बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
कलाकारलाई चटारो

‘गाईजात्रा’को तयारीमा दुई दर्जनभन्दा बढी कलाकार

पहिलो पटक आफैँ ‘गाईजात्रा’ कार्यक्रम गर्दै नाचघर
बिहीबार, २४ साउन २०८१, १२ : १२
बिहीबार, २४ साउन २०८१

काठमाडौंँ । ‘गाईजात्रा’ नजिकिँदै गर्दा हाँस्य कलाकारको चटारो बढेको छ । उनीहरू गाईजात्राका लागि डिजिटलदेखि भौतिक कार्यक्रमको तयारीमा व्यस्त छन् ।

‘गाईजात्रा’ मौलिक पर्व हो । कलाकारले यो पर्वलाई मनोरञ्जनात्मक कार्यक्रम गर्ने मञ्चका रूपमा लिने गर्दछन् । उनीहरू वर्षभरिका राजनीतिक, सामाजिक, आर्थिक लगायत हरेक विकृति, विसङ्गतिप्रति खुलेर व्यङ्ग्यको झटारो हान्छन् । गाईजात्रालाई वाक स्वतन्त्रताको रूपमा रुपमा समेत लिइन्छ ।

आगामी भदौ ४ गते गाईजात्रा पर्व परेको छ । यो दिनलाई लक्षित गर्दै केही कलाकारले डिजिटलमा गाईजात्रे कोसेली सार्वजनिक गरिरहेका छन् भने कतिपय कलाकार भौतिक रूपमै कार्यक्रम गर्ने तयारीमा छन् । यतिबेला दुई दर्जनभन्दा बढी कलाकार ‘गाईजात्रा’को तयारीमा छन् ।

दुई समूहमा ‘गाईजात्रा’ कार्यक्रम

भौतिक रूपमा यो वर्ष कलाकार दुई समूहमा ‘गाईजात्रा’ कार्यक्रम गर्ने तयारीमा छन् । एक समूहको ‘गाईजात्रा महोत्सव २०८१’ नाम गरेको कार्यक्रम राष्ट्रिय नाचघरमा आयोजना हुँदैछ भने अर्काे समूहले ‘एकासीको गाईजात्रा’ कार्यक्रम प्रज्ञा भवनमा आयोजना गर्दैछ ।

प्रज्ञा भवनमा आयोजना हुने ‘एकासीको गाईजात्रा’को नेतृत्व वरिष्ठ हाँस्य कलाकार मनोज गजुरेलले गर्दैछन् । यो समूहमा शैलेन्द्र सिंखडा, सुवोध गौतम, साजन श्रेष्ठ, मेक्सम गौडेल, चक्र दवाडी, सीता न्यौपाने, आशिष खनाल, पर्वत लामा, यमन श्रेष्ठलगायत कलाकार छन् ।

‘एकासीको गाईजात्रा’को भव्य तयारीमा पूरै टिम जुटिरहेको कलाकार मनोज गजुरेलले बताए । ‘अहिले हामी कन्टेन्ट लेखनमा जुटिरहेका छौँ’, गजुरेलले भने, ‘भर्खरको सत्ता परिवर्तनदेखि विभिन्न विकृतिसम्म कन्टेन्ट धेरै देखिएको छ । कुनमा काम गर्ने भन्ने कन्फ्युज छ ।’

यो समूहको गाईजात्रा भदौ १ गतेदेखि ७ गतेसम्म चल्नेछ । गत वर्ष यो समूहले ‘८० सालको गाईजात्रा’ गरेको थियो ।

त्यस्तै, नाचघरमा आयोजना हुने ‘गाईजात्रा महोत्सव २०८१’को नेतृत्व कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ले गरेका छन् । उनको टिममा कुञ्जना घिमिरे, सुरेन्द्र केसी, शिवशंकर रिजाल, पल्पसा डंगोल, राजाराजेन्द्र पोखरेल, दिनेश काफ्ले, सन्तोष खनाल, सुयसा खनाल, हिमेश पन्त लगायत छन् । यो टिम पनि अहिले कन्टेन्ट लेखनमै व्यस्त रहेको कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ले बताए ।

‘हाम्रो टिमको सबै कलाकार कन्टेन्ट लेखनमै छन्’, रिजालले भने, ‘अहिलेसम्मकै उत्कृष्ट र फ्रेस कन्टेन्ट दिने हाम्रो सोच छ ।’

यही समूहका कलाकार दिनेश काफ्ले पनि कार्यक्रमको तयारीमा जुटिसकेको बताउँछन् । ‘म त केही दिनदेखि गाईजात्राको तयारीमा छु’, काफ्लेले भने, ‘राजनीतिकदेखि सामाजिक विषयसम्म मेरो कन्टेन्ट रहनेछ ।’

यो समूहको कार्यक्रम भदौ ३ देखि १० गतेसम्म चल्नेछ ।

डिजिटलमा कति ?

‘गाईजात्रा’ कार्यक्रम भन्नासाथ दर्शकलाई प्रज्ञा भवन र सभागृहको याद आउँछ । एक समय यी दुवै स्थानमा गाईजात्रा कार्यक्रम आयोजना हुन्थ्यो । दर्शक महिना दिनसम्म पेट मिचिमिची हाँस्थे । कोरोनाको कहरमा यो हटेर डिजिटलमाध्यमबाट कार्यक्रम देखाउन थालियो ।

विशेष गरेर डिजिटलमा मनोज गजुरेल, शैलेन्द्र सिंखडा, जीतु नेपाल, कमल गाउँले, शिवशंकर रिजाल ‘जोगिन्दर’, दिनेश काफ्लेलगायतका कलाकारले गाईजात्रा कार्यक्रम ल्याउँथे । अहिले त्यो क्रम फेरि सेलाएको छ ।

यस वर्ष अहिलेसम्म हाँस्यकलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ले डिजिटलमा गाईजात्रा ल्याइसकेका छन् भने कमल गाउँले र शैलेन्द्र सिंखडाले ल्याउने तयारी गरिरहेका छन् ।

रिजालको गाईजात्रा ‘ठग–ठाग कोसेली’ केही दिन पहिले सार्वजनिक भएको हो । राजनीतिकदेखि ग्ल्यामर दुनियाँसम्मलाई व्यङ्ग्य गरिएको ‘ठग–ठाग कोसेली’ रिजालले आफ्नै लेखन, निर्देशन, प्रस्तुतिमा ल्याएका हुन् । जसमा राधिका हमाल, गोपाल ढकाल ‘छन्दे’, दिनेश काफ्ले, सुरेश तिमिल्सेना, शिला उप्रेती, शिवराम कार्की, सोनम शेर्पा, बिजेन्द्र नौबागे, धिरेन्द्र सिंह, साबित्री लामिछाने, पोसना श्रेष्ठ, बेदमणि अधिकारी र प्रेम शर्मा पौडेलसम्मको अभिनय छ । रिजालको डिजिटलमा यो २२ औँ कोसेली हो ।

त्यस्तै, कमल गाउँले ‘भिषण ८४’ नाम डिजिटल गाईजात्रा सार्वजनिक गर्ने तयारीमा छन् । पछिल्लो समयको सरकार परिवर्तन, हिरो बालेन र समसामयिक विषय समेटेर उनले ‘भिषण ८४’ ल्याउन लागेका छन् । विगत २४ वर्षदेखि गाउँलेको नियमित गाईजात्रे कोसेली आइरहेको छ । आफूले ल्याउन लागेको कमेडीमा प्यारोडी गीतसहित सबै विषय समेटिएको गाउँलेले बताए ।

शैलेन्द्र सिंखडाले पनि डिजिटलमा यो पटक ‘यसपालीको सिकार ¥याले, रेले र बन्दुके’ नामक प्रस्तुति ल्याउँदैछन् । साउन २६ मा सार्वजनिक हुने यो जाईजात्रा सिंखडाको २६औँ कोसेली हो । भर्खर परिवर्तन भएको सरकारका अलावा विभिन्न राष्ट्रिय मुद्दा आफ्नो गाईजात्रामा झटारो बनेको सिंखडाले बताए ।

पहिलो पटक ‘गाईजात्रा’ कार्यक्रम गर्दै नाचघर

‘गाईजात्रा’ कार्यक्रम अक्सर कलाकार र अन्य निजी संघसंस्थाले आयोजना गर्दै आएका छन् । यो पटक राष्ट्रिय नाचघर आफैँले कार्यक्रम गर्दैछ । कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ समूहको कार्यक्रम नाचघरकै आयोजना हो । नाचघरकै इतिहासमा आफैँले यस्तो कार्यक्रम आयोजना गरेको यो पहिलो पटक हो ।

संस्कृति सम्बन्धी नेपाल सरकारको आधिकारिक निकाय नाचघर (सांस्कृतिक संस्था) हो । संस्थाको मूलमर्म अनुसार सबै कुरो समेटिनुपर्छ भनेर संस्थाले यो पटकबाट ‘गाईजात्रा’ कार्यक्रम गर्न लागेको नाचघरका महाप्रबन्धक किरणबाबु पुनले बताए ।

kiran babu pun

‘संस्कृति भनेको सामान्य रूपमा नाचगान भन्नेमात्र बुझिन्छ’, पुनले भने, ‘यसमा सबै जातजातिको जन्मदेखि मृत्युसम्मका क्रियाकलाप, चाडपर्व, भेषभुषा पर्छ ।’

सबैलाई सामूहिक रुपमा प्रस्तुत गर्नुपर्छ भन्ने योजना अनुसार कार्यक्रम हुन लागेको उनले सुनाए । ‘नेपाल सरकारले चाडपर्वको रूपमा क्यालेन्डर बनाएको र आफूलाई पनि यो संस्कृतिको जगेर्ना गर्नुपर्छ भनेर लागेकाले कार्यक्रम गर्न लागेका हौँ,’ पुनले थपे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप