कांग्रेस बैठकमा सरकारबारे गृहमन्त्री लेखकको ब्रिफिङ
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस र एमालेबिच भएको सत्ता समीकरणबारे पार्टी केन्द्रीय समिति बैठकमा ब्रिफिङ गरेका छन् । बुधबार दिउँसो पार्टी कार्यालय सानेपामा बसेको बैठकमा गृहमन्त्री लेखकले वर्तमान सरकार निर्माणको प्रक्रियाका साथै त्यसका सम्भावना र चुनौतीबारे ब्रिफिङ गरेका हुन् ।
माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट कांग्रेसले धोका पाएर कांग्रेस विपक्षमा पुगेपछि सभापति शेरबहादुर देउवाले सुजबुजपूर्ण रूपमा दीर्घकालीन सोचका साथ नयाँ समीकरण निर्माणको विषयलाई नेतृत्व दिएको गृहमन्त्री लेखकले बताए । ‘नेपाली कांग्रेस सबैभन्दा ठुलो हुँदा हुँदै पनि संघमा मात्र होइन सातवटै प्रदेशमा विपक्षमा बस्नुपर्ने परिस्थिति पार्टीका साथीहरूका लागि, सबै लोकतन्त्रवादी जनताका लागि पीडादायी विषय भयो । पछिल्लो समयमा पार्टी सभापति माननीय शेरबहादुर देउवाजीले अत्यन्त सुजबुज राखेर दीर्घकालीन सोचका साथ नयाँ समीकरण निर्माणको विषयलाई नेतृत्व दिनुभयो । हामी नयाँ समीकरणमा लागौँ,’ उनले भने ।
एमालेसँग पटक–पटकको वार्ता र संवादबाट असार १७ गते कांग्रेस र एमालेका बिचमा नयाँ समीकरण बनाउने सहमति भएको गृहमन्त्री लेखकको ब्रिफिङ थियो । ‘सात बुँदे सहमतिपत्रमा माननीय शेरबहादुर देउवा र माननीय केपी शर्मा ओलीजीले हस्ताक्षर गर्नुभयो । त्यसपछि यो सरकार बन्ने मार्गप्रश्स्त भयो । हामीले सरकार गठन गरौँ,’ उनले भने ।
गृहमन्त्री लेखक बैठकमा कांग्रेस र एमालेबिच नयाँ समीकरणका लागि भएको सात बुँदे सहमति पढेर सुनाएका थिए । साथै उनले वर्तमान सत्ता सरकारका सबल पक्ष प्रस्तुत गरे । ‘राष्ट्रिय स्वार्थको सुरक्षा गर्ने, स्थिर सरकार दिने, शिथिल रहेको अर्थतन्त्रलाई चलायमान बनाउने, विकास निर्माणका कामलाई द्रुत गतिमा अगाडि बढाउने, भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने, विधिको शासन स्थापित गर्ने, देशभित्र र बाहिरको लगानीको वातावरण बनाएर मुलुकमा मर्यादित रोजगारीको व्यवस्था गर्ने लगायतका सम्भावना छन्,’ उनले बैठकमा भने । साथै देशमा दिगो शान्ति, विकास, समृद्धि प्राप्त गर्ने, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने सुदृढ गर्ने सरकारको लक्ष्य रहेको उनको भनाइ थियो ।
कांग्रेस—एमालेको समीकरणले संविधान संशोधन गर्ने गृहमन्त्री लेखकले बताए । ‘संविधान जारी भएको ९ वर्ष भइसकेको छ । यो ९ वर्षमा संविधानको अभ्यासको प्रयोगमा देखा परेका सबल र दुर्बल पक्षको समीक्षा गरेर संविधानको जटिलतालाई पहिचान गरी आवश्यकता अनुसार सहमतिकै आधारमा संविधान संशोधन गर्ने लगायतका कुरा छ,’ उनले भने ।
गृहमन्त्री लेखकले कांग्रेस र एमालेको समीकरणलाई असफल भए मुलुक दुरावस्थामा जाने खतरा रहेको बताए । ‘हामी जुन (कांग्रेस–एमाले समीकरण) प्रयोगमा प्रवेश गरेका छौँ । यो प्रयोगले यदि असफल भयो भने मुलुक अत्यन्त दुरावस्थामा जान सक्छ,’ उनले भने, ‘त्यसैले अहिलेको समीकरणलाई बदल्ने, फेर्ने, भत्काउने काममा हामी लाग्नुहुँदैन । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति पनि दृढतापूर्वक यसका पक्षमा उभिनुपर्छ ।’
कांग्रेस र एमालेको समीकरण बनेपछि सकारात्मक प्रभाव र परिणाम देखिएको गृहमन्त्री लेखकले बैठकमा सुनाए ।
सत्ता समीकरणमा सबै कुरा सहज ढंगले अगाडि बढेको उनको भनाइ थियो । ‘केन्द्रमा हामीले सरकार बनायौँ । मन्त्रालयकै लागि भागबण्डा र कसलाई मन्त्री नियुक्त गर्ने भन्नेमा महिनौँ झगडा हुन्थ्यो । हामीले अत्यन्त कम समयमा मन्त्रालयको बाँडफाँट टुंग्याएर मन्त्रीको नियुक्ति गर्यौँ । सातै प्रदेशमा पनि कुनै विवाद नभईकन हामीले सरकार निर्माण गर्यौँ,’ उनले भने, ‘अरू पनि केही नियुक्तहरू विवाद नभईकन आपसी सहमतिले टुंग्यायौं । अहिलेको समीकरणमा कांग्रेस र एमालेका बिचमा असल सम्बन्ध छ । कुनै समस्या छैन । समीकरणमा विश्वासको वातावरण छ । यसलाई निरन्तरता दिनुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवाह गर्ने उमेर घटाउनुपर्छ भन्ने माग आएको छ : विमला सुवेदी
-
ईयूद्वारा नाइजरका लागि खटाएका दूत फिर्ता : प्रवक्ता
-
‘विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार एवं जनचेता अभिवृद्धि आवश्यक’
-
सडक पूर्वाधारमा कर्णाली : ६ वर्षमा १५६.७६ किलोमिटर सडक कालोपत्रे
-
अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
-
ललितपुर जिल्लाभित्र बसोबास गर्ने माओवादी नेताहरुसँग छलफल