मङ्गलबार, २३ पुस २०८१
ताजा लोकप्रिय

जसपा नेपाल केन्द्रीय समिति बैठक : जनपरिचालनका लागि प्रशिक्षण दिइने

बिहीबार, २४ साउन २०८१, १४ : २५
बिहीबार, २४ साउन २०८१

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)नेपालले केन्द्रीय समिति बैठक बोलाएको छ । 

साउन २७ गतदेखि ३० गतेसम्म चल्ने उक्त बैठकलाई प्रशिक्षणमूलक बनाउने तयारी भइरहेको कार्यकारिणी सदस्य मनिष सुमनले बताए । 

जेठ २८ देखि ३० गतेसम्म जनकपुरमा पार्टीको महाधिवेशन सम्पन्न भएको थियो । सो महाधिवेशनले केन्द्रीय समिति चयन गर्ने जिम्मेवारी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई दिएको थियो । अध्यक्ष यादवले असार २७ गते नौ जना कार्यकारिणी सदस्यसहित २१५ सदस्यीय केन्द्रीय समितिको घोषणा गरे । 

सोही २१५ सदस्यीय केन्द्रीय समितिको बैठक साउन २७ गतेदेखि सुरु हुन लागेको हो । २७ गते पहिलो दिन केन्द्रीय सदस्यहरूको परिचय तथा शपथग्रहण कार्यक्रम हुनेछ भने सोही दिन अध्यक्ष उपेन्द्र यादवले आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने बताइएको छ । 

यस्तै साउन २८ र २९ गते यादव र अन्य विज्ञहरूले सम्पूर्ण केन्द्रीय सदस्यहरूलाई प्रशिक्षण दिनेछन् । प्रशिक्षण विभिन्न ६ वटा विषयमा दिइने बताइएको छ ।

जसमा देशको वर्तमान भूराजनीति, वर्तमान अवस्थामा पार्टीको भूमिका, राष्ट्रिय÷जातीय मुक्तिको सवाल, नेपालको सन्दर्भमा समाजवाद, पार्टीको वैचारिक र सैद्धान्तिक अवस्था र संविधान संशोधनको आवश्यकता र औचित्य रहेका छन् । 

प्रशिक्षणको मुख्य उद्देश्य जनपरिचालन नै हो । देशको अवस्था जुन गतिमा अगाडि बढिरहेको छ त्यसलाई मध्यनजर गर्दा आन्दोलनबाहेक अरू कुनै उपाय नदेखिएकाले पनि कार्यकर्ता तयार गर्नका लागि प्रशिक्षण दिन लागेको सो पार्टीका एक जना कार्यकारिणी सदस्यले बताए । 

उनले कांग्रेस र एमाले बिच बनेको गठबन्धनप्रति जनस्तरबाट नै संशय उत्पन्न भएको टिप्पणी गरे । त्यसको बारेमा पनि जसपा नेपालले छलफल गरेर एउटा निष्कर्ष निकाल्ने उनको भनाइ छ । 

साउन २९ गते प्रशिक्षण सकिएपछि त्यही दिनदेखि ३० गतेसम्म राजनीतिक प्रतिवेदनमा छलफल हुने बताइएको छ । बैठक पार्टीको अगामी कार्यदिशा तथा कार्ययोजना तय गर्दै सकिनेछ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप