चार राष्ट्र, चार खेलाडी : पेरिस ओलम्पिकमा आफ्नो देशको प्रतिनिधित्व गर्ने एकमात्र खेलाडी
काठमाडौँ । गृष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिताको ३३औँ संस्करण फ्रान्सको राजधानी सहर पेरिसमा सञ्चालन भइरहेको छ । पेरिस ओलम्पिकमा विश्वभरका १० हजार सात सयभन्दा बढी खेलाडीले सहभागिता जनाएका छन् ।
पेरिस ओलम्पिकमा केही राष्ट्रले पाँच सयभन्दा बढी खेलाडी सहभागी गराएका छन् भने केही राष्ट्रले निकै कम सङ्ख्यामा खेलाडी सहभागी गराएका छन् । प्रतियोगितामा अमेरिकाले आयोजक राष्ट्र फ्रान्सको भन्दा पनि बढी पाँच सय ९२ जना खेलाडी सहभागी गराएको छ ।
आयोजक फ्रान्सले पाँच सय ७३ खेलाडीलाई ओलम्पिकमा सहभागी गराएको छ । अस्ट्रेलियाले चार सय ६०, जर्मनीले चार सय २८, चीनले चार सय पाँच र जापानले चार सय तीन खेलाडीलाई पेरिस ओलम्पिकमा सहभागी गराएका छन् ।
अर्कोतिर, केही राष्ट्रले अत्यन्तै कम सङ्ख्यामा खेलाडी पेरिस पठाएका छन् । सालोमोन आइल्यान्ड्स, तुभालु, म्यानमार र माउरिटानियाले दुई–दुई तथा मालावी, चाड, सेशेल्स, पालाउ, सेन्ट किट्स एन्ड नेभिस, कम्बोडिया, लेसोथो, किरिबाटी, भुटान र ब्रुनाइले भने तीन–तीनजना खेलाडी पेरिस ओलम्पिकमा पठाएको छ ।
आखिर, पेरिस ओलम्पिकमा सबैभन्दा कम खेलाडी पठाउने राष्ट्र कुन हो त ? खासमा, चारवटा यस्ता राष्ट्र छन् जसले पेरिस ओलम्पिकमा आफ्ना एक–एकजना खेलाडीमात्र सहभागी गराएका छन् । ती राष्ट्र बेलिज, सोमालिया, लिकटेन्स्टाइन र नाउरु हुन् ।
बेलिजले पेरिस ओलम्पिकमा धावक सान गिललाई मात्र सहभागी गराएको छ । प्रतियोगिताको उद्घाटन समारोहमा उनले नै बेलिजको राष्ट्रिय झण्डा बोकेर मार्च पास्ट गरेका थिए । उनी प्रतियोगिताको प्रारम्भिक चरणबाटै बाहिरिएका थिए ।
यसैगरी, सोमालियाले पेरिस ओलम्पिकमा आफ्ना मध्यम दुरीका धावक अली इदो हसनलाई सहभागी गराएको थियो । उनले पुरुषतर्फको आठ सय मिटर दौडमा भाग लिएका थिए । उनी प्रतियोगिताको हिट चरणबाटै बाहिरिएका थिए ।
यसअघि सोमालियाले अर्का धावक अब्दुल्लाही जामा मोहमदलाई पनि पेरिस ओलम्पिकमा सहभागी गराउने तयारी गरेको थियो । उनले १३औँ अफ्रिकन महादेशीय खेलकुदमा पाँच हजार मिटर दौडमा स्वर्ण पदक जितेका थिए ।
उनी पछिल्लो ३५ वर्षयता अन्तर्राष्ट्रिय प्रतियोगितामा सोमालियाका लागि स्वर्ण पदक जित्ने पहिलो खेलाडी पनि बनेका थिए । त्यसैले उनलाई पेरिस ओलम्पिकमा सहभागी गराउने बताइएको थियो । तर, अन्तिम समयमा आएर सोमालियन ओलम्पिक कमिटीले उनलाई पेरिस ओलम्पिकमा सहभागी नगराउने निर्णय लिएको थियो ।
यसैगरी, लिकटेन्स्टाइनले पनि पेरिस ओलम्पिकमा आफ्नो एक खेलाडीमात्र सहभागी गराएको छ । लिकटेन्स्टाइनले माउन्टेनबाइकको पुरुष क्रस कन्ट्री स्पर्धामा रोमानो पुन्टेनरलाई सहभागी गराएको थियो । उनी आफ्नो स्पर्धामा २८औँ भएका थिए ।
यसैगरी, नाउरुले पनि पेरिस ओलम्पिकमा आफ्ना एकजना खेलाडीमात्र सहभागी गराएको छ । नाउरुले पेरिस ओलम्पिकको एथलेटिक्समा आफ्नो खेलाडी सहभागी गराएको हो । नाउरुबाट एक सय मिटर दौडमा विनजर ककियुएलाई भाग लिएका थिए । उनी प्रतियोगिताको हिट चरणबाटै बाहिरिएका थिए ।