शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय
ब्लग

जामकरन मस्जिदमा रातो झन्डा...

शनिबार, २६ साउन २०८१, ०९ : १५
शनिबार, २६ साउन २०८१

यतिखेर हामी इजरायलको हार नोफ भन्ने सानो पहाडी बस्तीमा छौँ । ठ्याक्कै नेपालको कुनै ग्रामीण बस्तीजस्तै प्रतीत हुने यो बस्तीमा उकालो–ओरालो र हरिया पहाडका थुम्का छन् ।

साँझ खस्दै गर्दा यहाँ गोधुली आकाश यति सुन्दर देखिन्छ कि मानौँ म नगरकोटबाट सूर्यास्त नियालिरहेको छु । अनि हठात् बिर्सन्छु कि यो यही आकाश हो, जहाँ कहिलेकाहीँ ताराका झिल्का हुलदङ्गामा उत्रिएझैँ गड्याङगुडुङ गर्दै रकेटको वर्षा हुन्छ । भलै ती क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीले रोकेर आकाशमै नष्ट होऊन्, तर भय र संन्त्रासको अज्ञात छायाले इजरायल पूरै ढाकिन्छ । 

यो रमणीय पहाड (हार नोफको शाब्दिक अर्थ नै रमणीय पहाड हो)को बाटो हिँड्दै गर्दा मलाई अमेरिकी साथी ग्याब्रियल डुइचले भने, ‘कृष्ण ! मलाई इजरायल आएपछि अमेरिका फर्कनै मन लाग्दैन । यो देशको मायाले म यसरी द्रवीभूत हुन्छु कि मेरा पाइलाहरू इजरायलको माटो छाड्नै मान्दैनन् ।’

लेक उड, न्यु जर्सीका ग्याब्रियल वर्षको कम्तीमा तीन–चारपटक बुबालाई भेट्न इजरायल आउँछन् । किनकि उनका पिता स्यामुअल डुइच विगत पाँच वर्षदेखि इजरायलको जेरुसेलममा बसिरहेका छन् । अमेरिका स्थायी घर भएका स्यामुअललाई जीवनको उत्तराद्र्धमा यहुदीको पवित्र स्थल जेरुसेलममा धर्म–कर्म र समाजसेवा गरेर बिताउने इच्छा भयो । उनी इजरायलमै मर्न चाहन्छन् । स्यामुअल दिनभर पढिरहन्छन् । उनलाई धर्मग्रन्थका कथा पढाउन अन्य कर्मचारी पनि आउँछन् । दिनको तीनपटक चर्च जान्छन्, उनको दिनचर्या नै पूजा र ध्यान मात्र हो । 

ग्याब्रियलले आफ्ना पितालाई बारम्बार सुनाउँछन्, ‘मलाई इजरायलको यो माटो र यो बाटो मेरैजस्तो लाग्छ बुबा !’

‘त्यसो भए यतै आएर बसै भैगो त !’ मुहारमा चमक ल्याउँदै स्यामुअल भन्छन् । 

‘अवश्य आउनेछु तर अलि पछि,’ ग्याब्रियल भन्छन् । 

संसारको जुनसुकै कुनामा रहेका यहुदीहरू इजरायललाई आफ्नो पुख्र्यौली घर मान्छन् । धर्मका आधारमा यिनलाई स्वतः इजरायलको नागरिकता प्राप्त हुन्छ । कुनै दिन ग्याब्रियल पनि आफ्ना पिताजस्तै इजरायल फर्केर धर्मकर्ममा लाग्छन् भन्नेमा कुनै शङ्का छैन । यद्यपि दुई हप्तादेखि आफ्ना बुबासँग इजरायलमा रहेका उनको फर्किने दिन आइसकेको थियो ।

जाने बेला उनले भने, ‘अब ठुलै युद्ध हुने स्थिति बन्यो भने म छिटै फर्किन्छु र रिजर्भ सैनिकमा भर्ती हुन्छु । यस्तो बेला मलाई मेरो देशको माया अझ बढी लाग्छ ।’ 

राति २ बजे उनको फ्लाइट थियो, तर भर्खरै युनाइटेड एअरले इजरायलसँगका सम्पूर्ण उडानहरू रद्द गरेको खबर पठायो । हमास प्रमुख इरानमा मारिएपश्चात् इरानले इजरायलमाथि आक्रमण गर्ने घोषणा गरेको थियो । मध्यपूर्वी आकाशमा सम्भावित युद्धको खतराका कारण अमेरिकाले इजरायलसँगको सिधा उडान अनिश्चित कालका लागि बन्द गरेपछि ग्याब्रिअललाई आपत प¥यो । उनी ट्राभल एजेन्सीमा फोन लगाउन थाले— मलाई जसरी हुन्छ, अमेरिका फर्कनु छ, आइतबार विशेष मिटिङमा सहभागी हुनपर्नेछ । 

कथंकदाचित युद्ध भड्किएर इजरायलमै रोकिनुपर्ला भन्ने भयले उनलाई सताएको हुनुपर्छ । अनेक प्रयासपछि अर्को बिहान ९ बजे तेल अभिभदेखि बुडापेस्ट अनि लन्डन हुँदै अमेरिका जाने फ्लाइट टिकट उनले भेटाए । उनी यसरी आत्तिएको देख्दा एकछिन त मलाई लाग्यो, उनी युद्धदेखि डराएर भाग्दै छन् । तर, मेरो यो भ्रम तोडियो, जब जाने बेला उनले भने, ‘अब ठुलै युद्ध हुने स्थिति बन्यो भने म छिटै फर्किन्छु र रिजर्भ सैनिकमा भर्ती हुन्छु । यस्तो बेला मलाई मेरो देशको माया अझ बढी लाग्छ ।’ 

जामकरन मस्जिदमा रातो झन्डा 

इरानका नवनिर्वाचित राष्ट्रपतिको शपथ ग्रहण समारोहमा भाग लिन गएका हमास प्रमुखको हत्या भयो । यस घटनाले इरानको सुरक्षा संयन्त्रमाथि गम्भीर प्रश्न खडा मात्रै भएको छैन, मध्यपूर्वी देशहरूमा दबदबा बनाएर राखेको शक्तिशाली राष्ट्र इरानको स्वाभिमानमा गहिरो चोट पुगेको छ । 

हमासले र इरानी रेभोलुसनरी गार्डले यो आक्रमण इजरायलले गराएको बताएको छ भने इजरायलले यसको औपचारिक पुष्टि गरेको छैन । इजरायलको गुप्तचर निकाय मोसादले गर्ने कारबाहीमा उसले खुलेर जिम्मेवारी लिँदैन पनि । 

इरानका सर्वोच्च नेता आयातोल्लाह खोमेनेइले आफ्नो आँगनमा भएको हमास प्रमुख हानियाको रगत र बलिदान त्यसै खेर जान नदिने कसम खाएका छन् । उनले अब इजरायलमाथि सिधै आक्रमण गर्ने आदेश दिएका छन् भने हिजबोल्लाह र हमासले इजरायलसँगको युद्ध नयाँ चरणमा अघि बढेको बताएको छ । यसरी हेर्दा अब इजरायलमाथि चौतर्फी आक्रमण हुने खतरा बढेको छ ।

हरेक आक्रमणबाट हुने सम्भावित प्रतिक्रियाको पूर्वआकलन गरेरै इजरायलले घटना घटाएको हुन्छ । इरान या अन्य जुनसुकै राष्ट्रबाट हुने आक्रमणको प्रतिकार गर्न आफूहरू तयार रहेको कुरा बेन्जामिन नेतान्याहुले बताएका छन् । इजरायल लगायत केही इस्लामिक राष्ट्रहरू समेत मध्यपूर्वमा अनवरत मडारिइरहने अस्थिरता, हिंसा र अशान्तिको प्रमुख घटक इरानलाई मान्छन्, किनकि हुथी र हिजबोल्लाहजस्ता लडाकु जत्था खडा गरेर उसले साउदी अरेबिया, सिरिया, लेबनान, यमनजस्ता देशमा छद्मयुद्ध सञ्चालन गरिरहेको उनीहरूको ठम्याइ छ । 

मध्यपूर्वका इस्लामिक राष्ट्रहरू साउदी अरब, यमन, जोर्डन, लेबनान तथा सिरिया इरानको छद्मयुद्धसँग परिचित भए पनि इरान र इजरायलबिच हुने युद्धमा धार्मिक आस्थाका कारण इरानप्रति नै समर्थन र ऐक्यबद्धता जनाउँछन् । यो उनीहरूको बाध्यता पनि हो । 

फेरि एकपटक इरानले आफ्नो पवित्र सहर कोममा अवस्थित जामकरन मस्जिदमा रातो झन्डा फहराएको छ । जब देशमा कुनै प्रमुख व्यक्तिको मृत्यु हुन्छ वा राष्ट्रिय शोकको घडी आउँछ अथवा मृत्युको बदला लिन युद्धको बिगुल फुक्ने अवस्था आउँछ, तब ‘या ला थारत अल–हुसैन ।’ अर्थात् ‘हे, हुसेनका बदला लिनेहरू !’ लेखिएको यो रातो झन्डा फहराइन्छ । यो शोक र क्रोधको प्रतीक हो, यो युद्ध र बदलाको आह्वान हो । इरानले हानियाको मृत्युको बदला लिन इजरायलसँग खुलेआम युद्धको बिगुल फुकेको बुझ्न सकिन्छ । 

  • बन्धक रिहाइमा थप अन्योलता 

हमासका प्रमुखहरूको मृत्युपछि के इजरायल–हमास युद्ध अब समाप्त हुन लागेको हो ? या हमास हिजबोल्ला या हुथीजस्ता लडाकु समूहहरू परिचालन गर्ने पर्दापछाडिका राष्ट्रहरू नै प्रत्यक्ष युद्धमा उत्रँदै छन् ? वा, कतै सम्पूर्ण छिमेकी इस्लामिक राष्ट्रहरू मिलेर एकैसाथ इजरायलमाथि धावा बोल्ने त होइनन् ? इजरायलमा विभिन्न प्रकारका अड्कलबाजीहरू हुन थालेका छन् । 

हमासले अपहरण गरी गाजामा लगेर बन्धक बनाएकाहरूका परिवार तथा आफन्त र शान्तिप्रेमी आम इजरायली जनताले नेतान्याहुको विरोधमा निरन्तर आन्दोलन गरिरहेका छन्, तत्काल युद्धविराम र वार्ता गरी जुनसुकै मूल्यमा सर्वप्रथम बन्धकहरू रिहा गरिनुपर्ने उनीहरुको माग छ । हमास प्रमुख हानियाको मृत्युले बन्धकहरूको रिहाइमा थप अन्योलता थपेको उनीहरूको आरोप छ । 

गत अक्टोबर ७ मा हमास लडाकु समूहबाट भएको अप्रत्याशित आक्रमण, हत्या र अपहरणबाट सुरु भएको यो युद्ध एक वर्ष हुन लाग्दासम्म अझ धेरै जटिल मोडमा पुगेको छ । सो आक्रमणमा सयौँ इजरायलीसहित १० नेपालीको पनि हमास आतङ्ककारीले हत्या गरेका थिए । यस्तै एकजना नेपाली (विपीन जोशी)सहित २५१ इजरायली र विदेशी नागरिक बन्धक बनाएर लगेका थिए । अहिले गाजामा १११ बन्धकहरू भएको विश्वास गरिएको छ । तीमध्ये पनि ३९ को मृत्यु भइसकेको इजरायली आर्मीले पुष्टि गरेको छ ।

इजरायलले हमासमाथि गरेको कारबाहीको उद्देश्य नै हमासको निःशस्त्रीकरण र बन्धकको रिहाइ बताउँदै आएको छ । विभिन्न चरणमा विभिन्न देशहरूको मध्यस्थतामा पटक–पटक बन्दी रिहाइका लागि वार्ताहरू भएका छन् । कतारमा बस्दै आएका हमास नेता इस्माइल हानियाले वार्तामा महत्त्वपूर्ण भूमिका निभाउँदै आएका थिए । गाजास्थित हमास कमान्डर याह्या सिनवार यिनीभन्दा कठोर भएको विश्वास गरिन्छ । 

यतिबेला हमास प्रमुख इस्माइल हानियाका साथै गाजास्थित सैन्य प्रमुख मोहम्मद डेइफको पनि हत्या भइसकेको इजरायलले जनाएको अवस्था छ । हमासका तीन शीर्ष नेतामध्ये अब याह्या सिनवार मात्र बाँकी छन् । दुई इजरायली सैनिक र आफ्नै चार प्यालेस्टिनी साथीलाई सुराकीको आरोपमा घाँटी रेटेर हत्या गरेको आरोपमा २२ वर्ष इजरायली जेलमा बिताएका सिनवार अत्यन्त क्रूर र हिंस्रक भएको मानिन्छ । यिनले आफ्ना माग पूरा नभएसम्म गाजामा रहेका बन्धकहरूको रिहाइमा पटक्कै लचकता देखाउनेछैनन् । यस कारण पनि बन्धकहरूको भविष्यमा अझ अन्योलता थपिएको छ । 

हमास, हुथी विद्रोही र हिजबोल्ला लडाकुसँगै इजरायल विरुद्धको युद्ध मोर्चामा अब इरान प्रत्यक्ष सहभागी हुने आशङ्काले इजरायलमा त्रास बढाएको छ ।

  • निसाना

गत वर्ष इजरायलमा भएको अप्रत्याशित आतङ्कवादी हमलापछि इजरायलले हमासलाई ध्वस्त पार्ने कसम खाएको छ । अपहरित बन्धकहरू रिहा गर्ने र हमास आतङ्कलाई निमिट्यान्न पार्ने दुई स्पष्ट लक्ष्यका साथ इजरायलले ‘फलामे तरबार’ नामक सैन्य अपरेसन सञ्चालन गरिरहेको छ । 

हमासलाई पछ्याउँदै इजरायलले गाजा मात्र होइन, सिरिया लेबनान र इरानसम्म आक्रमणका योजनाकारमाथि निसाना लगाइरहेको छ । 

इरानमा हमास प्रमुख हानिया मारिएकै दिन लडाकु समूह हिजबोल्लाहको वरिष्ठ कमान्डर फुआद शुक्र पनि लेबनानमा भएको इजरायली आक्रमणमा मारिएका थिए । अघिल्लो हप्ता इजरायल अधीनस्थ गोलान हाइट्समा १२ जना किशोरको ज्यान जाने गरी भएको रकेट आक्रमणका योजनाकार शुक्र हिजबोल्ला प्रमुख हसन नसरल्लाहका दाहिने हात मानिन्थे । 

इरानमा हमास प्रमुखको हत्यापश्चात् भने मध्यपूर्वमा थप तनाव बढ्ने पक्का छ । के १५०० किलोमिटर पर रहेको इजरायलबाट तेहरानमा यति सटीक निसाना साँधेर मिसाइल आक्रमण कसरी गर्न सम्भव होला ? के इजरायलले यो घटना घटाउन इरानकै भूमि प्रयोग ग¥यो ? अथवा, इरानको सीमानजिकै अजरबैजानी हवाई क्षेत्र वा क्यास्पियन सागरबाट निर्देशित क्षेप्यास्त्र प्रहार गरियो ? यी प्रश्न अनुत्तरित छन् । 

इरानको रेभोलुसनरी गार्डसँग सम्बन्धित फारस न्युजले उत्तरी तेहरानस्थित हानियाको निवासमा हवाई आक्रमण भएको उल्लेख गरेको थियो । प्यालेस्टिनी इस्लामिक जिहाद ग्रुपका नेता जियाद अल नाखल पनि सोही भवनको अर्को तलामा बसेका थिए, तर उनलाई कुनै क्षति भएन । प्रिसिजन लेजर प्रविधिमा आधारित गाइडेड मिसाइलले मात्र यति सटीक लक्ष्यका साथ प्रहार गर्न सक्ने सैन्य अधिकारीले बताए । 

संसारको जुनसुकै कुनामा रहेका यहुदीहरू इजरायललाई आफ्नो पुख्र्यौली घर मान्छन् । धर्मका आधारमा यिनलाई स्वतः इजरायलको नागरिकता प्राप्त हुन्छ । कुनै दिन ग्याब्रियल पनि आफ्ना पिताजस्तै इजरायल फर्केर धर्मकर्ममा लाग्छन् भन्नेमा कुनै शङ्का छैन ।

कसैले एआईको सहायतामा स्याटलाइटको मद्दतबाट निर्देशित क्षेप्यास्त्र प्रयोग गरिएको भनेका छन्, सीएनएनले भने दुई महिनापहिले नै हानिया बस्ने गेस्ट हाउस भवनमा बम फिट गरिएको दाबी गरेको छ । 

गत अप्रिलमा सिरियामा रहेको इरानी वाणिज्य दूतावासमा इजरायलले आक्रमण गरेको थियो, जहाँ वरिष्ठ इरानी सैन्य अधिकारी जनरल अलि रेजा जाहेदीसहित आठ इरानी, दुई सिरियाली र एक लेबनानी लडाकुको निधन भएको थियो । इरानद्वारा परिचालित प्रो इरानी सैन्य दस्ता (हिजबोल्ला, हुथी र हमास) लडाकुलाई निर्देशन दिन उनी त्यहाँ पुगेका थिए । 

त्यस घटनाबाट क्रुद्ध इरानले इजरायलमा १७० भन्दा धेरै मानवरहित विमान, ३० क्रुज मिसाइल तथा १२० भन्दा धेरै ब्यालेस्टिक मिसाइलले एकैपटक आक्रमण ग¥यो । एउटा सहरै तहसनहस गर्न सक्ने परिमाणको यो सघन आक्रमणलाई इजरायलको डेभिड स्लिङ तथा एरो ३ क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीले आकाशमै निस्तेज पार्न सफल भएको थियो । अमेरिका, बेलायत, फ्रान्स र जोर्डनका वायु सैनिकले समेत इरानी हतियार रोक्न सघाएका थिए । 

समय सधैँ उस्तै हुँदैन, यो युद्ध हो । इरानले गर्ने अबको आक्रमण भिन्न प्रकृतिको हुनेछ, जो पहिलेको भन्दा भयानक र घातक हुन सक्छ । 

  • इरानले कहिले गर्ला आक्रमण ?

इजरायलको चोक–चोक र गल्लीहरूमा एउटा बेग्लै त्रास र हल्ला फैलिएको छ । अबको आक्रमण इरानबाट मात्र होइन लेबनान, सिरिया र साउदी अरबबाट समेत एकैपटक र भीषण हुन्छ रे !

तेल अभिभबाट एकजना मित्रले फोन गरे– यार, अब इरानले कडा आक्रमण गर्दै छ रे । आज राति हाइफामा आक्रमण हुने सम्भावना छ भन्छन्, जेरुसेलमतिर कतिको हल्ला छ ? 

इजरायलमा युद्ध अनवरत चलिरहेकै छ, हामी यस्ता हल्लाहरूसँग अभ्यस्त भइसकेका छौँ । यहाँ रकेट आक्रमणको त्रास कहिले पो नभएको हो र ? तथापि इजरायलको डिफेन्स सिस्टमप्रति पूर्ण विश्वास भएकाले मलाई यस्ता समाचारले खासै प्रभावित बनाउँदैनन् । 

इजरायलमा रहेका नेपाली नागरिकलाई सचेत र सुरक्षित रहन आग्रह गर्दै नेपाली दूतावास इजरायलले साँझ एउटा सूचना राखेको रहेछ— यस क्षेत्रमा पछिल्लो समय विकसित परिस्थितिलाई मध्यनजर गर्दै जुनसुकै बेला इजरायली होम फ्रन्ट कमान्डद्वारा सर्वसाधारणका लागि नयाँ निर्देशनहरू जारी हुन सक्ने भएकाले नेपाली दाजुभाइ तथा दिदी–बहिनीहरूलाई इजरायली नेसनल इमर्जेन्सी पोर्टलबाट अद्यावधिक स्थानीय सुरक्षा प्रोटोकलबारे जानकार रहन, उक्त प्रोटोकलहरू पालना गर्न र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन एवं सुरक्षित आश्रय स्थलको सुविधा भएको स्थलको आसपासमै रहन समेत हार्दिक अनुरोध गर्दछौँ ।

यस्ता मितिमा आक्रमण गर्ने प्रतीकात्मक कारण पनि रहेको छ, जसले ऐतिहासिक पीडाहरूलाई पुनर्जीवित गर्छ भने विनाशका छविहरूलाई पुनः स्मरण गराउँछ ।

यहाँ सतर्क हरेक दिन हुनुपर्छ । यद्यपि जति पनि इजरायलमाथि ठुला आक्रमण भएका छन्, ती प्रायः यहुदी चाडपर्व या बिदाका दिनमै भएका छन् । बिदाको समयमा हुने अप्रत्याशित आक्रमण र युद्धको त्रासले उनीहरूमा मनोवैज्ञानिक पीडा थप्छ । किनकि यहुदीहरूको विगत र तिनले भोग्नुपरेको नियति अत्यन्त तितो र हृदयविदारक छ । 

विपक्षी तत्त्वहरूले विगतमा पनि यहुदी पर्वहरूको दिनमा आक्रमण गरेका छन्, जस्तो कि हमासले गत अक्टोबर ७ मा आक्रमण गर्दा सिम्खा तोराह र सब्बातको दिन परेको थियो । इजरायल यहुदी राष्ट्र हो, यहाँका जनताहरू धर्म–कर्मप्रति असाध्य ठुलो श्रद्धा र आस्था राख्छन् । सब्बात (शुक्रबार दिउँसोदेखि शनिबार रातसम्म) या चाडपर्वमा इजरायल पूरै बन्द हुने मात्र होइन, धार्मिक मानिस पूजा–प्रार्थना र ध्यानबाहेक अरू केही गर्दैनन् । यहुदी जनसंख्याको ठुलो हिस्सा पूजापाठमा लीन हुने र धर्म ग्रन्थमा वर्जित नियम अक्षरशः पालना गर्ने हुँदा विपक्षीले यस्तो बेला आक्रमण गर्न सजिलो ठान्दा हुन् । 

कतिसम्म भने बिदाको दिन आगो बाल्न, खाना पकाउन, लुगा धुन, रुपैयाँ पैसाको हिसाब–किताब गर्न, मेसिनरत या इलेक्ट्रोनिक (रेडियो टिभी मोबाइल लगायत) कुनै पनि सामान छुन समेत हुँदैन । काटमार, हत्या–हिंसा गर्ने त प्रश्नै भएन । चाडपर्वमा हुने यही कमजोरीलाई आधार मानेर इजरायलमाथि त्यस्ता दिनमा प्रायः आक्रमण हुने गरेको पाइन्छ । अगस्ट १२ देखि १३ मा ‘तिशा भाव’ नामक चाड पर्छ । यहुदीहरूको पहिलो र दोस्रो पवित्र मन्दिर विनाश गरिएको शोकपूर्ण दिवसको स्मृति स्वरूप यस चाड मनाइन्छ । यस क्रममा उपवास, शोक र आत्म अस्वीकृतिको अभ्यास लगायत अनुष्ठान गरिन्छ । सायद यही दिन इरानले इजरायलमाथि अर्को हमला गर्नेछ । 

यस्ता मितिमा आक्रमण गर्ने प्रतीकात्मक कारण पनि रहेको छ, जसले ऐतिहासिक पीडाहरूलाई पुनर्जीवित गर्छ भने विनाशका छविहरूलाई पुनः स्मरण गराउँछ । यहुदीहरूले ऐतिहासिक रूपमा भोगेका घटनाले पनि उनीहरूलाई भावुक र संवेदनशील पार्छ । जब यहुदीहरू आफ्नो थातथलो छाडेर पराई भूमिमा भौँतारिँदै थिए, हिटलरले साठी लाख यहुदीहरूलाई जिउँदै जलाएर स्वाहा पारेका थिए । देश नहुँदाको त्यही पीडा र चित्कारको प्रतिबिम्ब हो, आजको इजरायल । 

यो इजरायल, जसलाई यहुदीहरू प्राणभन्दा प्यारो गरी जोगाउन चाहन्छन् । यहुदीहरूले आफ्नै थलोमा फर्किएर अस्तित्वका लागि गरेको सङ्घर्षको कथा निकै लामो छ र यो कथा क्रमशः जारी छ । म साथीलाई फोनमा सम्झाइरहेछु – समय सधैँ एकनाश हुँदैन, साइरन बज्न थालेपछि तुरुन्त बङ्कर या सुरक्षित स्थानमा जान अल्छी नगर्नू । रकेटको फोटो भिडियो बनाउँदै बस्ने होइन । सामाजिक सञ्जालमा अनावश्यक हल्ला आगोजस्तै छिटो फैलिएको हुन्छ, त्यो देखेर आतङ्कित हुने वा त्यस्तो गराउने काम नगर्नू ।

अब के होला ? कुतूहलता र ढुकढुकी एकसाथ बढिरहन्छन् । हुन सक्छ, अब इजरायल र हमास छिटै युद्धविराम गर्नेछन् र विपीन जोशी लगायत बन्धक रिहा भई आ–आफ्नो घर फर्कन पाउनेछन् अनि यो इजरायल प्यालेस्टाइन युद्धको एउटा अध्याय समाप्त हुनेछ । तर के थाहा ? ठ्याक्कै यसको विपरीत मध्यपूर्वका अरू देशहरू समेत मुछिने गरी युद्धले अझ गम्भीर र भीषण आकार पो लिने हो कि ? कतै केही नयाँ खबर खोज्दै म आँखाहरू पुनः इन्टरनेटका भित्तामा दौडाउँछु । 

(जेरुसलेम,  इजरायलबाट ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णपक्ष थापा
कृष्णपक्ष थापा
लेखकबाट थप