बुधबार, ०२ माघ २०८१
ताजा लोकप्रिय
पेरिस ओलम्पिकको भावुक क्षण

जब शेरोनले आफूले जितेको स्वर्ण पदक आँशु खसाल्दै मृत कुकुरप्रति समर्पित गरिन् !

शुक्रबार, २५ साउन २०८१, ११ : १२
शुक्रबार, २५ साउन २०८१

काठमाडौँ । फ्रान्सको पेरिसमा जारी ३३औँ गृष्मकालीन ओलम्पिक खेलकुदको महिला पौडीमा एउटा भावनात्मक तर, रमाइलो घटना भएको छ । पेरिस ओलम्पिकको महिला १० किलोमिटर म्याराथन स्पर्धाको स्वर्ण पदक नेदरल्यान्ड्सकी खेलाडी शेरोन भान रुवेन्डालले जितिन् ।

३० वर्षीया शेरोनले निर्धारित दुरी दुई घण्टा तीन मिनेट ३४.२ सेकेन्डमा पुरा गर्दै स्वर्ण पदक जितेकी हुन् । यस क्रममा उनले अस्ट्रेलियाकी मोयसा जोन्सनलाई पछि पारेकी थिइन् । मोयसाले निर्धारित दुरी दुई घन्टा तीन मिनेट ३९.७ सेकेन्डमा पार गरेकी थिइन् ।

उक्त स्पर्धामा इटालीकी गिनेभ्रा टाडेउसीले निर्धारित दुरी दुई घन्टा तीन मिनेट ४२.८ सेकेन्डमा पार गर्दै कांस्य पदक हात पारिन् । थोरै अन्तरले अस्ट्रेलियन प्रतिद्वन्द्वीलाई पछि पार्दै स्वर्ण पदक जितेपछि निकै भावुक देखिएकी डच जलपरी शेरोनलाई उक्त पदक आफ्नो पाल्तु कुकुरप्रति समर्पित गरिन् ।

खासमा, यसै वर्षको प्रारम्भमा उनको पाल्तु कुकुरको मृत्यु भएको थियो । ‘मेरो प्यारो कुकुरको मृत्यु हुँदा म स्तब्धः भएकी थिएँ । त्यतिबेला मेरा लागि समय रोकिएझै भएको थियो । यो पदक म रियोप्रति नै समर्पित गर्न चाहन्छु,’ उनले भनेकी छन् ।

गत मेमा उनको पाल्तु कुकुर रियोको निधन भएको थियो । उनले आफ्नो कुकुरको नाम रियो राख्नुको पछाडि पनि खेलकुद नै जोडिएको छ । उनले सन् २०१६ मा ब्राजिलको रियो दि जेनेरियोमा आयोजित गृष्मकालीन ओलम्पिकमा पहिलो पटक स्वर्ण पदक जितेकी थिइन् ।

‘रियो मेरा लागि बच्चाजस्तै थियो । उसको मृत्युलाई मैले सहजै स्वीकार्न सकिन । त्यतिबेला म पेरिस ओलम्पिकको तयारीमा थिएँ । तर, रियो मृत्युपछि म तीन सातासम्म प्रशिक्षणमा पनि जान सकिन ।

रियो ओलम्पिकमा पनि उनले १० किलोमिटर म्याराथन स्पर्धामै स्वर्ण पदक जितेकी थिइन् । त्यसैले उनले आफ्नो कुकुरको नाम रियो राखेकी थिइन् । ‘रियो मेरा लागि बच्चाजस्तै थियो । उसको मृत्युलाई मैले सहजै स्वीकार्न सकिन । त्यतिबेला म पेरिस ओलम्पिकको तयारीमा थिएँ । तर, रियो मृत्युपछि म तीन सातासम्म त प्रशिक्षणमा पनि जान सकिन,’ निकै भावुक देखिएकी शेरोनले भनेकी छन् ।

शेरोनले यसअघि जापानको टोकियोमा सम्पन्न गृष्मकालीन ओलम्पिकमा पनि सोही स्पर्धामा कांस्य पदक हात पारेकी थिइन् । त्यो ओलम्पिकमा उनी केवल ०.९ सेकेन्डले आफ्नी प्रतिद्वन्द्वीसँग पछि परेकी थिइन् । पेरिस ओलम्पिकमा स्वर्ण पदक जितेपछि उनले अश्रुपूर्ण आँखाले सबैभन्दै पहिले आफ्नो नाडीमा खोपिएको प्यारो कुकुर रियोको पञ्जाको टाटुमा चुम्बन गरिन् ।

‘रियोको फोक्सोमा समस्या देखिएको थियो । उपचारका क्रममा उसको शल्यक्रिया पनि गरियो । शल्यक्रियापछि उसको हिम्मत बढाउन मैले ओलम्किमा पदक जितेर सँगसँगै खुसीयाली साटासाट गर्ने बाचा पनि गरेकी थिएँ । शल्यक्रिया गरेलगत्तै उसमा थप समस्या देखिन थाल्यो । अन्ततः हामीले उसलाई बचाउन सकेनौँ, ’ उनले भनेकी छन् ।

शेरोनले रियोकै लागि आफूले पेरिस ओलम्पिकमा स्वर्ण पदक जित्न आफ्नो सम्पूर्ण क्षमता प्रयोग गरेको पनि बताइन् । ‘म ओलम्पिकमा स्वर्ण जितेर रियोप्रति सम्मान ब्यक्त गर्न चाहन्थेँ । त्यसैले यसका लागि मैले निकै तयारी गरेकी थिएँ । समग्रमा भन्नु पर्दा यो स्वर्ण पदकका लागि मैले आफ्नो सम्पूर्ण क्षमता प्रयोग गरेकी थिएँ,’ उनले भनेकी छन् । उनले आफ्नो धारणा राखिरहँदा रंगशालामा उपस्थिति धेरैका आँखा रसाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप