खाद्य विभागको वार्षिक समीक्षा : अत्यावश्यक उपभोग्य वस्तुमै उपभोक्ताको गुनासो
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको वार्षिक समीक्षामा अत्यावश्यक उपभोग्य वस्तुमा गुनासो पाइएको छ । तरकारी, पानी, दल, दूध, तेल लगायत दैनिक अत्यावश्यक खाद्य वस्तुमा आम नागरिकको गुनासो पाइएको विभागका प्रवक्ता मोहन कृष्ण महर्जनले पत्रकार सम्मेलन मार्फत जनाए ।
गत आर्थिक वर्ष २०८०-८१ मा अखाद्य वस्तु बिक्री गर्ने विरुद्ध १७८ मुद्दा जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा दायर भएको बताए । सोमध्ये सबैभन्दा बढी मुद्दा प्रशोधित पिउने पानीका ४५ वटा, खाद्यान्न÷दलहनका २९ वटा मुद्दा दायर भएका हुन् । यस्तै, गुलियो पदार्थ÷कन्फेक्सनरीका २२ वटा, तेल तथा घ्यूजन्य पदार्थ १८ वटा, दूध तथा दुग्ध पदार्थका १६ वटा, मसलाका ९ वटा, फल तथा सागपात जन्य पदार्थ ३ वटा, चिया÷कफीका ३ वटा, अन्य खाद्य पदार्थका २१ वटा र दाना पदार्थका १२ वटा रहेको विभागले महर्जनले बताए ।
‘६१ वटा मुद्दा दूषित, ५९ वटा मुद्दा न्यून गुणस्तरका, ३५ वटा मुद्दा लेबल सम्बन्धीका र २३ मुद्दा खाद्य ऐन नियम निर्देशिका उलङ्घन गरेका छन्,’ उनले भने । सो अवधिमा निरीक्षण अनुगमनका क्रममा खाद्य तथा दाना ऐन नियमानुसार जम्मा ३,१२५ नमुनाहरू सङ्कलन गरिएको विभागको प्रतिवेदनमा उल्लेख छ ।
विभागले खाद्यान्न÷दलहनका ८८७ वटा नमुना परीक्षण गर्दा ३२ वटा खान योग्य नरहेको पाइएको छ । यस्तै, फल तथा सागपात जन्य पदार्थ ३५९ नमुना परीक्षण गर्दा १२ वटा खान योग्य नरहेको, तेल तथा घ्यूजन्य पदार्थ ३२६ वटा नमुनामध्ये १५ वटा प्रतिकूल अर्थात खान योग्य नरहेको पाइएको छ ।
यस्तै, मसलाका २९४ वटा नमन परीक्षण गर्दा मसलाका ५ वटा खान नमिल्ने, गुलियो पदार्थ÷कन्फेक्सनरीका १६४ वटा नमुनामध्ये गुलियो पदार्थ÷कन्फेक्सनरीका ९ वटा अखाद्य भेटिएका थिए ।
यस्तै, प्रशोधित पिउने पानीका ११४ वटा नमुना परीक्षण गर्दा १० वटा अखाद्य भेटिएको थियो । चिया-कफीका १५५ नमुना परीक्षण गर्दा ९ वटा प्रतिकूल थिए । यस्तै, दूध तथा दुग्ध पदार्थका ७९ वटा नमुना परीक्षण गर्दा ७ वटा अखाद्य थिए ।
सो अवधिमा उद्योग अनुज्ञापत्र जारी ९३३ वटा उद्योग नवीकरण २,४३० वटा र उद्योग स्थापनार्थ दर्ताको सिफारिस १ हजार ४१७ वटा गरी जम्मा ४ हजार ७८० वटा उद्योगलाई विभागले सिफारिस गरेको छ ।
वार्षिक अवधिमा विभागको राष्ट्रिय खाद्य तथा दाना रेफेरेन्स प्रयोगशाला तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयहरूका प्रयोगशालाहरूबाट खाद्य ऐन नियम बमोजिम सङ्कलित नमुना, खाद्य उद्योग अनुज्ञापत्र जारी तथा नवीकरणसँग सम्बन्धित नमुनाहरू तथा खाद्य पदार्थ निर्यात प्रयोजन (छर्पी, चिया, कफी, खाद्यान्न, अचार, चाउचाउ, मह) का नमुनाहरू लगायत गरी जम्मा २६ हजार ३०७ वटा नमुनाहरूको प्रयोगशाला जाँच परीक्षण गरिएको जनाएको छ ।
गत वर्ष विभाग अन्तर्गत १२ वटा विभिन्न भन्सार विन्दुमा रहेका खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयहरूबाट खाद्य तथा पेय पदार्थहरूका ४६ हजार ९४८ वटा नमुनाहरूको जाँच विश्लेषण गरी नियमन गरिएकोमा ४५ वटा नमुनाहरू प्रतिकूल पाइएको छ । त्यसैगरी नेपालमा आयात हुने ताजा तरकारी तथा फलफूलका ६३ हजार ३५७ वटा नमुनाको जीवनाशक विषादी अवशेष परीक्षण गरिएकोमा ३७ वटा नमुनाहरू प्रतिकूल पाइएको विभागले जनाएको छ ।
वर्षभरमा एक करोड बढी रुपैयाँको गुणस्तरहिन खाद्य वस्तु नष्ट
विभागले वर्षभरमा एक करोड बढी रुपैयाँको गुणस्तरहिन खाद्य वस्तु नष्ट गरेको उल्लेख गरेको छ । आर्थिक वर्ष २०८०–८१ मा बजार, उद्योग, होटेल रेस्टुरेन्ट, मिठाई पसल, फलफूल बजार, हाट बजार लगायत क्षेत्रको गुनासो प्राप्त भएको विभागले जनाएको छ । ती क्षेत्रमा अनुगमन गर्दा म्याद गुज्रिएका, लेबल नभएका तथा ऐन-नियम-निर्देशिका बमोजिम नपाइएका करिब १ करोड १ लाख ६४ हजार ६ सय रुपैंया बराबरको गणस्तरही खाद्यवस्तु नष्ट गरिएको विभागले जनाएको छ । विभागका अनुसार मसला, खाद्यान्न, वियर, दालमोठ, चिप्स, मिट मसाला, चिजवल, मैदा, सुजी, जुस, अचार, हल्का पेय पदार्थ, खाद्य तेल लगायत विभिन्न किसिमका खाद्य तथा पेय पदार्थ नष्ट गरिएको हो ।
दालमा रङ्ग मिसावट
विभागले दालमा रङ्ग मिसावट भएको फेला पारेको छ । गत आर्थिक वर्षमा खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय, बाँकेले भन्सार कार्यालयबाट पैठारीका लागि प्राप्त दालहरूका २ वटा नमुनाहरू जाँच विश्लेषण गर्दा बाह्य रङ्ग पाइएको थियो । सो दाल ८ हजार ३४० के.जी. थियो । सो दाल आयातमा रोक लगाएको मर्हजनले बताए ।
विभागमा प्राप्त २२ वटा दालहरूको नमुनाहरू जाँच परीक्षण गर्दा २ वटा रहरको दालमा कोलटार रङ्ग प्रयोग गरेको, त्यसैगरी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, धनगढीबाट २१ वटा दालका नमुनाहरू जाँच परीक्षण गर्दा ३ वटा मासको दालमा बाह्य रङ्गको प्रयोग गरेको पाइएकोले कारबाहीको प्रक्रियामा रहेको बताए ।
रङ्गिन कटन क्यान्डिमा अखाद्य रङ्ग प्रयोग
बालबालिकालाई लक्षित गरी खुला रूपमा विभिन्न रङ्गको प्रयोग गरी बिक्री वितरण हुने कटन क्यान्डिमा प्रयोग भएको रङ्ग विभागले विश्लेषण परीक्षण गर्दा अखाद्य रङ्ग प्रयोग भएको पाइएको थियो । पाइएकोले विभाग तथा मातहतका कार्यालयहरूबाट तत्काल सूचना जारी गरी आम उपभोक्तामा सुसूचित गराएको तत्कालै नियमन तथा कारबाही गरिएको थियो ।
६१ वटा कन्साइन्मेन्टहरुको अनुमति अस्वीकृत
खाद्य आयात निर्यात निरीक्षण तथा गुण प्रमाणीकरण प्रणाली सम्बन्धी निर्देशिकाले व्यवस्था गरे अनुरूप आयात गर्नु पूर्व अनुमति लिनुपर्ने व्यवस्था रहे बमोजिम विभिन्न खाद्य पदार्थहरूको आयात पूर्व अनुमति लिने क्रममा आर्थिक वर्ष २०८०-८१ मा १५ हजार ६७८ वटा आयात अनुमति जारी गरिएकोमा आवश्यक कागजात पूरागरि ६१ वटा कन्साइन्मेन्टहरुको अनुमति अस्वीकृत गरिएको जनाएको छ ।
थप ५ स्थानमा प्रयोगशाला उपकरणको व्यवस्था
ताजा तरकारी तथा फलफूलमा जीवनाशक विषादी अवशेष परीक्षणका लागि विभाग अन्तर्गत १२ वटा भन्सार नाका स्थित खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयहरू लगायत १६ स्थानबाट परीक्षण सुविधा भएकोमा यस आर्थिक वर्षमा थप ५ स्थानमा प्रयोगशाला उपकरणको व्यवस्था गरी विभाग तथा मातहतका सबै कार्यालयहरूबाट सो सेवा प्रवाह हुने गरी व्यवस्था गरेको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकपछि अर्को कार्यवाहकको अभ्यासमा रास्वपा !
-
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
-
बागमतीमा सर्वदलीय बैठक : विकास योजना कार्यान्वयन गर्न सरकारलाई आग्रह
-
सरकारी वकिल कार्यालय फौजदारी न्याय प्रणालीको मेरुदण्ड हो : प्रधानन्यायाधीश राउत
-
दुई पालिकाका १२ नम्बर वडाका दुई जना वडाध्यक्ष एकैदिन पक्राउ !
-
फूलचोकीको जंगलमा हराएका १३ जना सम्पर्कमा