आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
निबन्ध

नाक

शनिबार, २६ साउन २०८१, १३ : ३२
शनिबार, २६ साउन २०८१

नेपालको सबभन्दा ठुलो धन के हो भनी कसैले सोधे हिजोको पाठशालामा घोकन्ती विद्या पढेका विद्यार्थीले झटपट भन्लान्— हरियो वन । 

मलाई लाग्छ, तिनको यो उत्तर इतिहासको बासी कुनामा बास बसिसकेको छ । यस्तो उत्तर दिनेहरूलाई इतिहासको गतिसँग गति मिलाएर नहिँडेका अल्छी भनिदिए हुन्छ । कारण, बागमतीको भत्केको पुलमुनि थुप्रो गन्दे लेदो बगिसकेको छ र इतिहास कछुवा गतिमै सही धेरै अघि बढिसकेको छ । हिजो र आजको व्यवस्थाका आफन्तहरूले वन मासेर नेपाली धर्तीलाई राम्रैसँग चिल्याइसकेका छन् । कुराको चुरो बुझेर ल्याउँदा लाग्छ, यी वन मासुवाहरू मुलुकमारा हैनन् बरु यी त सभ्यताका निर्माता पो हुन् । कसरी ? जङ्गली छँदा मान्छेका पुर्खाका जिउभरि झ्याम्ले जङ्गल थियो । पछि बर्बरताबाट सभ्यतातर्पm लम्कँदा उसका जिउको जङ्गल कैदमा पर्‍यो । कहिले रुखका लोक्ता र बोक्रामुनि कैदमा, कहिले आफूले मारी खाएका जनावरका छालामुनि कैदमा । अलिपछि त्यो पर्‍यो भाङ्रामुनि कैदमा र धेरैपछि लुगाको कैदमा । नानाथरी कैदको कहर काट्दै जाँदा मान्छेका जिउको वन नाश भएर गयो ।

जङ्गलको झ्याम्ले जन्तु जब रौँको जङ्गल मासेर सलक्क परेको नाङ्गो प्राणी भई दुई खुट्टा टेकेर उभियो, तब ऊ मान्छे कहलियो । मान्छेको सभ्यताले जङ्गलदेखि बस्तीसम्म यसरी यात्रा गर्‍यो । इतिहासको डोबमा मानव सभ्यताको यो यात्रा देखेका सभ्यताप्रेमी उद्यमीलाई लाग्योे होला— सभ्य मान्छे असभ्य धर्तीमा बसिरहेछ, बराबिचरा ! तसर्थ, सत्ताको अखण्ड आशीर्वाद पाएका सभ्यताकर्मीहरू धर्तीलाई सभ्य बनाउने उद्योगमा बडो फूर्तिसाथ डटे । यी कर्मीहरू थिए हुनुसम्मका जाँगरिला । रात र दिन, झरी र बादल, गर्मी र बतास, चाडपर्व र जात्रा, आन्दोलन र चुनाव, क्रूरतन्त्र र प्रजातन्त्र केही नभनी र बाँकी कुरालाई केही नगनी हातमा बडेमाका छुरा लिएर नेपाली धर्तीका जिउका रौँ खौरिनमा यी तल्लीन भए । यिनको साधना उहिलेका गुरुकुलीन महर्षिहरूको तपस्याजस्तै कठोर थियो— नित्य, निरन्तर, अथक र अविरल । जङ्गली जन्तुलाई जिउका रौँ मासेर सभ्यताको पहिलो चौतारीमा पुग्न जुग हैन, जुगौँ लागेथ्योे, तर नेपाली धर्तीलाई खुइल्याएर मानिसजस्तै सलक्क नाङ्गो तुल्याई सभ्यताको उचाइसम्म उकास्न सत्ताको अभयदान पाएका निशाचर उद्यमीलाई बेरै लागेन । गम्नुस्त, तिनको सचेत प्रयास कति उदाहरणीय ! तिनको साधना कति अनुपम ! र, तिनको सिद्धि कति अमूल्य ! सत्ताको अविरल स्नेह पाएका यी सभ्यताकर्मीले छोटो समयमै झ्याम्ले नेपाली धर्तीलाई मुण्डन गरी लौकोजस्तै नाङ्गो र सभ्य तुल्याए । खुसीको कुरा हो, यिनै उद्यमीको अथक् साधनाले गर्दा आज सभ्य मान्छेले सभ्य धर्तीमा बास पाएको छ र नेपाली जगत्को सभ्यता सर्वाङ्ग परिपूर्ण भएको छ ।

अत्तो थाप्ने कसैले सोध्ला, ‘हैन ! नेपाली धर्तीका एकाध क्षेत्रमा केही बुच्काबुच्की, झ्यासझाडी त अझै बाँकी छन् नि ।” यसको उत्तर उतिसारो गाह्रो छैन । मानिसको जिउका थुम्का, पाखा र संवेदनशील नाकामा पनि थोरैतिनो रौँ बाँकी छन् । ती बाँकी रहेका किनभने के फेरिएर जङ्गली जन्तु सभ्य मानिस भयो भनी कसैले सोधे शेष रहेका पाखा र नाकाका रौँ देखाउँदै प्रमाण प्रस्तुत गर्न सजिलो हुन्छ— ‘ईः यो फेरिएर मानिस सभ्य भयो !’ नेपाली धर्तीको हकमा पनि साँचो कुरा यही हो ।

नाके संग्राममा मौलिक र अमौलिक तथा दुर्जन र सज्जन नाक छुट्ट्याउन सजिलो छैन । यो असजिलोका कारण नाक–नाकको सम्मिश्रण हो । सम्मिश्रणबाट नाकको मौलिकता सङ्कटमा पर्दा नाक हेरी सज्जन र दुर्जन छुट्ट्याउने सिद्धान्त नै सङ्कटमा परेको छ ।

नेपालको सबभन्दा ठुलो धन के हो त ? उत्तर दिने पालो मेरो भइदिए म भन्दो हुँ— नाक । 

नाकघोक्र्याउनुपर्दा हामी भन्छौँ— जातीय र सांस्कृतिक विविधता हाम्रो सबभन्दा ठुलो धन हो । आखिर केको विविधता हो यो ? उत्तर हाजिर छ– नाकको विविधता । हाम्रो मुलुकमा विविध बान्कीका नाक छन् । सिरुपाते चुच्चे नाक र ठेडीठुटे थेप्चे नाक । आकाशमुखी उँचो नाक र पातलमुखी सुगे नाक । गोलगोल मट्याङ्ग्रे नाक र डोलसुडौल घिरौँले नाक ।

मूल धन नै नाक भएकाले हाम्रा  लागि नाक हुनुसम्म प्यारोे छ । यति प्यारोे भएकाले नै नाक जोगाउन हामी ढाँट्छौँँै र नाक जोगाउन हामी जिब्रो चपाउँछौँ । नाक जोगाउन हामी कपटकला रच्छौँै र नानाथरी स्वाङ पार्छांै । जब नाक जान लागेको देख्छौँ, अमूल्य नाक जोगाउन हामी नाकै टेक्छौँ । प्रेमले मुसार्दै नाकघोक्र्याउँदा हामी भन्छौँ— हामी कहिल्यै परतन्त्रको पन्जामा परेनौँ, तर हामी यथार्थवादी भएर कहिल्यै भन्दैनौँ– हामी कहिल्यै पूर्ण स्वतन्त्र पनि रहेनौँ । किनभने यसो भन्दा हाम्रो सिरूपाते नाक जान्छ । अभिमानले नाक फुलाउँदा हामी भन्छौँ— हाम्रो स्वाभिमानको शिर कहिल्यै निहुरिएको छैन, तर आत्म–समीक्षक भई हामी कहिल्यै भन्दैनौँ— मनमा उमङ्ग र पाखुरीमा तागत भएका लाखौँ नेपाली तन्नेरी–तरुनी भाडाका सिपाही र वेश्यालयका दासी भएर विदेश जानुपर्ने विवशतालाई हामीले अझै तोड्न सकेनौँ । हामी यसो भन्दैनौँ, किनभने यसो भन्दा हाम्रो ठेडीठुटे नाक जान्छ । धाक लगाई नाक फुलाउँदा हामी भन्छौँ— हामी कहिल्यै अर्काको विवेक र पसिनाको भर परेनौँ, तर आफ्नो सक्कली रूप इतिहासको ऐनामा हेरेर हामी कहिल्यै भन्न सक्दैनौँ— अरुका तिघ्रामा छाँद नहाली आफ्नै उद्यम र पौरखका बलले हामी कहिल्यै उभिन सकेनौँ । हामी भन्दैनौँ किनभने यसो भन्दा हाम्रो आकाशमुखी उँचो नाकको शान जान्छ । सगरमाथाको उचाइलाई आफ्नो उचाइ ठान्ने भ्रमको अरबी घोडा चढेर नाक फुलाउँदै हामी छातीमा मुड्की ठोक्छौँ— जगत्का अग्लाहरूमध्ये सबभन्दा अग्ला हामी नै हौँ । तर आफूभित्रको लिलिपुटे हीनता स्वीकार गर्दै हामी कहिल्यै भन्दैनौँ— जगत्का होँचाहरूमध्ये हामी धेरै होँचा छौँ, तसर्थ आफ्नो उचाइलाई उकास्न हामीले नगरी नहुने कुरा एक हैन अनेक छन् । हामी किमार्थ यसो भन्दैनौँ, किनभने यसो भन्दा हाम्रो पातालमुखी नाक जान्छ ।

यसरी हाम्रो सर्वस्व भएको छ, यही एउटा नाक । हाम्रो अस्मिता यही नाक । हाम्रो मागीखाने भाँडो यही नाक । यही नाक जोगाउन गर्नु नगर्नु गरिएको छ, भन्नु नभन्नु भनिएको छ । तर म देख्दैछु, अहिले हाम्रो नाकको विविधता खतरामा छ । हालका हाम्रा नगरपिताले राजधानी शहरका नगरपिता बन्नुअघि हामी मतदाताछेउ वाचा गरेका थिए— नगरबासी नागरिकहरू हो ! मलाई नगरपिताको आसन र सोही मुताबिकको रासन मिलाइदिनुस् । त्यो गुनको पैँचो तिर्न म कान्तिपुरी नगरीलाई सिङ्गापुर नगरी बनाइदिनेछु । 

सिङ्गापुर जाने मौका कहिल्यै नपाएकाले सिङ्गापुरको सिङ–पुच्छर कस्तो होला मलाई थाहा थिएन । तैपनि आफ्नो तृषित मनसित मैले संवाद गरेँ— हेर् भाइ, काठमाडौँमा बसीबसी अब सिङ्गापुरको दर्शन गर्न र त्यसको समृद्धिको सुखभोग गर्न पाइने भयो । नभन्दै नयाँ शासनमा कन्कोर्ड विमानको गतिमा काठमाडौँ फेरिन थाल्यो । काठमाडौँका चोकचोक र मोडमोडमा केही गन्हाउन थाल्यो । सिनो–सिनोजस्तो, हगनगौँडी–हगनगौँडीजस्तो । मन बुझाउँदै कल्पना गरेँ— बानी नबसेकाले सिङ्गापुरको सुगन्ध सुरु–सुरुमा हाम्रा अनभ्यस्त नाकमा दुर्गन्धजस्तो गन्हाएको होला । भोग गर्दै जाँदा बानी बस्दै जाला । बानी बसेपछि मजासँग बास्नाको आनन्द लिन कसो नसकिएला ? जब समय बित्दै गयो, काठमाडौँ त झन्झन् कुरूप र विरूप पो हुँदैै गयो । काठमाडौँको वायुमण्डलमा तुवाँलाका माम्रीमय काला पत्रहरू एकमाथि अर्को थपिँदै गए । सोचेँं, सिङ्गापुरको वायुमण्डलको वर्ण यस्तै होला । हुँदाहुँदा काठमाडौँका मन्दिरका मण्डपछेउ, पोखरीका किनारै–किनार, बस बिसौनीका बलेँसी–बेलेँसी र विद्यालयका हातैहाता एक मान्छे अग्ला रछ्यानहरू उठे । विस्मित भई म लख काट्न थालेँ— गाँठे ! सिङ्गापुर भनेको सभ्य मान्छेको बस्ती होला कि च्वाँचेहरूले बिस्टा खोजी खाने हगनगौँडी ? काठमाडौँ जब पूरापूर सिङ्गापुरमा ढल्यो, तब भने यहाँ रौरव नर्कको साक्षात् उदय भयो । यस्तो के भएथ्यो, हाम्रा नाकको विविधतामाथि ठूलै खतरा आइलाग्यो ।

अचेल नवीन सिङ्गापुरको अभिशप्त नागरिक बिहान घरबाट निस्केदेखि बेलुका घर नफर्कुन्जेलसम्म चोर औँलो र माझी औँलोलाई सनासो बनाएर आफ्नो अनुपम नाकलाई अटूट अँठ्याउँछ । विक्रम टेम्पो जब धम्कीग्रस्त बुढाले झैँ सुक्खा खोकी खोक्दै सास फेर्न थाल्छ, तब छेउको मानिस हत्तपत्त नाक अँठ्याउँछ । वयोवृद्ध टाटा ट्रक जब बोझ खिच्न नसकेर कन्दै बलात् घिस्रिन्छ, तब हाम्रो पवित्र नाक असह्य चेपुवामा पर्छ । मन्दिरसामु जब मौन हनुमानले नर्कको डङ्गुरतिर फर्केर निश्चेष्ट नमस्कार गरेको दृश्य आँखामा पर्छ, तब हाम्रो अनमोलको नाक निर्मम पिसाइमा पर्छ । विद्यालय सामुन्नेको गगनचुम्बी रछ्यानको कुनामा लुकेर सुटुक्क लघुशङ्का गर्न लागेको चुलबुले किशोरलाई दच्काउँदै जब सुट–टाईधारी मास्टर सफाइ र सदाचारबारे उपदेश दिन्छ, तब हाम्रो असली नाक त्रूmर निमोठाइमा पर्छ । थोत्रो मिनी बसभित्रको कल्पना गरिनसक्नु कुँडुलोमाझ जिआरडिया जम्जमाइरहेका हाम्रा प्यान्टे भुँडी पेलिँदा जब तलबाट ग्यास पुतपुताउन थाल्छ, तब हाम्रो नाक अत्तालिन्छ । दुराचारी नेता जब संविधानका निष्प्राण अक्षरमा अङ्कित आचार–विधिका तोत्र जप्न थाल्छ, तब हाम्रो सिङ्गो सांस्कृतिक परिवेश नै डङ्डङ्ती गन्हाउँछ र हाम्रो गौरवमय नाक चरम् यातनाको सिकार बन्छ । यसरी वातावरणमा जेलिएका नानावली विकारहरूको कक्टेल गन्धको चौतर्फी पेलानमा परेको हाम्रो नाक टाटे सिमीको आकारमा ढल्दो छ । जसको पहिलो र अन्तिम धन नाक थियो र थियो नाकको विविधता त्यो विविधता नै माँसिएर टाटे सिमीझैँ एकरूपतामा पतीत भएपछि धन भन्न लायकको धन हामीसँग बाँकी के नै रह्यो र ?

नाक घोक्र्याउनुपर्दा हामी भन्छौँ— जातीय र सांस्कृतिक विविधता हाम्रो सबभन्दा ठुलो धन हो । आखिर केको विविधता हो यो ? उत्तर हाजिर छ– नाकको विविधता । हाम्रो मुलुकमा विविध बान्कीका नाक छन् । सिरुपाते चुच्चे नाक र ठेडीठुटे थेप्चे नाक ।

नाकको दमनमा सिरुपाते नाक हुनेको नोक्सानी उत्रो ठुलो नहोला, ठेडीनाकेहरूको अवस्था भयावह छ, तर सिरूपाते नाक पनि जोखिमरहित अवस्थामा भने छैन र यसको कारण छ । अचेल नाकका बान्की हेरी सद्दे र खोटो मान्छे छुट्ट्याउने सिद्धान्तको जायजन्म भएकोे छ । यो सिद्धान्त भन्छ— चुच्चेजति जम्मै दुर्जन, थेप्चेजति जम्मै सज्जन । अथवा थेप्चेजति जम्मै सज्जन, चुच्चेजति जम्मै दुर्जन । यो सिद्धान्तको सूत्रपात गर्ने पुरोहितहरू दुर्जनजतिलाई मासेर सज्जनको संसार खडा गर्न आतुर छन् । डर लाग्छ, सज्जनहरूको शुद्ध संसार निर्माण गर्ने सङ्ग्राममा मान्छेको बिउ नै पो मासिने हो कि !

नाके संग्राममा मौलिक र अमौलिक तथा दुर्जन र सज्जन नाक छुट्ट्याउन सजिलो छैन । यो असजिलोका कारण नाक–नाकको सम्मिश्रण हो । सम्मिश्रणबाट नाकको मौलिकता सङ्कटमा पर्दा नाक हेरी सज्जन र दुर्जन छुट्ट्याउने सिद्धान्त नै सङ्कटमा परेको छ । नाके सिद्धान्तका स्रष्टाहरू यो सङ्कटमोचनका निमित्त एउटा फर्मान जारी गर्न सक्लान् । त्यो हो— ठेडीनाके नागरिकहरू नाकको सक्कलीपनलाई जोगाउन एक–एकवटा चिम्टी हातमा बोकेर हिँडून् । तिनले कान्तिपुरको सिङ्गापुरमा कुइगन्धको हरक कम्ती भएका ठाउँमा पुग्दा नाकका दुई पोरामा चिम्टीका दुई खुट्टी छिराएर नाकलाई सक्दो फटाऊन् र यसरी चेप्टिएर सिद्रो हुन लागेको नाकलाई नेप्टो बान्कीमा फर्काउन चेष्टा गरून् ।

म ठान्थेँ, मानिस नाकको प्रकारले उत्तम र अधम हुँदैैन । मानिस उत्तम र अधम हुन्छ— विचार र आचारले, प्रवृत्ति र चरित्रले, सुन्दर र कुरूपको निरूपण गर्ने दृष्टिकोणले, प्रगति र अगतिमाझको रोजाइले, न्याय र अन्यायबिचको छनोटले । तर हातमा तरबार बोकेको नयाँ नाके सिद्धान्त भन्छ— गलत ! मान्छे उत्तम र अधम हुन्छ केवल नाकको प्रकारले, फगत नाकको प्रकारले, र मात्र नाकको प्रकारले । 

यसो हेर्छु, यस्तो दाबी गर्ने नाके सिद्धान्तको बाटो निष्कण्टक भने छैन । यसले सिङ्गापुरे गन्धबाट नाकको विविधता र मौलिकतालाई जोगाउँछ कसरी ? यसले नाकको चिम्टे चेप्ट्याइँबाट सद्दे नाकको मट्याङ्रे बान्कीको रक्षा गर्छ कसरी ?

नाके सिद्धान्तको प्रसङ्गमा आङ सिरिङ्ग हुने एउटा घटना सम्झन्छु म । गत हिउँदमा इष्टमित्रहरूसँग भेटघाट गर्न तल झापा झरेको के थिएँ नाके सिद्धान्तको तरबारले मेरो सिरुपाते नाकलाई झन्डै नठुन्क्याएको ! सडक छेउमा सौ–पचास जनाको आमसभा हुँदैै रहेछ । नाके सिद्धान्तका सूत्रधार तातेर भाषण गर्दै रहेछन् । यसो कान थापेको त म के सुन्छु— ‘चुच्चा नाके जतिलाई एकएक गरेर... ।’ ढाइ–तीन सौ मिटर परबाट क्रूद्ध जवाफी स्वर रन्कियो— ‘थेप्चा  नाके जतिलाई एकएक गरेर... ।’ भय र विस्मयको भावमा आँखा फारेर हेर्दा म देख्छु— दुवैतिरका केही जन आलो सान लाएका नाङ्गा खुकुरी बोकेर कसलाई काटूँ, कसलाई काटूँको हाउभाउसाथ यताउति जमजमाउँदै छन् । मेरो आतङ्कित मनले खुसुक्क भन्योे— भाइ, यताका र उताकाको जुधाइको चापमा परेर आज तेरो नाक जाने भो ! खल्तीबाट नकौरो झिकेर हत्तपत्त मैले आफ्नो नाक त्यसभित्र लुत्त लुकाएँ । धन्य नेपाली सिङ्गापुर ! नेपाली सिङ्गापुरमा विषाक्त वायुमण्डलबाट जोगिन नाकमा नकौरो लाउने प्रचलन दिनानुदिन बढ्दो छ । यही प्रचलनको प्रतापले गर्दा आज मेरो नाक ठुन्किनबाट रौँ प्रमाणले जोगियो ।

नाक जोगाउन पहिले त मानिसले ज्यानै जोगाउनु पर्दोरहेछ । ज्यानै गएपछि नाथे नाकको के काम ? नेपाली सिङ्गापुरको गन्धले चलाएको नकौरो लगाउने चलनले यसरी मेरो ज्यान जोगाइदियो । नाक छाम्दै मैले कृतज्ञता प्रकट गरेँ— दङदङी गन्हाउने गोर्खे सिङ्गापुरका स्रष्टाहरू धन्य हुन् !

यहाँनेर अतीततिर फर्केर म गम खान्छु— बुढा पृथ्वीनारायण शाह बडो बाठा रहेछन् । कठोर वास्तविकतामा होस् वा अतिरञ्जित किस्सामा, तिनले पराजित कीर्तिपुरेहरूका सत्र डाला नाक भकाभक काटेथे । कान्तिपुरी नगरीको सिङ्गापुरे गन्धबाट भावी अभागी नेपाली नाकलाई मुक्त गर्न खोज्ने त्यस उद्योगमा, गम्नोस्त, पृथ्वी बूढाको कत्रो दूरदर्शिता छ !

भनिसकेँ, असल नागरिकहरूको बलिदानले हाम्रा आँगनमा आएको परिवर्तनसँगै फहराएको झन्डामुनि हाम्रो नाकरूपी धनको स्वत्वहरण भएको छ । हाम्रो भौतिक नाक त उग्र यातनामा परी चेप्टिएको छ नै, हाम्रो नैतिक नाक पनि नेपाली सिङ्गापुरझैँ दङदङी गन्हाएको छ । धनका पुजारीहरू आफैँले आफ्नो जो भएको धन बिमाख पार्नु साह्रै ननिको विडम्बना हो । सडेको सम्पत्ति–सम्बन्धमा अडेको हाम्रोजस्तो जर्जर समाजमा सबभन्दा पवित्र सम्पत्ति नै धन हो । हाम्रो इष्टदेव त्यही हो । हाम्रो सार्वजनिक प्रतिष्ठाको आलम्ब त्यही हो । र, काटिएका काइँकुत्ते नाकहरूलाई कपट कलाको बलले जोडिदिने जादुको छडी त्यही हो । हाम्रो शासन चलाउने डण्डा त्यही हो, र हाम्रो रासन जुटाउने बल्छी त्यही हो । हाम्रो पाखण्ड छोप्ने मखमली खोल त्यही हो, र हाम्रो नैतिक कलङ्कको गन्धलाई शमन गर्ने अरबी अत्तर त्यही हो । हाम्रो जनदमन गर्ने अस्त्र त्यही हो, र स्वर्ग जाने सोपान हातलागी गर्ने हाम्रो पवित्र मन्त्र त्यही हो । हाम्रो अविवेकलाई विवेकमा, बेइमानीलाई इमानमा र बुद्धुपनलाई बुद्धिमत्तामा ढालिदिने अनमोलको साँचो पनि त्यही हो । सहस्र जिब्रा भएका शेष नागले समेत धनको मनग्गे महिमागान गर्न असम्भव छ । तर अफसोचको कुरा छ, नाकको अक्करमा अल्झी बसेको हाम्रो एक मात्र धन पनि नेपाली सिङ्गापुरको हगनगौँडीले डसेर सर्वनाश भएको छ ।

हाम्रो नाकको हविगत देखेर हाम्रो हुर्मत लिने मनसायले कुनै परचक्रीले सोधोस्— वीर गोर्खाली ! अब तिम्रो नेपालको सबभन्दा ठुलो धन के हो ? गुमेका नाकमुनिको कुरूप दागलाई नकौराले छोपेर नूर गिरेको स्वरमा हामीले भन्नुपर्नेछ— ट्वाक् । ट्वाक् अर्थात् मालिकसित मागिखाने ट्वाक् ! गम्नुस्त, कत्रो रहरपछि कत्रा दुःखले ल्याएको नौलो व्यवस्थालाई परचक्रीहरूले ट्वाके व्यवस्था भनिदिए भने पाइन झरेको र शान गुमेको हाम्रो अभागी नाकको झन् के गति होला !

(वि.सं. : २०५३)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

खगेन्द्र संग्रौला
खगेन्द्र संग्रौला

लेखक एवं वाम चिन्तक/विश्लेषक
 

लेखकबाट थप