शुक्रबार, १९ पुस २०८१
ताजा लोकप्रिय
केन्द्रीय समिति बैठक

चुनावअघि गठबन्धन गर्ने कि नगर्ने ? गगनको प्रतिवेदनमा कांग्रेस मौन

बुधबार, २३ साउन २०८१, १९ : ०१
बुधबार, २३ साउन २०८१

काठमाडौँ । नेपाली कांग्रेसले महासमिति बैठकमा प्रस्ताव गरेका दस्ताबेज परिमार्जनसहित केन्द्रीय समिति बैठकमा पेस गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबारदेखि सुरु भएको बैठकमा महासमितिमा पेस भएका दस्ताबेजहरू केन्द्रीय समिति बैठकमा परिमार्जनसहित पेस भएको केन्द्रीय सदस्य मीन विश्वकर्माले रातोपाटीलाई बताए ।

बैठकमा ११ वटा एजेण्डा पेस भएकोमा बिहीबारदेखि प्रतिवेदनहरूमाथि छलफल हुने विश्वकर्माको भनाइ छ ।

महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले प्रस्ताव गरेको नीति प्रस्ताव र महामन्त्री गगन थापाले पेस गरेको सांगठनिक प्रस्ताव पदाधिकारी बैठकले परिमार्जन गरेको थियो ।

निर्वाचनअघि गठबन्धन नगर्ने महामन्त्री थापाको प्रस्तावलाई पदाधिकारी बैठकले परिमार्जन गरी ०८४ को निर्वाचनमा एक्लै लड्ने प्रावधान राखिएको विश्वकर्माले जानकारी दिए ।

यस्तै उपसभापति खड्काले प्रस्ताव गरेको प्रतिवेदनमा माओवादी जनयुद्ध शब्दबारे छलफल जारी रहेको भन्दै युद्धका कारण देश पछाडि धकेलियो भन्ने जस्ता शब्दावलीबारे केन्द्रीय समिति बैठकमै छलफल गर्ने तयारी रहेको विश्वकर्माको भनाइ छ ।

‘चुनावअघि गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा  दस्ताबेजमा उल्लेख गरिरहन परेन । त्यसको ठाउँमा कांग्रेस एक्लै आगामी चुनावमा जानेछ भनेर राखिएको छ । उपसभापतिज्यूको माओवादी जनयुद्ध सम्बन्धी विषयमा छलफलपछि मात्र एउटा निष्कर्षमा पुगिनेछ’, विश्वकर्माले भने, ‘हरेक पार्टीले अन्य पार्टीलाई हेर्ने दृष्टिकोण र नीति बनाएको हुन्छ । कुन पार्टीलाई कसरी हेर्ने भन्ने सम्बन्धमा पार्टीको आन्तरिक विषय हो ।’ गत फागुमा ललितपुरको गोदावरीमा बसेको महासमिति बैठकमा उपसभापति खड्का र महामन्त्री थापाले प्रस्ताव गरेको प्रतिवेदनप्रति त्यतिबेला कांग्रेससँग गठबन्धन गरी सरकारको नेतृत्व गरेको माओवादी केन्द्रले तीव्र असहमति जनाएको थियो ।

माओवादीले असहमति जनाएपछि प्रतिवेदनमा भएका विषय केन्द्रीय समितिबाट निर्णय लिनेगरी महासमिति बैठक समापन भएको थियो ।

सोही प्रतिवेदका कारण माओवादीले कांग्रेससँगको सम्बन्ध तोडेर एमालेसँग सत्ता गठबन्धन बनाएको थियो । असार १७ गते कांग्रेस र एमाले मिलेर सत्ता गठबन्धन गरेपछि परिस्थितिमा नयाँ बदलाव आएको थियो ।

पहिलो दिनको बैठकमा गृहमन्त्री रमेश लेखकले नुवाकोटको  शिवपुरीमा भएको हेलिकप्टर दुर्घटना र साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरको जहाज दुर्घटना सम्बन्धमा धारणा राखेका थिए । परराष्ट्रमन्त्री डा. आरजु राणाले बंगलादेशमा भएको विद्यार्थी आन्दोलन र त्यसबाट निम्तिएको राजनीतिक घटनाबारे धारणा राखेको कांग्रेस नेताहरूको भनाइ छ । बैठक बिहीबार पुन बस्ने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप