आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेश अस्पतालमा लापरवाही : पिसाब परीक्षणको नमुना दिँदा दिसाको समेत रिपोर्ट

शुक्रबार, २५ साउन २०८१, १३ : ३७
शुक्रबार, २५ साउन २०८१

सुर्खेत । चिङ्गाड गाउँपालिकाकी ललिता रेग्मीले १२ वर्षीया छोरी अभिलाषा जिसीलाई बुधबार बिहान १० बजे कर्णाली प्रदेश अस्पतालको ओपीडीमा भर्ना गरिन् । एच–पाइलोरी (हेलिकोब्याक्टर पाइलोरी) परीक्षणका लागि अस्पताल पुगेकी अभिलाषाको विभिन्न चरणको परीक्षण भयो । डाक्टरहरूले पिसाब र दिसाको परीक्षण गर्न सुझाए । सोही अनुसार ललिताले छोरीको पिसाब र दिसा दुवै परीक्षण गर्ने तयारी गरिन् ।

ढिलो हुने भएकाले पिसाबमात्रै परीक्षणका लागि स्याम्पल तयार गरेर प्रयोगशाला (ल्याब)मा दिइयो । केही घण्टापछि पिसाबको रिपोर्ट आयो । रिपोर्ट नर्मल देखियो । डाक्टरले नर्मल रिपोर्ट भनेपछि उक्त रिपोर्ट र दिसाको स्याम्पल सङ्कलनको डिब्बा ल्याएर ललिता छोरीसहित घर फर्किन् । बिहीबार बिहान दिसाको परीक्षण गर्ने भनेर ललिताले स्याम्पल बोकेर ल्याबमा दिइन् ।

पछि रिपोर्ट लिन जाँदा ल्याबका कर्मचारीले दिसाको रिपोर्ट बुधबार नै लिइसक्नुभयो भने । ललिताले भन्छिन्, ‘मत छाँगाबाट खसेजस्तै भएँ, हिजो त पिसाबको मात्रै स्याम्पल दिइएको हो तर, दिसाको कसरी ?’ त्यसपछि झोलामा रहेको रिपोर्ट झिकेर हेर्दा त अभिलाषाकै नाममा दिसा र पिसाब दुवैको रिपोर्ट ।

स्याम्पल नै नदिइएको बिरामीको दिसाको रिपोर्ट आएपछि उनी अचम्ममा परिन् । त्यसपछि उनले कर्मचारीसँग बुझ्दा झारा टार्ने जवाफ दिएर पन्छिए । ललिताले आफ्ना श्रीमान् कृष्णबहादुर जिसीलाई उक्त विषयबारे जानकारी गराइन् ।

जिसी दौडेर अस्पताल पुगे । ल्याबमा कार्यरत कर्मचारीसँग जिसीले सोधे, ‘स्याम्पल नै नदिइएको दिसाको रिपोर्ट कसरी आयो ?’

ल्याबका कर्मचारी गंगा नेपालीले सुरुमा स्याम्पल सङ्कलन गर्ने ठाउँका अभिलाषाकै नाममा स्याम्पलको डिब्बा आएको र परीक्षण गर्दा नर्मल रिपोर्ट आएको भन्दै टार्न खोजिन् । तर जिसीले यस्तो गम्भीर खालको रोग बिरामीको उपचारका यस्तो लापरवाही भएको भन्दै छानविन गर्न माग गरे ।

repoort

एच–पाइलोरी मानिसको पेटमा हुने एक प्रकारको ब्याक्टेरिया हो । सङ्क्रमण बढ्दै गएमा अल्सर हुन सक्ने र जटिल बन्दै गए क्यान्सरसमेत हुने सम्भावना हुन्छ । जिसीले यस्तो खालको गम्भीर प्रकृतिको विषयमा पनि अस्पतालका कर्मचारीले लापरवाही गर्ने भन्दै प्रश्न गरे । ल्याबका कर्मचारी नेपालीले स्याम्पल नै नदिइएको रिपोर्ट आएको हो भने केही कमजोरी भएको हुनसक्ने भन्दै ल्याब प्रमुखसँग यसबारे बुझ्न आग्रह गरिन् ।

ल्याब प्रमुख भरत देवकोटाले पनि स्याम्पल नै नदिइएको विषयको रिपोर्ट नआउनपर्ने हो भन्दै कर्मचारीसँग छलफल गरे । ल्याबका अन्य कर्मचारीसँग छलफल गर्दा प्राविधिक मिस्टेक भएको भन्दै ‘सरी’ भनेर पन्छिएको जिसी बताउँछन् । उनले भने, ‘यति ठुलो अस्पतालमा यस्तो खालको कमजोरी हुनु भनेको चरम लापरवाही हो ।’

ल्याबका कर्मचारीले प्राविधिक मिस्टेक भने पनि ल्याब टेष्टका कर्मचारी कतिपय सिकारु भएको आशङ्का गरिएको छ । गुणस्तरीय सेवा प्रवाहमा देशकै उत्कृष्ट मानिन्छ यो अस्पताल । तर अधिकांश सेवाग्राहीले भने अस्पतालका कर्मचारीको व्यवहार र सेवा प्रवाहमा प्रश्न उठाउने गरेका छन् । अस्पताल बाहिरबाट हेर्दा निकै आकर्षक र चिटिक्क देखिए पनि त्यहाँभित्रबाट दिइने सेवा प्रवाह निकै कमजोर रहेको गुनासो सेवाग्राहीको छ ।

जिसी डाक्टरहरूले प्राविधिक कमजोरी भन्दै पन्छिन नमिल्ने बताउँछन् । ‘यदि रिपोर्ट पढ्न नजान्ने बिरामीको हकका यही घटना हुन्थ्यो र बिरामीले रिपोर्ट अनुसार गलत औषधि सेवन गर्दा उसको स्वास्थ्यमाथि खेलवाड हुन्थ्यो,’ जिसी भन्छन्, ‘यो छानबिन गर्नुपर्ने विषय हो ।’

जिसीले रिपोर्टबारे कमजोरी कहाँबाट भएको भन्ने क्लियर जवाफ नपाएपछि छोरीको उपचार स्थगन गरेर घर फर्किएको बताए ।

ल्याब प्रमुख भरत देवकोटाले पनि प्राविधिक कमजोरी भएको भन्दै पन्छिए । उक्त विषयबारे अस्पताल प्रमुखसँग बुझ्दा सम्पर्क हुन सकेन । अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले उक्त विषयबारे आफूलाई जानकारी नभएको बताए ।

‘म अस्पतालमा थिइनँ, मन्त्रालयको एक कार्यक्रम भएकाले बाहिर थिएँ,’ उनले रातोपाटीसँग भने, ‘यदि त्यस्तो हो भने कसरी भयो भन्नेबारे शुक्रबार सम्बन्धित कर्मचारीलाई बोलाएर छलफल गर्छौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप