थारु समुदायमा गुरही पर्वको उल्लास, यो पर्वमा के–के गरिन्छ ?
धनगढी । पश्चिम नेपालको थारु समुदायमा गुरही (गुरिया) पर्वको उल्लास छाएको छ । यो पर्व नाग पञ्चमीको दिन मनाइने गरिन्छ ।
विशेषगरी पश्चिम नेपालको कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ, सुर्खेत जिल्लाका बस्ती बस्तीका साथै पछिल्लो समय काठमाडौँमा समेत भव्यताका साथ पर्व मनाउन थालिएको छ ।
विगतको वर्षमा झैँ यो वर्षमा पनि सङ्घीय राजधानीमा बसोबास गर्दै आएका थारुहरू आपसमा खुसीयाली साटासाट गरी पर्व मनाउने तयारीमा जुटेका छन् । गुरही तयारी समिति ०८१ का सल्लाहकार डा. कृष्णराज सर्वहारीका अनुसार नेपाल प्रज्ञा प्रतिष्ठाको सभा हलमा नागपञ्चमीको अवसरमा भोलि शुक्रबार थारु आयोगका अध्यक्ष विष्णु चौधरीको प्रमुख आतिथ्यमा झाँकीसहित कार्यक्रम गर्ने तयारी गरिएको छ ।
गाउँघरबाट रोगव्याधी हट्ने र शान्ति तथा सद्भाव बढ्ने मान्यताका साथ परम्परागत संस्कार, चालचलनअनुसार नागपञ्चमीकै दिन साँझपख भव्यताका साथ पर्व मनाउने प्रचलन थारु समुदायमा रहँदै आएको छ । पर्वमा भाइ बहिनीको उपस्थिति विना अपूरो हुने हुँदा यस पर्वले दाजुभाइबिचको माया प्रेम थप प्रगाढ बनाउँदै आएको थारु बुद्धिजीवीहरूको भनाइ छ ।
पछिल्लो समय गुरही पर्व औपचारिक रूपमा मनाउन थालिएको छ । कैलालीको धनगढी उपमहानगरपालिका ८ क्याम्पस रोडस्थित गुरही चौकमा भव्य रूपमा गुरही कार्यक्रमको आयोजना गरिएको छ ।
आयोजक सखी सञ्जाल कैलालीकी अध्यक्ष उन्नति चौधरीले विगत १५ वर्षदेखि नियमित रूपमा औपचारिक रूपमा विभिन्न कार्यक्रम गरी गुरही पर्व मनाउँदै आएको बताइन् । पर्वको पूर्वसन्ध्यामा विहीबार गुरही चोकमै आयोजकले रक्तदान कार्यक्रम गरेका छन् । भोलि शुक्रबार साँझ भने ‘गुरही असरैना कार्यक्रम’ राखेको आयोजकले जनाएको छ ।
गुरही भनेको के हो?
गुरही भनेको एक किसिमको गाइने किरा हो । यो पर्वमा कसैले गुरही–गुरहा, कसैले केटी–केटा वा दुलहा–दुलहीको प्रतीकको रूपमा कपडाको पुतला, खेलौना बनाउँछन् । हिन्दी भाषामा यस्ता पुतला, खेलौनालाई गुडिया भन्ने गरिन्छ । त्यही गुडिया शब्द थारु भाषाको उच्चारणमा गुरिया हुन पुगेको थारु नागरिक समाज कैलालीका संयोजक दिलबहादुर चौधरी बताउँछन् ।
हुन त थारु भाषामा गुरिया भन्नाले मोतीमालालाई जनाउने गर्दछ । तर यो पर्वमा कपडाको पुतला, खेलौना प्रयोगको कारणले गुडियाबाट नै गुरिया हुन पुगेको स्पष्ट हुन्छ । थारु बसोबास रहेका कतिपय स्थानमा यसलाई गुरही पर्व भन्ने गरिन्छ भने कतिपय ठाउँमा गुरिया पर्व भन्ने गरिन्छ ।
पर्वमा के–के गरिन्छ ?
नागपञ्चमीको दिनमा मनाइने यस पर्वमा थारु समुदायका घरहरूमा खुर्मा, बरिया (पुरीजस्तो) जस्ता परिकार तेलमा पकाइने गरिन्छ । घर–घरमा घुघरी (चना, केराउ, मटरा, मकैको भुजा) तयार गरिन्छ । आफ्नै हैसियतअनुसार अन्य खानेकुरा पनि बनाइन्छन् । केटी र महिलाहरूले कपडाका रङ्गीचङ्गी टुक्रा चिरकुटबाट पुतला बनाउने गर्दछन् ।
कसैले ती पुतलालाई गुरही (गाइने कीरा) मानी पिट्ने गर्दछन् भने कसैले बहिनीका अवगुण मानी पिट्ने गर्दछन् । पुतला पिट्ने सोंटा, कोर्रा रारा र मूँज (ढकिया बनाउँदा प्रयोग गरिने सामग्री)को प्रयोगले सुन्दर, रङ्गीचङ्गी बनाइएको हुन्छ ।
वयस्क तथा पुरुषले सोंटासँग खासै सरोकार राख्दैनन् । उनीहरू गुरही (गुरिया) पिट्दा सामान्य केराका हरियो डाँठले पनि पिट्ने गर्दछन् । सूर्यास्त हुने बेलातिर युवती तथा महिलाहरु गुडिया (गुरिया) र घुघरी लिई आफ्नो भेषभूषामा सजिएर चौबाटो र चौराहामा पुग्छन् ।
केटा र पुरुषहरू पनि आफ्नो भेषभूषामा सोंटा, कोर्रा लिई चौराहा (चौबाटो) पुग्छन् । केटीहरु तथा महिलाहरु गुरिया (गुरही) चौराहामा फाल्छन् र केटाहरू तथा पुरुषहरू सोंटा, कोर्राले पिट्छन् ।
केटीहरु गुरिया (गुरही) फाल्ने बेला र केटाहरू पिट्ने बेलामा रोगब्याध नलागोस, आफूमा भएको अवगुण जाओस् भनी कामना गर्दछन् । पिटिसकेपछि केटा वा पुरुषले केटी वा महिलासँग घुघरी माग्छन् र प्रसादस्वरुप ग्रहण गर्दछन् ।
कतिपय गाउँमा पिटिएका यी गुरिया (गुरही) सडकमै चौराहामै छोडेर हिँडिन्छ भने कतिपय गाउँमा बाजागाजाका साथ नदीमा सेलाउन पनि लाने गरिन्छ ।
यो पर्व बालबालिकाको सहभागिताबिना अपूर्ण मानिन्छ । त्यसैले यसमा उनीहरूलाई सहभागी गराउनु अभिभावकहरू आफ्नो कर्तव्य ठान्छन् । कतिपय अभिभावक उनीहरूलाई बोकेरै सहभागी पनि गराउने गर्दछन् ।
यसैबिच थारु बहुल क्षेत्रस्थित स्थानीय तहहरूले सार्वजनिक बिदा दिएका छन् । कैलालीकै कलारी गाउँपालिका, जोशीपुर गाउँपालिकालगायत पालिकाहरूले सार्वजनिक बिदा दिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपियन फुटबलमा जातीय दुर्व्यवहारका उदेकलाग्दा घटना !
-
सहसचिवहरूको तलब बढाउने फैसला पुनरावलोकन हुने
-
आईपीओ पाइपलाइनमा थपिए ४२ कम्पनी, झण्डै ४५ अर्बको सेयर आउँदै
-
एनआरएनए एकताका लागि दुई साताभित्र टीओआर तयार गरिने (विज्ञप्तिसहित)
-
कन्ट्री रेटिङमा नेपालले पायो ‘बीबी माइनस’
-
संक्रमणकालिन न्याय : यी हुन् दुई आयोगमा आवेदन दिनेहरू (सूचीसहित)