बुधबार, ०२ माघ २०८१
ताजा लोकप्रिय

पेरिस ओलम्पिक : फाइनलमा पुगेर अयोग्य घोषित भएपछि खेल जीवनबाट सन्न्यास

बिहीबार, २४ साउन २०८१, १० : ०७
बिहीबार, २४ साउन २०८१

काठमाडौँ । पेरिसमा जारी ३३औँ गृष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगितामा महिला कुस्तीको फाइनलमा पुगेर अयोग्य घोषित भएकी भारतीय खेलाडी विनेश फोगाटले सक्रिय खेल जीवनबाट सन्न्यास लिएको घोषणा गरेकी छन् ।

विनेश फोगाट पेरिस ओलम्पिकमा महिला फ्रिस्टायल ५० केजी तौल समूहको फाइनलमा पुगेकी थिइन् । तर, फाइनल खेल हुनुअघि नै नाटकीय रूपमा उनी अयोग्य घोषित भएकी थिइन् । त्यसपछि २९ वर्षीय विनेशले निश्चित भइसकेको रजत पदक पनि गुमाउनु परेको थियो ।

उनले सेमिफाइनल खेलमा क्युबाकी प्रतिद्वन्द्वी युस्निलिज गुजम्यानलाई ५–० ले पराजित गरेकी थिइन् । फाइनलमा उनले अमेरिकाकी सराह हिल्डब्रान्टसँग भिडन्त गर्नुपर्ने थियो । तर, फाइनलअघि तौल जोख्दा उनको वजन निर्धारित गरिएभन्दा एक सय ग्राम बढी पाइएको थियो ।

सोही कारणले उनी फाइनल खेल्न अयोग्य घोषित भएकी थिइन् । उनी अयोग्य घोषित भएपछि उक्त स्पर्धाको स्वर्ण पदक स्वतः अमेरिकी खेलाडी सराहको पोल्टामा परेको थियो । विनेश ओलम्पिकमा महिला कुस्तीको फाइनलमा पुग्ने पहिलो भारतीय खेलाडी बनेकी थिइन् ।

फाइनलमा पुगेर अयोग्य घोषित भएपछि उनी बिरामी परेकी थिइन् र उनलाई अस्पताल भर्ना गरिएको थियो । त्यसको एक दिनपछि नै उनले सक्रिय खेल जीवनबाट सन्न्यास लिएको घोषणा गरेकी हुन् । तर, उनले आफू अयोग्य घोषित भएको विषयमा भने केही बोलेकी छैनन् ।

‘अन्ततः म कुस्तीसँग पराजित भएँ । मलाई माफ गर्नु होला । तपाईँहरूको सपनासँगै मेरो हिम्मत पनि टुटिसकेको छ । मसँग अब योभन्दा बढी सहने क्षमता पनि छैन । त्यसैले मैले सक्रिय खेल जीवनबाट बिदा लिने निर्णय गरेकी छु,’ सामाजिक सञ्जाल एक्स (पूर्वट्वीटर)मार्फत उनले भनेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप