सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

बुधबार, २३ साउन २०८१, २२ : ००
बुधबार, २३ साउन २०८१

आज २०८१ साउन २३ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

  • अर्को हवाई दुर्घटना

सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको दुई हप्ता नपुग्दै आज एयर डाइनेस्टीको ९ एन–एजेडी दर्ता नम्बर रहेको हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । हेलिकप्टर दुर्घटनामा परी पाइलट अरुण मल्लसहित चार चिनियाँ नागरिकको मृत्यु भएको एयर डाइनेस्टीका व्यवस्थापक बालकृष्ण पण्डितले जानकारी दिए । 

मृत्यु हुने चिनियाँ नागरिकहरूमा जुताड ताङ, ताइ ली, यीयाम वु र जेमिङ जी रहेका छन् । मृतक सबैको शव सङ्कलनगरी परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको नेपाल नागरिक उड्डयन प्राधिकरण, खोज तथा उद्धार समन्वय केन्द्रले विज्ञप्तिमार्फत जनाएको छ ।

आज दिउँसो १ः५४ बजे भक्तपुरको नलिनचोकबाट रसुवाको स्याफ्रुबेंसीका लागि उडान भरेको हेलिकप्टर उडान भरेको तीन मिनेटपछि सम्पर्कविहीन भएको थियो । दिउँसो २ः१४ बजे नुवाकोटको शिवपुरी गाउँपालिका–सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो । 

सरकारले एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाको छानबिन गर्न आजै तीन सदस्यीय दुर्घटना जाँचबुझ आयोग गठन गरेको छ । मन्त्रिपरिषद्को आज सिंहदरबारमा भएको आकस्मिक बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको संयोजकत्वमा आयोग गठन गरेको हो । 

यसअघि साउन ९ गते सौर्य एयरलाइन्सको सिआरजे ७ (९एन–एएमइ) कलसाइन विमान स्थानीय समयअनुसार बिहान ११ बजेर ११ मिनेटमा पोखराका लागि उड्नेबित्तिकै दुर्घटनाग्रस्त भएको थियो । चालकदलसहित १९ जना सवार उक्त विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परी १८ जनाको मृत्यु हुनका साथै एक जना घाइते भएका थिए ।

  • मधेसमा गाईजात्रा

हुन त मधेस प्रदेशमा अहिलेको मन्त्रिपरिषद् विस्तार संविधानले तोकेको परिधि अनुसार नै भएको हो । संविधानको धारा १६८ को उपधारा ९ अनुसार प्रदेश सभा सदस्य सङ्ख्याको २० प्रतिशतभन्दा बढी नहुने गरी मुख्यमन्त्रीसहित मन्त्री परिषद् गठन गर्न सकिने व्यवस्था छ । तर यतिका मन्त्री र राज्यमन्त्री केका लागि ? यसले आर्थिक रूपमा मधेस प्रदेशलाई के फाइदा गर्छ ? लगायतका प्रश्न उठेको छ ।

  • मिसन ०८४

 सत्तारुढ दल नेकपा एमालेले आफ्नो सम्पूर्ण शक्ति ‘मिसन ०८४’ मा केन्द्रित गर्ने भएको छ । स्थानीय, प्रदेश र संघगरी तीनै तहको सरकारमा महत्त्वपूर्ण हिस्सेदार बनेको एमालेले सरकार र पार्टी संगठन दुवैको माध्यमबाट ‘मिसन ०८४’ केन्द्रित योजना सफल पार्ने रणनीति बनाएको हो । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार जारी गरेको अन्तर पार्टी निर्देशन (अपानि १०) मा वैशाखमा सम्पन्न राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको निर्णयअनुसार पार्टीलाई बलियो र निर्णायक शक्तिका रूपमा सुदृढ गर्ने उद्देश्यका साथ संगठन सुदृढीकरण र शुद्धीकरणको कार्ययोजना अघि सारेको जनाएका छन् ।

  • सङ्क्रमणकालीन न्याय

सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक (टीआरसी)मा सहमति जुटाउन गठित सहजीकरण संयन्त्रले सहमति जुटाएर तयार पारेको प्रतिवेदन आज शीर्ष नेतालाई बुझाएको छ । कार्यदल सदस्यहरूले सहमतिको लिखित प्रतिवेदन एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको हो । 

  • कांग्रेस बैठक

नेपाली कांग्रेसले राष्ट्रिय सहमतिको सरकार गठन सम्बन्धमा कार्यसम्पादन समितिले गरेको निर्णय अनुमोदन गरेको छ । बुधवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले निर्णय सम्बन्धी प्रस्ताव बैठकले अनुमोदन गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

  • काभा महिला भलिबल

काभा महिला भलिबल नेसन्स लिगको उपाधि बुधबार भारतले जितेको छ । भारतले फाइनलमा नेपाललाई ३–२ सेटले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । 

  • सुदूरपश्चिम प्रदेश सधैँ पछाडि

 गत शुक्रबार राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजामा सुदूरपश्चिम प्रदेश सबैभन्दा कमजोर देखिएको छ । परीक्षा दिएकामध्ये ६० प्रतिशत विद्यार्थीको नतिजा ‘नन ग्रेडेड’ (एनजी) आएको छ ।

  • अस्पतालमा लाइन व्यवस्थापन

स्वास्थ्य सेवा सुधारका लागि ९ बुँदे पत्र संघीय अस्पतालहरूलाई पठाइ भिड व्यवस्थापनको योजना अघि बढाइएको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको सचिवालयले जनाएको छ । सेवाग्राहीको चाप न्यूनीकरण गर्न अस्पतालमा दुई सिफ्टमा ओपीडी सेवा सञ्चालन गर्न, ‘विस्तारित अस्पताल सेवा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि, २०७७’ अनुसार सेवा लागु गर्न, अस्पतालमा शय्या नपाइने अवस्थालाई अन्त्य गर्न व्यवस्थापकीय पक्ष बलियो बनाउन लगायत ९ बुँदे पत्र संघीय अस्पतालहरूलाई पठाइएको सचिवालय सदस्य दुर्गा घिमिरेले बताए ।

  • नेपाली त्रासमा

विभिन्न देश यतिबेला युद्ध र हिंसाको चपेटामा परेका छन् । अध्ययन तथा रोजगारीका लागि ठुलो संख्यामा रहेका नेपाली नागरिक आफू रहेको मुलुकमा भइरहेका हिंसा तथा प्रदर्शनका कारण त्रसित बनेका छन् ।

  • विदेश सचिवको नेपाल भ्रमण

भारतका विदेश सचिव विक्रम मिस्री  आइतबार नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप