शिक्षा क्षेत्रको विकासलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ : मन्त्री खड्गी

हेटौडा । बागमती प्रदेशकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले एसईईको ग्रेड वृद्धि परीक्षा भइरहेका केन्द्रहरूको निरीक्षण तथा अनुगमन गरेकी छिन् । बुधबारदेखि सुरु भएको एसईईको ग्रेड वृद्धि परीक्षा सञ्चालन भइरहेका समयमा मन्त्री खड्गीले काठमाडौँ, भक्तपुर र ललितपुरका ४ विद्यालयमा अनुगमन तथा निरीक्षण गरेकी हुन् ।
निरीक्षणको क्रममा उनले विद्यालयको भौतिक तथा शैक्षिक अवस्थाको समेत अवलोकन गरेकी छिन् । निरीक्षणका क्रममा सम्बन्धित विद्यालयका व्यवस्थापन समिति, प्रधानाध्यापक तथा शिक्षक र कर्मचारीहरूसँग अन्तरक्रिया समेत गरेकी थिइन् ।
उनले शिक्षा क्षेत्रको विकासलाई प्रदेश सरकारले प्राथमिकताका साथ अघि बढाएको र शिक्षाको गुणस्तर सुधार तथा विद्यार्थीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले निरीक्षण गरेको बताइन् । सामुदायिक विद्यालयको स्तर सुधार गर्ने र नतिजामुखी शिक्षण सिकाइको अवधारणा अनुसार काम गर्ने निर्देशन मन्त्री खड्गीले दिएकी छिन् ।
निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयको नतिजा खस्कनुको कारणसहित गुणस्तर सुधारका लागि योजना निर्माण गरेर मन्त्रालयमा पेस गर्न उनले विद्यालयहरूलाई निर्देशन दिएकी छिन् । प्रदेश सरकार शिक्षाको विकास र विद्यार्थीहरूको भविष्य प्रति गम्भीर भएर अघि बढेको उनको भनाई छ ।
अनुगमनका क्रममा विद्यालयका प्रधानाध्यापकहरुले शिक्षकहरूको क्षमता विकास, तालिम तथा प्रविधिको प्रयोग तथा सुविधायुक्त ल्याब र भौतिक संरचना निर्माण गर्नुपर्ने आवश्यकता रहेकाले सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने बताएका थिए ।
अनुगमन टोलीमा प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ, शिक्षा निर्देशनालय बागमती प्रदेशका महानिर्देशक दीपेन्द्र सुवेदी लगायतको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा बिम्स्टेकको तेस्रो कृषिमन्त्रीस्तरीय बैठक सम्पन्न
-
२७ टन बराबर राहत सामग्री लिएर नेपाली टोली म्यान्मार प्रस्थान
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन