शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

मूलाधार चक्रमा तीन फन्का गुँडुल्किएर बस्छ चेतनारूपी सर्प

सन्दर्भ : नागपञ्चमी
शुक्रबार, २५ साउन २०८१, १० : ५८
शुक्रबार, २५ साउन २०८१

हिन्दु धर्म–संस्कृति अन्तर्गत पर्ने विभिन्न पर्वका आध्यात्मिक र दार्शनिक महत्त्व छन् । श्रावण शुक्ल पञ्चमी अर्थात् नागपञ्चमी पनि आध्यात्मिक महत्त्व बोकेको पर्व हो । यस दिन नागपूजा गरी नागपञ्चमी मनाउने चलन छ ।

सनातन धर्ममा मोक्ष प्राप्तिका लागि नागलाई प्रतीकात्मक रूपमा महत्त्वपूर्ण मानिएको छ । भगवान् विष्णु शेषनागमा शयन गर्नुहुन्छ । शिवजीको गलामा नाग हुन्छ । 
समुद्र मन्थनका लागि नाग वासुकीलाई डोरी बनाइएको थियो । आदिम परम्परामा सर्पलाई माताका रूपमा मनसा देवीको पूजा गरिँदै आएको छ । सामाजिक रूपमा यही कारणले गर्दा नाग वा सर्पको पूजा सुरु भयो ।

सनातन धर्मका परम्परामा राजयोग अर्थात् कुण्डलिनी जागरणमार्फत मोक्षप्राप्तिको चर्चा आउँछ । मनुष्य शरीरमा ऊर्जा प्रवाह ७२ हजार नाडीमार्फत हुन्छ । तिनमा पनि इडा, पिंगला र सुषुम्ना नाडी बढी महत्त्वपूर्ण छन् । 

इडा र पिंगला हाम्रो मेरुदण्डका हाडका बायाँ र दायाँमा छन् । सुषुम्ना नाडी मेरुदण्डको बिच बाटो हुँदै हाम्रो मस्तिष्कमा पुग्छ । 

इडा र पिंगलाबाट हुने ऊर्जा प्रवाहलाई रोकेर त्यो बाटोको साटो सुषुम्ना नाडी भएर जाने क्रियालाई नै कुण्डलिनी जागरण भनिन्छ । यो हाम्रो मूलाधार चक्रलाई जागृत गराएमा मात्र सम्भव छ । मूलाधार चक्रलाई चेतनारूपी सर्प मानिएको छ, जुन तीन फन्का गुठुरिएर सुप्त अवस्थामा बसेको छ । 

सनातन धर्मका परम्परामा राजयोग अर्थात् कुण्डलिनी जागरणमार्फत मोक्षप्राप्तिको चर्चा आउँछ । मनुष्य शरीरमा ऊर्जा प्रवाह ७२ हजार नाडीमार्फत हुन्छ । तिनमा पनि इडा, पिंगला र सुषुम्ना नाडी बढी महत्त्वपूर्ण छन् । 

चेतनारूपी सर्पले मूलाधार चक्रबाहेक पाँच अन्य चक्र स्वाधिष्ठान, मणिपुर, अनाहत, विशुद्ध र आज्ञा चक्रलाई छेडेपछि मानस शक्ति अर्थात् मनसा देवी हाम्रो सहस्रार चक्रलाई छेड्न सहज हुन्छ । त्यसपछि कुण्डलिनीको सर्पले अमृत पान गर्छ । सहस्रार चक्र अर्थात् ब्रह्म ज्ञानको चक्र मानस शक्ति जागृत भएपछि नै जाग्छ । यही आध्यात्मिकतालाई नाग पञ्चमीले प्रतीकात्मक रूपमा मनाइन्छ । 

नाग सुप्त चेतनाको प्रतीक हो । मानस शक्ति मनसा देवीको प्रतीक हो र पञ्चमी तिथि मूलाधार चक्र र सहस्रार चक्रलाई छाडेर शेष पाँच चक्रको प्रतीक हो ।
नागका अष्टकुल (अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख नाग)को यस दिन पूजा–आराधना गरिन्छ । यस दिन बिहानै उठी स्नान गरी दीप, कलश, गणेश गरी गोबरको नाग बनाई पूजाआजा गरिन्छ ।

आजको दिनमा विभिन्न नागको वासस्थान भएका स्थान पोखरी, पानी भएको कुवा इनारमा गएर पूजा गर्ने चलन छ ।

नागदेवतालाई श्रीखण्डको सुगन्ध विशेष प्रिय भएकाले नागपूजामा श्रीखण्ड चन्दनको प्रयोग गर्नु राम्रो मानिन्छ ।

नाग पञ्चमीमा काठमाडौंको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरी लगायत देशभरका नागदह, कुण्ड, र नाग स्थानमा विशेष रूपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दुध, अक्षता, दूबो, खिर र रोटीलगायत परिकार प्रसाद चढाउने गरिन्छ ।  

त्यस्तै, यस पूजामा सेतो कमलको फूल र लाभा अर्थात् भुटेर फूल उठेको धानको प्रयोग गर्ने चलन छ । आजको दिन नागको चित्रमा दही, दुबो, कुश, सिन्दुर, चन्दन आदिले नागको चित्रमा पैसा राखी गाईको गोबरको सहायताले घरको ढोकामाथि टासी अष्टाकुल नागको पूजा गरी मूल ढोकामाथि नागको चित्र टाँस्नाले घरमा चट्याङ, आगो र सर्पको भय नहुने धार्मिक विश्वास रहेको छ । यस दिन अर्थात् श्रावण शुक्ल पञ्चमी तिथिका दिनबाट वर्षायाम समाप्त भएर हिउँदयाम सुरु हुने पनि मानिन्छ ।

ज्योतिष शास्त्रीय मान्यताअनुसार आजको दिन कुनै शुभ तथा मांगलिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने चलन छ । कुनै पनि घर तथा मन्दिर निर्माण गर्दा भूमिमा नाग देवताको बास भए आजकै दिनमा विधिवत् पूजाआजा गरी पन्छाए नागको दोषबाट मुक्त हुने धार्मिक विश्वास छ । यो धार्मिक विधि–विधान कुनै आडम्बर नभएको र कुनै अन्धविश्वास नभएको मानिएको छ । यसको आफ्नै वैज्ञानिक महत्त्व रहेको पनि पुष्टि भइसकेको छ ।

प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पले ग्रहण गरी मानवलगायत अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने त वैज्ञानिक अनुसन्धानबाट पुष्टि भएको कुरा हो । पर्यावरण संरक्षणमा सर्पको विशेष भूमिका हुन्छ । सर्पले वायुमण्डलमा फैलिएको विषाक्त पदार्थ ग्रहण गर्छ । सर्पको प्रयोगबाट क्यान्सर जस्तो प्राणघातक रोगका लागि औषधि बन्ने वैज्ञानिक तथ्य पनि छ । यसैले सर्पसँगै मानिसको अस्तित्व पनि जोडिएको हुन्छ । मान्छे मात्र नभएर चराचुरुङ्गी तथा जगत्मा पनि सर्पका कारण पर्यावरणमा सन्तुलन मिल्ने हुन्छ । सर्पको यही महिमालाई बुझाउन नाग पञ्चमी मनाउने गरिएको हो । नाग पञ्चमीको वास्तविक ऐतिहासिक जरो महाभारतसँग पनि जोडिएको पाइन्छ ।
(लेखक वाल्मीकि विद्यापीठ काठमाडौं शास्त्री द्वितीय वर्षमा अध्ययनरत छन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नवराजप्रसाद आचार्य
नवराजप्रसाद आचार्य
लेखकबाट थप