बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

धरानमा खानेपानी महसुल वृद्धिको विरोधमा प्रदर्शन

प्रहरी र प्रदर्शनकारीबिच झडप हुँदा ३ जना घाइते
बिहीबार, २४ साउन २०८१, १७ : ०७
बिहीबार, २४ साउन २०८१

विराटनगर । धरानमा खानेपानी महसुल वृद्धिको विरोध गर्दै भएको प्रदर्शनका क्रममा प्रहरीसँग भएको झडपमा परी ३ जना घाइते भएका छन् । घाइते हुनेमा प्रदर्शनकारी २ जना र एक जना प्रहरी रहेको नेकपा (माओवादी केन्द्र) धरानका अध्यक्ष मनोज भट्टराईले जानकारी दिए । 

आन्दोलनमा उत्रिएका धरानका १० राजनीतिक दलका कार्यकर्ताले धरान उपमहानगर पालिका कार्यालयको बोर्ड फाल्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो । त्यसक्रममा प्रदर्शनकारीले उपमहानगर प्रमुख हर्क साम्पाङविरुद्ध नाराबाजी गरे । 

साम्पाङले गत साउन १ गतेदेखि लागू हुने गरी खानेपानीको महसुलमा भारी वृद्धि गरेका थिए । त्यसका विरुद्धमा १० राजनीतिक दलहरूले धरानको खानेपानी बोर्डको कार्यालय र महसुल काउन्टरमा ताला लगाएका थिए । उक्त ताला खोल्न उच्च अदालतले आदेश दिएको थियो । अदालतको आदेशपछि ताला खोलेर आन्दोलनकारीहरू उपमहानगरपालिका घेराउ गर्न पुगेका हुन् । 

यसैबिच आन्दोलन चर्किँदै जाँदा प्रमुख साम्पाङले सामाजिक सञ्जालमार्फत आफूविरुद्ध लागेको नाराको प्रतिक्रिया दिँदै आफूले खानेपानीको समस्या समाधान गर्नका लागि गरेको पहल र प्रयत्नलाई विश्वले सम्मान गरेको बताएका छन् । 

‘जसको निम्ति दिनरात एक बनाएर श्रम गरिरहे जसकाे घरमा आउने पानीको नाला फटाहा विरोधीहरूले जलाइदिँदा जङ्गलमै बास बसी बसी कति रात कति दिन आगो निभाएँ, जसको सबैखाले सेवा सुविधा र अधिकारका लागि म दिनरात सोचिरहेँ र श्रम गरिरहेँ तिनै जनताले आज हर्क साम्पाङ मुर्दावाद ! हर्क साम्पाङ मरिजावस् भनेर नारा लगाको सुन्दा खुसी लागेन भन्न मिल्दैन मैले,’ उनले भनेका छन्, ‘विश्वले सम्मान गरिसकेको श्रमदाता हुँ म  ! मैले गरेको हरेक श्रमले धरान र देशको उन्नति चाहेको छ  ! जसले ऋण लिए उसैले आज विदेशी ऋण नतिर्न आह्वान गर्दा हौसिएर मलाई मुर्दावादको कामना गरेको देख्दा खुसी लागेको छ  ! धन्यवाद ती जनतालाई जसले मेरो मृत्युको कामना गर्दै मुर्दावादका नारा लगाइराका छन् ।’

उनले आफूले भ्रष्टाचार नगर्नु, इमानदार बन्नु र सबैलाई इमानदार बनाउन खोज्नु गल्ती गरेको बताएका छन् । ‘मलाई थाहा छ फोहोरी राजनीतिको खेल तर त्यो फोहोरी राजनीतिलाई सफा बनाउन आएको व्यक्ति हुँ म,’ साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन् । 

यसैबिच आन्दोलन चर्किँदै जाँदा साम्पाङले आन्दोलनरत पक्षलाई वार्ताका लागि मौखिक आग्रह गरेको जनाएको छ । नेपाली कांग्रेस धरानका सभापति श्यामप्रसाद पोखरेलले वार्ताको लागि मौखिक आग्रह गरेको भए पनि लिखित रूपमा आउनुपर्ने बताए । ‘विद्यार्थीमाथि प्रहरीले धरपकड गरेको छ । मानिसहरू घाइते भएका छन् । यो विषयमा हर्क साम्पाङले स्पष्ट नपारेसम्म हामी आन्दोलन जारी राख्छौँ,’ पोखरेलले भने, ‘अहिले पनि हामी धर्नामै बसिरहेका छौँ ।’

उता, नेकपा (माओवादी केन्द्र) का धरान अध्यक्ष मनोज भट्टराईले आफूहरूको माग खानेपानी महसुल वृद्धिको निर्णय खारेज गर्ने भएको कारण त्यसभन्दा दायाँबायाँ नगर्ने बताए । ‘उहाँले वार्तामा बोलाएको कुरा आएको छ । लिखित रूपमा आउनु पर्‍यो र निःशर्त रूपमा खानेपानीको शुल्क वृद्धिको निर्णय खारेज गर्नुपर्‍यो,’ उनले भने । खानेपानीमा अस्वभाविक मूल्य वृद्धि गरेको विरोधमा सुनसरी धरानका स्थानीय केही दिनयता आन्दोलित बनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप