बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

लन्डन ओलम्पिकको अन्तिम दिन जन्मिएकी ११ वर्षीय हाआहाओ पेरिस ओलम्पिककी कान्छी खेलाडी

शुक्रबार, २५ साउन २०८१, १६ : १८
शुक्रबार, २५ साउन २०८१

काठमाडौँ । सन् २०१२ को ओलम्पिक खेलकुद लन्डनमा आयोजना भएको थियो । लन्डन ओलम्पिकको समापन समारोहकै दिन चीनमा एक बालिकाको जन्म भएको थियो । उनी बालिका झेङ हाओहाओ अहिले मात्र ११ वर्ष पुगेकी छन् ।

तर, अहिले फ्रान्सको राजधानी सहर पेरिसमा जारी ३३ औँ गृष्मकालीन ओलम्पिक खेलकुदमा उनी चिनियाँ टोलीकी महत्वपूर्ण सदस्य हुन् । उनी पेरिस ओलम्पिककी सबैभन्दा कम उमेरकी खेलाडी पनि बन्न पुगेकी छन् । उनले चिनिया ओलम्पिकको इतिहासमा पनि सबैभन्दा कान्छी खेलाडीको रुपमा आफ्नो नाम लेखाएकी छन् । उनले पेरिस ओलम्पिकमा महिला स्केटबोर्डिङ स्पर्धामा भाग लिएकी थिइन् । उनले आफ्नो स्पर्धामा ६३.१९ को प्रदर्शन गरिन् ।

प्रारम्भिक चरणको स्पर्धामा कुल २२ खेलाडीमध्ये उनी १८ औँ स्थानमा रहेकी थिइन् । तर, उनी फाइनल चरणमा पुग्न असफल भइन् । त्यो स्पर्धाको स्वर्ण पदक १४ वर्षीया अस्ट्रेलियन खेलाडी एरिसा ट्रयूले जितेकी थिइन् । स्केटबोर्डिङलाई पहिलो पटक टोकियो ओलम्पिकमा समावेश गरिएको थियो । त्यतिबेला झेङ हाओहाओ केवल सात वर्षकी थिइन् । त्यतिबेला उनले भर्खरै स्केटबोर्डिङ खेल्न सुरु गरेकी थिइन् । उनी आगामी आइतबार १२ औँ वर्षमा प्रवेश गर्दैछिन् ।

पेरिस ओलम्पिकमा स्केटबोर्डिङ स्पर्धामा प्रतिस्पर्धा गर्ने अधिकांश खेलाडी १९ वर्षभन्दा कम उमेरका छन् । स्केटबोर्डिङको महिला स्ट्रिट स्पर्धामा स्वर्ण पदक जित्ने जापानी खेलाडी कोको योसिजावाको उमेर पनि केवल १४ वर्ष छ ।

सोही स्पर्धामा रजत पदक जित्ने अर्की जापानी खेलाडी लिज अकामाको उमेर पनि १५ वर्ष मात्र पुगेको छ । कांस्य पदक चुम्ने ब्राजिलियन खेलाडी रायसा लिल पनि भर्खर १६ वर्ष पुगेकी छन् । पेरिस ओलम्पिकमा सहभागी हुने दोस्रो कम उमेरकी खेलाडी थाइल्यान्डकी भारिराया सुकासेम हुन् ।

उनले स्केटबोर्डिङको महिला स्ट्रिट स्पर्धामा सहभागिता जनाएकी हुन् । १२ वर्षीया सुकासेम आफ्नो स्पर्धामा १७ औँ भएकी थिइन् । उनले ४८.५२ को प्रदर्शन गरेकी थिइन् । तर, उनी प्रतियोगिताको अन्तिम चरणमा पुग्न असफल भइन् । जारी ओलम्पिकको उद्घाटन समारोहमा उनले थाइल्यान्डको राष्ट्रिय झण्डा बोकेर मार्च पास पनि गरेकी थिइन् ।

यसैगरी, पेरिस ओलम्पिकमा फिनल्यान्डकी हेली सर्भियो तेस्रो कम उमेरकी खेलाडी हुन् । उनी १३ वर्षकी छन् । उनले पनि स्केटबोर्डिङको महिला पार्का स्पर्धामा भाग लिएकी हुन् ।

उनी प्रारम्भिक चरणमा ८३.४२ को प्रदर्शनसहित पाँचौँ हुँदै फाइनल चरणमा पुगेकी थिइन् । फाइनल चरणको स्पर्धामा पनि उनी ८८.८९ को प्रदर्शनसहित पाँचौँ भएकी थिइन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप