सांसदले उठाए प्रश्न– एकैदिन १४५ अङ्कसम्म नेप्से कसरी घटबढ हुनसक्छ ?
काठमाडौँ । बिहीबार संसदीय समिति अन्तर्गतको अर्थ समितिमा धितोपत्र बोर्डका अध्यक्ष महेश बराल र सांसदहरूबिच सवालजवाफ भएको छ । खासगरी नयाँ सरकार आएसँगै एकाएक पुँजी बजारमा आएको उतारचढाव, नेप्से सूचकमा अस्वाभाविक वृद्धिले बजारमा ल्याएको तरङ्गको मुद्दामा सांसदहरूले सम्भावित चलखेलका विषयमा बोर्डका अध्यक्षलाई प्रश्न राखेका थिए ।
‘एकै दिन १४५ अङ्कसम्म नेप्से घट्छ, फेरि अर्को दिन लगत्तै १०८ अङ्कले बढ्छ । यसलाई कसरी लिने ?’ सांसदहरूको मुख्य सरोकारको विषय थियो ।
सरकार परिवर्तन हुँदैमा रातारात पुँजी बजार बढ्नुपर्ने कुनै कारण नभएको सांसद मेटमणि चौधरीले बताए । ‘बजार अस्वाभाविक रूपमा घटबढ भइरहेको छ । कताकतै चलखेल भइरहेको छ भन्ने पनि सुनिन्छ । खास के हो ? यसमा नियामकले हेर्नुपर्ने हो कि होइन ?’ चौधरीले प्रश्न गरे ।
पुँजी बजारको मुद्दामा अस्वाभाविक घटबढको विषयलाई लिएर आफूले जिज्ञासा राख्दा ‘पुँजी बजार विरोधी’को ट्याग भिराएको दुखेसो पूर्वअर्थमन्त्री समेत रहेका सांसद डा.प्रकाशशरण महतले पोखे ।
‘मैले सेयर बजार बढ्यो, बढ्नु हुँदैनथ्यो कतै भनेको छैन । तर, मविरुद्ध केही माननीयज्यूहरू नै लागेको पाएँ,’ डा.महतले भने, ‘संसदमा बोलेको कुरालाई लिएर, कुनै कम्पनी÷संस्थाको विषयमा बोल्ने कुरा होइन तर आम सर्वसाधारणको पक्षमा बोल्ने सुसूचित गर्ने हाम्रो जिम्मेवारी हो । केही कम्पनीहरूको सेयर अस्वाभाविक बढ्यो, यसको वास्तविकता के हो ? कम्पनीको वित्तीय स्थिति के छ, हेरौँ भनेको हुँ ।’
तर बजारमा लगानीकर्ताहरूले आफूविरुद्ध स्टेटमेन्ट नै जारी गरेको उनले बताए । ‘पुँजी बजारको सुधार, व्यवस्थापन र सन्तुलनका लागि नियामक धितोपत्र बोर्ड, नेप्सेले सुक्ष्म निगरानी राख्दै अनुगमन नियमन गर्नुपर्छ,’ उनले भने । तर, पुँजी बजारले नै मुलुकको अर्थतन्त्र धानेको भन्न नमिल्ने उनको भनाइ छ ।
बैठकमा नेकपा एमालेका सांसद सूर्य थापाले सरकार परिवर्तन भएसँगै आम सर्वसाधारण लगानीकर्ताहरूमा विश्वास बढेको र पुँजी बजारले समेत सकारात्मक बाटो लिएकोमा अन्यथा लिन नहुने तर्क गरे । कुनै बेला ३२ सय अङ्कमा पुगिसकेको पुँजी बजार घटेर १८ सयमा झ¥यो । त्यतिखेर त कोही बोलेन । सेयर बजार किन यसरी घटिरहेको छ भनेर कसैले सोधखोज गरेन । फेरि अहिले बजारले सकारात्मक गति लिँदा किन कसैको टाउको दुख्न प¥यो ?’ उनले प्रतिप्रश्न गरे ।
बरु रातारातको अस्वाभाविक घटबढलाई भने धितोपत्र बोर्ड, स्टक एक्सचेञ्ज (नेप्से) ले सुक्ष्म निगरानी गर्नुपर्ने उनले बताए ।
सेयर बजार खेल होइन, लगानी हो : अध्यक्ष बराल
बजारको अस्वाभाविक घटबढका विषयमा समितिमा अधिकांश सांसदले जिज्ञासा राखेपछि नियामक धितोपत्र बोर्डका अध्यक्ष बरालले एकएक गरेर जवाफ दिए ।
सांसदहरूले प्रश्न राख्नु अघि नै झण्डै एक घण्टा ब्रिफ्रिङ दिएका अध्यक्ष बरालले पुँजी बजार सेन्सेटिभ सेक्टर भएकाले यसको विषयमा बोल्दा, विचार राख्दा विचार पु¥याउनुपर्ने बताए ।
उनले भने, ‘पुँजी बजार भनेको कसैले भनिदियो, हल्ला चल्यो भन्दैमा लहडका भरमा लगानी गर्ने क्षेत्र होइन । यो त निकै सुझबुझका साथ कम्पनीको वित्तीय स्टाटस हेरेर प्रतिफल लिन सकिन्छ कि सकिँदैन भनेर लगानी गर्ने क्षेत्र हो ।’
पछिल्लो समय मिडियामा आएको समाचारकै आधारमा, कसैले भनेकै आधारमा लगानीकर्ताहरू बहकिने गरेको भन्दै अध्यक्ष बरालले त्यसो नगर्नसमेत आग्रह गरे ।
सोही अवसरमा नेकपा माओवादी केन्द्रका सांसद गंगा कार्कीले पुँजी बजारमा खेल्ने हो कि लगानी गर्ने हो भन्ने प्रश्न गरेपछि अध्यक्ष बरालले पुँजी बजार खेल नभएर लगानीकै क्षेत्र, त्यो पनि अति संवेदनशील लगानीको क्षेत्र भएको जवाफ फर्काए ।
धितोपत्र बोर्डको अध्यक्ष तत्काल नियुक्त गर्न माग
बैठकमा सांसदहरूले सभापति सन्तोष चालिसेमार्फत सरकार समक्ष अविलम्ब धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न मागसमेत गरे । अहिलेका कार्यवाहक अध्यक्ष नेपाल सरकारका सहसचिव तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका निर्देशक हुन् । उनको जिम्मेवारी भन्सार कार्यालय र धितोपत्र बोर्ड दुवैतिर हुँदा काम गर्न कठिन भएको र बोर्डमा धितोपत्र बजार सम्बन्धी दर्जनौँ काम अलपत्र परेको भन्दै सांसदहरूले छिटो अध्यक्ष टुङ्गो लगाउन सरकारसँग माग राखेका हुन् ।
अध्यक्ष बरालले आफू अर्थ मन्त्रालयको कर्मचारी भएकाले स्वाभाविक रूपमा बोर्डलाई त्यति काम दिन नसकेको स्वीकारे । ‘त्रिभुवन विमानस्थलमा कामको लोड अलि धेरै छ । उता छाड्न पनि भएन । फेरि यता बोर्डको जिम्मेवारी पनि छ । कसैले सोध्यो भने भन्ने गरेको छु– लञ्चसम्म विमानस्थलमा हुन्छु, लञ्चपछि बोर्डमा,’ उनले हाँसीमजाक पनि गरे ।
अध्यक्ष नियुक्त गर्न निकै कठिन छ : पूर्वअर्थमन्त्री पुन
लामो रस्साकसी गर्दा पनि बोर्डको अध्यक्ष नियुक्त गर्न नसकेर सरकारबाट बाहिरिएका पूर्वअर्थमन्त्री वर्षमान पुनले यो सरकारले पनि अध्यक्ष छनोट गर्न मुस्किल नै पर्ने बैठकमा बताए ।
‘धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न निकै कठिन छ । मैले ठुलै कसरत गरेको हुँ । अझ मभन्दा अघिका अर्थमन्त्री डा.महतज्यूले पनि कसरत गर्नुभएकै हो । तर सकिएन । मलाई लाग्छ यो सरकारले पनि अध्यक्ष नियुक्त गर्न सक्दैन ।’
धितोपत्र बजारमा दोस्रो स्टक एक्सचेञ्ज ल्याउने विषयमा व्यापारी र राजनीतिक स्वार्थ नमिल्दा धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया बिथोलिएको बताउँदै पूर्वमन्त्री पुनले यसपटक सहजीकरण गरेर भए पनि अध्यक्ष नियुक्त गर्न आग्रह गरे ।
दोस्रो स्टक एक्सचेञ्ज ल्याए पनि, नल्याए पनि त्यसलाई आफूहरूले स्वीकार्ने उनले बताए ।
तर, पछिल्लो समय पुँजी बजारमा भएको अस्वाभाविक बृद्धि, उतारचढावमा भने सरकार र गभर्नरको हात रहेको पुनले बताए ।
‘पुँजी बजार बढ्नु त सबैका लागि राम्रो हो । हामी खुसी नै छौँ । तर, रातारात अस्वाभाविक ढङ्गले बढ्नु र घट्नुमा हाम्रो ध्यानाकर्षण भएको छ,’ पुनले भने, ‘पूर्वअर्थमन्त्री डा.महतज्यूले नै संसदमा प्रश्न उठाउनु भयो । अरु एकदुई जना सांसदहरूले पनि यो मुद्दा उठाउनु भयो । हामी जनप्रतिनिधिहरू हौँ, सत्य बोल्नुपर्छ । यसपटक सरकार परिवर्तन भएसँगै गभर्नर सावको शैली परिवर्तन भएकै हो ।’
डा.महत अर्थमन्त्री भएका बेलामा र आफू अर्थमन्त्री भएका बेला गभर्नरले मौद्रिक नीतिमा कडाइ गरेर पुँजी बजारलाई नियन्त्रण गरे पनि नेकपा एमालेको सरकार आएपछि मौद्रिक नीतिलाई हदैसम्मको खुकुलो पारेको उनले आरोप लगाए ।
‘शेरबहादुर देउवा नेतृत्वको सरकारका पालामा र प्रधानमन्त्री प्रचण्डका पालामा पनि गभर्नर सावले कठोर मौद्रिक नीति लिनुभयो । अहिले आफू निकट प्रधानमन्त्री र अर्थमन्त्री हुनुहुन्छ, त्यसैले खुकुलो मौद्रिक नीति लिनुभयो,’ पुनले भने, ‘यस्तो नीति पहिल्यै लिएको भए हुने थियो । सेयर धितोकर्जाको सीमा पहिले नै खारेज गर्नुपर्थ्यो तर उहाँले गर्नुभएन ।’
यसपटक आफूले वित्त नीति (बजेट) बनाउने बेला मौद्रिक नीतिलाई समेत मिल्ने गरी पुँजी बजारसँग सम्बन्धित ५–६ वटा नीतिगत सुधारका काम गरेकाले पनि बजार बढेको उनले बताए । तर यसलाई व्यवस्थित र मर्यादित बनाउन नियामक धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज चनाखो हुनुपर्ने उनले प्रस्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत र अमेरिकाका विदेशमन्त्रीहरूको भेटवार्तामा के भयो कुराकानी ?
-
नर्भिकमा दुवै घुँडाको सफल ‘प्रतिस्थापन शल्यक्रिया’
-
टर्कीको रिसोर्टमा आगलागी, मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो
-
ट्रम्पको शपथ ग्रहण लगत्तै पुटिन र सीबिच भिडियो कल
-
लुम्बिनी प्रदेश सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
तीनबुँदे सहमति गरेर कांग्रेसले खोल्यो पोखरा महानगरमा लगाएको ताला