बागमतीमा ७६ हजारभन्दा बढी गाई र भैँसीमा लम्पीविरुद्धको खोप लगाइने
हेटौडा । बागमती प्रदेशमा साउन २५ गतेदेखि लम्पी स्किन रोगविरुद्धको खोप अभियान सुरु हुने भएको छ । प्रदेशका १३ जिल्लाका गाई र भैँसीलाई अभियान मार्फत एक सातासम्म लम्पी स्किन रोगविरुद्धको खोप लगाइने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको हो ।
मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गर्दै पशुपालन तथा पशुजन्य उत्पादनको क्षेत्रमा महत्त्वपूर्ण भूमिका रहेको गाई/भैंसीपालन लक्षित गर्दै खोप अभियान सञ्चालन गर्ने जानकारी दिएको छ । उक्त अभियानअन्तर्गत प्रदेशका १३ जिल्लाका ७६ हजार २७५ पशुमा खोप लगाउने लक्ष्य मन्त्रालयले राखेको मन्त्रालयका सचिव विनोद कुमार भट्टराईले बताए ।
उनका अनुसार प्रदेशमा करिब १० लाख ११ हजार १३६ गाई, ८ लाख ३२ हजार १९३ भैँसीलाई लम्पी स्किन रोग लाग्न नदिन मन्त्रालयले वार्षिक कार्यक्रमअन्तर्गत नै खोप अभियानलाई अघि बढाएको हो । लम्पी स्किन रोगबाट गाई भैँसीको मृत्यु दर ३.१ प्रतिशत रहे पनि दूध उत्पादन ८० प्रतिशतसम्म घट्ने भएकाले कृषिकहरुको आर्थिक क्षती न्यूनिकरणका लागि अभियान सञ्चालन गरिएको उनको भनाई छ । प्रदेशमा वार्षिक रूपमा ४ लाख ५५ हजार १४२ मेट्रिक टन दूध उत्पादन भइरहेको उनले बताए ।
कृषकहरुको सहायताका लागि संघ, प्रदेश र स्थानीय तहसँगको समन्वयमा लम्पी स्किन रोगको प्रकोप नियन्त्रण गर्न एकै पटक १३ जिल्लामा खोप अभियान सञ्चालनको तयारी गरिएको सचिव भट्टराईले बताए ।
७५ हजार २७५ डोज खोप, ३७६ भ्याक्सिनेटर नियुक्त
मन्त्रालयले खोप अभियान संचालनका लागि मातहतका पशु सेवा कार्यालयहरूबाट लम्पी स्किन रोगविरुद्धको ६२ हजार ९७५ डोज खोप लगाउने तयारी गरेको छ । सो खोप लगाउन प्रदेशका १३ जिल्लाका लागि ३७६ जना भ्याक्सिनेटर नियुक्त गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ललितपुरका लागि ८ हजार ३२५ डोज खोप लगाउन ५४ भक्सिनेटर, मकवानपुरका लागि ७ हजार ५०० डोज खोप लगाउन ६२ भक्सिनेटर, नुवाकोटका लागि ११ हजार डोज खोप लगाउन २५ भक्सिनेटर, धादिङका लागि ६ हजार ९०० डोज खोप लगाउन ४२ भक्सिनेटर, चितवनका लागि ८ हजार डोज खोप लगाउन १३ भक्सिनेटर, दोलखाका लागि ५ हजार डोज खोप लगाउन २५ भक्सिनेटर, काभ्रेका लागि ८ हजार डोज खोप लगाउन ९५ भक्सिनेटर, सिन्धुलीका लागि ८ हजार २५० डोज खोप लगाउन ६० भक्सिनेटर सम्बन्धित पशु सेवा कार्यालयहरूबाट नियुक्त गरिएको छ ।
सो अनुसारको खोप र भ्याक्सिनेटर सम्बन्धित स्थानका खोप केन्द्रहरूमा पुर्याएको मन्त्रालयले जनाएको छ । लक्ष्य अनुसारको खोप अपुग हुने भएकाले केही खोप खरिद गरेर पठाइने मन्त्रालयका सचिव भट्टराईले बताए ।
लम्पीबाट ११ हजारभन्दा बढी गाई र भैँसीको मृत्यु
मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा लम्पी स्किन रोगबाट प्रदेशका १३ जिल्लामा ११ हजारभन्दा बढी गाई र भैँसीको मृत्यु भएको छ । आर्थिक वर्ष २०८०/०८१ मा ११ हजार २१८ गाई र भैँसी लम्पी स्किन रोगबाट मृत्यु भएको मन्त्रालयको तथ्यांक रहेको छ । रोगबाट प्रदेशमा ३७ हजार ८९ गाई भैँसी संक्रमित भएको र २ लाख ५६ हजार ७५९ पशु प्रभावित भएका छन् । प्रदेशमा २ लाख ४५ हजार २२२ गाई भैँसीलाई लम्पी विरुद्धको खोप लगाइएको छ ।
लम्पी स्किन रोगबाट काभ्रेमा २ हजार ४१२ गाई भैँसी मरेका थिए भने ८ हजार ५०५ संक्रमित भएका थिए । रोगका कारण ४० हजार १०१ पशु प्रभावित भएको र रोगबाट जोगाउन गत आर्थिक वर्षको असार सम्ममा ५७ हजार ४३३ गाई भैँसीमा लम्पी स्किन रोग विरुद्धको खोप लगाएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
सिन्धुपाल्चोकमा लम्पीबाट १ हजार ३२८ गाई भैँसी मरेको र ५ हजार ९४७ संक्रमित भएका छन् । रोगबाट २७ हजार ९३५ पशु प्रभावित हुँदा १८ हजार ५५४ गाई र भैँसीलाई रोगविरुद्धको खोप लगाइएको छ । दोलखामा १ हजार १० गाई भैँसी लम्पी रोगका कारण मरेका छन् भने ७ हजार २३८ संक्रमिति भएका छन् । दोलखामा लम्पीबाट ३७ हजार ६८८ पशु प्रभावित हुँदा ८ हजार ९३४ गाई र भैँसीलाई रोगविरुद्धको खोप प्रदान गरिएको छ ।
सिन्धुलीमा रोगबाट १ हजार ६८९ गाई भैँसी संक्रमित हुँदा ९४९ गाई र भैँसी मरेका छन् भने २८ हजार ५५३ पशु प्रभाविति भएका छन् । सिन्धुलीमा ५ हजार ४७८ गाई भैँसीलाई रोगविरुद्धको खोप लगाइएको छ ।
मकवानपुरमा रोगबाट १४ हजार ६८९ पशु प्रभावित भएको तथ्यांक रहेको छ भने ६९८ गाई र भैँसी संक्रमित भएका छन् । रोगबाट मकवानपुरमा ५०१ गाई र भैँसी मरेका छन् भने ३१ हजार ६०६ गाई र भैँसीलाई रेग विरुद्धको खोप लगाइको छ । रामेछापमा रोगबाट ४ हजार ५९१ गाई भैँसी संक्रमित भएको र ९७५ गाई भैँसी मरेका छन् । रोगबाट २६ हजार ३१४ प्रभावित भएको र २३ हजार ९०८ गाई भैँसीलाई रोग विरुद्धको खोप लगाइएको छ ।
चितवनमा रोगबाट ६४० गाई भैँसी संक्रमित हुँदा ४०२ वटा मरेका छन् भने १२ हजार ५२३ पशु प्रभावित भएका छन् । चितवनमा २७ हजार ४१७ गाई भैँसीलाई रोग विरुद्धको खोप लगाइएको छ । धादिङमा रोगबाट १ हजार ५१८ गाई भैँसी संक्रमित हुँदा ९५९ वटा मरेका छन् भने २५ हजार १७२ पशु प्रभावित भएका छन् । धादिङमा १३ हजार १३३ गाई भैँसीलाई लम्पी स्किन रोग विरुद्धको खोप लगाइएको मन्त्रालयको तथ्यांक रहेको छ ।
नुवाकोटमा रोगबाट १ हजार ३४ गाई भैँसी मरेका छन् भने १ हजार ८८३ संक्रमित भएका मन्त्रालयको तथ्यांक रहेको छ । जसबाट १९ हजार ४४५ पशु प्रभावित भएको र १२ हजार ६०० गाई भैँसीलाई लम्पी स्किन रोग विरुद्ध खोप दिइएको छ । रसुवामा रोगबाट १ हजार ७५० गाई भैँसी संक्रमित हुँदा २३६ मरेका छन् । रोगबाट २ हजार ७४० पशु प्रभावित भएको दोलखामा ६ हजार २०० गाई भैँसीलाई रोग विरुद्धको खोप लगाइएको छ ।
काठमाडौँमा लम्पीबाट ६०५ गाई भैँसी मरेका छन् भने १ हजार २४४ संक्रमित भएका छन् । रोगबाट ९ हजार ८४४ पशु प्रभावित हुँदा १९ हजार १४७ गाई भैँसीलाई रोग विरुद्धको खोप लगाइएको छ । ललितपुरमा लम्पीका कारण २४९ गाई भैंंसी मरेका छन् भने १ हजार २२३ संक्रमित भएका छन् । रोगबाट ४ हजार ६९४ पशु प्रभावित भएको र १४ हजार १६६ गाई भैँसीलाई रोग विरुद्धको खोप लगाइएको छ । भक्तपुरमा लम्पीबाट ५८८ गाई भैँसी मरेको र २ हजार ३१४ संक्रमित भएका छन् । रोगबाट ७ हजार ६१ पशु प्रभावित हुँदा ६ हजार ५४६ गाई भैँसीलाई खोप लगाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीमा ६ लाख बढीको अवैध सामान बरामद
-
महत्त्वपूर्ण ८ पद हत्याउने दबाबमा एमाले, कांग्रेस र माओवादी
-
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
-
गायिका लक्ष्मीले नचाइन् भारतको जोलजीबी मेलामा दर्शक
-
स्थानीय तह उपनिर्वाचन : प्रचारप्रसार गर्ने आज अन्तिम दिन
-
रामराजा क्याम्पस प्रमुख कुशवाहा हत्या प्रकरणका मुख्य अभियुक्त पक्राउ