बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

बंगलादेशमा विद्यार्थी निहुँ मात्र भए : पूर्वराजदूत मिश्र

बुधबार, २३ साउन २०८१, २१ : १६
बुधबार, २३ साउन २०८१

काठमाडौँ । बंगलादेशका लागि पूर्व नेपाली राजदूत डा. वंशिधर मिश्रले शेख हसिनाले बंगलादेशलाई चमत्कारिक विकासको गतिमा अगडि बढाएको बताएका छन् । हसिनाको शासन कालमा कंगाल देशबाट बंगलादेश विकसित देशतर्फ अगाडि बढेको मिश्रले बताएका हुन् ।

बुधबार साक्षात्कारमा उनले भने, ‘विकासको दृष्टिले बंगलादेश पहिलोको जस्तो छैन । शेख हसिनाले छोटो समयमा नै धेरै परिवर्तन गरिन् । उनी आफैँ पनि बलिदानी परिवारको छोरी हुन् ।’

केही बंगलादेशीमा रहेको हिंसाको प्रवृत्ति, संस्कृति र बदलाको भावनाले अहिलेको घटना घट्न पुगेको उनको दाबी छ । उनले आरक्षणको कारणले अहिलेको घटना नभएको दाबी गरे । ‘यो कुनै आरक्षण र युवा विद्यार्थीको कारणले भएको घटना होइन । विद्यार्थी निहुँ मात्र भए,’ उनले भने ।

हसिनाको पालामा बंगलादेशले मुहार फेरे पनि उनी उत्तिकै निरङ्कुश बन्दै गएको मिश्रको भनाई छ । बंगलादेशमा हसिनाको शासनकालमा अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको गुञ्जायस नै नरहेको बताए । सरकारको विरुद्धमा लेख्नेहरू बेपत्ता बनाइने र महिनौँपछि लास फेला पर्ने जस्ता घटना बंगलादेशमा भइरहेने उनले बताए । 

‘बंगलादेशमा चमत्कारिक विकास पनि भयो, रोजगारीका अवसरहरू सिर्जना भए । भोकमरीमा रहेका १८ करोड जनतालाई खुवाउने स्थिति पनि बनाए । अर्कोतिर बोल्न, लेख्न पाउने स्वतन्त्रता छैन, जुन मिडिया थोरै बोल्थ्यो, बेपत्ता हुन्थ्यो । एक महिनापछि मृत अवस्थामा फेला पर्ने, कोही त फर्किँदै नफर्किने । मोहम्मद युनिस नोबेल पुरस्कार विजेता, उहाँ त गौरव हो नि । उनले पनि थुनामा जानुपर्ने भयो । बुद्धिजीवी निसास्सिएर बस्नुपर्ने भयो,’ उनले भने । 

साथै, बंगलादेशको सबै क्षेत्रमा भ्रष्टाचार व्याप्त रहेको उनले सुनाए । नेपाली विद्यार्थी बंगलादेश अध्ययनको क्रममा जाँदा एयरपोर्टदेखि नै पीडित हुनुपरेको उनले सुनाए । सन् २००९ मा सत्तारोहण भएपछि हसिना निरङ्कुश शासक बन्दै गएको उनको आरोप छ । उनले हसिनाको सत्तारोहणपछि बंगलादेशमा भएका तीन वटा निर्वाचन केवल औपचारिकता मात्रै रहेको बताए । ‘बंगलादेशको सन् २०१४, २०१९ र २०२४ को चुनाव चुनाव नै होइन,’ उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप