बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

साढे दुई वर्षअघि शीतकालीन ओलम्पिकमा जितेको पदक खेलाडीले पेरिस ओलम्पिकमा पाए !

बिहीबार, २४ साउन २०८१, १६ : ०८
बिहीबार, २४ साउन २०८१

काठमाडौँ । विश्व खेलकुदको सबैभन्दा वृहत् प्रतियोगिताको ओलम्पिक । ओलम्पिक दुई प्रकारका हुन्छ । गृष्मकालीन र शीतकालीन । त्यसमध्ये गृष्मकालीन ओलम्पिकलाई वृहत् र महत्त्वपूर्ण मानिन्छ ।

यी दुवै ओलम्पिक खेलकुद प्रत्येक चार–चार वर्षमा आयोजना हुन्छन् । तर, गृष्मकालीन र शीतकालीन ओलम्पिकको बिचमा पनि दुई वर्षको अन्तर रहन्छ ।

शीतकालीन ओलम्पिक खेलकुदको अघिल्लो संस्करण सन् २०२२ मा चीनको बेइजिङमा आयोजना भएको थियो । शीतकालीन ओलम्पिकको त्यो संस्करणमा फिगर स्केटिङमा विवाद देखिएको थियो ।

फिगर स्केटिङमा पदक जित्ने खेलाडी प्रतिबन्धित औषधि परीक्षण (डोपिङ)मा असफल भएपछि विवाद सुरु भएको थियो । डोपिङमा असफल खेलाडीले भने आफू निर्दोष रहेको दाबी गर्दै आएका थिए ।

त्यसैले फिगर स्केटिङ स्पर्धाको पदक अन्यौलमा थियो । अहिले फ्रान्सको राजधानी सहर पेरिसमा ३३औँ गृष्मकालीन ओलम्पिक खेलकुद सञ्चालन भइरहेको छ ।

यही अवसर जुराएर सन् २०२२ को शीतकालीन ओलम्पिकमा पदक जित्ने फिगर स्केटिङ खेलाडीलाई पुनः पदक वितरण गरिएको छ । करिब साढे दुई वर्षपछि विजेता खेलाडीहरूले पुरस्कार पाएका छन् ।

साढे दुई वर्षअघि शीतकालीन ओलम्पिकमा आफूले जितेको पदक अमेरिकी र जापानी फिगर स्केटिङ खेलाडीले पेरिस गृष्मकालीन ओलम्पिकमा पाएका छन् ।

सन् २०२२ को शीतकालीन ओलम्पिकको टिम स्पर्धामा रुसले स्वर्ण, अमेरिकाले रजत र जापानले कांस्य पदक जितेका थिए । तर, रसियन टोलीकी एक खेलाडी डोपिङ परीक्षणमा असफल भइन् ।

त्यो विवाद लामो समयसम्म चल्यो । अन्ततः रसियन टोलीकी खेलाडी कामिला भालिभा चार वर्षको प्रतिबन्धनमा परिन् । त्यसपछि अमेरिकी र जापानी खेलाडीले पदकमाथि पुनः विचार गर्न उजुरी हाले ।

उजुरीका आधारमा रुस स्वर्णबाट कांस्य पदकमा झर्न पुग्यो । अमेरिकाले स्वर्ण र जापानले रजत पदक पाउने भए । सोही पदक अहिले पेरिस ओलम्पिकमा सम्बन्धित खेलाडीलाई प्रदान गरिएको हो ।

साढे दुई वर्षअघि सम्पन्न शीतकालीन ओलम्पिकमा आफूले जितेको पदक लिन अमेरिकी र जापानी खेलाडी पेरिस पुगेका थिए । विशेष समारोहबिच अमेरिकी र जापानी खेलाडीलाई पदक प्रदान गरियो ।

स्वर्णबाट कांस्यमा झरेको रुसका खेलाडी भने पदक लिन पेरिसमा उपस्थिति थिएनन् । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले रुसलाई पेरिस ओलम्पिकमा भाग लिन प्रतिबन्ध लगाएको छ ।

युक्रेनमाथि अनावश्यक हस्तक्षेप गरेको भन्दै आईसीसीले रुसलाई ओलम्पिकमा भाग लिनबाट प्रतिबन्ध लगाएको हो । बेइजिङ शीतकालीन ओलम्पिकको फिगर स्केटिङमा क्यानडा चौथो भएको थियो ।

तर, क्यानडाले कांस्य पदक आफूले पाउनु पर्ने भनेर दाबी गरेको थिएन । कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्टसले गत जनवरीमा १८ वर्षीया रुसी खेलाडी भालिभामाथि चार वर्षको प्रतिबन्ध लगाएको थियो ।

‘अन्ततः हामीले न्याय पाएका छौँ । साढे दुई वर्षपछि भए पनि हामीले आफ्नो अधिकार प्राप्त गरेका छौँ,’ स्वर्ण पदक हात पारेपछि उत्साही देखिएकी अमेरिकी खेलाडी म्याडिसन चोकको कथन छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप