बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
बंगलादेश प्रदर्शन

भाग्नुअघि कस्तो थियो देशमा शेख हसिनाको अन्तिम समय ?

बुधबार, २३ साउन २०८१, १४ : ३९
बुधबार, २३ साउन २०८१

ढाका । गएको एक दशकभन्दा बढी समयदेखि धेरैले शेख हसिनालाई ‘लौह महिला’ भनेर सम्बोधन गर्ने गर्थे । लगातार करिब साढे १५ वर्ष सत्तामा बसेकी प्रधानमन्त्रीले यसरी देश छोड्नु पर्ला भन्ने त कल्पनासम्म पनि धेरैले गरेका थिएनन् होला । बंगलादेशको इतिहासमा यसअघि कहिल्यै पनि सत्ताबाट हटाइएपछि व्यक्ति देश छोडेर भाग्न बाध्य भएनन् । सोमबार आन्दोलनरत विद्यार्थीहरूको ‘लङ मार्च टु ढाका’ अभियानका क्रममा शेख हसिना र उनकी बहिनी शेख रेहाना देश छोड्न बाध्य भए । यसअघि आइतबार राति र सोमबार बिहान नाटकीय घटनाहरूको शृङ्खला जारी रह्यो ।

हार मान्न तयार थिइनन् शेख हसिना

आइतबार देशभर अवामी लिगका नेता,  कार्यकर्ता र प्रदर्शनकारीबिच हिंसात्मक झडप भए । यस क्रममा करिब सय जनाको मृत्यु भयो । जसमा धेरै प्रहरी पनि थिए । प्रदर्शनकारीको चर्को विरोधका कारण अवामी लिगका नेताहरू धेरै ठाउँमा पछि हटे । उक्त साँझ अवामी लिगका धेरै वरिष्ठ नेता र सल्लाहकारले शेख हसिनालाई स्थिति नियन्त्रण बाहिर गएको बताए । तर शेख हसिना हार मान्न तयार थिइनन् । बल प्रयोग गरेरै भएपनि स्थितिलाई नियन्त्रण राखिन्छ भन्ने अपेक्षा उनले गरेकी थिइन् । तर सुरक्षा बलका शीर्ष अधिकारीहरूले समेत अब यो मामिला नियन्त्रण गर्न सकिँदैन भनेर हात उठाए त्यसपछि मात्रै प्रधानमन्त्रीको पदबाट राजीनामा दिन उनी मानसिक रूपमा तयार भइन् । आफ्नी आमाले आइतबारदेखि नै राजीनामा दिने सोच बनाएको शेख हसिनाका छोरा सजिब वाजिदले बीबीसीसँगको कुराकानीमा भनेका थिए ।

के थियो हसिनाको योजना ?

‘शेख हसिनाले कतिबेला राजीनामामा हस्ताक्षर गरिन् र उनी हेलिकप्टरमा सवार भएर देशबाहिर गइन् यी सबैको जानकारी विशेष सुरक्षा बल, प्रेसिडेन्ट गार्ड रेजिमेन्ट र आर्मी हेडक्वार्टरका केही उच्च अधिकारीलाई मात्र थियो । यो पूरै मामिलालाई निकै गोप्य राखिएको थियो,’ एक उच्च सेना अधिकारीले नाम नछाप्ने सर्तमा बीबीसी बंगलालाई भने । सेनाको स्रोतले बीबीसीलाई दिएको जानकारी अनुसार हसिना सोमबार बिहान ११ बजे गणभवनबाट निस्किएकी थिइन् । त्यहाँबाट उनी सेनाको हेलिकप्टरबाट भारतको त्रिपुरा राज्यको राजधानी अगरतला पुगिन् । त्यसपछि हसिना र शेख रेहाना विशेष विमानबाट दिल्ली पुगे ।

अन्तिम क्षणमा शेख हसिना दुवै विकल्पहरू खुला राख्न चाहन्थिन् । एकातिर उनी देश छाड्न तयार थिइन् भने अर्कोतिर बल प्रयोग गरेर अन्तिम क्षणसम्म सत्तामा टिकिरहन पनि चाहन्थिन् भनेर शीर्ष अधिकारीहरूसँगको कुराकानीबाट आफूले थाहा पाएको बीबीसी बंगलाले बताएको छ । तर सेनाका शीर्ष अधिकारीहरूले हिंसामा मारिने र घाइतेको सङ्ख्या अरू बढाउन चाहेनन् । आइतबार देशका विभिन्न भागमा सर्वसाधारण र आन्दोलनकारी तल्लो तहका अधिकृत र सिपाहीसँग मिसिएका थिए । स्थितिको समीक्षा गरेपछि सेनाका शीर्ष अधिकारीहरूले अवस्था अहिले सत्तारुढ दलको नियन्त्रणबाहिर गएको बुझिसकेका थिए ।

किन बन्द गरियो इन्टरनेट ?

सोमबार बिहान प्रहरी र सेनाका जवानहरूले टाढाबाट गणभवन (शेख हसिनाको सरकारी निवास) जाने सबै सडकहरूमा घेराबन्दी गरेका थिए । सेनाका शीर्ष अधिकारीहरूबाट प्राप्त जानकारीका अनुसार शेख हसिना सुरक्षित रूपमा तेजगाउँ एयरपोर्ट पुग्न सकुन् भनेर यस्तो गरिएको थियो । अर्कोतर्फ बिहान ९ बजेदेखि देशभर डेढ घण्टा इन्टरनेट सेवा बन्द थियो । शेख हसिनाका गतिविधिबारे सामाजिक सञ्जालबाट कुनै पनि जानकारी नफैलियोस् भनेर इन्टरनेटमा प्रतिबन्ध लगाइएको सेनाका अधिकारीहरूले बताएका छन् । शेख हसिना हेलिकप्टरमा चढेपछि मात्रै इन्टरनेट सुचारु गरिएको थियो ।

सेना र प्रहरी प्रमुखहरूसँग भेटघाट

शेख हसिनाले सोमबार बिहान गणभवनमा तीन सेनाका प्रमुख र प्रहरी प्रमुखसँग भेटवार्ता गरेकी थिइन । ‘शेख हसिनाले स्थिति नियन्त्रण गर्न सुरक्षा बलहरू असफल भएकोमा असन्तुष्टि व्यक्त गरेकी थिइन् । भेटका क्रममा हसिनाले प्रहरी महानिरीक्षक (आइजी)तर्फ औँला उठाउँदै प्रहरीले राम्रो काम गरिरहेको बताइन् । यसपछि आइजीले स्थित यस्तो बनेको छ कि अब प्रहरीका लागि लामो समयसम्म यस्तो कडाइ कायम राख्न सम्भव छैन भनेर हसिनालाई बताए भनेर दैनिक प्रथम आलो अखबारले समाचारमा लेखेको छ ।

त्यतिबेलासम्म सडकमा आन्दोलनकारीको भीड जम्मा हुन थालिसकेको थियो । ‘भीडलाई लामो समयसम्म रोक्न सम्भव छैन र मानिसहरू छिट्टै गणभवनतिर आउनेछन् भनेर बैठकमा शेख हसिनालाई बताइसकेको थियो । त्यस्तो अवस्थामा शेख हसिनाको ज्यान धरापमा पर्न सक्थ्यो,’ सेनाका एक उच्च अधिकारीले बीबीसी बंगलालाई भने । बल प्रयोग गरेर ‘लङ्ग मार्च टु ढाका’ रोक्न सफल भएमा पदबाट राजीनामा दिनुहुन्न भनेर हसिनाले  सोचेको ती अधिकारी बताउँछन् । आन्दोलनलाई दबाउन सकिएन भने के गर्ने त भन्ने विकल्पमा विचार गरेर उनले देश छाड्ने तयारी पनि गरिरहेकी थिइन् ।

भारतसँग पहिला नै भइसकेको थियो कुराकानी

देशबाट पलायन हुने विषयमा भारतसँग पहिले नै कुराकानी भइसकेको थियो । शेख हसिना बंगलादेशबाट हेलिकप्टरबाट भारतको अगरतला आउन सकिन् भने त्यहाँबाट उनलाई विशेष विमानबाट दिल्ली लगिने भनेर भारतले पहिला नै जानकारी दिइसकेको थियो । हसिनालाई बंगलादेश वायुसेनाको विमानबाट दिल्लीसँग जोडिएको हिन्डन विमानस्थलमा लगियो ।

आफ्नी आमाले देश छोड्न नचाहेको बीबीसीसँगको कुराकानीमा शेख हसिनाका छोरा साजिब वाजिद जोयले भनेका छन् । तर परिवारका सदस्यहरू उनको सुरक्षाबारे चिन्तित थिए । त्यसैले परिवारका सबै सदस्यले उनलाई सुरक्षित ठाउँमा जान दबाब दिए । अर्को छुट्टै कोठामा प्रहरी र सेना प्रमुखहरूले शेख हसिनाकी बहिनी शेख रेहानालाई दिदीलाई राजीनामाका लागि मनाउन कुराकानी गरिरहेका थिए । त्यसपछि रेहानाले हसिनासँग कुरा गरिन् ।

तर यस्तो समयमा पनि हसिना सत्तामै टिकिरहन अडिग थिइन् । बरु सुरक्षाका लागि बहिनी चाहिँ देश छाडेर जाउन् भन्ने हसिनाको इच्छा थियो । त्यतिबेला हसिनाको छोरा सजिब भने एक शीर्ष अमेरिकी अधिकारीसँग फोनमा कुराकानी गरिरहेका थिए । सजिबले नै आफ्नी आमालाई राजीनामा दिन र देश छाडेर सुरक्षित स्थलमा जान मनाएको बताइएको छ । छोरासँग कुरा गरेपछि मात्रै हसिनाले राजीनामामा हस्ताक्षर गरिन् । सडकबाट जान जोखिमपूर्ण भएकोले विमानबाट सेनाले दुबैलाई भारत पुर्‍यायो ।

यतिबेला हसिना र उनको बहिनीको साथमा अवामी  लिगका सांसद सलमान फजलुर रहमान पनि थिए । साथमा चार/पाँच वटा सुटकेश मात्रै रहेको सामाजिक सञ्जालमा पोष्ट भएको एउटा भिडियोमा देखिएको थियो । हसिना उडेको केही बेरमा प्रदर्शनकारीहरू उनको सरकारी आवासमा छिरे र तोडफोड  तथा लुटपाट गर्न थाले । कुनै समय प्रजातन्त्रको प्रतीकको रूपमा रहेकी हसिना भागेर देश छाडेर गइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप