पोर्चुगलका सबैभन्दा अनुभवी खेलाडी पेपेले ४१ वर्षको उमेरमा लिए सन्न्यास
काठमाडौँ । पोर्चुगलका चर्चित डिफेन्डर पेपेले सक्रिय खेल जीवनबाट सन्न्यास लिएका छन् । उनले ४१ वर्षको उमेरमा सक्रिय खेल जीवनबाट सन्न्यासको घोषणा गरेका हुन् । उनी विश्व फुटबलका प्रभावशाली खेलाडीमध्ये एक हुन् ।
पेपेले केही समयअघि जर्मनीमा सम्पन्न युरोकप फुटबल प्रतियोगिता पनि खेलेका थिए । उनी युरोकपको फाइनल चरण खेल्ने सबैभन्दा बढी उमेरका खेलाडी पनि बनेका थिए । उनले आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल सोही युरोकपमा फ्रान्सविरुद्ध खेलेका थिए ।
यी प्रभावशाली पोर्चुगिज खेलाडीले राष्ट्रका लागि एक सय ४१ खेल खेलेका छन् । उनी पोर्चुगलका लागि सबैभन्दा बढी अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडीको सूचिमा तेस्रो नम्बरमा पर्छन् । पोर्चुगलका लागि उनीभन्दा बढी खेल क्रिस्टियानो रोनाल्डो र जो मोन्टिन्होले मात्र खेलेका छन् ।
पेपेले स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिडबाट लामो समय व्यावसायिक फुटबल खेलेका थिए । उनले सन् २००७ देखि सन् २०१७ सम्म रियल म्याड्रिडबाट खेलेका थिए । रियल म्याड्रिडका अतिरिक्त उनले एफसी पोर्टोबाट पनि व्यावसायिक फुटबल खेलेका थिए ।
सन्न्यास लिनुअघि पनि उनी पोर्टोमै आबद्ध थिए । उनले सन्न्यास लिने क्रममा आफ्नो ३३ वर्ष लामो खेलजीवनमा विभिन्न पक्षबाट सहयोग पु-याउने सबैप्रति आभार पनि ब्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमा ३३ मिनेट लामो भिडियो पोस्ट गर्दै सन्न्यासको जानकारी दिएका हुन् ।
पोर्चुगलले सन् २०१६ मा युरोकपको उपाधि जित्दा उनी टोलीका महत्त्वपूर्ण सदस्य थिए । उनले १० वर्ष रियल म्याड्रिडमा रहँदा तीनपटक च्याम्पियन लिग र तीनपटक ला लिगाको उपाधि पनि चुमेका थिए ।
गत वर्ष उनी च्याम्पियन लिग फुटबलमा गोल गर्ने सबैभन्दा बढी उमेरका खेलाडी पनि बनेका थिए । उनले रियल म्याड्रिडका लागि तीन सय ३४ खेल खेलेका थिए । उनको समयमा रियल म्याड्रिड विश्व फुटबलकै उत्कृष्ट क्लब थियो ।
पेपेको सन्न्यास लिने निर्णय सार्वजनिक भएपछि समकालीन विश्व फुटबलका महान खेलाडीमध्येका एक क्रिस्टियानो रोनाल्डोले दुःख ब्यक्त गरेका छन् । ‘अब हाम्रो टोली मैदानमा ओर्लँदा पेपे हामीसँग हुने छैनन् । मैदानमा हामीलाई उनको अभाव खड्किने छ,’ रोनाल्डोले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीमा माघीको रौनक
-
१२ बजे, १२ समाचार : २५ जना प्रहरीको एसएसपी बढुवाका लागि सिफारिसदेखि रविको फेरि हिरासतकै बाससम्म
-
किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ
-
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
-
प्रहरीका २५ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस
-
बुटवलमा खाना महोत्सव तथा माघी मेला सुरु