बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

चलचित्र विकास बोर्डको अध्यक्षमा हालसम्म दिनेश डीसी र राजेश थापाको आवेदन

डीसीको सम्भावना बलियो
शुक्रबार, २५ साउन २०८१, १८ : १५
शुक्रबार, २५ साउन २०८१

काठमाडौँ । चलचित्र विकास बोर्डको अध्यक्ष पदमा हालसम्म दुई जनाको मात्र आवेदन परेको छ । आवेदन दिनेमा निर्देशक तथा सञ्चारकर्मी दिनेश डिसी र राष्ट्रिय नाचघरमा पूर्वमहाप्रवन्धक राजेश थापा छन् ।

गत साउन ९ गते भुवन केसीको दुई वर्षे कार्यकाल पूरा भएसँगै रिक्त रहेको अध्यक्ष पदका लागि गत साउन १६ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दरखास्त आह्वान गरेको थियो ।

भुवन केसीको कार्यकाल सकिँदै गर्दा अध्यक्ष पदमा ५–६ जना आकाङ्क्षी देखिएपनि अहिलेसम्म मात्र दुई जनाको आवेदन परेको हो । आवेदन दिने म्याद साउन मसान्तसम्म रहेको छ । 

दिनेशले गत साउन १७ गते सिंहदरबारस्थित सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा पुगेर आवेदन दर्ता गराएका थिए ।  यस्तै त्यसको केही दिनपछि राजेशको आवेदन परेको थियो । 

आवेदन परेको दुईमध्ये बोर्ड अध्यक्षमा दिनेश डिसीको सम्भावना बलियो देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका साथै सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको समेत ग्रिन सिग्नल पाएर डिसीले अध्यक्ष पदमा आवेदन दिएको बताइन्छ । 

त्यसो त नेकपा एमाले निकट जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्ष डिसी नै हुन् । जनपक्षीय चलचित्रकर्मी संघले समेत बोर्डको अध्यक्षका लागि एमाले पार्टी, प्रधानमन्त्री केपी शर्मा ओली र संचारमन्त्री पृथ्वी सुब्बा गुरुङलाई सिफारिस गरिसकेको छ । 

मन्त्रालय स्रोतका अनुसार डिसीले आफ्नो आवेदनसँगै ६९ बुँदे कार्य योजनासमेत प्रस्तुत गरेका छन् । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालदेखि स्वकीय सचिव राजेश बज्राचार्यसँगसम्म सम्बन्ध प्रगाढ भएका डिसी नै अध्यक्ष बन्ने सम्भावना बलियो रहेको चलचित्रकर्मीहरु बताउँछन् । 

उनको उम्मेदवारीको विषयमा रातोपाटीले प्रतिक्रिया लिन खोज्दा आफूले अहिले यस विषयमा कुनै पनि प्रतिक्रिया नदिने बताए । 

यसैबीच बोर्डको अध्यक्ष पदमा आकाङ्क्षा देखाएकी अभिनेत्री करिस्मा मानन्धरले सोमबार आवेदन दिन लागेको बताइन् ।

‘पूरै जीवन चलचित्र क्षेत्रमा बिताएकाले बोर्डको नेतृत्व गर्ने इच्छा हुनु स्वाभाविक हो,’ करिस्माले भनिन् ‘सरकारले एउटा नारीलाई पनि अवसर दिन्छ भन्ने लागेको छ ।’ बोर्ड अध्यक्ष भएर फिल्म क्षेत्रका लागि केही गर्ने इच्छा रहेको करिस्माले सुनाइन् । 

यसबाहेक नरेश पौडेल, नरेन्द्र महर्जन लगायतले पनि अध्यक्षमा उम्मेदवारी दिने बताएका थिए । तर, उनीहरूले हालसम्म उम्मेदवारी दर्ता गराएका छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप