पनि एकै छिनमा विरोध गरिहाल्थे, यिनी छाया पर्नासाथ । 

सानदार महलकी मालिक्नी भएर पनि रश्मिदिदीमा त्यसको प्रतिच्छाया परेको देखिँदैनथ्यो । सरल स्वभाव, मिलनसार व्यक्तित्व देखेर उहाँकै प्रवृत्तिकी हुने प्रयास गरेँ । यसो गर्दा धन भएर पनि त्यसको सदुपयोग गर्न नसक्ने पाखे भन्ने उपमा दिएर कतिपयले उहाँका पछिल्तिर गर्ने गरेको असान्दर्भिक व्यवहार र खिसौटीपनको अनुभव हुन थाल्यो । अनि फेरि आफ्नै प्रवृत्तिमा फर्किएँ ।

यस्तै सरस्वती नामकी अर्की दिदी थिइन् जसले आफूलाई यो नाम दिएकोमा धिकार्दै पढाइमा उन्नति हुन नसक्नुको पीडा पोख्थिन् । यसरी नामै परिवर्तन गरी नयाँ नाम राख्ने योजना बनाउँदा बनाउँदै उनको तीन दशक बितेको थियो सायद । ओमदाइ जो दर्शन, सिद्धान्त वा वादका कुरा गरेर कहिल्यै थाक्दैनथे । सुन्नेले अगाडि तारिफ गरे पनि पछाडि छुरा हान्थे यिनलाई कति न विद्वान् ठान्दो रहेछ आफूलाई भनेर । गुणराजदाइ आफ्नो बारेमा जसले जे कुरा गरे पनि केही मतलब नभएको र मनमा नराख्ने जिकिर गर्थे । निधि सर आफ्नो मतमा अडिग रहने तर अर्काको चियोचर्चो गर्न नहुने सिद्धान्त बोकेका मान्छे थिए ।

कामकै सिलसिलामा भेटिएकी अर्की पात्र हुन् रमिता । समयले मेरो रमिता देखाएको छ भन्ने रमिता साँच्चैकी सोझी प्रवृत्तिकी लाग्थिन् । उनले बोलेका कुरामा अविश्वासभन्दा पनि वास्तविकताको प्रतिशत बढी भेटिन्थ्यो हिसाबकिताब गर्ने हो भने । उनले पाएको दुःख सुन्दा आँखामा आँसु नभरिने सायदै थिए होलान् । उनका प्रार्थनाले भगवान्ले युग नै उल्टाउने हुन् कि जस्तो ठान्थेँ म । मानिसमा हुने अन्याय र अत्याचारको कारक मानिस नै हो भन्ने कुरा उनका अनुभवबाट थाहा पाइन्छ । यस्तै त्यागकी प्रतिमूर्ति थिइन् रामकला । उनले आफ्नो स्वर्गवास भएकी दिदीको सन्तानलाई शिक्षादीक्षा दिएर खुब धर्म गरेकी थिइन् निस्वार्थ भावले । सबै साथीहरू उनलाई भन्छन्— ‘तिमीजस्ती त्यागी कोही हुन सक्दैन । आफ्नो स्वार्थमा नलागी अर्काको जिन्दगी सुधारेर अन्योलमा परेको सुनसान घर सम्हालेर बसेकी छौ । तिमीले अर्को जन्म लिनुपर्दैन । सबैको भलो सोचेर काम गरेकाले तिम्रो स्वर्गमा बास हुन्छ ।’ कतिपयले भने धन देखेर सबै सम्हाल्न आएकी भनेर कुरा गरेको पनि सुनेँ मैले ।

यस्तै क्रममा आदर्श व्यक्तिको खोजीमा हिँड्दा पेसागत हिसाबले आदर्श मानिने व्यक्तिहरूसँग भेट्ने रहर जाग्यो । यस क्रममा एउटा प्रोफेसरका बारेमा भयङ्कर तारिफ भएको थाहा पाएँ र उनलाई भेटेँ पनि । उनी थिए डम्बरप्रसाद शाह । पछि एउटा पत्रिकामा बालिकामाथि यौन दुव्र्यवहार गरेको आरोपमा थुनिएछन् । उनीप्रतिको आदर्श मबाट कुलेलाम ठोक्यो । अनि चर्चित लेखक बलबहादुर क्षेत्रीसँग भेटेर उनीजस्तै बन्ने इच्छा जाग्यो । उनीसँग भेट्ने योजना बनाउँदा बनाउँदै उनकी श्रीमतीको पुस्तक बजारमा आयो र त्यो पढ्ने मौका मिल्यो । त्यसमा तिनै लोग्नेका नराम्रा प्रवृत्तिका बखानमा पचहत्तर प्रतिशत पेज खर्च गरिएका थिए अनि त्यो आदर्श पनि सहजै भत्कियो ।

यसरी हरेकका प्रवृत्तिको अध्ययन गरिसकेपछि मैले सोचेँ । म कोजस्तो बनूँ त ? मेरो मनले भन्छ ः सबैभन्दा आदर्श को छ त ? तर मैले अरू कसैले कुरा काट्न नसकेको आदर्श स्वभावको व्यक्ति कोही भेटिनँ । सबैले तारिफ गर्न कस्तो प्रवृत्तिको हुनुपर्ने हो, त्यो ठम्याउनै सकिनँ । अनि अरूको प्रवृत्ति आफूमा सार्नुभन्दा आफूमा जस्तो प्रवृत्ति छ, त्यसमै सन्तुष्ट हुन जान्नुपर्दो रहेछ भन्ने लाग्यो । नबोले घुसघुसे, बोले प्यारप्यारे, जसो गरे पनि नहुने । कसैको आँखाको नानी बन्नुअघि नै कसिङ्गर भइँदो रहेछ भन्ने निष्कर्षमा पुगेँ म । यो मानव चोलामा कसैले कसैको तारिफ हृदयदेखि नगर्ने हुन् या कोही मानवहरू तारिफयोग्य हुनै नसक्ने हुन् कि भन्ने प्रश्न मनमा गुम्सिरह्यो । हरेकका राम्रा र नराम्रा गुण अवश्य हुँदा रहेछन् । कसैलाई राम्रो लागेको कसैलाई नराम्रो लाग्नु स्वाभाविक हुँदो रहेछ भन्ने महसुस भयो । त्यसैले कोही पनि त्यस्ता आदर्श व्यक्ति नभेटेकाले खिन्न त लाग्यो नै तर अरूको पछि लाग्नुभन्दा आफूमा जे छ त्यसमै सन्तुष्ट बन्न सक्नु ठुलो उपलब्धि रहेछ भन्ने निष्कर्षमा पुगेर चित्त बुझाएकी छु ।

(लेखक पद्मकन्या कलेजमा उपप्राध्यापक छन् ।) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. अम्बिका अर्याल
डा. अम्बिका अर्याल
लेखकबाट थप