बङ्गलादेशबाट भागेकी हसिनालाई शरण दिन के कस्ता छन् चुनौती ?
काठमाडौँ । बङ्गलादेशबाट शेख हसिनाको पलायनपछि अब उनको अन्तिम गन्तव्य कहाँ हुनेछ ? भन्ने अझै अस्पष्ट छ । भारतीय विदेश मन्त्री एस. जयशंकरले स्पष्ट शब्दमै भारत हसिनाको अन्तिम गन्तव्य होइन भनेर भनिसकेका छन् । हसिनाले निकै छोटो सूचनामा भारत भ्रमण गर्न अनुमति मागेकी उनले बताएका छन् ।
हसिनाका छोरा सजीव वाजिदले आफ्नी आमाले कुनै पनि देशसँग राजनीतिक शरण नमागेको दाबी गरेका छन् । यससँगै हसिनाको आगामी गन्तव्य कहाँ होला ? बेलायत, अमेरिका वा कुनै पश्चिमी देशले उनलाई राजनीतिक शरण देलान् ? भन्ने प्रश्नहरू उठिरहेका छन् । सम्बन्धित देशहरूले यो विषयलाई कसरी हेर्छन् भन्नेमा धेरै कुरा भर पर्ने पर्यवेक्षकहरू बताउँछन् ।
मुश्किल छ पश्चिममा शरण पाउन
हसिनाले पश्चिमी देशहरूमा राजनीतिक शरण पाउन गाह्रो भएको अन्तर्राष्ट्रिय सङ्कट समूहका अनुसन्धानकर्ता टम किनले भनेका छन् । उनले त्यहाँ शरण नै नपाउने सम्भावना भएको पनि उनी बताउँछन् । पछिल्लो केही दिनदेखि समाचारमा हसिनाले प्रहरी र सेनालाई अन्तिम क्षणसम्म थप बल प्रयोग गर्न निर्देशन दिँदै आएको सुन्नमा आएको थियो ।
बल प्रयोग गर्दा पनि सरकार विरोधी प्रदर्शन दबेन । हसिनालाई कुनै पनि पश्चिमी देशमा राजनीतिक शरण पाउन निकै गाह्रो हुने वासिङ्टनस्थित अनुसन्धान संस्थान विल्सन सेन्टरका दक्षिण एसियाली संस्थानका निर्देशक माइकल कुगलम्यानले पनि बताएका छन् । हसिनाको शासनकालमा, विशेषगरी अन्तिम केही दिनमा भएका घटनाहरूप्रति पश्चिमी देशहरू स्तब्ध रहेको उनी बताउँछन् ।
‘शान्तिपूर्ण विरोध प्रदर्शनमा जसरी बल प्रयोग भयो र हसिना सरकारले जुन तवरले दमन र उत्पीडनको बाटो अपनायो त्यसमाथि पश्चिमी देशहरूले कडा आपत्ति जनाएका थिए । हसिनाका लागि यो निकै चिन्ताको विषय हो । विद्यार्थीहरूको आन्दोलनमा जुन तरिकाले बल प्रयोग भयो त्यसको विरुद्ध कयौँ अन्तर्राष्ट्रिय मानव अधिकार संगठन र संयुक्त राष्ट्र संघको मानवअधिकार परिषदले पनि आवाज उठाएका थिए । तर शेख हसिनालाई बल प्रयोग गर्नबाट रोक्न उनीहरू असफल भए ।’ कुगेलम्यानले बीबीसी बंगलालाई भनेका छन् ।
आफू सत्तामा बसिरहन हसिनाले हेरै भन्दा धेरै मानिसलाई मार्न चाहेको इन्टरनेशनल क्राइसिस ग्रुपका टम किन भन्छन् । अन्तर्राष्ट्रिय फौजदारी अदालतले बङ्गलादेशको हालतको घटनाहरूबारे छानबिन गर्यो र यसमाथि कुनै मुद्दा चलाइयो भने नयाँ अवस्था सिर्जना हुने टमको भनाई छ । यस्तो अवस्थामा हसिना बेलायत नै बसिन् भने पनि उनी सुरक्षित रहन नसक्ने उनी बताउँछन् । विगतमा तानासाहहरूले युरोप र अमेरिकामा राजनीतिक शरण लिएका यस्ता कयौँ उदाहरण छन् । साउदी अरबले पनि मुस्लिम बाहुल्य देशका अपदस्थ तानासाहलाई आश्रय दिएको थियो ।
हसिनाको हकमा पश्चिमी देशहरूको रवैया अपवाद होला त ?
यस्ता घटना शीतयुद्धपछि भएको पर्यवेक्षकहरू बताउँछन् । कयौँ अवस्थामा विभिन्न देशले तानासाहहरूलाई आश्रय दिएका छन् । आफ्नो पतनपछि युरोप वा अमेरिकामा राजनीतिक शरण प्राप्त गर्नेहरू पनि छन् । ‘बङ्गलादेशमा भएका घटना सबैले देखेका छन् । सामाजिक सञ्जालमा त्यहाँका कयौँ भिडियो र तस्बिरहरू देखिएका थिए । बीस–तीस वर्षअघि यी घटनाहरू यति छिटो फैलिदैंनथे । बङ्गलादेशमा सरकारविरोधी प्रदर्शनमा जुन स्तरमा रक्तपात भयो र शेख हसिनाप्रति जस्तो धारणा बन्यो ती सबै निकै नकारात्मक थिए । शीतयुद्धको अन्त्यपछि युरोप र अमेरिकाले आफ्ना मित्रलाई आश्रय दिएका छन् । तर हसिनाप्रति उनीहरूको कुनै जिम्मेदारी छ जस्तो मलाई लाग्दैन ।’ टम भन्छन् ।
विगतमा कयौँ पटक उनी पश्चिमी देशहरूको मनपर्ने व्यक्तिको सूचीमा थिइन् । तर उनले कहिल्यै मित्रको हैसियत पाउन÷बनाउन सकिनन् भनेर टम भन्छन् । यसबाहेक बङ्गलादेशका धेरै मानिस युरोप र अमेरिकामा बस्छन् । तीमध्ये अधिकांशले विद्यार्थीको आन्दोलनलाई समर्थन त गरे नै हसिनाविरुद्ध मुद्दा चलाउने माग पनि उठाएका थिए । युरोप र अमेरिकामा बसोबास गर्ने बङ्गलादेशीहरूमा केहीले ती देशको नीति निर्माण तहमा यो मुद्दा उठाउन सकेछन् र यस कारण पश्चिमा देशका सरकारहरूले शेख हसिनालाई शरण दिने विषयमा पक्कै पनि सोच्ने टम भन्छन् ।
कहाँ जान्छन् तानासाहहरू ?
तानासाहको हातबाट सत्ता खोसिनु उनीहरूका लागि निकै खतरनाक हुन्छ । सत्ताच्यूत भएपछि उनीहरू जेल जाने वा ज्यानै जाने खतरा पनि हुन्छ । धेरैजसो तानासाहले सत्ता गुमाएपछि देशै छोड्नुको कारण यही हो ।
आम जनताको असन्तुष्टि र क्रोधबाट जोगिन उनीहरूसामु विदेश पलायन हुनुको विकल्प हुन्न । क्रान्ति, जनआन्दोलन, सैनिक विद्रोह र गृहयुद्ध आदिका कारण सत्ता गुम्ने खतरा उत्पन्न भएको स्थितिमा तानासाहहरू देश बाहिर सुरक्षित आश्रय खोज्न थालिहाल्छन् ।
स्पेनको युनिभर्सिटी अफ बार्सिलोनाका राजनीतिशास्त्रका प्राध्यापक अब्देल एस्क्राबा फोच र संयुक्त राज्य अमेरिकाको नर्थवेस्टर्न युनिभर्सिटीका राजनीतिशास्त्रका प्राध्यापक ड्यानियल क्रामारिकले तानाशाहहरूको गन्तव्यबारे अनुसन्धान गरेका थिए । दोस्रो विश्वयुद्धपछि तानाशाहका लागि देश छाड्नु प्राथमिकताको सूचीमा दोस्रो स्थानमा रहेको देखिएको छ । दोस्रो विश्वयुद्धपछि सत्ता छोड्न बाध्य भएका २० प्रतिशत तानाशाह निर्वासनमा गएका थिए । तानाशाहहरूको निर्वासनले प्रायः द्वन्द्व अन्त्य गर्न महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ ।
हेर्नुस् यी तीन उदाहरण
सन् १९७९ मा युगाण्डाका विद्रोही र तान्जानियाली सेना युगाण्डाको राजधानी कम्पालातर्फ अघि बढिरहेका बेला युगाण्डाका तानाशाह इदी अमिन भागेर लिबिया गए । पछि उनले साउदी अरबमा शरण लिए ।
सन् १९८६ मा फिलिपिन्सका तानाशाह मार्कोस फर्डिनान्डले आम विद्रोहपछि अमेरिकाको सहयोगमा भागेर हवाईमा शरण लिएका थिए । जनविद्रोहमा सत्ता गुमाएपछि हाइटीको तानाशाह जीन क्लाउड डुवालियरले फ्रान्समा शरण लिए ।
यी तीन ओटा घटनामा निर्वाचनमार्फत शान्तिपूर्ण रुपमा सत्ता परिवर्तन भएको थियो । तानाशाहरूले निर्वाचनमा भाग लिने मौका नपाएको भए अवस्था अर्कै पनि हुन सक्थ्यो । सन् २०११ मा मध्यपूर्व र उत्तर अफ्रिकी देशहरूमा सार्वजनिक विद्रोह सुरु भयो । यसलाई अरब विद्रोह भनिन्छ । ती देशमा सत्तामा रहेको सरकार बिना चुनाव दशकौंसम्म सत्तामा रहेका थिए ।
यी तानासाहले भोग्नु परेको थियो दुर्दिन
अरब विद्रोहको पहिलो शिकार ट्युनिसियाका शासक बेन अली बने । २३ वर्ष सत्तामा रहेपछि जनताको विद्रोहका कारण उनी सत्ता छोडेर साउदी अरब गए । पछि उनको त्यहीँ मृत्यु भयो ।
इजिप्टका राष्ट्रपति होस्नी मुबारकले पनि अरब विद्रोहको परिणति भोग्नु पर्यो । उनी झण्डै तीन दशक सत्तामा थिए । तर १८ दिनको विद्रोहपछि सत्ता त्याग्न उनी बाध्य भए । त्यसबेला मुबारकले सेनालाई सत्ता हस्तान्तरण गरेका थिए । तर उनले सत्ता छोडेर देशबाट भाग्ने मौका पाएनन् । सन् २०१२ मा पक्राउ गरेर उनलाई आजीवन कारावासको सजाय सुनाइयो ।
छ महिना पछि यो सजाय रद्द गरियो र उनको मुद्दामा पुनर्विचारको आदेश दिइयो । उनलाई कायरोको सैन्य अस्पतालमा कैद गरेर राखिएको थियो । सन् २०१७ मा इजिप्टको सर्वाेच्च अदालतले उनलाई आरोपबाट सफाई दियो र जेलबाट रिहा गर्न आदेश दियो । त्यसपछि उनको ९१ वर्षको उमेरमा निधन भयो ।
लिबियाका तानाशाह गद्दाफीले अन्त्य निकै नराम्रोसँग भयो । अरब विद्रोहको पृष्ठभूमिमा लिबियामा पनि विरोध प्रदर्शन सुरु भयो । तर गद्दाफीले अत्यधिक बल प्रयोग गरेर यो प्रदर्शनलाई दबाउन खोजे र देशमा गृहयुद्ध सुरु भयो । सत्ताबाट हटाइएपछि ४२ वर्षीय गद्दाफी भाग्न खोज्दै गर्दा विद्रोहीले उनलाई कुटेर मारेका थिए । त्यसबेला बेलायत र फ्रान्सले पनि गद्दाफीलाई सत्ताबाट हटाउन बल प्रयोग गरेका थिए ।
यसबाहेक इरानका मोहम्मद रेजा पहलवीलाई सन् १९७९ मा इस्लामिक क्रान्ति मार्फत सत्ताबाट हटाइयो । पश्चिमा देशसँग उनको सम्बन्ध राम्रो थियो । तर सत्ता छोडेपछि पहलवीले इजिप्टमा निर्वासित जीवन बिताए । उनी विरुद्ध जनताको आक्रोश बढ्दै गएपछि पश्चिमा देशहरूले उनीबाट टाढिने विषयमा छलफल गरे ।
पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफको मामलामा पनि एउटा अकल्पनीय घटना घट्यो । सेनासँगको द्वन्द्वका कारण सरिफले सत्ता गुमाउनु पर्यो । उनलाई मृत्युदण्ड दिने तयारी गरिएको थियो । तर तत्कालीन अमेरिकी राष्ट्रपति बिल क्लिन्टन र साउदी राजाको दबाबमा शरीफलाई साउदी अरब पठाउन सैन्य शासक परवेज मुशर्रफ बाध्य भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शक्ति समूहकी संस्थापक सुनिता दनुवारको हृदयघातबाट मृत्यु
-
लामिछानेसहितका प्रतिवादीका अदालतमा बयान सुरु हुँदै
-
दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा पाकिस्तानको ‘ह्वाइट वास’
-
नयाँ दिल्लीमा स्वास्थ्य परीक्षण गराएर परराष्ट्रमन्त्री राणा आज स्वदेश फर्कँदै
-
रौतहटमा १ वर्षमा मानव अधिकार उल्लंघनका ५६५ घटना
-
चुरियामाई सुरुङ जीर्णोद्धारपछि सर्वसाधारणका लागि आज खुल्दै