आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय
एयर डाइनेस्टी दुर्घटना

मृत्युलाई जितेर फर्किएका पाइलट मल्ल यसपटक सदाका लागि अस्ताए

१३ वर्षदेखि उडाइरहेका थिए एयर डाइनेस्टीको हेलिकप्टर
बुधबार, २३ साउन २०८१, २० : ३१
बुधबार, २३ साउन २०८१

काठमाडौँ । निकै अनुभवी र कुशल मानिएका वरिष्ठ पाइलट अरुण मल्लले विगत १३ वर्षदेखि एयर डाइनेस्टीको हेलिकप्टर उडाइरहेका थिए ।

सन् १९६६ जुलाई २ मा ललितपुरमा जन्मिएका पाइलट मल्ल यसअघि कर्णाली एयरमा थिए । सन् २०११ बाट भने वरिष्ठ पाइलट मल्लले निरन्तर एयर डाइनेस्टीको हेलिकप्टर उडाइरहेको कम्पनीका म्यानेजर बालकृष्ण पण्डितले रातोपाटीलाई बताए ।

‘उहाँ निकै अनुभवी र सिनियर पाइलट हुनुहुन्थ्यो । जतिबेलादेखि उहाँ कम्पनीमा जोडिनुभयो, दुर्घटनाको दिनसम्म पनि निकै कुशलतापूर्वक र इमानदारितापूर्वक काम गर्नुभयो । दुर्भाग्यवस् बुधबार उहाँ दुर्घटनामा पर्नुभयो,’ पण्डितले भने, ‘उहाँ निकै मेहनती र इमानदार हुनुहुन्थ्यो ।’

पाइलट मल्लको निधनले नेपाली उड्डयन जगतमा अपूरणीय क्षति पुगेको उनले बताए ।

बुधबार भएको हेलिकप्टर दुर्घटनामा उनै वरिष्ठ पाइलट मल्लको ५८ वर्षको उमेरमा मृत्यु हुन पुगेको छ । काठमाडौँबाट रसुवाको स्याफ्रुबेसी उडानका क्रममा नुवाकोटको शिवपुरी–७, सूर्यचौरमा हेलिकप्टर दुर्घटना हुँदा पाइलट मल्ल र अन्य ४ जना चिनियाँ यात्रुको घटनास्थलमै मृत्यु हुन पुगेको छ ।

लामो समय रेस्क्यू फ्लाइटको काम गरेका पाइलट अरुण मल्ल हजारौँमा एक भएको ग्राण्डी हस्पिटल हेलिकप्टर रेस्क्यू इन्चार्ज माधव शर्मा बताउँछन् ।

‘क्याप्टेन मल्लजस्तो मिलनसार, इमानदार र अनुभवी पाइलट सायदै नेपालले फेरि पाउला । उहाँको व्यक्तित्व र काम गर्ने शैली निकै अनुकरणीय थियो,’ उनले भने, ‘त्यति धेरै लामो सङ्गत त गर्न पाइएन, तर जति सङ्गत गरियो, उहाँ मेरो मन मस्तिष्कमा बस्न सफल हुनुहुन्छ । उहाँको तुलना अरुसँग हुनै सक्दैन ।’

देशका विभिन्न ठाउँबाट बिरामीको उद्धार गरेर ज्यान बचाउन लाग्ने क्याप्टेन मल्ल आफैँ मेडिकल टिमसँग निरन्तर संवादमा रहने र समयमै अस्पतालसम्म पुर्याउन भूमिका निर्वाह गर्ने व्यक्ति रहेको शर्मा सम्झन्छन् ।

मल्लजस्तो अनुभवी, इमानदार र मिलनसार पाइलट नेपाली हवाई उद्योगले फेरि सायदै पाउने उनको भनाइ छ ।

‘क्याप्टेन मल्लको निधनले नेपाली हवाई उद्योगलाई अपूरणीय क्षति पुगेको छ,’ उनले भने ।

ललितपुरमा जन्मिएका पाइलट मल्ल पछिल्लो समय काठमाडौँको बुढानीलकण्ड, चपलीमा बस्दै आएका थिए । पाइलट मल्लका श्रीमती र दुई छोरी रहेको बुझिएको छ ।

यसअघि नै मृत्युलाई जितेका थिए पाइलट मल्लले

captain arun

क्याप्टेन अरुण मल्ल यसअघि पनि दुर्घटनामा परेको खुलेको छ । सो दुर्घटनामा भने उनी सामान्य घाइतेमात्र भएका थिए ।

२०७० साल असोज १० गते सोलुखुम्बु जिल्लाको लुक्ला विमानस्थलमा भएको दुर्घटनामा मल्लसहित यात्रु दावा ग्याल्जेन शेर्पा घाइते भएका थिए ।

एयर डाइनेस्टीकै ९एन–एईएक्स कल साइन भएको हेलिकप्टर अवतरणका क्रममा दुर्घटना भएको थियो ।

बुधबार दुर्घटना भएको ९एन–एजेडी हेलिकप्टर पनि यसअघि दुर्घटनामा परिसकेको थियो । २०७९ साल चैत २५ गते ह्याम्स अस्पतालमा अवतरणका क्रममा यो हेलिकप्टर दुर्घटना भएको थियो ।

दुर्घटनाको क्रममा हेलिकप्टरको पुच्छरको भाग ठोक्किएको थियो । घटनामा कोही घाइते नभए पनि हेलिकप्टरको टेल रोटर भने भाँचिएको थियो । यसअघि नै मृत्युलाई जितेका पाइलट मल्ल यो पटक भने सदाका लागि अस्ताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

श्रेष्ठ रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप