मङ्गलबार, २० कात्तिक २०८१
ताजा लोकप्रिय

झाडापखाला लागिहाले घरमै उपचार गर्दा ध्यान दिनुपर्ने कुराहरू

शुक्रबार, २५ साउन २०८१, १६ : ४३
शुक्रबार, २५ साउन २०८१

बर्खा लागेसँगै काठमाडौँ उपत्यका आसपासका क्षेत्रहरू‌मा बान्ता, झाडापखाला आउँ लगायतका बिरामीहरू बढेका छन्। टेकु, वीर, टिचिङ अस्पताल र विभिन्न प्राइभेट अस्पतालका साथै घर नजिकैका फार्मेसीहरूमा समेत बिरामी बढेको देखिन्छ । 

वास्तवमा यी रोगहरू विशेषगरी  दूषित पानी र खानाका कारणले नै हुने गर्दछन् । राजधानी क्षेत्रहरूमा खानेपानीका मुख्य श्रोतहरू इनार वा बोरिङ हुन् ।  यसबाहेक खानेपानी संस्थान, खानेपानीका ट्यांकर र  प्राइभेट क्षेत्रका खानेपानी वितरकहरूद्वारा वितरण ह‌ुने पानीका जारहरू नै हुन् । समय समयमा हामीले उपभोग गरिरहेको वा पिउने गरेको पानी जाँच गर्नुपर्ने हुन्छ ।  विभिन्न सरोकारवाला पक्षले पनि बर्खायाममा वा आउँ, हैजा, झाडापखाला फैलिएको बेलामा पानीको शुद्धता परीक्षण भए-नभए‌को निगरानी वा नियमन गर्नु पर्दछ । साथै खाना, पानीका भाँडालाई पनि झिँगा लगायतका किराहरूबाट बचाउनु पर्दछ । शुद्ध र सफा पानी पिउने हामी सबैको अधिकार र कर्तव्य दुवै हो। हामी आफ्नो घरमा पिउने पानी शुद्ध गर्न धेरै कार्यहरू गर्न सक्दछौँ । 

घरैमा पानी शुद्धीकरण कसरी गर्ने 

१. उमालेर चिसो बनाए‌को पानी

२. केमिकल प्रविधि Chlorine / Iodine मिसाइएको

३. सोडिस गरेको

४.Ultra Filter जस्तै RO, UV जडित पानी

 घर परिवार, विद्यार्थी जीवनका लागि सबैभन्दा उत्तम ५-१० मिनेट उमालेको पानी फिल्टर गरी पिउनु हो । यसो गर्दा विभिन्न जैविक जीवाणु पनि निष्क्रिय हुन्छन् र पानी फिल्टर गर्दा पानी सफा हुन्छ । हामीलाई सानोमा आमाले पानी उमाली तामाको भाँडोमा राखी पिउन दिनु हुन्थ्यो र हामीलाई धेरै कम झाडापखाला हुन्थ्यो । धाराको पानीको प्रशोधन नगरी कहिल्यै पिउन दिनु भएन । केमिकल जस्तै chlorine or Iodine ले पनि पानीमा रहेका विभिन्न Parasites, Bacteria I virus लाई मारिदिन्छ र १ घण्टा राखेमा, एक हदसम्म सफा पार्छ । विभिन्न संस्थान, रिर्जभ टङ्कीहरूमा यो प्रभावकारी हुन्छ । हामीले पिउने पानीमा Free chlorine 0.5-1 mg/L हुनुपर्ने हुन्छ । यसलाई यसरी बनाउन सकिन्छ 5 mg/l chlorine लाई 1000 लि. पानीमा हाल्नुपर्छ, Bleeching Powder मा 33% Chlorine हुन्छ, बजारमा chlorine Tablets हरुपनि पाइन्छ र मात्रा हेरी, बुझी मात्र प्रयोग गर्नु पर्दछ। किनभने यसको विभिन्न असरहरू पनि मात्रा नमिल्दा शरीरमा देखा पर्दछन्- जस्तै, आँखा पोल्ने, छाला पोल्ने, श्वासप्रश्वास एवं दमको रोग , छाती दुख्ने,उल्टी हुने आदि समस्या निम्त्याउँछ । Iodine विशेषगरी पानीको emergency disinfection को लागि प्रयोग गरिन्छ । सोडिस प्रविधि अन्तरगत घाम बाट प्राप्त गर्ने Ultra-violet-A द्वारा पानीमा हुने जैविक जीवाणुलाई मार्ने, यसका लागी रापिलो घाम लाग्ने ठाउँमा कम्तीमा ६ घण्टाका लागी पारदर्शी प्लास्टिक वा सिसाका बोतलमा राखी शुद्ध गर्न सकिन्छ । हाल बजारमा विभिन्न फिल्टरहरू पाइन्छ, chamberLand, Bekerfeld, Katadyn,Reverse Osmosis वा Ultraviolet प्रविधि पनि उत्कृष्ट नै छ।

ध्यान दिनुपर्ने कुरा

झाडापखाला सामान्यतया दूषित पानी वा खानाबाट आँखाले नदेख्ने जीवाणुहरू Parasite, Bacteria वा virus का कारणले हुने गर्दछ । सधैँ  जीवाणुलेमात्र नभई कहिले अपच वा कुनै खानाको एलर्जी, औषधीहरू वा अन्य आन्द्राका विशेष रोगहरू पर्दछन् । यसका लागी डाक्टरसँग परामर्श गरी, दिसाको जाँच गरेर मात्र औषधी सेवन गरेको राम्रो मानिन्छ । बालबालिकाहरूमा मुख्यतया झाडापखालाले सरिरमा रहेको पानीको मात्रामा कमी ल्याई (Dehydration) सिकिस्त वा मृत पनि हुन सक्छ । त्यसैले शरीरमा पानीको मात्रा बनाइराख्न आवश्यक हुन्छ । यसका लागि प्रत्येक पटक दिसा  गरिसके पछि थप झोलिलो कुराहरू दिनु पर्ने हुन्छ । यसको लागी घरमै उमालेको शुद्ध पानीमा नुन- चिनी मिसाइ वा जीवनजल सर्वोत्तम हुन्छ । विभिन्न बजार‌मा पाइने पेय, Fruit juice भन्दा आमाको दूध, जीवनजल नै सर्वोपरि छन् । डाक्टरका सल्लाह बमोजिम उमेरका आधारमा प्रत्येक गरिसके पछि पानी पिउनु पर्ने हुन्छ । घरमा PLAN-A अन्तरगत २ वर्ष भन्दा कम उमेर समूहका बालबालिका लागि प्रत्येक पखाला पछि ५०-१०० मि.लि Fluid र २ वर्ष भन्दा माथि उमेर समूहका लागि १00-200 मि.लि Fluid शरीरमा थपिरहन पर्दछ। यदि बच्चाले बान्ता गरेमा १० मिनेट जति पर्खने र फेरि Fluid पिलाउ‌ने । तर बच्चाको नियमित खाने खाना पनि खु‌वाउनु पर्दछ । यदि सामान्य दाल-भात, स्वास्थवर्द्धक फलफूलहरू माछा - मासु‌को झोल पनि बिस्तारै सुरु गर्न सकिन्छ । तर बच्चा आत्तिएमा वा नचलेमा, आँखाहरू गढ्न सुरु गरेमा, पानी आत्तिँदै पिएमा वा पानी पिउनै नसकेमा, दूध पिउन नसकेमा, छाला सुख्खा हुँदै आएमा वा चाउरी परेमा सरिरमा धेरै पानीको मात्रा घटेको (some- Savere Dehydration) भएको हुनसक्छ, त्यसैले तुरुन्तै नजिकैको स्वास्थ्य संस्थासँग परामर्श गर्नु पर्दछ । यी बाहेक दिसामा रगत देखिए, ज्वरो आएमा, चक्कर लागेमा, बान्तामा रगत देखिएमा, जिब्रो सुख्खा भएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्कमा आउने ।

उपचारमा लापरबाही नगरौँ

हुन त हाम्रो देश गरिबिको रेखामुनि नै रहेको छ । गाउँका सामान्य नागरिकहरू सामान्य उपचार पनि नपाएर मर्न बाध्य छन् । म आफैले पनि दैलेख काम गर्दा महसुस गरेको छु। काठमाडौँमा केही हदसम्म सुविधा छ, हरेक मुख्य चोकमा अस्पतालका सुविधा छन् । यस्तो ठाउँमा पनि मानिसले आफ्नो स्वस्थको गम्भीर त्रुटि गरेको पाइन्छ । परामर्श बिना औषधीको बढ्‌दो प्रयोगले झाडापखाला, पिसाब सङ्क्रमण लगायतका रोगहरूमा Antibiotics Resistance वा औषधी क्षमतामा नै ह्रास आइरहेको छ । धेरै जस्तो फार्मेसीमा बिरामीले नै सिधै पखाला लागेको र  मेट्रोन नामक औषधि दिनु भन्दै मागेको म आफैले देखेको छु । उनीहरूलाई दिसाको उचित परीक्षण गरी औषधी सेवन गर्न हामीले प्रोत्साहन गर्नु पर्दछ । सामान्य औषधीहरू जस्तै zine चक्की, जीवनजल, Probiotics ले  पनि पखाला निको हुन सक्दछ, त्यसैले जाँच गरेर मात्र औषधी सेवन गरौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा.आशिष शर्मा
डा.आशिष शर्मा
लेखकबाट थप