बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

‘नम्बरी सुन’ले सुन व्यवसायीको कथा भन्छ – गौरव

बिहीबार, २४ साउन २०८१, ०७ : २६
बिहीबार, २४ साउन २०८१

काठमाडौँ । अभिनेता गौरव पहारीले फिल्म ‘नम्बरी सुन’ आफ्नो अभिनय करियरको लागि महत्त्वपूर्ण साबित हुने बताए । फिल्मको कथा अहिलेसम्म बजारमा आएका भन्दा निकै फरक भएकोले दर्शकका लागि नयाँ स्वाद हुने समेत उनको धारणा छ ।

‘अहिले त टोल टोलमा सुन पसल छ । पहिले त गाउँ डुल्दै गाउँका मुखियाहरू कहाँ महिनौँ बिताएर सुन बनाउनुपर्थ्यो’, गौरवले भने ‘त्यही सुन बनाउने व्यक्तिको कथामा फिल्म बनेको हो ।’ फिल्मको कथा पहिलेका केही पुस्तालाई थाहा भएपनि नयाँ पुस्ताका लागि नौलो हुने उनको दाबी छ ।

फिल्मी करियरमा गौरवले कमेडी, प्रेमकथा, एक्सन, राष्ट्र प्रेमजस्ता फरक फरक फ्लेभरका धेरै फिल्म अभिनय गरिसकेका छन् । तर ‘नम्बरी सुन’को जस्तो कथामा आफूले पहिलो पटक काम गरेको उनले बताए ।

शुक्रबारबाट रिलिज हुने फिल्ममा उनको जोडीको रूपमा अभिनेत्री नम्रता सापकोटा छिन् । नम्रता र उनको प्रेमकथा समेत फिल्ममा देख्न सकिन्छ । ‘फिल्ममा मैले तल्लो वर्गको प्रतिनिधित्व गरेको छु । जसको प्रेम माथिल्लो वर्ग मुखियाकी छोरीसँग हुन्छ’, गौरव भन्छन् ‘हाम्रो प्रेमको उतारचढापमा दर्शक रमाउन हाँस्छन् र रुन्छन् ।’

कलाकारले आज एउटा फिल्ममा एक र भोली अर्को फिल्ममा अर्को चरित्र निभाउनु पर्छ । चरित्र परिवर्तन गरिरहँदा  केही अप्ठ्यारो त हुन्छ होला । चरित्र परिवर्तनले आफूले धेरै जीवन बाच्न पाउने गरेको उनी बताउँछन् ।

यस फिल्ममा राजेन्द्र खड्गीसँग गौरवको द्वन्द्वको दृश्य समेत छ । त्यो दृश्य खिचिरहँदा उनी निकै ‘नर्भस’ भएका रहेछन् । ‘राजेन्द्र खड्गी अंकलसँग मेरो वान एण्ड वान एक्सन दृश्य छ । त्यो एक्सन कम्पोज अलिकति लामो थियो । एक्सन गर्ने भनेपछि भित्रबाट त्यो खालको जोश आइहाल्छ, नियन्त्रणमा हुँदैन । मैले एक्सन गर्ने बेलामा राजेन्द्र अंकलको टाउको छुनुपर्ने थियो । तर मैले झड्याम्मै बजाइदिएँ’, गौरवले त्यो समयमा फर्की ‘तर उहाँले छोड्नु भएको थिएन । म आफैँ नर्भस भएर ‘क्यामरा कट’ भनेर रोकेँ । अनि अंकलले ‘गौरव किन रोकेको कन्टिन्यू गर्नुपथ्र्यो नि’ भन्नुभयो । मैले ‘म नर्भस भएँ । त्यसकारण रोकेँ’ भनेपछि उहाँले कुरा बुझ्नुभयो ।’

फिल्ममा उनले अभिनेता सरोज खनालसँग पनि स्क्रिन शेयर गर्ने मौका पाएँ । यो अवसरका लागि निर्देशकलाई धन्यवाद भन्छन् उनी ।

अभिनयको आजसम्मको यात्रामा धेरै चरित्र निर्वाह गरेका गौरव ‘नेगेटिभ क्यारेक्टर’मा जम्न चाहन्छन् । ‘देख्ने बित्तिकै नेगेटिभ होइन, बानी व्यवहारले भिलेन जस्तो’ उनले भने ।

‘नम्बरी सुन’ राजु गिरीले निर्देशन गरेका हुन् । फिल्ममा गौरव र नम्रताको अलावा बुद्धि तामाङ, राजाराम पौडेल, किरण नेपाली, राजेन्द्र खड्गी, सविन बाँस्तोला, गीता अधिकारी, नारायण खाती, अस्मिता न्यौपाने, राजेन्द्र गिरी, कंगना गिरी लगायतको अभिनय छ ।

नारायण खातीको प्रस्तुति रहेको फिल्ममा सरोज खाती, सविन खाती, मनोज रिजाल निर्माता रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप