बिहीबार, ०६ मङ्सिर २०८१
ताजा लोकप्रिय

जनयुद्ध, झापा विद्रोह र ओली

शुक्रबार, २५ साउन २०८१, १६ : १२
शुक्रबार, २५ साउन २०८१

'हिंसा' शब्दको अर्थ एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई राम्ररी थाहा छ । तर ओलीले हिंसा शब्दको अर्थ नै नबुझे जसरी गर्ने गरेको कतिपय सतही टिप्पणीले उदेक लागेर पनि आउँछ। दुई दिनअघि ओलीले टीआरसी विधेयक संसदीय समितिबाट पारित भएसँगै एक पोस्ट गर्दै माओवादी जनयुद्धलाई हिंसात्मक द्वन्द्व भनेका थिए । 

खासमा हिंसा भनेको व्यक्ति हत्याजस्तो कायर कामलाई बुझिन्छ। आफूले पेटभर ढिँडो खान पाइएन भन्दैमा अरूले स्टिलको थालमा चामलको भात  खाएको देख्न नसक्नु अनि क्रान्तिका नाममा तिनको हत्या गर्नु हो हिंसा। आखिर प्रधानमन्त्रीको कुर्सीमा विराजमान व्यक्तिले हिंसा र क्रान्तिबिच फरक छुट्याउन नसक्नु विडम्बना हो या भनौँ नेपाली जनताको दुर्भाग्य ।  जसले तपाईँ जति कृतघ्न व्यक्तिलाई बारम्बार सत्ताको प्रमुख बनाएका छौँ। आउनुस् एकचोटि बुझौँ तपाईँले चलाउनु भएको व्यक्ति हत्याको शृङ्खला जुन तपाइले भनिआउनुभएको झापा विद्रोह र महान् जनयुद्ध मध्ये कुन हिंसा र कुन क्रान्ति?? 

नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा चर्चामा आइरहने एक आन्दोलन थियो झापा विद्रोह। यस आन्दोलनसँग जोडिएर जहिले आउने पात्र हुन् ओली। सोही हत्याकाण्डमा १४ वर्ष जेल बसे ओली। खासमा झापा विद्रोह २०२८ देखि ३२ सम्म चलेको एक हिंसात्मक आन्दोलन थियो भनिन्छ। चिनियाँ सांस्कृतिक क्रान्ति र  भारतको नक्सलबादी आन्दोलनको नक्कल गर्न खोजेर केही आवेगी युवाहरूको लहडको आन्दोलन थियो। न दस्ताबेज न कुनै योजना न त कुनै परिपक्व क्रान्तिकारी सोच। क्रान्तिको लागि बिना कुनै भिजन सुरु गरिएको यो आन्दोलनले झापामा बसोबास गर्ने केही थान जमिनदारहरूलाई  व्यक्तिगत रूपमा मात्रै निशाना बनाएर हत्या गर्ने र सो हत्यापछि के हुने भन्ने कुनै योजना नभएको कारण सो घटनाहरू पश्चात् अभियुक्तहरूलाई गरिएको जेल सजायबाट प्रमाणित हुन्छ। 

हुन त ओली लगायत त्यो समूहले यसलाई क्रान्तिको इतिहास भन्ने दाबी गर्छन् तर वास्तविकता भने फरक छ। २०२८ झापा विद्रोहको अन्तर्कथा नामक पुस्तकमा निरोज कट्टेलले गरेको चिरफारमा दाबी गरेझैँ यो विद्रोह जननीतिको अभाव, दस्ताबेजविहीन, व्यक्ति हत्या केन्द्रित, नक्सलबाडको कुरूप नक्कल, हिंसा प्रेरित र जथाभाबी वर्गसत्रुको घोषणा, आवेग र बहकाउ प्रेरित घटनाको शृङ्खला थियो भन्ने स्पष्ट हुन्छ। तत्कालीन घटनाको बारे स्पष्टीकरण दिँदै सोही आन्दोलनका एक सहभागी राधाकृष्ण मैनाली भन्छन्, "व्यक्ति हत्याको सन्दर्भमा हामीबाट कमजोरी भयो र यसको मारमा स्थानीय जमिनदार र प्रशासनका नजिकका मान्छे परे।"(कट्टेल २०८०)

समग्रमा भन्दा झापा विद्रोह नामक हिंसाको शृङ्खलाको मूल ध्येय "झापामा वर्गसत्रु खत्तम अभियान" बाट सुरु भएको व्यक्ति हत्या प्रधान एक हिंसात्मक आन्दोलन थियो । न त्यसले लोकतान्त्रिक व्यवस्थाको व्यवस्थित वकालत गर्थ्यो न त दीर्घकालीन  रणनीति र कार्यनीति अनुरूप सञ्चालित योजनाबद्ध आन्दोलन थियो। 

जनयुद्ध के हो?

२०४६ सालपछि मुलुकमा संवैधानिक राजतन्त्रको प्रादुर्भाव भयो। प्रजातन्त्रको पुनर्बहाली पश्चात् मुलुकले विकासको गति लिने र जन जीविकाको सवालले स्थान पाउने विश्वास गरिएको थियो। बिडम्बना कांग्रेस एमाले लगायत सांसदवादी दलहरूको दलीय लुछाचुँडीले देश झन् जर्जर हुँदै गएको थियो। 

शासकीय सुधार सहितका ४० सूत्रीय जनपक्षीय माग सहित एक भिजनरी युवा समूहले राज्यलाई ध्यानाकर्षण गरायो। कमाऊ धन्दामा व्यस्त दलहरू जनपक्षीय मागमा ध्यानाकृष्ट हुने कुरै थिएन। फलस्वरूप जनताको मुक्ति, समानता, सबै प्रकारका विभेदको अन्त्य, समावेशीकरण, उत्पीडित समुदायलाई शासनमा अग्राधिकार, गणतन्त्र लगायत स्पष्ट रणनीति र कार्यनीति सहित परिवर्तनको लागि आम जनतालाई गोलबन्द गरी देशका सबै क्षेत्र र समुदायमा संगठित भई समानान्तर सत्ता संचालन गरी निरङ्कुश राजतन्त्र र  सामन्ती राज्यव्यवस्थाले सृजना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्ने गरी सञ्चालित जनताको महान् अभियान गौरवशाली जनयुद्ध सञ्चालित भयो । सोहीअनुसार देशमा बहुपक्षीय परिवर्तन सम्भव भयो।   यही युद्धको जगमा उठेको जनआन्दोलन र त्यसले जगेर्ना गरेको गणतान्त्रिक उपलब्धिको तर खाएर आजका प्रधानमन्त्रीहरू हजारौँ हजार नेपाली जनताको  रगत , त्याग र बलिदान बाट सिर्जित  गौरवपूर्ण इतिहासलाई  दुत्कार्दै बस्नु राष्ट्रिय लज्जाको विषय हो।  

देशको प्रधानमन्त्रीले संविधान विपरीत बोल्नु र  राजनीतिक प्रतिशोधले सत्य लाई स्वीकार गर्न नसक्नु अशान्तिको सङ्केत हो।

समग्रमा भन्दा झापा विद्रोहको नाममाभएको शृङ्खला भन्दा महान् तथा गौरवशाली जनयुद्ध हजार कोणबाट हेर्दा पनि उन्नत छ गौरव गर्न लायक छ। इतिसमा स्वर्ण अक्षरले लेखिएको छ। यसलाई हिंसात्मक देख्नु ओलीको दृष्टिदोष बाहेक अरु केही पनि होइन। बेलैमा सोच बदले भोलिका दिनमा पछुताउन नपर्ला कि?

अखिल (क्रान्तिकारी) केन्द्रीय कोषाध्यक्ष 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

देवकी कार्की
देवकी कार्की
लेखकबाट थप