बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

यसरी सम्भव भयो किम–मुन वार्ता

मङ्गलबार, २५ वैशाख २०७५, १३ : १३
मङ्गलबार, २५ वैशाख २०७५

२७ अप्रिल २०१८ विश्व इतिहासमा एक अविस्मरणीय दिन सावित भयो । यही दिन दुवै कोरियाली नेता बोर्डरको गाउँ पान्मुन्जोमको सैन्य रहित क्षेत्रमा भेटघाटका लागि जम्मा भए । उत्तरी कोरियाका नेता किम जोङ उनलाई दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनले आफ्नो देशको माटोमा आउन हाँसीहाँसी निमन्त्रणा गरे । किमले तत्काल सिमानाको दक्षिणतर्फ पाइला राखे र मुनसँग अङ्कमाल गरे । त्यसलगत्तै किमले मुनलाई आफ्नो भूमिमा स्वागत गरे । दुवै नेता अत्यन्त खुशी देखिन्थे भने टेलिभिजनको पर्दामा हेरिरहेका विश्वभरका दर्शकहरू हर्षले आल्हादित देखिन्थे । पृथ्वीको त्यस क्षेत्रमा विगत ६८ वर्षदेखि तनावले सदैव आफ्नो स्थान स्थायी रूपले बनाइरहेको थियो । यस शिखर वार्ताले त्यो तनावलाई मत्थर पार्ने अपेक्षा सबै क्षेत्रबाट गरिएको थियो ।

वास्तवमा यो शिखर वार्ता उत्तर र दक्षिण कोरिया बीच भएको पहिलो पटक भने होइन । पहिलो पटक सन् २००० को जुन १३ देखि १५ सम्म उत्तरकोरियाको राजधानी प्योङयाङमा तात्कालीन दक्षिण कोरियाली राष्ट्रपति किम दे जुङ र उत्तर कोरियाका तात्कालीन शासक तथा हालका नेताका बाबु किम जोङ इलका बीच भएको थियो । उक्त शिखर वार्ता मूलतः पुनः एकीकरण सम्बन्धमा केन्द्रित थियो र दोस्रो शिखर वार्ता सन् २००७ को अक्टोबर २ देखि ४ सम्म प्योङयाङमै भएको थियो । सहभागीहरूमध्ये उत्तरकातर्फबाट किम जोङ इलले नै नेतृत्व गरेका थिए भने दक्षिणका तर्फबाट तात्कालीन राष्ट्रपति रोह मू हयुनले भाग लिएका थिए । यस पटकको वार्तामा एकीकरणको अलावा परमाणु कार्यक्रम  कनेक्टिभिटीमा समेत केन्द्रित रहेको थियो । यस पटक लगभग साढे दस वर्षपछि गत २७ अप्रिल का दिन दुई कोरियाको सीमावर्ती असैन्यकृत गाउँ पान्मुन्जोममा उत्तरकोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनका बीच भयो । पान्मुन्जोमको शान्ति गृहमा भएको वन टु वन वार्तापश्चात प्रकाशित ‘पान्मुन्जोम घोषणा’मा स्पष्ट शब्दले ८ करोड कोरियाली जनता र विश्वसामु दुवै नेताले अब आइन्दा कोरियाली प्रायद्वीपमा युद्ध कहिल्यै नहुने भन्दै गम्भीरतापूर्वक शान्तिको युग सुरु भएको घोषणा गरे । 

यसरी २५ जुन १९५० देखि २७ जुलाई १९५३ सम्म अर्थात् पूरा ३ वर्ष १ महिना २ दिन चलेको कोरियन प्रायद्वीपको युद्ध विधिवत रूपमा ६४ वर्ष ९ महिनापछि समाप्त भएको घोषणा भयो । यसभन्दा अगाडि युद्धविराम घोषणापत्रमा युद्धरत  पक्षमध्ये एकतर्फबाट उत्तरी कोरिया र चीन तथा अर्कोतर्फबाट संयुक्त राज्य अमेरिका तथा संयुक्त राष्ट्र सङ्घले  हस्ताक्षर गरेपछि युद्ध थामिएको थियो । यसरी हस्ताक्षर कर्ताको सूचीलाई हेर्दा तात्कालीन अवस्थामा दक्षिण कोरियाको अस्तित्वलाई स्वीकारिएको रहेनछ भन्ने प्रष्ट हुन आउँछ ।  

२७ अप्रिल २०१८ को त्यो शुभ घडी आउनुभन्दा अगाडिसम्म कोरियन प्रायद्वीपमा बेलाबेलामा किन तनाव उत्पन्न हुने गर्छ । कोरियाको एकीकरणमा कसले व्यावधान उत्पन्न गराइरहेको छ । उत्तरी कोरिया सबैको विरोधको बाबजुद पनि आणविक हतियार प्राप्त गर्न किन त्यति बिघ्न ब्यग्र भयो रु तर यस सालको २७ अप्रिलको त्यो घडी ल्याउनमा ककसको योगदान रह्यो होला भन्ने विषय छुटाउनु हुँदैन ।

उत्तरी कोरियाको नेतृत्वमाथि पुँजीवादी मिडिया र राजनीतिक पङ्क्तिद्वारा जे–जे दोष, अभियोग र आरोप थोपरे पनि ‘मन्द बुद्धिको’ वा ‘सिक्न नखोज्ने’ अथवा ‘अबुझ र अपरिपक्व’ चाहिँ भन्न नमिल्ने बताउँछन ‘मिड्नाइट इन द अमेरिकन एम्पाएर’का लेखक तथा अमेरिकी पत्रकार रबर्ट ब्रिज । हुन पनि २००३मा इराकमाथि भएको आक्रमण मात्र होइन २०११मा भएको लिबिया को ‘बलात्कार’ समेत देखेको उत्तर कोरियाली नेतृत्वलाई के महशुस हुन पुग्यो भने आत्मरक्षाको लागि प्रर्याप्त सैन्य शक्ति र महत्वपूर्ण हतियार आफूसँग भएन भने कुनै पनि बेला आफ्नो सत्ता सदाको लागि निमिट्यान्न हुनेछ । सन् २००६ देखि २०१७ सेप्टेम्बरसम्मको अवधिमा उत्तर कोरियाले ६ वटा परमाणु परीक्षण सफल रूपमा ग¥यो । सबैभन्दा पछिल्लो परीक्षण अत्यधिक शक्तिसाली थियो । त्यसको दुई महिनापछि अर्थात् २०१७ को नोभेम्बर महिनामा ह्वासोङ–१५ नामक अन्तर महाद्वीपीय ब्यालेस्टिक मिसाइल– जसले परमाणु अस्त्रजडित सुपरहेभी वारहेड बोकेर हिँड्छ र अमेरिकाको कुनै पनि कुनामा बिनारोकावट प्रहार गर्न सक्ने क्षमता राख्छ । परीक्षण गरेपछि आफ्नो सुरक्षा व्यवस्था मजबुत भएको विश्वास किम जोङ उनलाई हुन पुग्यो । ह्वासोङ–१५ को सफल परीक्षणपछि अमेरिका र उसका एसिया प्यासिफिक क्षेत्रका सहयोगी देशलाई एक स्पष्ट सन्देश दिन उत्तर कोरिया सफल रह्यो । 

यो बिन्दुमा आइपुगेपछि उत्तरकोरिया आफूमाथि हुन सक्ने सम्भावित आक्रमणबाट सुरक्षित रहेको र इराक र लिबियाको जस्तो हालत आफूले व्यहोर्न नपर्ने टुङ्गोमा पुगेकाले वार्ताको टेबलमा अब ऊ कमजोर अवस्थामा अवश्यै नहुने निश्चित भयो । यस सम्बन्धमा मेलबोर्न विश्व विद्यालयको एसिया इन्स्टिच्युटतर्फ कोरियन स्टडिज सेक्सनकी सिनियर लेक्चरर डा। जय सोङ भन्छिन्– ‘किम न त मूर्ख छन् न उनी सैतान नै हुन् । बरु उनी तर्कबाज भने हुन् । उनले आफूभन्दा शक्तिसाली अमेरिका र उसका सहयोगी तथा दह्रो आर्थिक अवस्था भएको छिमेकीबाट सुरक्षित हुन खोज्नु कुनै अतिसयोक्ति होइन ।’ डा। सोङ्ग उत्तर कोरियाले अमेरिकाद्वारा आफ्नो सुरक्षाको प्रत्याभूति नदिँदासम्म आफ्नो परमाणु हतियार नष्ट गर्ने कुरामा शङ्का व्यक्त गर्छिन् । त्यसैगरी योन्सेई युनिभर्सिटी, सिउलका इन्टरनेसनल स्टडिजका असिस्टेन्ट प्रोफेसर जोन डेलुरीको विचारमा किमले आफ्नो देश बाह्य खतराबाट  निश्चिन्त रूपले सुरक्षित महशुस गरेपछि मात्रै आर्थिक विकासमा दृष्टि पु¥याउन चाहेको  देखिन्छ । 

यसरी सेक्युरिटी इन्स्ट्रुमेन्ट र सिस्टम दुवैबाट सज्जित भएपछि किम जोङ उनले वार्ताका लागि पहल गर्ने मनसाय बनाए । यसका लागि सजिलो कदम यसै वर्षको ९ फेब्रुअरीदेखि दक्षिण कोरियाको प्येओङ्चङमा भएको शीतकालीन ओलम्पिक खेललाई उपयोग गर्नु थियो । किमले त्यस अवसरमा आफ्नो देशको टिमलाई खेलमा भाग लिन मात्र पठाएनन्, दुवै कोरियाली टिमको संयुक्त झण्डामुनि मार्च पास गर्ने समेत अनुमति दिए । स्मरणीय कुरा सन् १९८८ मा सिउलमा भएको ग्रिष्मकालीन ओलम्पिकलाई उत्तर कोरियाले बहिष्कार गरेको थियो । यस पटकको सो अवसरलाई उनले तनाव शिथिल पार्न र सम्बन्धलाई सही दिशामा ल्याउनका लागि आफ्नै परिवार भित्रकी सबैभन्दा विश्वास गर्ने बहिनीलाई उत्तर कोरियाका नाम मात्रका राज्य प्रमुखको साथ लगाई ओलम्पिक स्थल पठाए । जहाँ त्यो टोलीलाई दक्षिण कोरियालीहरूले गरम जोसका साथ स्वागत गरे । 

कूटनीतिक हिसाबमा किमको यो कदमलाई अति परिपक्व मान्न सकिन्छ । उनले आफ्नी बहिनी किम यो ९जोङ मार्फत नै दक्षिण कोरियाली राष्ट्रपति समक्ष कोरियन प्रायद्वीपमा स्थायी शान्तिका लागि आफू मिलेर काम गर्न चाहेको सन्देश पठाइसकेका थिए । २५ मार्च, २०१८ का दिन दुनियाँलाई आश्चर्यमा पार्दै आफ्ना बाजे र बाबुले प्रयोग गरेको रेलगाडी नै प्रयोग गर्दै चिनियाँ राष्ट्रपतिलाई भेट्न उनी बेइजिङ पुगे । सी–किम मिटिङ नै भविष्यमा त्यस क्षेत्रमा हुन गइरहेका सबै कूटनीतिक  गतिविधिको सुरुवात थियो भन्छन् द डिप्लोम्याटका नियमित स्तम्भकार क्लिन्ट वोर्क र सी–किमको भेटवार्तापछि किम– मुनबीचको शिखर वार्ता सम्भव भयो भन्नु अत्युक्ति नहोला । अप्रिलमै अमेरिकी राष्ट्रपति ट्रम्प र जापानी प्रधानमन्त्री सिन्जो आबे बीचको भेटवार्ता पनि यसैको आलोकमा भएको थियो भने आगामी मे महिनामा हुन गैरहेको–ट्रम्प वार्ता र जापान–चीन– दक्षिण कोरियाबीचको त्रिपक्षीय वार्ता र जुन महिनामा हुने सम्भावित आबे– किम बीचको वार्ताको मूल आधार पनि सी–किम बीचकै भेटघाट हो । त्यति मात्र होइन, किमले आफ्नो विशेष दूतलाई अप्रिल ११ मा रुसी राष्ट्र पतिलाई आफू र चिनियाँ राष्ट्रपतिबीच भएको बातचितको बारेमा जानाकारी गराउन पठाएका थिए । यसरी कोरियन प्रायद्वीपको समस्या समाधानको साँचो चिनियाँ राष्ट्रपतिको पकेटमा छ भन्ने अनुमान लगाउन कसैलाई पनि मुस्किल पर्दैन । 

यति महत्वपूर्ण भेट वार्ता कसको तत्परतामा भयो होला त भनेर क्लिन्ट वोर्कले वासिङटन युनिभर्सिटीको ज्याक्सन स्कुल अफ इन्टरनेसनल स्टडिज अन्तर्गत चाइना स्टडिज प्रोग्रामका डाइरेक्टर रही सकेका चीनको आन्तरिक तथा बाह्य नीतिका ज्ञाता डेभिड ब्याचम्यानसँग द डिप्लोम्याटका लागि प्रश्न गर्दा डेभिड ब्याचम्यानले बेइजिङको अग्रसरतामा यो भेटघाट भएको हुनुपर्ने विचार राख्दै यो प्रश्नभन्दा पनि आआफ्नो देशको राष्ट्रिय हित र हालको विश्व परिस्थितिमा  आफ्नो देशको पोजिसन एक अर्कालाई स्पष्ट पार्ने हुटहुटीले उनीहरू एक ठाउँमा जम्मा भएको उत्तर दिएका थिए । डेभिडले क्लिन्ट वोर्कसँगको कुराकानीमा सिन्ह्वा न्युज एजेन्सीलाई उद्धृत गर्दै चीनको विदेश नीति निर्माण गर्ने परिवृत्तमा प्योङयाङसँग सम्बन्ध विच्छेद गरेर वा कायमै राखेर सिउलको पक्षमा विदेश नीति ढल्काउने कि भन्नेसम्मको सोच बनेको एउटा महत्वपूर्ण कुराको उजागर गरेका छन् । सी जिन पिङसँगको वार्तामा सम्भवतः यसको हल्का भनक किम जोङ उनलाई हुन गयो  । किमले आफ्ना पाइलाको रफ्तार अलि तेज गरे । हुन पनि चीनमा उत्तरी कोरिया आजकल बोझिलो महसुस हुँदै गैरहेको अनुमान गर्न कठिन छैन । त्यसमाथि उत्तरी कोरियाका आणविक कार्यक्रम स्थलहरू चिनियाँ सिमानामा रहेका छन् । अमेरिकासँग युद्ध छेडिएको घडीमा अमेरिकी निशानामा ती ठाउँहरू अवस्यै पर्ने र अमेरिकाले ठूलो कारबाही गरेमा त्यसको असर जोडिएको चिनियाँ भूभागमा पर्ने अवस्यम्भावी छ । त्यसैगरी उत्तरकोरियाको आणविक तथा मिसाइल परीक्षणलाई कारण बताएर चीन तथा रुसलाई लक्षित गरी अमेरिकाले दक्षिण कोरियामा त्ज्ब्ब्म् मिसाइल डिफेन्स  सिस्टम स्थापना गरेको छ । जसबाट दुवै रुस तथा चीन सशङ्कित छन् । 

त्यसैगरी रुसले पनि उत्तरकोरियाली पक्षलाई दक्षिण कोरिया र अमेरिकासँग वार्ताको टेबलमा बस्न प्रोत्साहित गरेको थियो । बिरलै विदेश भ्रमणमा निस्कने उत्तर कोरियाली विदेश मन्त्री री योङ होलाई मस्कोमा स्वागत गर्दै रुसी विदेश मन्त्री सेर्गेई लाभ्रोभले अप्रिल ११ मा ‘कोरियन प्रायद्वीपको स्थितिलाई बिस्तारै सामान्य अवस्थामा फर्काउने, एकआपसको धम्की र चेतावनीको अन्त्य गर्ने र दुई कोरिया तथा उत्तर कोरिया र अमेरिकाबीच सम्पर्क कायम गर्न तत्परता देखाइएकोमा रुस स्वागत गर्छ’ भन्दै ‘प्योङ्याङले पनि सुरक्षाको सवालमा कहिल्यै नतोडिने वचन सहितको प्रत्याभूति पाउनुपर्छ’ भन्दै उत्तर कोरियालाई ढाढस दिएको तथ्य जापानको प्रसिद्ध सञ्चार माध्यम जापान टाइम्सले रिपोटिङ गरेको थियो । रुसमा उत्तर कोरियाका विदेश मन्त्रीले आफ्ना समकक्षी मात्र होइन, रसियन सेक्युरिटी काउन्सिलका सेक्रेटरी निकोलाई पत्रुसेभसँग समेत भेटेको तथ्य रुसी समाचार एजेन्सी इतर तासलाई उद्धृत गर्दै जापानकै अर्को प्रमुख सञ्चार माध्यम असाही सिम्बुनले बताएको थियो ।

यी सबै गतिविधिमा दक्षिणकोरियाको कुनै भूमिका रहेन भन्ने अर्थ लगाउनु हुँदैन । उत्तरी कोरियाबाट दक्षिण कोरिया आई बसेका परिवारका सदस्य भएको, आफ्नो विद्यार्थीकालमा एकीकरण समर्थक सक्रियातावादी भएको, पछि अनिवार्य सैनिक तालिम लिएर स्पेसल कमान्डोका रूपमा काम गरेर छोडेको र एक वकिल तथा  मानव अधिकार वादीका रूपमा काम गर्दै राजनीतिमा होमिएका मुन जाय इन कुनै बेला उदारवादी तथा एकीकरण समर्थक राष्ट्रपति रोह मु हयुनका प्रमुख सल्लाहकार समेत बनेका थिए । उनले किमले शीत ओलम्पिकमा संयुक्त मार्च पासका लागि राखेको प्रस्तावलाई सहर्ष स्वीकारेर उत्तरबाट आएको टोलीलाई राम्रो स्वागत प्रदान गरे । लगत्तै ५ मार्चमा १० सदस्य सम्मिलित एक प्रतिनिधि मण्डल प्योङयाङमा  पठाइयो जसले उत्तर कोरियाका नेतालाई भेटेर उनको मनसाय बुझ्ने प्रयास ग¥यो । सोही प्रतिनिधि मण्डल ८ तारिख का दिन अमेरिकीलाई घटनाक्रम कसरी विकसित हुँदैछन् भन्ने कुराको जानकारी दिन वासिङ्टन प्रस्थान ग¥यो । त्यसैगरी चीनसँग पनि राष्ट्रपति मुनले सम्पर्क अटुट रूपमा राखिरहे ।  यसरी कोरियन प्रायद्वीपमा तनाव सैथिल्यकरण गर्न र अन्त्यमा दुई कोरियाको एकीकरणप्रति उनको लगाव रहेको प्रष्टिन्छ ।  उनी भद्र देखिन्छन् र आत्म विश्वासीसमेत । तर दक्षिण कोरियाको राष्ट्रपतिको हैसियतमा उनले गर्न सक्ने हदसम्मको योगदान गरेकै छन् ।

जापानको आवाज कोरियन प्रायद्वीपमा त्यति सुनिदैन । उसको योगदान भनेको अमेरिकीहरूको हात मजबुत पार्नेसम्म सीमित रहन्छ । न कोरियनहरू उसको कुरा सुन्न तयार हुन्छन न त चीन र रुसले नै जापानलाई कोरियन प्रायद्वीपको मामिलामा त्यति भाउ दिन्छन् । यहाँसम्म कि एउटै समूहमा आबद्ध दक्षिण कोरियामा समेत उसको सुझावलाई गम्भीरतापूर्वक लिने गरिँदैन । केवल उत्तरी कोरियाका पक्षधरको आवाज भारी हुने क्षणमा सङ्ख्यात्मक गणनासम्म हुने गर्छ जापान र कोरियन प्रायद्वीपको मसलामा सबैभन्दा टाढाको भए पनि सबैभन्दा मत्वपूर्ण तर समस्यालाई सधैँ उल्झाई राख्न चाहने खेलाडी भनेको अमेरिका नै हो । केही मानिसहरू अमेरिकी राष्ट्रपतिको दबाबका कारणले उत्तरकोरिया झुकेर निःशस्त्रीकरण गर्न तयार भई वार्तामा आउन बाध्य भएको तर्क पेश गर्दछन् । कतिपयले आगामी साल २०१९ को नोबेल शान्ति पुरस्कार अमेरिकी राष्ट्रपतिलाई प्रदान गरिनुपर्ने भन्दै अभियानसमेत छेडी सकेका छन् । तिनीहरूमध्ये १८ जना रिपब्लिकन सिनेटरहरूले नर्वेजियन नोबेल कमिटीलाई औपचारिक पत्र नै पठाइ सकेको ब्रिटिस मिडियाहरू इन्डिपेन्डेन्ट र डेली एक्सप्रेसले जनाएका छन् । त्यसैगरी ट्रम्प नोबेल शान्ति पुरस्कारका हकदार हुन् भनी स्वयम् दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनसमेत भनी रहेका छन् । रिपब्लिकन सिनेटर लिन्डसे ग्राहमसमेत ‘म ट्रम्पको प्रशंसक नभए पनि उनी नोबेल शान्ति पुरस्कारका हकदार हुन भन्ने स्वीकार्छु’ भन्दछन । 

तर ट्रम्पलाई नोबेल पुरस्कार दिइनुपर्ने भन्ने अभियान मूर्खतापूर्ण भएको टिप्पणी गर्छिन्, द म्यान विद आउट अ फेस स्द राइज एन्ड रुल अफ भ्लादिमिर पुटिन भन्ने पुस्तककी लेखिका तथा एबीसी न्युजकी पत्रकार : आसा गेसेन र उनको भनाइ छ ‘काम पूरा नहुँदै पुरस्कार दिने कुरा नै कसरी अगाडि आयो रु जबकि ट्रम्प बेइज्जतीपूर्ण ट्विट मात्रै गर्छन् तर हामी विश्व बदल्ने पोलिसीको पर्खाइ छौं ।’ लोबी इन्स्टिच्युटका सिनियर फेलो रिचार्ड म्याग्रेगर समेत ट्रम्पको खुबी भनेको विपक्षीलाई असन्तुलित बनाइराख्नु मात्र हो भन्ने धारणा पाल्दछन् । एनबीसीकी केटी टुर, जो ट्रम्पकै चुनाव अभियानमा सरिक थिइन्, समेतले ट्रम्पलाई नोबेल पुरस्कार दिने विचारलाई नकार्दै यो कुरा बाहिर ल्याउनु मूर्ख बन्नु हो भने आफू त्यही समूहमा रहेको स्वीकार्न आफूलाई कुनै आपत्ति नभएको बताउँछिन । 

कोरियन प्रायद्वीपको सन्दर्भमा एक युद्धरतः देश को ९औपचारिक शान्ति सन्धि नभइसकेको कारण०  प्रमुख भएको हैसियतले आफ्नो दुस्मन देशमाथि जस्तो व्यवहार अन्य व्यक्ति सो स्थानमा हुँदा जे भइरहेको थियो, ट्रम्पले सोही दोहो¥याएका मात्र हुन् । उनले कुनै नयाँ नीतिअन्तर्गत उत्तर कोरियालाई वार्ताको टेबलमा ल्याएका हुँदै होइनन् । उत्तर कोरियामाथि नाकाबन्दी पहिला पनि थियो, अमेरिकी आक्रमणको धम्की उसमाथि पहिला पनि थियो । दक्षिणी कोरियासँग मिलेर बर्सेनि युद्धाभ्यास गर्दै उत्तरी कोरियामाथि उनीभन्दा अघिका प्रशासनले पनि दबाब दिँदै आएकै हुन् ।  बरु उनले प्रायः दैनिकजस्तै ट्विट गर्दै कहिले परमाणु हतियारको बटन तिमीसँग भन्दा मसँग ठूलो छ भन्दै त कहिले किम जोङ्ग उनलाई पागल केटोको संज्ञा दिदँै कहिले उही ‘पागल’को प्रशंसा गर्दै बुद्धिमानको पगरी गुथाउँदै उनले किम जोङ उनलाई उत्तेजित बनाउने भरपुर प्रयास गरे । तर किम कहिल्यै उत्तेजित भएनन् । आफ्नो अभियानमा लागि रहे र आफ्नो लक्ष्य प्राप्त गरिछाडे । हो ट्रम्पले सीआईएका डाइरेक्टर माइक पम्पिओलाई गोप्य तवरले उत्तरी कोरिया पठाएका भने हुन् । तर पम्पिओ कुनै कूटनितिज्ञ होइनन् र उनको भ्रमणले मात्र उत्तरी कोरिया वार्ता गर्न राजी भएको  मान्न कोही तयार छैन ।

यद्यपि कोरिया प्रायद्वीपमा आशाका किरण अवश्यै देखिएका छन् । तर यो सफलताको टुङ्गोमा पुग्छ भनेर अझै प्रत्याभूति दिन सक्ने कोही छैन । दुई कोरियाबीच सौहाद्रतापूर्वक वार्ता भयो । दुवै करिब ६५ वर्ष पुरानो युद्ध अन्त्य भएको घोषणा गर्न त राजी भए । तर शान्ति सन्धिमा हस्ताक्षर भइसकेको भने अझै छैन । यो वर्षको अन्त्यतिर हुने बताइएको छ । अब उत्तरकोरिया र अमेरिका बीच शिखर वार्ताले मात्रै त्यो लक्ष्य प्राप्त हुने वा नहुने निर्धारण गर्ला । के उत्तर कोरिया यति लामो समय लगाएर प्राप्त गरेको आफ्नो परमाणु हतियार तथा  क्षेप्यास्त्र प्रविधि त्याग्न मन्जुर होला रु  उसले पनि के दक्षिण कोरियाबाट परमाणु हतियारसहित तैनाथ भएको अमेरिकी सेना फिर्ताको माग अगाडि न तेस्र्याउला र रु यसो भयो भने डोनाल्ड ट्रम्प तयार होलान त रु ह्वाइट हाउस तयार भए पनि पेन्टागन तयार होला भन्ने कुराको प्रत्याभूति कसले दिन सक्छ रु ट्रम्पले त आफ्नो भाग्य हतियारको ब्यापारबाट बनाएका होइनन । त्यसैले तयार हुन सक्छन् र तर रक्षा मन्त्रालय, गुप्तचर विभाग, वाल स्ट्रिटका बैङ्करहरू, विदेश विभागका कर्मचारी हतियारको कमिसनको मुहान सुक्ने अवस्थालाई सहज ढङ्गले आत्मसात गर्लान रु यस्ता प्रश्न अझै अनुत्तरित नै छन् ।  न डोनाल्ड ट्रम्पमा स्वतन्त्र किसिमले नीति तयार गर्ने र लागू गर्न सक्ने दृष्टिकोण नै छ न उनको टिम त्यो गर्न तयार छ । उनको पुरानो समूह एकपछि अर्को गर्दै भङ्ग हुँदैछ । ती खालि ठाउँ युद्धप्रेमीहरूले धमाधम ओगट्दैछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

वासुदेव मिश्र
वासुदेव मिश्र
लेखकबाट थप