बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

रुसी सेनामा कति भारतीय पुगे ?

शुक्रबार, २५ साउन २०८१, १६ : ५७
शुक्रबार, २५ साउन २०८१

नयाँ दिल्ली । भारतका विदेश मन्त्री एस जयशंकरले रुसी सेनामा भर्ती भएका भारतीयहरूबारे लोकसभामा बयान दिएका छन् । जयशंकरका अनुसार यो वर्ष ९१ भारतीय नागरिक रुसी सेनामा भर्ती भएका छन् ।

यीमध्ये आठ नागरिकको मृत्यु भएको बताइएको छ । सरकारी सहयोगमा १४ जना भारतीयलाई रुसी सेनाबाट उद्धार गरेर भारत ल्याइएको उनले बताए । ६९ जना अझै रुसी सेनामै फसिरहेको बताइएको छ ।

‘हामीले यो विषयलाई गम्भीरताका साथ लिएका छौँ । म आफैँले रुसी विदेश मन्त्रीसँग यो विषय पटक पटक उठाएको छु’ जयशंकरले भनेका छन् ।

गएको महिना रुसको भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग यो मुद्दा उठाएको पनि उनले बताए । रुसी सेनामा भर्ना भएका हरेक भारतीयलाई त्यहाँबाट मुक्त गरिने आश्वासन पुटिनले दिएका थिए ।

भारतीय नागरिकहरूले रुसी सेनामा सेवाको लागि सम्झौतामा हस्ताक्षर गरेको र यही सम्झौता नै उनीहरूलाई भारत फिर्ता ल्याउनमा तगारो बनेको बताइएको छ ।

‘तर हामी त्यो मान्दैनौँ, मलाई लाग्छ कि हाम्रा नागरिकहरूलाई बहकाइएको थियो । अरू कुनै नोकरीका लागि जान लागेको भनेर उनीहरूलाई भनिएको थियो र पछि उनीहरूलाई रुसी सेनामा खटाइयो’ जयशंकरले भनेका छन् ।

सीबीआईले यस मामिलामा १९ व्यक्ति र संस्थाविरुद्ध फौजदारी मुद्दा दर्ता गरेको बताइएको छ  । रुसबाट फर्किएका १४ जनामाथि पनि छानबिन भइरहेको छ ।

१० मानव तस्करविरुद्ध पर्याप्त प्रमाण फेला परेको बताइएको छ । यस मामिलामा अनुसन्धानका क्रममा अप्रिल २४ मा २ जना अभियुक्तलाई समातिएको थियो ।

मे ७ मा थप २ जनालाई पक्राउ गरिएको थियो । चारै जना आरोपी अहिले न्यायिक हिरासतमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप