आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
विपद् व्यवस्थापन

नेपालमा कति छन् गोताखोर ?

गोताखोर कमाण्डर भन्छन्– त्रिशूलीमा ५५ फिट तलसम्म गयौँ
शुक्रबार, २५ साउन २०८१, १० : ५९
शुक्रबार, २५ साउन २०८१

काठमाडौँ । चितवन बस दुर्घटनाबारे अध्ययन कार्यदलले आफ्नो प्रतिवेदनमा खोज तथा उद्धारमा देखिएको कठिनाइबारे भनेको छ, ‘उद्धारकर्मी घटनास्थलमा पुग्दासम्म नदीको उच्च बहावका कारण बसमा सवार यात्रु तथा बस बगेर कहाँसम्म पुगिसकेको भनी यकिन गर्न कठिन भएको देखिन्छ ।’

खोजी कार्य निरन्तर रहेको भनिए पनि भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट त्रिशूलीमा खसेका बागमती प्रदेश–०३–००१ ख २४९५, बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको डिलक्स बस र ४० जना यात्रुको अवस्था अझै अज्ञात छ । बसमा सवार २५ जनाको शव भने फेला परेको छ ।

असार २८ गतेदेखि सेना र सशस्त्र प्रहरीको गोताखोरले व्यापक खोजी गरे । अहिले सैनिक टिम घटनास्थलबाट फिर्ता भएको छ । कुरिनटारस्थित सशस्त्रको विपद् व्यवस्थापन तालिम शिक्षालयका गोताखोरहरूले खोजी जारी राखेका छन् । तर, परिणाम शून्य छ ।

सहसचिव छवि रिजाल नेतृत्वको कार्यदलले मंगलबार गृहमन्त्री रमेश लेखकलाई अध्ययन प्रतिवेदन बुझाएको छ ।

गोताखोर कति सक्षम ?

सवारी दुर्घटना भएर नदीमा खस्नासाथ खोजी तथा उद्धारमा गोताखोर परिचालन गरिन्छ । यद्यपि, कतिपय अवस्थामा उद्धार कार्यमा खटिन गोताखोरका लागि पनि प्रतिकूल अवस्था हुने गर्दछ ।

अहिले सशस्त्र प्रहरी बलसँग ११० जना गोताखोर छन् । सुरुमा बंगलादेशमा गएर २५ जनाले तालिम गरेर आएका हुन् । बंगलादेशबाट तालिम गरेकामध्ये अहिले १६ जना कार्यरत रहेको सशस्त्र प्रहरीका प्रवक्ता (डीआईजी) कुमार न्यौपानेले बताए ।

सशस्त्रका सुरक्षाकर्मीहरूले २०६९ वैशाखपछि ३ महिनासम्म बंगलादेशमा गएर तालिम गरेका हुन् । अहिले सशस्त्र प्रहरीले स्वदेशमै गोताखोर तालिम दिइरहेको छ । हालसम्म सशस्त्रका ९४ जनाले नेपालमै गोताखोर कोर्स गरेका छन् ।

सशस्त्रमा विपद् व्यवस्थापन तालिम प्राप्त सकलदर्जा २५ सयभन्दा बढी भइसकेका छन् । सशस्त्रका गोताखोरले त्रिशूलीमा यसपटक सोनार क्यामेरा, वाटर ड्रोन र इन्स्पेक्सन डिभाइस प्रयोग गरे ।

चितवनको सिमलताल दुर्घटनामा बेपत्ता बस खोज्न सेना र सशस्त्रका १७ जना गोताखोर परिचालन भए । तीमध्ये सेनाका ८ जना र सशस्त्र प्रहरीका ९ जना गोताखोर परिचालन गरिएको थियो ।

सशस्त्रका गोताखोरलाई सशस्त्र प्रहरी नायव निरीक्षक रमेश थापाले कमाण्ड गरे । गोतखोरले रेस्क्युमा खटिएको दिनमा ३ सय रुपैयाँका दरले भत्ता पाउँछन् ।

सेनामा करिब १ सय जना गोताखोर छन् । सम्भावित दुर्घटनास्थल नजिकका पृतनामा गोताखोर तैनाथ रहेको सैनिक प्रवक्ता (सहायकरथी) गौरव कुमार केसीले रातोपाटीलाई बताए ।

सेनाका गोताखोरहरूले भारत, बंगलादेश र श्रीलंकामा तालिम गरेर आएका हुन् । सहायकरथी केसी भन्छन्, ‘अहिले हामी नेपालमै पनि तालिम गराउँछौँ ।’

सिमलतालमा सैनिक गोताखोरहरूले अन्डर वाटर सर्च क्यामरा र ड्रोनको प्रयोग गरेर खोज तथा उद्धार गरेका थिए ।

त्रिशूलीमा ५५ फिट तलसम्म गयौँ : गोताखोर कमाण्डर

सिमलतालमा बस खसेपछि पानीभित्र गएर खोज्ने टिमको कमाण्ड गोताखोर रमेश थापाले गरे । सशस्त्र प्रहरी नायव निरीक्षक थापाले बंगलादेशमा गोताखोर तालिम गरेका हुन् । करिब १२ वर्षदेखि उनी त्रिशूलीको बेगसँग जुधेर विपद्जन्य उद्धारमा संलग्न छन् । दुई वटा डिलक्स बस खोज्दा उनको अनुभव :

वर्षाका कारण सिन्दुरे खोलाको गेग्रानयुक्त पहिरो बाढीमा परिणत हुँदा असार २८ मा त्रिशूलीमा दुई वटा डिलक्स बस खसेका हुन् । घटना भएको जानकारी पाउनासाथ हामीले विभिन्न प्रविधि अपनाएर खोज्यौँ । जटिल भू–वनोट अनुसार गोताखोरी गर्दा हामीलाई विभिन्न चुनौती आइलाग्यो । उच्च बहाव अनि, बहाबसँगै धमिलो पानी र बाढीले प्राकृतिक तथा कृत्रिम बस्तु बगाएर ल्याउँछ । वातावरणमा रहँदा हामी वायुमण्डलीय चापसँग अभ्यस्त हुन्छौँ । जब पानीभित्र जान्छौँ, हामीलाई पानीको प्रेसर र वायुमण्डलीय प्रेसरले शरीरमा दबाब सिर्जना गर्छ । साथसाथै बगेर आउने अवरोधहरूले गर्दा नदीको पिँधसम्म पुगेर काम गर्न समस्या भयो । त्यसका बाबजुद सम्भावित ठाउँ छनोट गरेर प्रविधिको प्रयोग गरेर काम गरेका छौँ ।

विगत १२ वर्षदेखि हामी गोताखोरहरू यहाँको वातावरणमा अभ्यस्त छौँ । सामान्यतया गोताखोरको काम भनेको समुन्द्री पानीमा र सामान्य बहाव (४ किलोमिटर प्रतिघण्टा) तथा ताल तलैयामा जाने हो । तर, हामी त्यसका बाबजुद उच्च करेन्ट प्रवाह हुने नदीमा काम गर्र्दै आएका छौँ । वर्षाको समयमा अझ बढी चुनौती हुन्छ ।

गोता भनेको सास्ती र खोर भनेको पानीको आवरणभित्र रहने प्रक्रिया हो । यसरी पानीको गहिराइमा जाँदा वायुमण्डलीय चाप र पानीको गहिराइ अनुसार बढ्दै जाने चापलाई गोताखोरले सास्ती खेप्दै नदीको पिँधसम्म पुग्ने कामलाई गोताखोरी भनिन्छ ।

एक फिट बराबर ० दशमलव ४३३ पीएसआई (पर स्क्वायर इन्च) चाप हाम्रो शरीरमा पर्छ । जति गहिरोमा जान्छौँ, त्यसै अनुसार हामीलाई चाप वृद्धि हुन्छ । ६ लिटरको बेलुन छ भने ३३ फिट तल पुगेपछि बेलुनको भोल्युम घटेर ३ लिटरमा आउँछ । त्यस्तै, हाम्रो फोक्सो पनि खुम्चिएर आधा हुन्छ र अझ गहिराइ बढ्दा झन्  खुम्चिन्छ ।

गहिराइमा जाँदा हामीले नेपालमा ‘स्कुवा’ डाइभिङ गर्दै आएका छौँ । बस खोज्न हामीले ओपन सर्किट प्रकारको डाइभ गरेका थियौँ । भित्र जाँदा कम्प्रेस एयर भरेको सिलिन्डर लिएर जान्छौँ । हामी कम्प्रेस एयर पानीमै फाल्छौँ । हामीलाई पानीभित्रका बस्तुहरूले असर गर्छन् । धमिलो पानीमा हामीले केही देख्न सक्दैनौँ, छामेर स्टेबल हुनुपर्छ । पानीको बेगलाई पहिचान गरेर भित्र कडा बस्तु (ढुंगा) समातेर घिस्रेर करेण्टमा जान्छौँ । त्रिशूलीको माथिल्लो भागमा देखिनेभन्दा भित्र एकदम हेभी करेन्ट छ । बिच भागमा भन्दा तल घर्षण धेरै हुन्छ । घर्षण हुँदा भित्र ढुङ्गा र बालुवा बगाएर ल्याउँछ ।

वर्षाको सयममा डाइभिङ गर्दा हाम्रा साथीहरूका हात फुटेको छ । खुट्टाका नङहरू कुच्चिएको छ । शरीरलाई पानीको प्रेसरले खुम्च्याउँछ । गहिराइ बढ्दै जाँदा श्वासको आवश्यकता बढी हुन्छ, श्वास लिने र फाल्ने प्रक्रियामा त्रुटि भयो भने त्यही ग्याँस हामीलाई विषाक्त हुन्छ ।

एकैपटक गहिराइमा गएर माथि आउनु पनि हुँदैन, त्यो हामीलाई समस्या हुन्छ । गहिराइबाट माथिको सतहमा आउँदा एडजस्ट हुँदै आउनुपर्छ । ग्याँसको असरलाई मिलाउन नसके मृत्यु पनि हुन्छ ।

म २०६९ मा बंगलादेशबाट आएदेखि त्रिशूलीमै काम गरिरहेको छु । सिमलताल दुर्घटनामा हामी ५५ फिट गहिराइसम्म गएका छौँ । सम्भावित ठाउँ त्यति नै थियो । शिवघाट आसपाससम्म सोनार प्रविधिको सहायताले खोजेका छौँ । गहिराइमा जाँदा करेन्टले टाउकोमा चोट लाग्ने समस्या हुन्छ ।

दुर्घटना भएको दिन पानीको फ्लो अत्यधिक थियो । बस त्रिशूलीको मूल प्रवाहमा परेको थियो । मूल प्रवाहमा सुरुकै करेन्टले बसलाई तलसम्म लगेको हुनसक्छ । बल्ड्याङ खेल्दा सिसा फुटेको र बग्नलाई टायरले पनि सहयोग गरेजस्तो लाग्छ । बगाएर लैजाने क्रममा कुनै बस्तुमा ठोक्किएर बसको आकार परिवर्तन भएर सानो स्वरुपमा बसेको हुनसक्छ ।

गोताखोर विदेशबाट ल्याउनुपर्छ ?

त्रिशूली घटनामा भारतीय विशेषज्ञ टोलीले पनि आएर काम गरे । भारतबाट ४ जना गोताखोरसहित आएका १२ जना विशेषज्ञले साउन ६ देखि बस र यात्रुको खोजी गरे ।

भारतीय विशेषज्ञले चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलताल र आसपासको क्षेत्रमा खोजी गरेका थिए । भारतीय एनडीआरएफको टोलीले खोजीमा ३ वटा सोनार क्यामेरा र म्याग्नेट प्रयोग गरे । पूर्वगृहमन्त्री माधव प्रसाद घिमिरे मुक्तिनाथ दर्शन गरेर काठमाडौँ फर्किंदै गर्दा चितवनस्थित राजमार्गमा दुर्घटनामा परेका थिए । २०७३ असोज ९ मा भएको सो दुर्घटनाबारे खोज तथा उद्धारमा बंगलादेशका गोताखोर ल्याइएको थियो । तर, बंगलादेशका गोताखोरले पनि पूर्वमन्त्री घिमिरेको अवस्था पत्ता लगाउन सकेनन् ।

सशस्त्र प्रहरी र सेनामा अहिलो गोताखोर तालिम सञ्चालन गरिन्छ । राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल अहिले हरेक वर्ष नेपालमै गोताखोर उत्पादन हुने गरेको बताउँछन् । तर, विदेशबाट गोताखोर ल्याउँदा ‘अनुभव आदान प्रदान हुने’ कार्यकारी प्रमुख पोखरेलले जानकारी दिए ।

विदेशबाट आउने गोताखोर भन्दा नेपालमा भएका गोताखोर नै त्रिशूलीमा खोजी तथा उद्धारमा उत्कृष्ट रहेको जानकारहरू बताउँछन् ।

कार्यकारी प्रमुख पोखरेलले उच्च बहाव र चिसो पानीमा नेपालकै गोताखोर अभ्यस्त रहेको बताए । उनले भने, ‘बंगलादेशका गोताखोर तातो पानी र जमेको पानीमा अभ्यस्त हुँदा रहेछन् तर, हामीले तीव्र बहाव र चिसो पानीमा काम गर्नसक्ने गोताखोर उत्पादन गरिसकेका छौँ ।’

प्राविधिक रूपमा भारत र बंगलादेशका गोताखोर दक्ष छन् । त्यस्तोमा ‘संयुक्त खोज’ गर्दा परिणाममुखी काम गर्न सकिने कार्यकारी प्रमुख पोखरेल बताउँछन् । सशस्त्रसँग खोज तथा उद्धारमा आवश्यक ३२ वटा मोटर बोट, ८८ वटा ¥याफ्ट बोट र ८ वटा मास क्याजुअल्टी भेहिकल छन् ।

कार्यदलले औँल्याएको १० कठिनाइ  

सिमलताल घटनाबारे अध्ययन कार्यदलले खोज तथा उद्धारमा १० वटा कठिनाइ औँल्याएको छ । सहसचिव छवि रिजाल नेतृत्वको कार्यदलले उद्धारकर्मी घटनास्थलमा पुग्दा उच्च बहावका कारण बस तथा यात्रु बगेर कहाँसम्म पुगे भन्ने यकिन गर्न नसक्दा यात्रु र बसको अवस्था अज्ञात रहेको ठहर गरेको छ ।

यात्रुको शव घटनास्थलभन्दा १०७ किलोमिटर परसम्म भेटिएको कार्यदलले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । वर्षाको समय, नदीको बहाव र धमिलो पानी भएकाले स्थिर पानीमा जस्तो खोज कार्य सहज नभएको र पानीमा प्रयोग गरिने प्रविधिले माटोमुनि पुरिएका बस्तु पत्ता लगाउन नसक्ने कार्यदलको ठहर छ ।

अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘जडित क्यामेराको धमिलो पानीमा रिजोलुसन फरक पर्ने हुँदा प्रविधिको सीमितता रहेको ।’ पानीले पल्टाउँदा बसको आकार परिवर्तन भएर चिन्न नसक्ने हुँदा सोनारले दिएको सङ्केत अपरेटरले बुझ्न नसक्दा खोज कठिन भएको अध्ययन निष्कर्ष छ । अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘कुनै ठुलो चट्टान वा विशाल ढुङ्गा तथा खोँचमा बस च्यापिने सम्भावना रहेकाले त्यहाँसम्म सोनार प्रविधिको पहुँच नपुग्नु ।’

सोनार स्टिमका डिभाइसहरूले धमिलो पानीमा पनि काम गर्न सक्ने भएता पनि हाल त्रिशूलीको पानी एकदमै धमिलो र उच्च बहाव भएकाले सोनारको रेजुलेसनले काम गर्न नसकेको अध्ययन निष्कर्ष छ । कार्यदलले आफ्नो प्रतिवेदनमा भनेको छ, ‘नदीमा ठुलाठुला टाइमिङ वेभ, होल र ह्विर्लपुलहरू भएर बोट अप्रेसन र सोनार डिभाइस प्रयोगमा कठिनाइ भएको देखिन्छ ।’

पानीको तीव्र बहाव र ठुला खोँचहरू तथा नदीमा बगाएर ल्याएका काठका मुढाहरूले गर्दा गोताखोर परिचालनमा उच्च जोखिम भएको कार्यदलको निष्कर्ष छ । तीव्र बहावका कारण डुङ्गाहरू शङ्कास्पद स्थानमा अड्याएर खोज्न कठिन भएको अध्ययन कार्यदलको ठहर छ ।

त्रिशूलीमा खोज तथा उद्धार कार्यमा प्रयोग गर्ने आधुनिक प्रविधि तथा सञ्चानल गर्ने दक्ष प्राविधिकको सीमितता रहेका उल्लेख गर्दै कार्यदलको प्रतिवदेनमा भनिएको छ, ‘देवघाटदेखि दक्षिणतर्फको भागमा मगर गोहीजस्ता पानीमा बस्ने हिंस्रक जीवहरू हुन सक्ने कारणले गोताखोर परिचालनमा जोखिम देखिएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप