बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
शिक्षा

कक्षा १२ को नतिजा नआउँदै चिकित्सा शिक्षाको प्रवेश परीक्षाको आवेदनले समस्या

बिहीबार, २४ साउन २०८१, ०७ : ३२
बिहीबार, २४ साउन २०८१

काठमाडौँ । कक्षा १२ को परीक्षामा ‘एनजी’ (नन ग्रेडेड) आएका विद्यार्थीहरू चिकित्सा शिक्षा आयोगले लिने एकीकृत प्रवेश परीक्षाबाट वञ्चित हुने देखिएको छ । कक्षा १२ को नतिजा सार्वजनिक हुनुअघि नै आवेदन दिएका तर, नतिजा ‘एनजी’ आएका विद्यार्थीहरू एकीकृत प्रवेश परीक्षाबाट वञ्चित हुने भएका हुन् ।

आयोगले भदौं १ गतेदेखि प्रवेश परीक्षा गर्दैछ । तर, कक्षा १२ को नतिजामा ‘एनजी’ आएका विद्यार्थीले उक्त परीक्षा दिन नपाउने आयोगले जनाएको छ । आयोगले गत जेठ २८ गते सूचना जारी गरेर एकीकृत प्रवेश परीक्षाका लागि आवेदन आह्वान गरेको थियो, जसमा ५१ हजार ७०० भन्दा बढी विद्यार्थीले आवेदन फाराम भरेका छन् ।

तर, राष्ट्रिय परीक्षा बोर्डले साउन १८ गते कक्षा १२ को नतिजा सार्वजनिक गरेपछि एनजी आएका विद्यार्थी समस्या पर्ने देखिएका हुन् । एकातिर उनीहरू आयोगले लिने परीक्षामा सहभागी हुन पाउने छैनन् भने अर्कोतर्फ फारम भर्दा बुझाएको दस्तुर पनि खेर जाने देखिएको छ ।

कक्षा १२ को नतिजा अनुसार दुई विषयमा ‘एनजी’ आएका एक लाख २७ हजार विद्यार्थी छन् । पुनर्योग (रिटोटलिङ) का लागि आवेदन आह्वान गरेको तीन दिनको अवधिमा १७ हजार विद्यार्थीले आवेदन दिनएको बोर्डले जनाएको छ ।

पुनर्याेगको नतिजा समयमै आएन भने परीक्षा दिनबाट वञ्चित हुने भएपछि विद्यार्थी चिन्तित छन् । उनीहरूले आयोगको परीक्षा दिने वातावरण नमिले पैसा फिर्ता गर्नुपर्ने बताएका छन् । तर, आयोगले आवेदन आह्वान गर्ने बेलामै पछि आवेदन शुल्क फिर्ता नगर्ने उल्लेख गरेको थियो ।

तर, रिटोटलिङको नतिजा नआइ आयोगको प्रवेश परीक्षा हुने देखिएपछि विद्यार्थी आत्तिएका छन् । ‘पुनर्योगको लागि आवेदन दिएका छौँ । भदौ १ गतेदेखि एकीकृत प्रवेश परीक्षा छ । त्यसअघि नै पुनर्योगको नतिजा आउँदैन कि भन्ने डर छ,’ एकीकृत प्रवेश परीक्षाका लागि फारम भरेका एक विद्यार्थीले भने ।

पुनर्याेगको नतिजा समयमै आएन भने परीक्षा दिनबाट वञ्चित हुने भएपछि विद्यार्थी चिन्तित छन् । उनीहरूले आयोगको परीक्षा दिने वातावरण नमिले पैसा फिर्ता गर्नुपर्ने बताएका छन् । तर, आयोगले आवेदन आह्वान गर्ने बेलामै पछि आवेदन शुल्क फिर्ता नगर्ने उल्लेख गरेको थियो ।

पुनर्योगको आवेदन दिएका विद्यार्थीहरूले आयोग र बोर्डको ध्यानाकर्षण गराएका छन् । आयोगले एक विषयका लागि आवेदन दिँँदा नेपाली विद्यार्थीको हकमा चार हजार रूपैयाँ शुल्क र विदेशी विद्यार्थीको हकमा आठ हजार शुल्क तोकेको थियो ।

आयोगले प्रवेश परीक्षाका लागि आवेदन दिँदा न्यूनतम २.४ जीपीए र कक्षा १२ उत्तीर्ण गरेको हुनुपर्ने उल्लेख थियो । एनजी आएका विद्यार्थीहरूको हकमा परीक्षामा सहभागी गराउन नसकिने आयोगले जनाएको छ ।

केही विद्यार्थीले पुनर्योगका लागि आवेदन दिएकाले त्यस विषयमा आयोग र बोर्डबिच छलफल भएको आयोगका सदस्य–सचिव कृष्ण काप्रीले बताए । ‘हाम्रो लागि पनि यो पहिलो सिकाइ हो । नतिजा अगावै आवेदन फाराम आह्वान गरेका थियौँ । अहिले पुनर्याेग गर्ने विद्यार्थीको हकमा समस्या हुन्छ कि भन्ने छ । यसमा बोर्डसँग छलफल गरेका छौँ,’ उनले भने ।

बोर्डको कक्षा १२ का परीक्षा नियन्त्रक कृष्ण शर्माले विद्यार्थीहरूका समस्याबारे बोर्ड जानकार रहेको बताए । आयोगले यसरी नतिजा नआइकनै आवेदन आह्वान गर्नु गलत भएको उनको भनाइ छ ।

बोर्डले ग्रेड वृद्धि परीक्षा भदौ २५ र २६ गतेका लागि तोकेको छ । बोर्डले भदौ १ गतेसम्म त पुनर्योगका लागि आवेदन दिने समय तोकेको छ । त्यही बेलाबाट आयोगको परीक्षा सुरू हुनेछ । पुनर्योगको नतिजा चाँडै आए आफूहरूले परीक्षा दिन पाउने विद्यार्थीको भनाइ छ ।

‘रिजल्ट नै नआइ आवेदन आह्वान गर्नु नै गलत हो । हामीसँग कमसे कम समन्वय गरेको भए हुन्थ्यो । अहिले आएर हामीलाई चाँडो नतिजा निकाल्नुप¥यो भनेर हुँदैन,’ शर्माले भने ।  

बायोलोजी अन्तर्गत दुई हजार ७०० को हाराहारीमा विद्यार्थीहरूको ‘एनजी’ आएको छ । ती विद्यार्थीले नै आयोगको एकीकृत प्रवेश परीक्षाका लागि आवेदन दिन पाउँछन् । तर, उनीहरूको नै ‘एनजी’ आएपछि के गर्ने भन्ने विषयमा आयोगसँग छलफल गरिने शर्माले बताए ।

बोर्डले ग्रेड वृद्धि परीक्षा भदौ २५ र २६ गतेका लागि तोकेको छ । बोर्डले भदौ १ गतेसम्म त पुनर्योगका लागि आवेदन दिने समय तोकेको छ । त्यही बेलाबाट आयोगको परीक्षा सुरू हुनेछ । पुनर्योगको नतिजा चाँडै आए आफूहरूले परीक्षा दिन पाउने विद्यार्थीको भनाइ छ ।

बोर्डले भदौ १ गतेभित्र पुनर्योगको नतिजा निकाल्न सम्भव नहुने बताएको छ । त्यस्तै एनजीको नतिजा सार्वजनिक गर्न कम्तीमा एक महिना लाग्छ । तर, आयोगले बोर्डसँग समन्वय नै नगरी परीक्षाका लागि आवेदन आह्वान गर्नुका साथै परीक्षासमेत गर्न लागेको हो । जसका कारण बोर्डका अधिकारीहरू आयोगसँग रुष्ट बनेका छन् ।

‘शुल्कको विषयमा पछि निर्णय हुन्छ’

आवेदन दिएका कतिपय विद्यार्थीको फिजिक्स, बायोलोजीजस्ता विषयमा राम्रै नतिजा आए पनि अन्य विषयमा एनजी आएपछि पुनर्योगका लागि आवेदन दिन थालेका छन् । त्यसको नतिजा नआउँदै प्रवेश परीक्षा हुनेछ । जसले गर्दा विद्यार्थीहरूले तिरेको शुल्क खेर जाने देखिएको छ ।

आयोगले भने आवेदन आह्वान गर्दा नै शुल्क फिर्ता नहुने भन्दै सूचना जारी गरेको थियो । तर, अहिले एनजीका कारण परीक्षा नै दिन नपाएका विद्यार्थीको हकमा के गर्ने भन्ने विषयमा आयोगले पछि छलफल गर्नेछ । सदस्यसचिव काप्रीले एनजीका कारण परीक्षा नै दिन नपाउने विद्यार्थीहरूको शुल्क फिर्ता गर्ने भन्ने अहिलेसम्म कुनै निर्णय नभएको बताए । तर, यसबारे अध्ययन गरेर पछि शुल्क फिर्ता गर्न सकिने उनको भनाइ छ ।

‘यो हाम्रो लागि पनि पहिलो सिकाइ हो । फारम भरेका तर, एनजी आएर पुनर्योगका लागि आवेदन दिएकाहरूलाई प्राथमिकतामा राखिदिन बोर्डसँग भनेका छौँ,’ काप्रीले भने, ‘उहाँहरूले त्यस्ता आवेदनहरूलाई प्राथमिकतामा राखेर नतिजा चाँडै निकालिदियो भने साउन अन्तिमसम्म पनि अवसर पाउनुहुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप