बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्री सिंहद्वारा चारवटा सरकारी कार्यालयमा छड्के, कर्मचारीलाई सोधे स्पष्टीकरण

बिहीबार, २४ साउन २०८१, २३ : २१
बिहीबार, २४ साउन २०८१

वीरगन्ज । मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहले चार वटा सरकारी कार्यालयको छड्के अनुगमन गरेका छन् ।  कर्मचारीहरूबाट सेवाग्राहीलाई दिने सेवा सुविधामा ढिलाइ हुने गरेको जनगुनासा व्यापक रूपमा आउन थालेपछि मुख्यमन्त्री सिंहले सरकारी कार्यालयमा छड्के अनुगमन थालेका हुन् । 

मुख्यमन्त्री सिंहले बिहीबार एक मन्त्रालय, २ वटा निर्देशनालय र एउटा जिल्ला कार्यालय गरी ४ वटा सरकारी कार्यालयको अनुगमन गरेका छन् । 

बिहान कार्यालय समय सुरु भएपछि मुख्यमन्त्री सिंहले कृषि मन्त्रालय, वन निर्देशनालय, शिक्षा निर्देशनालय र पूर्वाधार विकास कार्यालय धनुषाको निरीक्षण गरेका थिए ।

निरीक्षणका क्रममा मुख्यमन्त्री सिंहले केही हदसम्म कर्मचारी आउने समयमा सुधार भए पनि अझ कर्मचारी मापदण्डको पालना नभएको पाइएको बताए । उनका अनुसार आज भएको अनुगमनमा अधिकांश कर्मचारीहरू बाहिर नै रहेको पाइएको छ ।

उनले भने, ‘सरकारको कर्मचारी मापदण्डको सामान्य नियम अझ पालना भइरहेको छैन, समयमा नआउने तथा हाजिर समेत नै नगरी घर फर्किने जस्ता लापरबाही कर्मचारीहरूमा देखिएको छ । आजको अनुगमनमा पनि कर्मचारीहरू समयमा नआएको पाइएको छ ।’

सरकारको नीति नियम नै पालना नगरी प्रदेश सरकारले त्यस्ता अटेरी कर्मचारीलाई स्पष्टीकरण पत्रसमेत काटिसकेको उनले बताए ।

उनले भने, ‘सरकारले काटेको स्पष्टीकरण पत्रमा चित्तबुझ्दो जवाफ आएन, भने हामी गल्ती अनुसारको कारबाहीको सिफारिस गर्नेछौँ ।’

सरकारी कर्मचारीहरूले काम कारबाहीमा ढिलासुस्ती गर्ने, समयमा नआउने, फिल्डमा गएको जस्ता समस्या देखाएर जनताको काममा बाधा अवरोध पुर्‍याउने गरेका लगायतका जनगुनासा प्रदेश सरकारलाई प्राप्त भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । 

यसरी सरकारी कर्मचारीहरूका बारेमा जनगुनासो आउन थालेपछि मुख्यमन्त्रीको कार्यालयले नियमित अनुगमन गर्ने नीति अवलम्बन गरेको मुख्यमन्त्री सिंहले बताए । 

मुख्यमन्त्रीको जिम्मेवारी पाएको २ महिनापछि सिंहले गरेको यो दोस्रो पटकको अनुगमन हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप