बिहीबार, ०६ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सिर्जनात्मक विघटन र आर्थिक रूपान्तरण

बिहीबार, २४ साउन २०८१, १० : ४३
बिहीबार, २४ साउन २०८१

सिर्जनात्मक विघटनको सिद्धान्तको प्रतिपादन २०औँ शताब्दीका प्रख्यात अस्ट्रियन मूलका अमेरिकी अर्थशास्त्री जोसेफ सम्पेटरले सन् १९४२ मा प्रकाशित आफ्नो पुस्तक ‘क्यापिटालिजम्, सोसियलिजम् एन्ड डेमोक्रेसी’द्वारा गरेका हुन् । 

पुस्तकमा सम्पेटरले क्यापिटालिजम्का बारेमा विश्लेषण गर्दै पुँजीवादलाई नवप्रवद्र्धन र आर्थिक वृद्धिको प्रमुख शक्ति मानेका छन् । नयाँ प्रविधि र उद्यमशीलताले पुँजीवादी अर्थ–व्यवस्थालाई परिवर्तन, विकास र जीवन्तता प्रदान गरेको ठान्छन् । 

सोसियलिजम्का बारेमा व्याख्या गर्दै उनले उनले भनेका छन्– आर्थिक प्रणालीका साथै सामाजिक र राजनीतिक प्रणालीको परिवर्तनको परिणाम नै समाजवादी अर्थ–व्यवस्था हो । जसको जन्म पुँजीवादको अन्त्यपछि हुनेछ ।

त्यसैगरी प्रजातन्त्रलाई उनले नेताहरूको राजनीतिक प्रतिस्पर्धा गर्ने प्रणालीका रूपमा व्याख्या गरेका छन् । उनका अनुसार, प्रजातान्त्रिक प्रणालीमार्फत जनताले आफ्ना प्रतिनिधि छान्ने अवसर पाउँछन् । जसले समाजको नेतृत्व र निर्णयलाई निरन्तर परिवर्तन गर्न सहयोग पुर्‍याउँछ । सारांशमा प्रविधिमा नयाँपनको सिर्जना र पुरानोको अवसान हुन्छ भन्ने आर्थिक रूपान्तरणको सिद्धान्त नै सिर्जनात्मक विघटन हो । यो सिद्धान्तले आर्थिक विकास निरन्तर प्रविधिजन्य परिवर्तनको प्रक्रियाबाट हुन्छ भन्ने मान्यता राख्छ । पुराना उद्योग, प्रविधि, संरचना, बजार तथा आर्थिक सम्बन्ध नष्ट हुन्छन् वा नयाँ उद्योग, प्रविधि, संरचना तथा आर्थिक सम्बन्धले तिनीहरूलाई प्रतिस्थापन गर्छन् भन्ने सम्पेटरको सिद्धान्तले व्यवसायीलाई बढी महत्त्व दिएको छ । यसले खासगरी तीनवटा पक्षलाई विशेष जोड दिएको पाइन्छ । 

१) नवप्रवद्र्धन : सिर्जनात्मक विघटनको सिद्धान्त मूलतः आर्थिक विकाससँग सम्बन्धित भएकाले नयाँ प्रविधिमा आधारित उत्पादन, व्यापारका मोडल, वितरण प्रणाली र बजार संरचनाको भूमिका हुनुपर्छ । 

२) विघटन : पुराना प्रविधि, संरचना, उत्पादन, वितरण र बजारहरूको विघटन हुनुपर्छ । 

३) पुनर्निर्माण : पुराना उत्पादन प्रणाली, प्रविधि संरचना तथा आर्थिक सम्बन्धहरूको पुनर्संरचना वा पुनर्निर्माण हुनुपर्छ । आर्थिक विकास भनेको नवप्रवद्र्धन, विघटन र पुनर्निर्माणको संयोजनको प्रक्रिया हो । जसअन्तर्गत नष्ट गर्नु पर्नेलाई नष्ट गर्ने, संरक्षण गर्नुपर्नेलाई संरक्षण गर्ने र सिर्जना गर्नुपर्नेलाई सिर्जना गर्नेजस्ता कार्य गरिन्छ । 

सिर्जनात्मक विघटनको यो प्रक्रियाले आर्थिक विकास र सामाजिक रूपान्तरणमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ । २०औँ शताब्दीमा प्रतिपादित यो सिद्धान्त २१औँ शताब्दीमा झनै पुष्टिहुँदै गएको छ । सूचना र प्रविधि, नविकरणीय ऊर्जा, हरित वा डिजिटल अर्थतन्त्र, परम्परागत उद्योग र व्यापारजस्ता जुनसुकै क्षेत्रमा सिर्जनात्मक विघटनको प्रयोग टड्कारो रूपमा भएको पुष्टि हूँदै गएको छ । 

यो सिद्धान्तले देहायका क्षेत्रमा महत्त्वपूर्ण प्रभाव पारेको पाइन्छ : 

१) अर्थतन्त्रमा नवीन परिवर्तन : सिर्जनात्मक विघटनले पुराना, परम्परागत तथा भद्दा उद्योगहरूलाई प्रतिस्थापन गर्दै नयाँ, आधुनिक, प्रतिस्पर्धी र कुशल उद्योगहरूको स्थापना गरेको छ । यसले उपभोक्ताहरूमा विकल्पको छनोट बढाएको छ । अन्तर्राष्ट्रिय व्यापारमा वृद्धि भएको छ । कुल उत्पादन बढाएको छ । मुलुकको दीर्घकालीन आर्थिक वृद्धिलाई प्रोत्साहित गरेको छ । 

२) नवीन प्रविधिको विकास : सिर्जनात्मक विघटनले नवीन प्रविधिमा गुणात्मक फड्को मारेको छ । सूचना र प्रविधिका क्षेत्रमा आज दुनियाँ एआईको युगमा छ । स्वचालनको विकास होइन, नियन्त्रण गर्दै जानुपर्ने अवस्था सिर्जनाहुँदै गएको छ । ऊर्जाको क्षेत्र वायु र सौर्य ऊर्जाको विकासतर्फ उन्मुख छ । व्यापारका क्षेत्रमा ई–कमर्सको विकास भएको छ । सरकारी क्षेत्रमा ई–गभर्नेन्स । अर्थतन्त्रको क्षेत्रमा डिजिटल इकोनोमी विकासहुँदै गएको छ । यसरी नवप्रवद्र्धनले आर्थिक रूपान्तरणका साथै समाज रूपान्तरणमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ । 

३) रोजगारीमा वृद्धि : सिर्जनात्मक विघटनले सूचना प्रविधि, वाणिज्य, व्यापार, औद्योगिकीकरण लगायत सम्पूर्ण क्षेत्रमा आमूल परिवर्तन ल्याउने हुँदा पर्याप्त र दक्ष जनशक्तिको रोजगारीको सिर्जना हुन्छ । जसले मुलुकको बेरोजगारी समस्यालाई क्रमशः हल गर्दै लैजान्छ । 

४) संरचनागत परिवर्तन : सिर्जनात्मक विघटनले सिंगो आर्थिक क्षेत्रको रूपान्तरण र पुनर्गठन गर्ने भएकोहुँदा पुराना उद्योग–धन्दा र उत्पादन प्रक्रियाको स्वतः विघटन हुन पुग्छ । त्यसको स्थानमा नयाँ र आधुनिक उद्योगको विकास हुन्छ । जसले सन्तुलित समाजको विकास गर्न र आर्थिक अवसरको पुनर्वितरण गर्न महत्त्वपूर्ण योगदान गर्छ । 

  • आर्थिक रूपान्तरण

कुनै पनि देशको आर्थिक प्रणालीमा हुने गुणात्मक परिवर्तन नै आर्थिक रूपान्तरण हो, जसले मुलुकको आर्थिक नीतिहरू, संरचना र विकासमा ठुलो परिवर्तन ल्याउँछ । दीर्घकालीन आर्थिक विकासको ठोस मार्गचित्र प्रदान गर्छ । परिणामस्वरूप कृत्रिम बौद्धिकतामा आधारित औद्योगिकीकरण हुने, रोजगारीको थप अवसर सिर्जना हुने, राजस्वमा वृद्धि हुने, जीवनस्तरमा सुधार हुने तथा मुलुकको आर्थिक कूटनीति र व्यापारमा सफलता हासिल गर्दै मुलुकले आर्थिक स्थायित्व र समृद्धि हासिल गर्छ । 

  • आर्थिक रूपान्तरण हासिल गर्ने केही उपाय 

१) नीतिगत सुधार : आर्थिक रूपान्तरणका लागि सर्वप्रथम नीतिगत सुधार गर्नुपर्छ । व्यापार, वाणिज्य, उद्योग–धन्दा तथा करनीतिमा समसामयिक सुधार गर्नुपर्छ । त्यसको दीर्घकालीन मार्गदर्शन मुलुकको वित्तीय र मौद्रिक नीतिले गर्नुपर्छ । एकद्वार औद्योगिक नीति व्यवहारमा अवलम्बन गर्ने, झन्झटिलो र घुमाउरो प्रणालीको अन्त्य गर्ने, विदेशी लगानीमैत्री नीतिहरूको अवलम्बन गर्ने, कर प्रणालीमा नीतिगत सुधार गरी सरल र पारदर्शी बनाउनुका साथै करका दर बढाउनुको सट्टा करको दायरालाई बढाउने, आयात निर्यात प्रणालीलाई सरल बनाउनेजस्ता क्षेत्रमा नीतिगत सुधार गर्नुपर्छ । 

२) संरचनागत सुधार : चुस्त संरचनाले एकातर्फ छिटो प्रतिफल दिन्छ भने अर्कातर्फ लागत घटाउँछ । तसर्थ कार्यात्मक ढंगले संरचनागत सुधार गर्नुपर्छ । कृषि, उद्योग, सेवाजस्ता क्षेत्रहरूको थप व्यावसायीकरण गर्दै लैजानुपर्छ । जसले रोजगारी र राजस्वमा वृद्धि ल्याउनुका साथै आर्थिक विविधीकरण ल्याउँछ । जसका लागि यातायात, ऊर्जा, जलस्रोत संरचनाजस्ता क्षेत्रहरूको भौतिक पूर्वाधारमा विकास गर्नुपर्छ । 

३) मानव संसाधनको विकास : व्यवस्थापनको प्रमुख सिद्धान्त नै ‘म्यान फस्र्ट’ भएकोहुँदा व्यवस्थापक तथा कामदारलाई गुणस्तरीय तालिम र शिक्षा प्रदान गरी दक्ष जनशक्ति विकास गर्ने स्वास्थ्य, सुरक्षा, आवासजस्ता थप उत्प्रेरणात्मक सुविधा उपलब्ध गराउँदै स्वशासित र स्वउत्प्रेरित जनशक्तिको विकास गर्नुपर्छ । 

४) वित्तीय सुधार : बैंकिङ प्रणालीको समसामयिक सुधार गर्दै ऋण लिने वा दिने र ब्याज दरलाई सरल र पारदर्शी बनाइनुपर्छ । वित्तीय समावेशीकरणलाई प्रवद्र्धन गरिनुपर्छ । 

५) नवप्रवद्र्धनको विकास र हस्तान्तरण : आजको प्रतिस्पर्धा प्रविधिबिचको प्रतिस्पर्धा पनि हो । उन्नत प्रविधिको विकासले उत्पादनशीलता र प्रतिस्पर्धामा वृद्धि गर्छ । यसका लागि अनुसन्धान र अन्वेषणमा लगानी वृद्धि गर्नुका साथै प्रविधि हस्तान्तरण प्रक्रियालाई जोड दिनुपर्छ । 

६) सामाजिक सुधार : यसअन्तर्गत मूलतः सामाजिक सुरक्षा कार्यक्रम र समावेशीजस्ता कार्यक्रम पर्छन् । समाजका विपन्न, अशक्त, असहाय, वृद्ध, अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरी सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गर्नुपर्छ । जसले समाजमा स्थिरता र सद्भाव कायम गर्छ । दलित, महिला, विपन्न तथा पिछडिएका वर्गलाई आर्थिक क्रियाकलापको मूल प्रवाहमा सहभागी गराउनुपर्छ । यस्ता कार्यक्रमले समतामूलक समाजको निर्माण गर्न मद्दत गर्छ । 

७) पर्यावरणीय सुरक्षा  : आर्थिक विकासलाई पर्यावरणीयमैत्री बनाउनुपर्छ । पर्यावरण कहालीलाग्दो अन्तर्राष्ट्रिय समस्या बन्दै गएको छ । यसका लागि नवीकरणीय ऊर्जाको विकासमा जोड दिने र पर्यावरण संरक्षणलाई हरेक क्रियाकलापमा क्रस कटिङ इस्युको रूपमा समावेश गर्नुपर्छ । 

८)  सुशासन : सुशासन भन्नाले मूलतः सार्वजनिक प्रशासनमा पारदर्शिता, जवाफदेहिता, उत्तरदायित्व सुनिश्चितता र भ्रष्टाचार न्यूनीकरण गर्नुलाई जनाउँछ । यसका लागि सरकारले शून्य सहनशीलता अपनाउनुपर्छ । 

यसरी सिर्जनात्मक विघटनको सिद्धान्तले आर्थिक रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । नयाँ प्रविधि र आविष्कारले पुराना प्रविधि र यन्त्र उपकरणलाई विस्थापित गर्दै लैजान्छ । उद्यमशीलतालाई प्रोत्साहित गरी पुराना उद्योग र व्यवसायका ठाउँमा नयाँ उद्योग र व्यवसायले लिन्छ । प्रतिस्पर्धामा वृद्धि हुनुको साथै बृहत् उत्पादनका कारणले उपभोक्तालाई छनोटको अवसर प्राप्त हुनुका साथै सस्तो र गुणस्तरीय वस्तु उपलब्ध हुन्छ ।

नवप्रवद्र्धनले उद्योग र सेवाको क्षेत्रमा परिवर्तन ल्याउने भएकाले रोजगारी र राजस्वमा वृद्धि हुन गई समग्र अर्थतन्त्रको उत्पादकत्व बढाउँछ । सम्पेटरले यो दृष्टिकोणबाट पुँजीवाद र समाजवादको समेत विवेचना गरेका छन् । 

उनका अनुसार पुँजीवादमा लचकदार र सिर्जनशील गुण भएका कारण रूपान्तरण हुन्छ र दीर्घजीवन हासिल गर्र्छ । जतिपटक धक्का खाएको छ, त्यसपछि यही गुणका कारणले झनै हराभराहुँदै आएको छ, तर समाजवादमा यस्तो गुण नभएका कारण धक्का खाना साथ समाप्त वा विघटन भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

केशव खतिवडा
केशव खतिवडा
लेखकबाट थप