मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

स्वर्ण जितेपछि संघर्षका दिन सम्झिएर जब पाकिस्तानी खेलाडी अरशद नदिम डाको छोडेर रोए

शुक्रबार, २५ साउन २०८१, १६ : ४८
शुक्रबार, २५ साउन २०८१

काठमाडौँ । पेरिसमा जारी ३३ औँ गृष्मकालीन ओलम्पिक खेलकुदमा पाकिस्तानी खेलाडी अरशद नदिमले अपत्यारिलो तरिकाले स्वर्ण पदक जिते । उनले एथलेटिक्सको पुरुष ज्याभलिन थ्रो स्पर्धामा आफूभन्दा प्रभावशाली प्रतिद्वन्द्वीहरुलाई पछि पार्दै स्वर्ण पदकमाथि कब्जा जमाए ।

स्वर्णको बलियो दाबेदारका रुपमा हेरिएको भारतीय खेलाडी निरज चोपडालाई पनि उनले पछि पारे । अरशद नदिमले स्वर्ण पदकमात्र जितेनन्, सँगसँगै ओलम्पिकमा नयाँ कीर्तिमान पनि बनाए । उनले एसिया र ओलम्पिकको कीर्तिमान एकैपटक भंग गरे ।

उनले समग्रमा ९२.९७ मिटरको प्रदर्शनसहित स्वर्ण पदक कुम्ल्याएका हुन् । उक्त स्पर्धामा ८९.४५ मिटरको प्रदर्शनसहित भारतीय खेलाडी निरजले रजत पदक हात पारे । ग्रेनडाका खेलाडी एन्डर्सन पिटर्सले ८८.५४ मिटरको प्रदर्शनसहित कांस्य पदक जिते ।

पेरिस ओलम्पिकमा पाकिस्तानले जितेको यो पहिलो पदक हो । यही एउटा स्वर्णले पाकिस्तानलाई पदक तालिकामा भारतभन्दा पनि माथि उभ्याउन मद्दत पुर्याएको छ । यद्दपि, भारतले जारी ओलम्पिकमा एक रजत र चार कांस्य पदक जितिसकेको छ ।

२७ वर्षीय अरशद नदिम अत्यन्तै गरिब परिवारबाट आएका खेलाडी हुन् । ओलम्पिकमा स्वर्ण जित्ने सपना साकार पार्न उनले निकै ठुलो संघर्ष गर्नुपरेको थियो । उनको जन्म पञ्जाबी राजपुत परिवारमा भएको थियो । उनका पिता निर्माण मजदुरको रुपमा काम गर्थे ।

आफ्ना बाबु–आमाको आठ सन्तानमध्ये उनी साइला छोरा हुन् । आफ्नो परिवार चलाउन उनका पिताले निकै संघर्ष गर्नुपर्ने अवस्था थियो । विद्यालयमा अध्ययन गर्दादेखि नै उनी खेलकुदप्रति बढी आकर्षित हुन्थे । विद्यालयमा अध्ययन गर्दा उनी क्रिकेट, ब्याडमिन्टन, फुटबल र एथलेटिक्स खेल्थे ।

तर, विस्तारै उनी अरु खेल छाडेर एथलेटिक्सतर्फ एकोहोरिएका थिए । खासगरी उनका पिता मुहम्मद असरफले उनलाई ज्याभलिन थ्रो खेल्न प्रोत्साहित गरेका थिए । उनले सन् २०१६ मा भारतको गवाहाटीमा सम्पन्न दक्षिण एसियाली खेलकुदमा पनि स्वर्ण पदक जितेका थिए । त्यो उनको पहिलो ठुलो अन्तर्राष्ट्रिय सफलता थियो ।

पेरिस ओलम्पिक सुरु हुनुभन्दा चार महिना अघिसम्म पनि उनीसँग नयाँ भाला किन्न पैसा थिएन । उनका पिताले आफ्नो छिमेकीसँग सापटी लिएर उनका लागि खेल सामाग्री खरिद गर्थे । ओलम्पिकमा स्वर्ण जितेपछि उनी आफैँले आफ्नो विगत स्मरण गरेका हुन् ।
पेरिस ओलम्पिकको अभ्यासका क्रममा उनले आठ वर्षभन्दा पुरानो भाला प्रयोग गरेका थिए । त्यो भाला उनले सन् २०१५ मा पाएका थिए । त्यतिबेला उनले भर्खरै अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारी सुरु गरेका थिए ।

‘मेरा भाला बिग्रिसकेको थियो । मैले यो कुरा संघका पदाधिकारी र प्रशिक्षकलाई बताएपछि उहाँहरुले नयाँ भालाको आश्वासन दिनुभएको थियो,’ उनले भनेका छन् । आफ्नो अवस्थाको बारेमा उनले भारतीय खेलाडी निरज चोपडालाई पनि बताएका थिए । आफैँलाई हराउँदै स्वर्ण पदक जितेपछि निरजले पनि अरशद नदिमको प्रसंशा गरेका छन् । ‘उनी अभाव र सँघर्षबाट खारिएर आएका खेलाडी हुन् । उनीसँग नयाँ भाला खरिद गर्ने पैसासम्म थिएन भन्ने थाहा पाउँदा मलाई अचम्म लाग्यो,’ निरजले भनेका छन् ।

अरशद नदिम पाकिस्तानका लागि ओलम्पिकको व्यक्तिगत स्पर्धामा स्वर्ण पदक जित्ने पहिलो खेलाडी पनि बनेका छन् । पेरिसमा स्वर्ण जितेपछि आफ्नो संघर्षलाई सम्झिएर निकै भावुक बने । त्यसैले उनी डोको छाडेर रोएका थिए । पदक जितेपछि उनी रोएको भिडियो अहिले सामाजिक सञ्जालमा पनि निकै भाइरल भइरहेको छ ।

आफ्नो छोरालाई हराउँदै पाकिस्तानी खेलाडी अरशद नदिमले स्वर्ण पदक जितेपछि निरजकी आमाले सञ्चारमाध्यममा दिएको प्रतिक्रियाले पनि अहिले दुवै देशका समर्थकको मन जितेको छ । निरज स्वर्ण पदकबाट चुकेपछि सञ्चारकर्मीले निरजकी आमाको प्रतिक्रिया लिएका थिए ।

सञ्चारकर्मीसँगको कुराकानीमा निरजकी आमाले भनेकी छन्, ‘जसले जिते पनि के भयो र ? उ (अरशद नदिम) मेरो छोरोका मिल्ने साथी हो । उसले स्वर्ण जितेकोमा पनि मलाई उत्तिकै खुसी लागेको छ । आखिर उ पनि मेरो छोराजस्तै त हो नि ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप