बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

नेपाल र ओमानबिच थप सम्भावनाको क्षेत्र खोजिने

बुधबार, २३ साउन २०८१, २१ : ३५
बुधबार, २३ साउन २०८१

काठमाडौँ । नेपाल सरकार परराष्ट्र मन्त्रालय र ओमानको सुल्तनेटबिच द्विपक्षीय परामर्शको पहिलो बैठक आज ओमानको मस्कटमा सम्पन्न भएको छ ।

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव सेवा लम्साल र ओमानी प्रतिनिधिमण्डलको नेतृत्व राजनैतिक मामिलाका उपसचिव शेख खलिफा बिन अली बिन इसा अलहार्थीले गरेका थिए ।

बैठकमा द्विपक्षीय सम्बन्धको समग्र आयामको समीक्षा गर्दै नेपाल र ओमान बिचको उत्कृष्ट सम्बन्धप्रति सन्तुष्टि व्यक्त गरेको ओमानस्थित नेपाली राजदूतावासले जनाएको छ । छलफलमा सबै क्षेत्रमा सहयोग आदानप्रदान गर्ने सहमति भएको दूतावासले जनाएको छ ।

दुई देशका बिचमा उच्चस्तरीय भ्रमण, व्यापार, लगानी, आर्थिक सहयोग, कृषि, ऊर्जा, पर्यटन, श्रम तथा वैदेशिक रोजगार, संस्कृति, शिक्षा र प्रत्यक्ष हवाई सञ्जाललाई थप सहयोग अदान प्रदान गर्ने विषयमा छलफल भएको दूतावासले जनाएको छ ।

सहमति भएका क्षेत्रमा साझेदारीलाई थप अभिवृद्धि गर्ने र जनता–जनता बिचको संलग्नता प्रवर्द्धन गर्न थप अवसर सिर्जना गर्ने भनी दुवै तर्फबाट प्रतिबद्धता व्यक्त भएको बताइएको छ ।

परराष्ट्र सचिव सेवा लम्सालले २१ हजारभन्दा बढी नेपालीलाई रोजगारी प्रदान गरेकोमा ओमान सरकारलाई धन्यवाद दिइन् । ओमन भिजन २०४० रणनीतिलाई ध्यानमा राख्दै थप अवसर उपलब्ध गराउनेतर्फ उनले जोड दिइन् ।

बैठकमा लम्सालले आर्थिक, सांस्कृतिक र शैक्षिक क्षेत्रमा अप्रयुक्त सम्भावनाको खोजीमा जोड दिँदै निजी क्षेत्रलगायत सार्थक सहकार्यात्मक साझेदारी स्थापना गर्न प्रस्ताव गरिन् । उनले ओमानी पक्षलाई नेपालमा जलविद्युत्, पर्यटन क्षेत्र र हरित हाइड्रोजन क्षेत्रमा सहकार्य लगायतका क्षेत्रमा लगानी गर्न पनि आग्रह गरिन् । लामो समयदेखिको सम्बन्धलाई थप सुमधुर बनाउन काठमाडौँमा ओमानको दूतावास स्थापना गर्न पनि उनले आग्रह गरिन् ।

उपसचिव शेख खलिफा बिन अली बिन इसा अलहार्थीले नेपाल र ओमानबिच आपसी सहमति भएका सबै क्षेत्रमा सहयोग प्रवर्द्धन गर्ने इच्छा व्यक्त गर्दै विचाराधीन समझादरीहरु टुङ्ग्याउनेमा आशा व्यक्त गरे । उनले द्विपक्षीय सम्बन्धको सम्भावनालाई जोड दिँदै वास्तविक लाभका लागि मिलेर काम गर्न आग्रह गरे । नेपाली श्रमिकको सकारात्मक र मेहनती स्वभावको पनि उनले प्रशंसा गरे ।

बैठकमा दुवै पक्षले उच्चस्तरीय भ्रमणको नियमित आदान प्रदानको परम्परालाई कायम राख्ने   विषयमा विचार आदान प्रदान गरेका छन् । बैठकमा उनीहरूले संयुक्त राष्ट्र सङ्घलगायत विभिन्न बहुपक्षीय मञ्चहरूमा एक अर्कालाई सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप