बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
असुरक्षित आकाश

अत्यासलाग्दो हेलिकप्टर दुर्घटना : ४५ वर्षमा ४० दुर्घटना, भीआईपीसहित ९७ जनाले गुमाए ज्यान

खराब मौसमका कारण एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाको आशङ्का, बन्यो छानबिन समिति
बुधबार, २३ साउन २०८१, १८ : २०
बुधबार, २३ साउन २०८१

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणको हवाई सुरक्षा प्रतिवेदनअनुसार ४५ वर्षको अवधिमा हेलिकप्टर दुर्घटनामा ९७ जनाले ज्यान गुमाएका छन् । 

बुधबार नुवाकोटको शिवपुरीमा भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनासहित ४५ वर्षको अवधिमा ४० वटा दुर्घटना हुँदा ९७ जनाले अकालमा ज्यान गुमाएका हुन् । ज्यान गुमाउनेमा बहावलवालामन्त्री समेत छन् । 

२०७५ फागुनमा ताप्लेजुङको पाथीभरामा भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको थियो । पाथीभराको दर्शन गरेर फर्किने क्रममा उक्त हेलिकप्टर दुर्घटनामा परेको थियो । यस्तै सन् २००६ मा ताप्लेजुङको घुन्सामा भएको एमआई–१७ हेलिकप्टर दुर्घटनामा २४ जनाको मृत्यु भएको थियो । हेलिकप्टर दुर्घटनामा भएको सो मानवीय क्षति नेपाली हवाई इतिहासकै सबैभन्दा ठुलो हो । 

वन्यजन्तु संरक्षणसम्बन्धी कार्यक्रममा सहभागिताका जाँदा भएको उक्त दुर्घटनामा तत्कालीन बन तथा भू संरक्षण राज्यमन्त्री गोपाल राई सहितको सबै टोलीको निधन भएको थियो । 

नेपालमा भएका धेरैजसो हेलिकप्टर दुर्घटनाको कारण प्रतिकूल मौसम र चालकको कमजोरी प्रमुख देखिने गरेका छन् । हवाई दुर्घटनापछि गठन हुने गरेका छानबिन समितिले आफ्नो प्रतिवेदनमा यही कुरालाई बढी औँल्याइने गरेको देखिएको हो । यस्तै उपकरणको मर्मत सम्भारमा हुने कमजोरी लगायतलाई पनि दुर्घटनाको कारकका रुपमा औँल्याइने गरेको पाइन्छ । 

रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटनाको छानबिनका लागि गठित आयोगले पाइलट अति उत्साहित भएका कारण दुर्घटना भएको हुनसक्ने औँल्याएको थियो । 

‘प्रतिकूल मौसमबीच पाथिभराको हेलिप्याडबाट उडान गर्नासाथ पाइलट अति उत्साहित अवस्थाबाट प्रभावित भएको हुनसक्ने देखिन्छ,’ प्रतिवेदनमा भनिएको थियो, ‘त्यसपछि उनले तुरुन्तै जोडसँग आएको हावाको झोक्का र हिमपातले उनलाई मौसमको प्राविधिक जानकारीका आधारमा मात्र उडान गर्नुपर्ने अवस्थामा पुर्‍याउँछ । त्यहाँको अवस्थागत जानकारी र हेलिकप्टरको नियन्त्रण उनले गुमाउँछन् र अन्ततः जमिनमा बजारिन्छ ।’  

दुर्घटनाको रफ्तार बढिरहँदा सरोकारवाला निकायले सुरक्षा सम्बन्धी मापदण्डलाई कडाइका साथ पालना नगराएको आरोप समेत लाग्दै आएको छ । 

दुर्घटनाकै इतिहास हेर्ने हो भने पहिलो हेलिकप्टर दुर्घटना सन् १९८९ मा लाङटाङमा भएको प्राधिकरणको प्रतिवेदनमा उल्लेख छ । प्राधिकरणको ‘हवाई सुरक्षा प्रतिवेदन–२०२३’ अनुसार विशिष्ट व्यक्तिहरू लिएर गएको उक्त हेलिकप्टर दुर्घटनामा ६ जनाको ज्यान गएको थियो। सोही दुर्घटना नै नेपाली हेलिकप्टर दुर्घटनाको पहिलो घटना रेकर्ड हुन पुग्यो । 

त्यसको १४ वर्षपछि लाङटाङमै अर्को हेलिकप्टर दुर्घटना भयो । तर, सो दुर्घटनामा मानवीय क्षति भएन भने १९९७ मा कर्णाली एयरको हेलिकप्टर दुर्घटना हुँदा १ जनाले ज्यान गुमाएको प्राधिकरणको रिपोर्टमा उल्लेख छ । 

यसैगरी सन् १९९८ मा ३ जना, २००१ मा ४ जना, २००२ मा १३ जना, २००३ मा २ जना, २००५ मा ३ जना, २०१० मा २ जना, २०१३ मा १ जनाको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । 

यसैगरी २०१४ मा १ जना, २०१५ मा ४ जना, २०१६ मा ७ जना, २०१८ मा १ जना, २०१८ मै ६ जना, २०१९ मा ७ जना, २०२३ मा १ जना र सोही वर्ष भएको अर्को दुर्घटनामा ६ जनाका साथै बुधबारको घटनासमेत गरी ९४ जनाले ज्यान गुमाएका छन् । 

४५ वर्षको अवधिमा डेढ दर्जन हाराहारीमा भएका हेलिकप्टर दुर्घटनामा भने कुनै मानवीय क्षति भने भएन । तथ्याङ्क हेर्दा सन् २००० पछि हेलिकप्टर दुर्घटना बढ्दै गएको देखिन्छ । सन् २००० यतामात्रै ३० वटा हेलिकप्टर दुर्घटना भएका छन् । २००६ मा २४ जनाको मृत्यु भएको घुन्सा दुर्घटना पनि यसमा समावेश छ ।

एयर डाइनेस्टीकै ४ वटा हेलिकप्टर दुर्घटना 

प्राधिकरणका अनुसार हालसम्म एयर डाइनेस्टीकै ४ वटा हेलिकप्टर दुर्घटना भएका छन् । सन् २००५ मा रामेछापमा भएको दुर्घटनामा ३ जनाले ज्यान गुमाएका थिए । त्यसको एक वर्षपछि अर्थात २००६ मा धौलागिरी बेसक्याम्पमा अर्को दुर्घटना हुन पुग्यो । यद्यपि सो दुर्घटनामा मानवीय क्षति भने भएन । 

यस्तै तेस्रो दुर्घटना तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीलगायत सवार हेलिकप्टर दुर्घटना भएको थियो । सन् २०१९ मा भएको उक्त दुर्घटनामा ७ जनाले ज्यान गुमाउँदा बुधवार नुवाकोटमा भएको सोही एयरको हेलिकप्टर दुर्घटनामा ५ जनाले ज्यान गुमाए । 

खराब मौसमले दुर्घटना

खराब मौसमका कारण बुधवार एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको आशङ्का गरिएको छ । दुर्घटनास्थलको भौगोलिक अवस्था हेर्दा खराब मौसमका कारण दुर्घटना भएको जस्तो देखिएको शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्द थपलियाले रातोपाटीलाई जानकारी दिए । 

उनका अनुसार दुर्घटनाग्रस्त क्षेत्रमा बिहानैदेखि बाक्लो कुहिरो लागेको थियो । हेलिकप्टर कुनै पहाडमा ठोक्किएको नदेखिएको भन्दै उनले दुर्घटनास्थल बरु खोँचजस्तो ठाउँ रहेको बताए । 

‘कतिपयले जहाजमा पहाडमा ठोक्किएको भनेका छन् । तर भौगोलिक अवस्था हेर्दा त्यस्तो होइन ।  कुहिरोका कारण जहाज तलबाट आएर दुर्घटना भएकोजस्तो हुनसक्छ’, उनले भने। 

उनका अनुसार जहाज गुर्जे भन्ज्याङबाट सूर्यचौर नपुग्दैको जंगलमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा सबार सबै ५ जनाको शव फेला परेको उनले घटनास्थलबाट रातोपाटीलाई जानकारी दिए । 

दुर्घटनाबारे प्राधिकरण

हेलिकप्टर उडेको तीन मिनेटमै काठमाडौँ टावरसँग सम्पर्कविच्छेद भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । 

प्राधिकरणले बुधवार दिउँसो जारी गरेको विज्ञप्ति अनुसार काठमाडौँ विमानस्थलबाट दिउँसो १ः५४ मा उडेको हेलिकप्टर (९एन–एजेडी) रसुवाको स्याफ्रुबेसी जाँदै थियो । 

हेलिकप्टरमा क्याप्टेनबाहेक ४ जना चिनियाँ नागरिक रहेको जानकारी दिँदै प्राधिकरणले भनेको छ, ‘सो हेलिकप्टर उडान गरेको ३ मिनेटपछि काठमाडौँ टावरसँग सम्पर्क विच्छेद भई नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका वडा नम्बर ७ मा दुर्घटनामा परेको पुष्टि भएको छ ।’ उद्धारकर्मीहरूले पाँच जनैको शव सङ्कलन गरेर पोस्टमार्टमका लागि पठाइसकेका छन् । 

हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए । हेलिकप्टरमा सवार अन्य चार जना चिनियाँ पर्यटकमा जुदाड टाङ, जी लि, यियाद वु र जेमिङ सी रहेका थिए । उनीहरू सबैको मृत्यु भएको प्रहरीले जनाएको छ । 

छानबिन समिति गठन

यसैबिच दुर्घटनाको छानबिन गर्न तीन सदस्यीय समिति गठन भएको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले तीन सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको स्वास्थ्य मन्त्री प्रदीप पौडेलले जानकारी दिए । नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ । समितिलाई प्रतिवेदन तयार गर्न तीस दिनको कार्यादेश दिइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप