१० बजे, १० समाचार
आज मिति २०८१ साल साउन महिनाको २५ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–
१. छानबिनमा रहेकालाई नियुक्तिको तयारी
सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा डिल्लीराज लम्साललाई नियुक्ति गर्ने तयारी गरेको छ।
तर हाल खाद्यमै निमित्त प्रमुख कार्यकारी अधिकृत रहेका उनी अकुत आर्जनको आशङ्कामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा रहेका व्यक्ति हुन् । रातोपाटीले प्राप्त गरेको छानबिनको विवरणमा उनले खाद्यको जागिरका क्रममा विभिन्न जिल्लामा रहेर काम गर्दा आर्थिक अनियमितता गरेको र यही सम्बन्धमा अख्तियारले छानबिन गरिरहेको पाइएको हो ।
२. न्यायाधीश सिफारिस
न्याय परिषद्ले देशभरका रिक्त ३५ जिल्ला न्यायाधीशमा सिफारिस गरेको छ । शुक्रबार बसेको न्याय परिषद्को बैठकले रिक्त ३५ न्यायाधीशमा सिफारिस गरेको हो ।
३. सर्वोच्चमा चूडामणि
विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेका आन्तरिक राजश्व विभागका पूर्व महानिर्देशक चूडामणि शर्मा ढकाल बन्दी प्रत्यक्षीकरणको निवेदन लिएर सर्वोच्च पुगेका छन् । शर्माले आफू बिरामी रहेको र ४ वर्षदेखि थुनामै रहेको भन्दै बन्दीको निवेदन लिएर सर्वोच्च पुगेका हुन् ।
४. लेखा समिति
सार्वजनिक लेखा समितिले नेपाल विद्युत् प्राधिकरणबाट प्राप्त डेडिकेटेड तथा ट्रंकलाइन प्रयोग गरेका उद्योगहरूको टीओडी मिटरको डेटा समेटिएको सबै कागजात (डकुमेन्ट) नराख्ने भएको छ ।
समितिका सभापति ऋषिकेश पोखरेलले प्राधिकरणबाट प्राप्त भएका कागजातबाट आवश्यक मात्रै समितिले लिएर बाँकी फिर्ता पठाइदिने बताए । कुन कुन कागजात समितिलाई चाहिने हो भन्नेबारे छान्ने काम भइरहेको र त्यसबाहेकका कागजात प्राधिकरणमै फिर्ता पठाइने उनको भनाइ छ ।
५.कुलमानको पत्रकार सम्मेलन
पछिल्लो नियुक्तिबाट नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा कुलमान घिसिङले तीन वर्षे कार्यकाल पूरा गरेका छन् । २०७८ साल साउन २५ गतेको मन्त्रिपरिषद् बैठकबाट उनी प्राधिकरणको कार्यकारी निर्देशकमा ४ वर्षका लागि नियुक्त भएका थिए ।
त्यसअघि पनि उनी एक कार्यकाल कार्यकारी निर्देशक भएका थिए । कार्यकारी निर्देशकमा नियुक्ती भएको तीन वर्ष पूरा भएको अवसरमा शुक्रबार पत्रकार सम्मेलन गर्दै घिसिङले आफ्नो प्रगति विवरण सार्वजनिक गरेका छन् । मन्त्रिपरिषद्को निर्णयका आधारमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र आफूबीच प्राधिकरण सुधारका विभिन्न सूचकाङ्कसहित कार्यसम्पादन सम्झौता भएको घिसिङले बताए ।
६. मानवअधिकार समिति बैठक
सांसदहरूले जबरजस्ती करणी सम्बन्धीको कानुनलाई तत्काल संशोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
शुक्रबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसदहरूले जबरजस्ती करणी सम्बन्धीको कानुनलाई तत्काल संशोधन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । उनीहरूले प्रतिशोधपूर्ण रूपमा व्यक्तिलाई फसाउन जबरजस्ती करणीको मुद्दा लगाइने गरिएको भन्दै तत्काल संशोधन गर्नुपर्ने बताए ।
७. टीआरसीबारे पत्राचार
टीआरसी विधेयक आगामी संसद् बैठकमा पेस गर्न आग्रहसहित कानुन, न्याय तथा मानवअधिकार समितिले सभामुख देवराज घिमिरेलाई पत्राचार गरेको छ ।
उक्त समितिबाट बिहीबार बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक ९टीआरसी विधेयक०माथि दफावार छलफल भई पारित भएसँगै सभापति विमला सुवेदीले प्रतिनिधि सभाको आगामी बैठकमा पेस गर्न पत्राचार गरेकी हुन् ।
८. स्पष्टीकरणमा मुख्यमन्त्री
जनमत पार्टीले मधेस प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिंहलाई स्पष्टीकरण सोधेको छ । पार्टीको निर्देशन विपरीत काम गर्न थालेको भन्दै जनमत पार्टीले मुख्यमन्त्री सिंहलाई स्पष्टीकरण सोधेको हो ।
जनमत पार्टीका प्रवक्ता शरद सिंह यादवले शुक्रबार मुख्यमन्त्रीलाई स्पष्टीकरण सोधिएको पुष्टि गरे । उनका अनुसार मुख्यमन्त्री सिंहले सरकारको नेतृत्व गरेको दुई महिनामै पार्टीसँग समन्वय नगरी काम गर्न थालेपछि स्पष्टीकरण सोधिएको हो ।
प्रदेश थप समाचार
९. सेयर बजार
यो साता तीव्र उतारचढावका बाबजुद पनि सेयर बजार परिसूचक नेप्सेमा जम्मा १० अङ्कको मात्र वृद्धि भएको छ । अधिकतम १४५ अङ्क माथिले बजार घट्ने र फेरि १०८ अङ्कले बढ्ने गतिविधि यही साता भएको छ ।
१०. साताको रिलिज
साउनको पहिलो र दोस्रो साता प्रदर्शनमा आएका फिल्म ‘ईश्वर’ र ‘मोदीबेनी’ले राम्रो दर्शक पाउन नसके पनि तेस्रो साता अर्थात आज शुक्रबारबाट फिल्म ‘नम्बरी सुन’ प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजको परम्परा धान्दै देशभर एकसाथ आएको फिल्मले सिंगल सोलो रिलिज अवसर पाएको छ ।
थप समाचार
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीलाई लोहनीको सुझाव : बीआरआई लिन्न भनेर निर्णय नगर्नुस्
-
पेप्सीको बिक्रीमा कर छल्ने वरुण वेभरेजलाई जरिवाना र बिगो, अमित गुप्तालाई एक वर्ष कैद
-
स्थानीय तह उपनिर्वाचन : ग्रामथानमा दलका नेताहरूको लस्कर
-
चीन भ्रमण स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक बस्दै
-
पाकिस्तानमा शिया–सुन्नीबिचको लडाईमा दर्जनौँको मृत्यु
-
किन हडतालमा उत्रिए वायुसेवा निगमका पाइलटहरू ?