बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

बङ्गलादेशमा भएको डुङ्गा दुर्घटनामा ३४ रोहिंग्या शरणार्थीको मृत्यु

बिहीबार, २४ साउन २०८१, २१ : २३
बिहीबार, २४ साउन २०८१

कक्स बजार । युद्धग्रस्त म्यान्माबाट भागेर बङ्गलादेश जाने क्रममा भएको डुङ्गा दुर्घटनामा परी मृत्यु भएका ३४ जना रोहिंग्या शरणार्थीको शव निकालिएको स्थानीय सरकारका एक शीर्ष अधिकारीले बिहीबार बताएका छन् । 

बङ्गलादेशको नदीमा मङ्गलबार भएको उक्त दुर्घटनामा साना बच्चाहरूसहित १० जनाको शव तत्काल निकालिएको थियो । हालसम्म कूल मृतकको सङ्ख्या ३४ पुगेको छ ।  उनीहरू म्यान्माको रखाइन राज्यस्थित आफ्नो गाउँबाट भागेका र उनीहरूको सानो जहाज बङ्गलादेशको शाहपरी टापु नजिकै नाफ नदीमा डुबेको प्रहरीले जनाएको छ ।

बङ्गलादेशको टेकनाफ सीमाक्षेत्रका सरकारी प्रशासक अदनान चौधरीले उक्त डुङ्गामा म्यानमाबाट आएका मुस्लिम रोहिंग्याहरू रहेको बताएका छन् । “रोहिंग्याहरू म्यान्माबाट आफ्नो ज्यान जोगाउन भागिरहेका छन्”, उनले भने । 

“विगत केही हप्तामा म्यान्माको रखाइन राज्यमा भएको युद्धबाट कम्तीमा एक हजार रोहिङ्ग्याहरू बङ्गलादेशतर्फ भागेका छन्,” चौधरीले भने ।  अराकान आर्मी (एए) ले नोभेम्बरमा सत्तारुढ जुन्टाको सेनामाथि आक्रमण गरेपछि रखाइन राज्यमा द्वन्द्व बदलिएको हो । बङ्गलादेशमा करिब १० लाख रोहिंग्याले शरण लिएका छन् जसमध्ये अधिकांश सन् २०१७ मा सैन्य दमनपछि रखाइनबाट भागेका थिए । 

रखाइनको सहर माउङ्गदाबाट भागेर बुधबार फरक डुङ्गाबाट बङ्गलादेश आइपुगेका ३५ वर्षीय रोहिंग्या शरणार्थी अब्दुल कलामले हजारौँ रोहिङ्ग्या म्यानमा जारी नरसंहारबाट भाग्न खोजेको बताए । “अराकान सेनाले हामीमाथि आत्मघाती हमला गर्दै छन् । उनीहरू हामीलाई रखाइनबाट भगाउन चाहन्छन्”, उनले भने ।

हप्तौँको विद्यार्थी नेतृत्वको विरोध प्रदर्शनले सोमबार प्रधानमन्त्रीलाई अपदस्थ गरेपछि बङ्गलादेशमा अशान्तिका कारण शव निकाल्न ढिलाई भएको चौधरीले बताए । “हाम्रा सुरक्षा अधिकारी राजनीतिक झडप रोक्न व्यक्त भएकाले हामीले उनीहरुलाई तत्काल दुर्घटनास्थलमा पठाउन सकेनौँ,” चौधरीले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप